देश फर्कन कन्दराको आग्रह

म पनि १४ वर्ष लन्डन बसेर नेपाल फर्किएको हुँ, नेपाल कहिल्यै नभुल्नु होला

पुस २२, २०८१

नवीन पोखरेल

Kandara's request to return to the country

लन्डन — १४ वर्ष लन्डन बसेर एक्लै फर्कंदा गायक विवेक श्रेष्ठलाई धेरैले सोधे– ‘परिवार तहसनहस पारेर किन गएको ?’ दुई कलिला छोरीको नजरमा उनी ‘गिरेको बाउ’ ठहरिए । तर, कारण के थियो कसैले सोधेन । उनी मानसिक रूपमा कति विक्षिप्त थिए, कसैले बुझ्न चाहेनन् । 

झन्डै ९ वर्षपछि उनै गायक श्रेष्ठ आफ्नो पुरानो ब्यान्ड ‘कन्दरा’ लाई ब्युँताउँदै त्यही लन्डनको विश्वप्रतिष्ठित ‘इन्डिगो एट द ओटु’ मा शनिबार राति पोखिए । ऐतिहासिक कन्सर्ट गरेपछि पोखरेली गायक श्रेष्ठले कान्तिपुरसँग भने, ‘२००१ सेप्टेम्बरमा लन्डन उत्रिएपछि पहिलो दिनदेखि नै उत्कृष्ट संगीत दिनुपर्छ भनेर मैले धेरै त्याग गरें । संगीतकै लागि परिवार छाडें । आज मेरो सपना साकार भएको छ । यो कन्सर्टमात्र थिएन, अस्तित्वको सवाल थियो ।’

लन्डन बस्दा घरछेउ रहेको ‘ओटु भेन्यु’ हुँदै आवतजावत गरिरहँदा उनले एक पटक यहाँ ब्यान्डसहित ग्रान्ड कन्सर्ट गर्न पाए हुन्थ्यो भन्ने सपना देखिरहन्थे । ३२ वर्षको सांगीतिक इतिहासमा शनिबार उनको त्यो सपना पूरा भएको छ । ‘म र मेरो ब्यान्डका लागि यो साँझ अत्यन्तै विशेष र जीवनकै अविष्मरणीय दिन बनेको छ,’ उनी भावुक बने । 

जस्टिन बिबर, इड सिरन, रक ब्यान्ड कोल्ड प्लेलगायत विश्व चर्चित कलाकारले प्रस्तुति दिइसकेको ‘इन्डिगो एट द ओटु’मा कन्दरा गुन्जिँदा झन्डै २८ सय दर्शकले साथ दिए । कन्दराका ब्यान्ड सदस्यहरूको ‘लाइभ म्युजिक’मा गायक श्रेष्ठले झन्डै डेढ दर्जन नयाँ–पुराना गीत गाए ।

लगातार दुई घण्टा गाउँदा उनले ‘तगारोमा रुमाल राखी’, ‘जिन्दगीको यो उत्सव हो, वरदान ईश्वरको’, ‘विदेशिएर गइन् उनी’, ‘लेककी हे माया मोहनी सबैलाई लगाउने’, ‘विदेशिनु लेखियो कर्मैमा’, ‘हङकङ पोखरा’, ‘तिमी हाँसे हाँसिदिउँला रोए फकाउँला’, ‘इलामे चियाले मितेरी लायो’, ‘चिसो चिसो हावामा’, ‘सांग्रिलाको लेकभरि फूलैफूलको बासना’, ‘हे कस्तो ठाउँमा आइयो सोल्टी’, ‘फूलचोकीको डाँडैमा’, ‘चन्चले कान्छीको’, ‘कहाँ हिँडेकी कुन ठाउँ मनकी ए परी’, ‘तिमी पारि त्यो गाउँमा’, ‘बल्लतल्ल भेट भको दिन’ लगायतका आफ्ना दर्जनौं लोकप्रिय गीत पस्किए । 

हरेक गीतमा दर्शकले हुटिङ गर्थे, ‘वान्स मोर’ भन्थे । ‘लन्डन धेरै परिवर्तन भइसकेछ, थ्यांक यु गाइज’, नेपाली संगीत क्रेज बढेको देख्दा विवेक कृतज्ञ देखिन्थे । उनकै शब्दमा २४ वर्षअघि लन्डनमा सुरुका दिन उदेकलाग्दा थिए ।

Kandara's request to return to the country

चार–पाँच वटा बलुन टाँगिएको कम्युनिटी हल, दुई वटा स्पिकर, ट्र्याकमा गीत, गीत/संगीत सुन्न आएका दर्शक कार्यक्रमभन्दा खान बसेको लामो लाइन । अनि विवेकले प्रण गरे, ‘नेपाली संगीतको स्तर यसरी अगाडि बढ्दैन । परिवर्तन आउनैपर्छ ।’

गायक श्रेष्ठले गोपाल योन्जनको ‘धेरै छ गर्नु स्वदेशको सेवा नेपाली बन्नलाई’ पनि गाएर नेपाल फर्कन प्रेरित गरे । ‘म पनि १४ वर्ष लन्डन बसेर नेपाल फर्किएको हुँ । नेपाल कहिल्यै नभुल्नु होला । कतै होलिडे प्लान छ भने नेपाल नै आउनु,’ उनले आग्रह गरे ।

‘पहिला घरदेश अनि परदेश’ नारासहित देशपछि विदेशको सांगीतिक यात्रा थालेको कन्दराले पहिलो कन्सर्ट लन्डनबाट सुरु गरेको हो । मामाघर इन्टरटेनमेन्टले आयोजना गरेको उक्त कन्सर्टमा गायक स्वप्न सुमन पनि आफ्नो ब्यान्ड ‘द आर्स्ट्स’का साथ प्रस्तुत भएका थिए । साँझ साढे ७ बजेबाट गाउन सुरु गरेको ‘स्वप्न सुमन एन्ड द आर्स्ट्स’ ले करिब एक घण्टा आफ्नो प्रस्तुति दिएको थियो ।

स्वप्न सुमनले ‘उपहार’, ‘क्रमशः’, ‘वाचा भयो’, ‘के साह्रो राम्री भको’, ‘जे छौ तिमी’, ‘आकाशैमा नौ लाखे तारा’ जस्ता आफ्ना हिट नम्बर गाएर युवा मन जिते । आफ्ना लागि ओटु कन्सर्ट ‘लाइफ टाइम अचिभमेन्ट’ भएको स्वप्न सुमनले बताए । आयोजक मामाघर इन्टरटेनमेन्टका निर्देशक विमल तिमिल्सेनाले इभेन्ट फर अल जेनेरेसनमा सबै उमेर समूहका दर्शक सहभागी भएको बताए ।

नवीन

Link copied successfully