तालिम लिँदै संरक्षणमा जुट्दै 

वन्यजन्तु चोरी सिकारी नियन्त्रण तथा संरक्षणका लागि सक्रिय युवा जागरण अभियानले आफ्ना सदस्यलाई स्वरोजगार बनाउन विभिन्न तालिमसमेत दिँदै आएको छ

पुस २३, २०८१

रमेशकुमार पौडेल

Taking training and getting involved in conservation

चितवन — कावासोती नगरपालिका–७ साँढका ३० वर्षीय विकास पौडेल ‘नेचर गाइड’ तालिम लिन चितवनको माडी आएका छन् । उनी यसअघि ६ वर्ष वैदेशिक राजगारीका लागि दुबई गएका थिए । चितवन निकुञ्जको मध्यवर्ती क्षेत्रमा घर भएका विकास प्रकृतिभन्दा पर बस्न रुचाएनन् ।

उनको मन वन, जंगली जीवजनावर र वातावरण संरक्षणमा नै थियो । मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत समुदायमा आधारित चोरी सिकार नियन्त्रण युवा जागरण अभियान (सीबीएपीयू) का युनिटहरू छन् । 

विकासको घर चितवन राष्ट्रिय निकुञ्जको लामिचौर मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत पर्छ । उनी उक्त समितिको सीबीएपीयूका सक्रिय सदस्य हुन् । सीबीएपीयूका सदस्यले वन, जंगल, वातावरण र वन्यजीव संरक्षणमा समुदायमा सचेतनामूलक अभियान चलाइरहनुपर्छ । उनीहरूले यो काम स्वयंसेवीका रूपमा गरेका हुन्छन् । दुर्लभ बाघ, गैंडा जस्ता जनावरको चोरी सिकार र त्यस्ता जनावरका अंगको अवैध व्यापार रोक्न सचेतना जगाउने काममा स्वयंसेवीका रूपमा लागेका युवालाई दिगो रूपमा यो अभियानमा संलग्न गराउन चुनौती आउन सक्छन् । 

कमाउने उमेरका व्यक्तिलाई सधैं स्वयंसेवी रूपमा काममा लगाउनु व्यावहारिक पनि हुँदैन । यही समस्यालाई निराकरण गर्न सीबीएपीयूमा लागेका युवाका लागि स्वरोजगारमूलक तालिम सुरु भएको हो । आइतबारदेखि सुरु भएको उक्त तालिम २१ दिनसम्म चल्नेछ । ‘मेरो घरमा सात कट्ठामा माछा पोखरी पनि छ । यसका साथै मैले व्यक्तिगत रूपमा केही काम गरें भने आर्थिक रूपमा टेवा पुग्छ । मैले जानेको प्रकृतिको सेवा हो । नेचर गाइड बने यो काम पनि पूरा हुने र आर्जन पनि हुने देखियो,’ विकासले भने ।

Taking training and getting involved in conservation

कावासोती–१३ की २४ वर्षीया सविना खोजवार महतोले पनि तालिम लिइरहेकी छन् । ‘ब्युटिपार्लर तालिमको पनि अवसर थियो । तर मैले नेचर गाइड हुने सोच बनाए । पर्यटक लिएर जंगल डुल्नु भनेको प्रकृतिकै सेवा हो भन्ने लाग्यो । जंगल जोगिए पर्यटक आउँछन्, पर्यटक आए हाम्रो पेसा चल्छ । त्यसैले सीबीएपीयूमा लागेको अनुभवले नेचर गाइड बन्ने निर्णय लिएर तालिममा छु,’ सविनाले भनिन् । नेचर गाइड तालिममा संलग्न २४ मध्ये चार जना युवती छन् ।

चितवन राष्ट्रिय निकुञ्ज कार्यालय, निकुञ्जको मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति र विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) को साझेदारीमा नेपाल सरकारले सञ्चालन गरेको तराई भूपरिधि (ताल) परियोजनाले सीबीएपीयूका स्वयंसेवीहरूलाई स्वरोजगार बनाउन विभिन्न तालिम सुरु गरेका हुन् । जसमध्ये नेचर गाइड तालिम पनि एक हो । योसहित सीबीएपीयूका एक सय जना युवाका लागि तालिम सुरु भएको हो ।

तालको बाँकेपूर्वका क्लस्टर इन्चार्ज प्रेम पौडेलले नेचर गाइडको तालिम लिए जसरी अन्य ७६ जनाले कुक, वेटर, एसी मर्मत, कफी मेकिङ र ब्युटिपार्लरसम्बन्धी तालिम लिएको बताए । नेचर गाइड तालिमको कोर्स चितवन निकुञ्जको संलग्नतामा तयार भएको छ । अन्य तालिम सीटीईभीटीको दुईमहिने कोर्सअन्तर्गत चलेको छ । चितवन निकुञ्जका चार र पर्सा निकुञ्जको एक मध्यवर्ती समितिका युवा यी तालिममा संलग्न छन् । 

चितवन निकुञ्जअन्तर्गत नवलपरासीको लामिचौर मध्यवर्ती उपभोक्ता समिति र चितवनको मेघौली, पाँचपाण्डव र मृगकुञ्ज तथा पर्सा निकुञ्जअन्तर्गत पर्ने मकवानपुरको मनहरी उपभोक्ता समितिका १८ देखि ३० वर्ष उमेरसम्मका युवा तालिममा संलग्न छन् । तालिमपछि उनीहरूले प्रमाणपत्र पाउनेछन् । स्वरोजगार हुन मेसिन औजार पनि सहयोग गर्ने योजना रहेको तालका क्लस्टर इन्चार्ज पौडेलले बताए । माडी नगरपालिका–१ पाण्डबनगरकी पुनम परियार कफी बनाउने बारिस्ता तालिममा सहभागी भएकी छन् । ६० दिनको तालिम पूरा गरेपछि उपयुक्त ठाउँमा कफी सप राख्ने योजना बनाएको उनले बताइन् । ‘हाम्रो गाउँ चितवन निकुञ्ज र सोमेश्वरको जंगल आडमा छ । जंगली हात्ती, गैंडा र बाघले निकै दुःख दिएका छन् । यी जनावरको संरक्षण पनि गर्नु छ । पर्यटक पनि लैजानु छ, आर्जन पनि गर्नु छ,’ पुनमले भनिन् ।

दुई वर्षदेखि सीबीएपीयूमा सक्रिय पुनमले गाउँमा पर्यटक गए कफी सप राम्रोसँग चल्ने देखेकी छन् । नवलपरासी कावासोती–७ साँढकी सविता रिजाल अधिकारी र चितवन माडी नगरपालिका–१ चैनपुरका कृष्ण केसी पनि बारिस्ता तालिम लिने २७ जनाको समूहमा छन् । यो समूहमा २१ जना युवती मात्रै छन् । ‘म पाँच वर्षदेखि सीबीएपीयूमा सक्रिय छु । संरक्षणमा पनि लाग्ने र आर्जन पनि गर्ने काम पर्यटन विकासबाट सम्भव छ । कफी बनाउने तालिमले पर्यटन व्यवसायमा लाग्न मद्दत पुग्ने देखेको छु,’ कृष्ण केसीले भने । नेपालमा गैंडा चोरी सिकारको बिगबिगी बढेका बेलामा सन् २००३ मा समुदायका युवालाई संरक्षण कार्यमा सहभागी गराउन चोरी सिकारविरुद्ध युवा सचेतना अभियान (एपीबाईसी) सुरु भएको थियो ।

Taking training and getting involved in conservation

नवलपरासीमा सुरु भएको यो अभियान नै मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत रहने गरेर सीबीएपीयू गठन हुन थालेका हुन् । सन् २००९ मार्च ३ देखि सीबीएपीयू दिवस नै मनाउन सुरु भएको छ । सीबीएपीयूमा लाग्ने १८ देखि ४० वर्षसम्मका युवाले आफूलाई र आफ्ना परिवार, नातासम्बन्धलाई संरक्षणविरोधी क्रियाकलापमा संलग्न नगराउने प्रतिबद्धता व्यक्त गर्नुपर्छ । त्यसैगरी संरक्षणका लागि बनेका ऐन, नियमबारे र वन्यजन्तु संरक्षणका विषयमा समुदायमा विभिन्न गतिविधि सञ्चालन गर्ने अभियानमा लाग्नुपर्छ ।

मानव–वन्यजन्तुबीच हुन सक्ने द्वन्द्वका घटना कम गर्न सक्रिय रहनुपर्ने ताल परियोजनाका बाँकेपूर्व क्लस्टर इन्चार्ज पौडेलले बताए । स्वयंसेवी रूपमा यसरी संरक्षणमा खट्ने युवालाई आर्जनसँग पनि जोडेर सीबीएपीयूलाई दिगो बनाउन खोजेको उनले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully