प्रिमियर लिगमा छाइरहेका इसाक

न्युकासल युनाइटेडका लागि खेलिरहेका स्वीडिस खेलाडी एलेक्जान्डर इसाकले डिसेम्बरयता मात्र प्रिमियर लिगमा ९ गोल गरिसकेका छन्

पुस २५, २०८१

हिमेश

Issac playing in the Premier League

काठमाडौँ — यसपल्ट इंग्लिस फुटबलमा कोही एक खेलाडीको धेरै चर्चा भइरहेको छ भने ती हुन्, एलेक्जान्डर इसाक । उनले न्युकासल युनाइटेडका लागि गजब खेलिरहेका छन् । त्यसैले ट्रान्सफर मार्केटमा उनलाई लिएर व्यापक होहल्ला चलिरहेको छ ।

खेलाडी किनबेचको बजारमा चलेको यस्तै हल्लालाई आधार मान्ने हो भने लिभरपुल नै उनीप्रति बढी उत्सुक देखिएको छ । लिभरपुल अहिले त्यो बाटोमा छ, जसले उसलाई प्रिमियर लिग उपाधितर्फ डोहोर्‍याइरहेको छ ।

तर, लिभरपुल अझै ढुक्क हुन सकेको छैन । उसलाई लाग्छ, अहिलेको टिमलाई अझ मजबुत बनाउनुपर्नेछ । त्यसका लागि इसाकजस्ता खेलाडी आवश्यक छ । लिभरपुल मात्रै होइन, अरू ठूला क्लबको नजरमा पनि उनी छन् । हुन सक्छ, अबको केही दिनमा उनी कीर्तिमानी रकममा कहींकतै जान सक्छन् । अथवा त्यस्तो नहुन पनि सक्छ किनभने न्युकासलको आफ्नै महत्त्वाकांक्षा बढ्दो छ । उसमा पनि कुनै न कुनै उपाधि जित्ने धोको पनि बढेको छ ।

त्यसैले न्युकासललाई इसाक चाहिएकै छ । उनी कति धेरै उपयोगी खेलाडी हुन्, मंगलबार रातिकै खेलमा पनि देखियो । लिग कप सेमिफाइनलको पहिलो लेगमा न्युकासलले आर्सनललाई २–० ले हरायो । त्यसमा पहिलो गोल इसाककै नाममा रह्यो ।

एन्थोनी गोर्डनले गरेको दोस्रो गोल उनकै योगदानले मात्र सम्भव भएको थियो । भनेपछि यो खेलमा इसाक खुबै छाए । खेलपछि आर्सनलका प्रशिक्षक मिखेल आर्टेटाले भनेका छन्, यो खेलमा दुई टिमबीचको फरक भनेकै इसाकजस्ता खेलाडी हुन् ।

अहिले प्रिमियर लिगमा न्युकासल पाँचौं स्थानमा छ । टोलीको २० खेलबाट ३५ अंक छ । न्युकासलको अहिलेको महत्त्वाकांक्षा भनेकै अंकतालिकाको शीर्ष चार कब्जा गर्नु हो । त्यसको अर्थ हो, अर्को वर्षको युरोपेली च्याम्पियन्स लिगमा छनोट हुनु । अहिले न्युकासल जुन लयमा छ, त्यसअनुसार क्लब यसमा सक्षम पनि देखिन्छ । आर्सनलमाथि सेमिफाइनलमा प्राप्त अग्रताका कारण न्युकासलको लिग कप फाइनल खेल्ने सम्भावना बढ्दो छ ।

त्यसैले न्युकासलले इसाकलाई आफ्नै खेलाडी बनाइराख्न पूरापुर मिहिनेत गर्नेछ नै । डिसेम्बरयता इसाकले प्रिमियर लिगमा ९ गोल गरिसकेका छन् । न्युकासल सबैखाले प्रतियोगिताका ७ खेलमा लगातार विजयी छ । यो त च्याम्पियन टिमकै जस्तो लय हो । सन् २०२२ मा उनी न्युकासल आएका हुन् । यसअघि उनी रियल सोसिडाडमा थिए, सन् २०१९ देखि २०२२ बीच । त्यसभन्दा अगाडि उनी बोरुसिया डर्टमन्डमा थिए, सन् २०१७ देखि २०१९ सम्म ।

Issac playing in the Premier League

डर्टमन्डको दोस्रो टिमसँग उनको आबद्धता त सन् २०१७ देखि नै हो । इसाक हुन्, स्वीडेनी खेलाडी । उनको पहिलो क्लब हो, त्यहाँको एआईके । उनी भर्खर १६ वर्षका थिए, सबै उनको खेलबाट प्रभावित थिए । उनी ६ फिट ४ इन्च अग्ला छन् ।

आफ्नो उचाइको फाइदा लिन पनि उनी माहिर छन् । एआईकेबाट उनले १६ वर्षको उमेरमै गोल गरेका थिए । त्यसपछि त के चाहियो र, उनको तुलना हुन थाल्यो, स्वीडेनकै लिजेन्डरी खेलाडी ज्लाटन इब्राहिमोभिचसँग । यसले सायद उनलाई दबाब नै बढी दिएको हुनुपर्छ ।

अनि स्वभावकै आधारमा पनि इसाक र इब्राहिमोभिचमा आकाश–जमिनको फरक छ । जहाँ इब्राहिमोभिच अत्यधिक आक्रामक छन्, प्रतिद्वन्द्वीलाई पेलेर नै जाने खालका छन्, त्यहीं इसाक नम्र छन् । भलाद्मी पाराले खेल्छन् । उनको जन्म सन् १९९९ स्टकहोममा भएको थियो । उनका आमाबुबा इरिस्टियन थिए । एकअर्को खेलाडीसँग पनि इसाकको तुलना हुन्छ । उनी हुन्, आर्सनलका थिएरी हेनरी । यसको कारण के हो भने दुवैको खेल्ने शैली उस्तै छ ।

त्यो भनेको बल आफ्नो खुट्टामा हुँदा गजबको नियन्त्रण राख्ने अनि विपक्षीको पेनाल्टी एरियामा अत्यधिक दबाब सिर्जना गर्ने । यस्तै कारणले इसाक चाँडै डर्टमन्ड पुगे । त्यहाँ उनका साथी खेलाडी थिए, जाडोन सान्चो, जुड बेलिङ्घम अनि इर्लिङ हालान्ड । त्यहाँ उनी अपेक्षाअनुसार सफल भने भएनन् । तर, उनको प्रदर्शन खराब पनि थिएन । त्यसपछि सोसिडाड गए । सन् २०२२ आइपुग्दा नपुग्दै न्युकासलले उनलाई कीर्तिमानी रकममा किनेको थियो ।

त्यति बेलाको मूल्य थियो, ६ करोड पाउन्डभन्दा बढी नै । न्युकासलका प्रशिक्षक हुन्, एडी हाउ । उनी भन्छन्, ‘प्राविधिक रूपमा इसाक असाध्यै उच्च खेलाडी हुन् । उनमा प्रतिभाको कुनै कमी नै छैन । उनी भर्खर २५ वर्षका भए । उनमा अझै धेरै वर्ष उच्च फुटबल खेल्न समय बाँकी छ ।’

अब कोही प्रशिक्षकले आफ्ना खेलाडीको यति धेरै बखान लगाउँछ भने इसाकमा पक्कै केही त होला । इंग्लिस मिडियालाई मान्ने हो भने इसाक साँच्चै ‘अर्को ठूलो खेलाडी’ हुने बाटोमा छन् ।

हिमेश

Link copied successfully