काठमाडौँ — यही शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आउन लागेको फिल्म ‘कार्साङ’ ले बुधबार काठमाडौं प्रिमियर शो गरेको छ । फिल्मकर्मीको बाक्लो उपस्थिति रहेको उक्त प्रिमियरमा ‘कार्साङ’ ले उठान गरेको शेर्पा समुदायको कला, संस्कृतिको प्रशंसा पायो ।
प्रिमियरमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसी, कलाकार दीपाश्री निरौला, केदार घिमिरे, किरण केसी, अनुप बराल, अशोक शर्मा, मनीष राउतदेखि निर्देशक दीपेन्द्रकुमार खनाल, वसन्त निरौला, कवि विप्लव प्रतीक, गायक कमल खत्री, गायिका मेलिना मैनालीलगायत उपस्थित थिए ।
यम शेर्पाको डेब्यु निर्देशन तथा लेखन रहेको ‘कार्साङ’ मा दयाहाङ राई, सिर्जना निङलेखु, जितु नेपाल, दीया मास्के, बुद्धि तामाङ, सृष्टि गौतम, डोमा ह्योल्मो, प्रेम लोप्चन र सुरवीर पण्डितलगायतको अभिनय रहेको छ ।
प्रिमियर शोको आयोजना गरिएको कमलपोखरीस्थित बिग मुभिजलाई शेर्पा संस्कृतिअनुसार गुम्बाझैं ध्वजापताकाले झकिझकाउ बनाउनुका साथै फिल्मका कलाकारहरू पनि शेर्पा समुदायकै पोसाकमा उपस्थित थिए । दयाहाङ भने अनुपस्थित रहे ।
यार्सा फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मस्को प्रस्तुतिमा बनेको यो चलचित्रका निर्माता तथा छायांकार पुरुषोत्तम प्रधान हुन् । सहनिर्मातामा गोविन्द बोहरा छन् । कार्यकारी निर्माताका रूपमा आङछिरिङ शेर्पाले काम गरेका छन् ।
