दीपले सम्झिए प्रेमध्वजको वाचा

‘म त दूरदेखि आएँ’ गाउनुअघि दीप पुरानो प्रेमिल स्मृतिमा पुगे, त्यसताकाको चिसो दार्जिलिङमा । ‘एकैछिन त पर्खिदेउ, केही बात गरिदेउ’ को पंक्तिसहित याद गरिरहेका थिए, ‘गीत पूरा गर्न म पटक–पटक दार्जिलिङ गएँ, केवल गीति–कथा खोज्न होइन, म कसैको खोजीमा पो थिएँ कि ?’

पुस २८, २०८१

दीपक सापकोटा

Deep remembered Premadhwaj's promise

काठमाडौँ — कालो क्याप, कालै ज्याकेट र गायक प्रेमध्वज प्रधानको तस्बिर अंकित ढाकाको खादामा सजिएर प्रेक्षालयमा गाइरहेका दीप श्रेष्ठलाई प्रत्येक गीतमा हलभरिका दर्शक ‘वान्स मोर’ भनिरहेका थिए ।

पृष्ठभूमिमा गितार समाएको प्रेमध्वजको ठूलो श्यामस्वेत तस्बिर अघि पलेंटी मारेर छैमलेको सांगीतिक कार्यक्रममा तालीको गड्गडाहटबीच दीपले चिसो साँझमा नेपाली संगीतलाई ‘रोमान्टिक लय–सुर दिने’ प्रेमध्वज प्रधानका गीति–जीवनका अनेक भावभूमि र स्मृति साझा गरे । 

दीपले प्रेमध्वजका गीत गाइरहँदा मञ्चअघि ध्यानले सुनिरहेकी थिइन्, प्रेमध्वज–पत्नी किरणकुमारी प्रधान । प्रेमध्वजको सम्मानमा गोल्डेन भ्वाइस अफ प्रेमध्वज प्रधान स्मृति प्रतिष्ठानले छैमले रिसोर्टमा आयोजना गरेको ‘अ ट्रिब्युट टु द लिजेन्ड्री प्रेमध्वज प्रधान– द गोल्डेन भ्वाइस अफ नेपाल’ कार्यक्रममा दीपले एक दर्जन गीत गाए । 

शुक्रबारको साँझ दीपसँगै बितिगएका अध्याय र संगीत–साधनाका दिनतिर फर्किरहेका थिए । स्टेजका बत्तीबीच, आगो ताप्दै गीतमा लट्ठिएका दर्शकमाझ दीप आफ्नो सांगीतिक जीवनको आरम्भिक कथातिर फर्किए । भनिरहेका थिए– कसरी प्रेमध्वज ध्यानमग्न भएर गीत गाउँथे र संगीत चर्चा गरिबस्थे ! 

प्रेमध्वज–सम्झनाको गहिराइमा आफूले गीत गाइरहेको भूगोल छैमलेकै याद बताइरहेका थिए । ‘प्रेमध्वज भनिरहनुहुन्थ्यो– दीप छैमले जाउँ, हार्मोनियममा गीत गाएर बसौं एक साँझ ।’ दीपले जाने वाचा पनि गरेका थिए । तर, दीपकै गीतले ‘एकैछिन त पर्खिदेउ, केही वाचा गरिदेउ...’ भनेझैं प्रेमध्वजको जीवनले पर्खेन, छैमले जाने वाचा अधुरै रह्यो । ‘आज त्यो वाचा पूरा गर्न आएँ, भाउजू (किरणकुमारी) साक्षी राखेर उहाँलाई सम्झिरहेको छु,’ दीपले सुनाए । 

दीपले प्रेमध्वजलाई पहिलो पटक २०२० सालमा भेटेको त्यो पुरानो दिनको सम्झना गरे, जतिबेला दीप १२ वर्षका थिए । विराटनगरको रंगेली रोडस्थित एक अस्पतालमा संगीत सम्मेलन आयोजना भएको थियो । त्यस कार्यक्रममा गाउन नेपालका ख्यातनाम गायकहरू नातिकाजी, शिवशंकर, बच्चुकैलाश, पुष्प नेपाली, प्रेमध्वजलगायत पुगेका थिए । 

Deep remembered Premadhwaj's promise

दीप धरान सांस्कृतिक संस्थानमा बङ्गो बजाउन सिकिरहेको समय थियो त्यो । सम्मेलनमा पुगेका रेडियो नेपालका वाद्यवादक इन्द्रलालले दीपलाई त्यहीं बोलाए । र, त्यसरी जुरेको भेट–संयोगमा दीपले प्रेमध्वजको गीतमा बङ्गो बजाएर साथ दिएका थिए । दीपले सम्झिए, ‘खासमा म त्यो बेला गायक थिइनँ । त्यही वर्ष बुबा बित्नुभएको थियो र मैले सेतै कमिजमा प्रेमध्वजलाई भेटेको थिएँ ।’ 

रियालिटी शो ‘भ्वाइस अफ नेपाल’ मा निर्णायक छँदा दीपले प्रेमध्वजलाई ‘कालजयी गायक’ को उपाधिसहित सम्मान पनि गरेको सम्झे । भने, ‘त्यही कार्यक्रममा थाहा पाएको थिएँ– लता मंगेशकरसँग उहाँले भारतमा ‘नमान लाज यस्तरी’ गीत गाउँदा ‘गोल्डेन भ्वाइस अफ नेपाल’ टाइटल पाउनु भएको रहेछ ।’ त्यो प्रसंग सुनाएपछि दीपकी छोरी दृष्टि स्टेज उक्लिइन् र पितासँगै गाइन्– प्रेमध्वजको सदाबहार मास्टरपिस ‘नमान लाज यस्तरी’ । 

हरेक गीत गाउनुअघि उनी त्यस गीतका रचनाकारलाई सम्मानसाथ सम्झिरहेका हुन्थे अनि गीतको रचनागर्भतिर पसिरहेका हुन्थे । तत्कालीन राजा महेन्द्रको जन्मोत्सवमा गीत गाउन राष्ट्रिय नाचघर, काठमाडौं पुगेको सम्झना गर्दै गाए, ‘म पत्थरको देवता होइन, तोडिएर जोडिने’ ।

गाइसकेपछि भने, ‘म त्यही गीतबाट गायक दीप श्रेष्ठ बनें, श्रोताहरूले रुचाए । उबेला रेडियोमा गीत गाएको पैसा प्रतिगीत १० रुपैयाँ पाइन्थ्यो । थोरै पारिश्रमिक भएकाले एक समय ‘डाक्टरले नगाउनु भनेछ’ भनेर नगाउने बहाना पनि बनाएँ । तर, त्यो बेला नयाँ गीत कम्पोज गरिरहेकै थिएँ ।’ आफ्नो अविराम गीति यात्राको श्रेय तिनै दिनलाई दिइरहेका थिए उनी । 

आफ्नै रचना तथा संगीत रहेको ‘म त दूरदेखि आएँ’ गाउँदा दीप पुरानो प्रेम सम्झिरहेका थिए । सुदूर पहिलेको दार्जिलिङ सहरमा भेटिएका कोहीलाई ‘एकैछिन त पर्खिदेउ, केही बात गरिदेउ’ को पंक्तिसहित याद गरिरहेका थिए, ‘गीत पूरा गर्न म पटक–पटक दार्जिलिङ गएँ, गीति–कथा खोज्न मात्रै होइन, म कसैको खोजीमा पो थिएँ कि ?’

भैरवनाथ रिमाल ‘कदम’ ले लेखेको गीत ‘हुँ यात्री एउटा’ गाएपछि दीपले भने, ‘खासमा जिन्दगी लामो–लामो यात्रा नै रहेछ, जहाँ भेटिएका मानिसहरू छुटिरहन्छन्– जस्तो प्रेमध्वज दाइ ।’ स्मृतिबाट गुज्रेर उनी प्रेमध्वजप्रति सम्मान दर्शाइरहेका थिए, ‘उहाँ गायकमध्येका राम्रो, सफल र सरल गायक हुनुहुन्थ्यो । उहाँमा एउटा खड्केको कुरा चाहिँ कसैको मन नदुखाउने बानी थियो । जसको रचना आए पनि गाइदिनुहुन्थ्यो, संख्यामा गन्दा उहाँका असाध्यै धेरै गीत भए । तर, उहाँ आफैंले कम्पोज गरेका गीतले नै सदाबहार हुनुहुन्छ ।’

युवान तुलाधरले लेखेको ‘कति कमजोर रहेछ भाग्य’ गाएपछि दीपले आफ्ना गीतमा भएका उदासी र बेचैनीका कथा सम्झिए । 

भने, ‘मान्छेका दुःख, हैरानी, आँसु, सुस्केरा कति छन् कति !’ दुःखका कुरा गरेपछि केही भावुक सुनिएका दीपले लगत्तै गाए– ‘हर रात सपनीमा ऐंठन हुन्छ/गाउँमा सायद पैह्रो गयो कि !’ रेडियोहरूमा बाह्रैमास बजिरहने कवि विप्लव प्रतीकले लेखेको गीतबारे दीपले भने, ‘यो गीतको सम्झनाले म आफैं बेलाबेला उदास हुन्छु ।’ एक अनौपचारिक भेटमा उनले यो गीतबारे भनेका थिए, ‘जबजब यो गीत हार्मोनियममा गाउँछु, आमा मेरो आँखाको डिलमै बसेझैं लाग्छ ।’  

Deep remembered Premadhwaj's promise

तातो पानी पिउँदै र हार्मोनियम फिट्दै दीपले २ घण्टा लगातार गाए । निक्लँदो पुसको चिसो रात गाढा भइसक्दा पनि सुकुलमा बसेर छेउको आगो तापिरहेका दर्शक ‘वान्स मोर’ भनिरहकै थिए । छैमलेको अन्धकार डाँडातिर हेर्दै आँखा चिम्लेर दीपले प्रेमध्वजको सम्मानस्वरूप राखिएको कार्यक्रमको बिट मार्दै गाए :

मेरो आँखामा हरदिन बादल छाइरह्यो

बिन्ती छ कसैले अँधेरी ल्याइदेउ

मेरो छातीमा भर रात रातले टेकिरह्यो

बिन्ती छ कसैले उज्यालो ल्याइदेउ 

‘जीवनमा अँध्यारो मात्रै छैन, उज्यालोले तिमीलाई पर्खिरहेको हुन्छ’ छोरी दृष्टितर्फ फर्केर दीपले सुनाए । कार्यक्रममा प्रशान्त पोखरेलले प्रेमध्वजको ‘गोरेटो त्यो गाउँको’, यादवराज पाण्डेले ‘घुम्तीमा नआउ है’ र सुरज थापाले ‘पर लैजाउ फूलहरू’ मार्फत प्रेमध्वजमाथि गीति सम्मान दिए । छैमले रिसोर्टका सञ्चालक विजय श्रेष्ठ भनिरहेका थिए, ‘हामी लिजेन्ड स्रस्टालाई सधैं सम्मान गर्छौं । सायद आज प्रेमध्वजलाई वास्तविक सम्मान दिन सक्यौं ।’

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully