खिचराको खान्की ‘चिच्चर प्वाका’

माघ २, २०८१

रमेशकुमार पौडेल

Khichra's Khanki 'Chichhar Pwaka'

चितवन — चितवनको खैरहनी नगरपालिका–१ बहेरा थारू बस्तीकी ७१ वर्षीया एतोरिया महतो आइतबार साँझदेखि खिचराको विशेष खान्की ‘चिच्चर प्वाका’ को तयारीमा लागेकी थिइन् ।

आइतबार साँझ भिजाएको अनदीको चामललाई सोमबार बिहानै पैनी (माटोको विशेष खालको भाँडो) मा राखेर बाफमा पकाएर चिच्चर तयार पारेकी हुन् । सेलाएपछि सोमबार दिउँसो उनले चिच्चर पोका पार्न थालिन् । छिमेकी बुधनी महतो पनि उनकै घरमा आएर भोर्लाको पातमा चिच्चरको पोका बनाइरहेकी थिइन् । जसलाई मंगलबार माघे संक्रान्तिका दिन बिहानै आगोमा पोलेर खाएको उनले बताइन् । 

चितवनका आदिवासी थारू समुदायले माघ १ मा खिचरा पर्व मनाउँछन् । खिचराका दिन विशेष खान्की नै यही ‘चिच्चर प्वाका’ हो । ‘प्वाका’ पोलेर माछा, मासु वा आलुको तरकारीसँग खाने चलन छ । खिचराको अघिल्लो दिन खोला र घोलहरूमा समूह नै बनाएर माछा मार्न जाने पुरानो चलन छ । जसलाई मछुवारी भनिन्छ । ‘चिच्चर प्वाका’ का लागि महिना दिन पहिल्यै भोर्लाको पात टिप्न जाने गरिन्छ । जसलाई पतहारी भनिन्छ ।

थारू पत्रकार संघका केन्द्रीय कोषाध्यक्ष कारी महतो अहिले मछवारी र पतहारी हराउँदै गएको बताउँछन् । ‘पहिला–पहिला राप्ती या बूढी राप्ती खोलामा समूह नै बनाएर माछा मार्न जाने गरिन्थ्यो । अचेल राप्तीमा त्यसरी माछा मार्नै पाइँदैन । बूढी राप्तीमा पनि माछा छैन,’ उनले भने । 

पछिल्लो समय मछुवारीका दिन माछा/मासु पसलमा भीड देखिने गरेको छ । जंगल गएर भोर्लाको पात ल्याउने चलन पनि निकै कम भएको कारी बताउँछन् । जंगल जानुको सट्टा केराकै पातमा पोका बनाउने गरिन्छ । चिसोयाममा पोका पोलेर खाँदा शरीर न्यानो हुने अनुभव गरेको कारीले बताए । चिच्चर पोका खिचराका साथै जाडोयामभरि खाने गरेको उनले बताए ।

‘अनदीको चिच्चर आफैंमा अडिलो खान्की हो । पोका बनाएर आगोमा पोलेर खाँदा चिसोयाममा शरीर तातेर आउँछ,’ कारीले भने । खिचरामा आर्थिक लेनदेन, हरहिसाब मिलाउने, नयाँ योजना बनाउने चितवनका थारू समुदायको पुरानो चलन रहेको उनले बताए । 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully