थारू बस्तीमा माघी उत्सव

माघीको दिन बिहानै नदीमा नुहाउन जाने, फर्केपछि चामल, दाल र नुन मिसाएको निसराउ छुने चलन छ

माघ २, २०८१

दुर्गालाल केसी

Maghi festival in Tharu settlement

दाङ, बर्दिया, बाँके, धनगढी — थारू समुदायले मंगलबार माघीलाई नयाँ वर्षका रूपमा मनाएका छन् । सामान्यतया पुसका अन्तिम तीन दिन र माघका दुई गरी पाँच दिन माघी मनाउने चलन छ । थारू समुदायले पुस मसान्तको बिहानैदेखि जिता मार्ने (बंगुर काट्ने), समुदायका देवताको प्रार्थना गर्दै रातभर ध्वनि जगाएर भजनकीर्तन (धमार) गर्ने र विभिन्न पकवान खाने चलन छ । यस वर्षलाई थारू संवत् २६४८ का रूपमा पनि मनाउन थालिएको छ । 

बर्दियाको राजापुर, बासगढीलगायत ठाउँमा सञ्चालित माघी मेलामा थारू संगीत चलिरहेको छ । बर्दिया गुलरिया–१२ की छोटकी थरुनीले भनिन्, ‘पहिले माघीका बेला गाउँमा मादल बज्थ्यो, अहिले डीजे बजाएर मनाइन्छ ।’

युवा मघौटा नाचगान गर्दै रमाएका छन् । नयाँ वर्षभरिका लागि गाउँमा बडघर, चौकीदार, स्वयंसेवकलगायत अगुवा (महतवा) चयन गरिन्छ । सरकारले २०५७ साउन २ मा कमैया प्रथा अन्त्य गर्नुअघि माघीमा छोरीचेलीलाई साहुमहाजनकहाँ कम्लरी, बुक्रेनी र कमैया राख्ने निधो गरिन्थ्यो । 

‘हामी पुराना पुस्ताले माघीको महत्त्व र मौलिकता बचाइरहेका छौं,’ महतवा संघका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले भने, ‘नयाँ पुस्ताले हाम्रा सबै परम्परा र संस्कार सिक्न सकेका छैनन् ।’

पाँचदिने माघीको पहिलो दिन माछा मार्ने, दोस्रो दिन सुँगुर, बंगुर, कुखुराको जोहो गर्ने र तेस्रो दिन मासु काट्ने, तरुल, गन्जी खन्ने चलन छ । चौथो दिन माघ १ अर्थात् माघीको दिन नुहाउने, अग्रजसँग टीकाटाला, नाचगान गर्ने र अन्तिम दिन दिदीबहिनीको घरमा भिक्षा दिन जाने गरिन्छ । अन्त्यमा नाचेको पैसाबाट सामूहिक भोज (नच्नौरी) गरेर समापन गर्ने चलन छ । 

‘माघीको दिन बिहानै उठेर नदीमा नुहाउन जाने, नुहाएर फर्केपछि चामल, दाल र नुन मिसाएको निसराउ छुने चलन छ,’ अध्यक्ष चन्द्रप्रसादले भने, ‘त्यसपछि गाउँका मान्यजनको घरमा गएर टीकाटाला लगाउने चलन छ ।’

माघीको भोलिपल्ट बिहानै निसराउमा थप खानेकुरा राखेर दिदीबहिनीहरूलाई मान्न जाने चलन छ । बाँकेको बैजनाथ–७ टिटिहिरियाका विनोद थारूको घरमा माघीको रमझम बेग्लै छ । ‘गाउँघर यतिबेला माघीमय बनेको छ, टाढा रहेका आफन्त, इष्टमित्र जुटिसकेका छन्, माघीको उत्साह बेग्लै खालको छ,’ उनले भने । 

थारू समुदायको बाहुल्य रहेका बाँकेको कोहलपुरस्थित रझेना र बैजनाथको टिटिहिरियामा यति बेला माघीको रौनक छ । रझेना गाउँकी घुस्री थारू माघीको तयारीमा व्यस्त छिन् । उनीहरू एक साता अघिदेखि नै माघीको तयारीमा जुटिसकेका थिए । मंगलबार बेलुकापख थारू गाउँको अगुवा महतवाको घरमा सबै जना जाँडरक्सी र तरकारी लिएर जाने घुस्रीले बताइन् ।

महतवाको घरमा जम्मा भएको खानेकुरा सबै मिलेर खाने, नयाँ महतवा चयन गर्ने र नयाँ वर्षका लागि योजना बनाउने चलन रहेको अध्यक्ष चन्द्रप्रसादले बताए । माघीको दिन बेलुकापख महतवाको घरमा नाचगानको सुरुवात गरी हरेक घरमा नाच्न जाने गरिन्छ । 

Maghi festival in Tharu settlement

माघीमा गीत र नाचको बेग्लै महत्त्व रहेको थारू लोकगायक बेझलाल चौधरीले बताए । अग्रजबाट आशीर्वाद लिनेदिनेसम्बन्धी गीतका साथै थारू समुदायका कथाव्यथा पनि गीतमार्फत सुनाइन्छ । ‘माघीको अवसरमा गाउने गीतलाई मघौटा गीत भनिन्छ । यति बेला उमेर पुगेका छोराछोरीको विवाहको तयारी गर्ने काम पनि हुने गरेको थारू कल्याणकारिणी सभाका अध्यक्ष अशोक चौधरीले बताए । 

पश्चिम नेपालका थारू बस्ती यति बेला गुल्जार छन् । थारू समुदायको सबैभन्दा ठूलो पर्व माघीमा परम्परा, लोक संस्कृति झल्कने मघौटा नाचगान, लोकसंगीतसँगै गुन्जिरहेका छन् । माघ संक्रान्तिका दिन नदीमा स्नान गर्दा पुण्य प्राप्त हुने थारू समुदायको विश्वास छ । नुहाउनुअघि जलदेवतालाई पैसा चढाउने गरिन्छ । ‘सबेरै उठेर खुटिया नदीमा स्नान गर्‍यौं,’ कैलालीको जोनापुरका रामबहादुर चौधरीले भने, ‘अब दिनभर मान्यजनबाट आशीर्वाद ग्रहण गर्ने अनि आफन्तजन, इष्टमित्रकहाँ भेटघाट चल्छ ।’ 

खानपिनमा सौखिन थारू समुदायले माघी पर्वको अवसरमा परिवारमा सुँगुर/बंगुरको मासु र ढिक्री अनिवार्यजस्तै हुन्छ । चामलको पिठोलाई मुछेर थरीथरीका आकार दिएर ढिक्री तयार गरिन्छ । 

कुखुरा र खसीको मासुका थुप्रै परिकार, जाँड, अन्डीको रक्सी, मौवाको रक्सी, गंगटाको मासु, परेवा, बटै, मुसाको मासु, थारू आलु, आलुको चटनी, टिमुरको चटनीसमेत थारू समुदायका लोकप्रिय खानाका परिकार हुने गरेको स्थानीय थारू बासिन्दा बताउँछन् । माघीमा थारू समुदायका महिला–पुरुषहरू परम्परागत पहिरनमा सजिएर हुरदुंग्वा, मघौता, झुमरालगायत नाचहरू नाच्ने गर्छन् ।

माघी पर्वले थारू समुदायलाई मेलमिलाप, भाइचारा र सामूहिक भावनालाई अभिप्रेरित गर्ने भएकाले निकै ठूलो महत्त्व रहेको थारू अगुवा दिलबहादुर चौधरी बताउँछन् । यस समुदायले माघ महिनामै सेवाढोग गरी नयाँ सम्बन्धको विस्तार गर्ने परम्परा छ ।

दुर्गालाल केसी कान्तिपुरका दाङ संवाददाता हुन् ।

Link copied successfully