पाँचथर — पाँचथरको मौसम शुक्रबार बिहानैदेखि धुम्म थियो । तुलनात्मक हिसाबले चिसो बढेको थियो । साँझ सदरमुकाम फिदिमस्थित फिदिम माविको खेल मैदानमा पपगायक नवीन के भट्टराई आफ्नो ब्यान्ड ‘अतृप्त’ सहित उपस्थित भए ।
साँझ ५ बजेदेखि कार्यक्रम सुरु हुनुअगावै गाउँ–गाउँदेखि आएका दर्शकले मैदान भरिभराउ भइसकेको थियो । दर्शकदीर्घामा आधाभन्दा धेरै युवा नै थिए ।
झन्डै तीन घण्टा स्थानीय कलाकार र संगीतालयको प्रस्तुति चल्यो । दर्शकबाट पटक–पटकको हुटिङसहित चर्को माग भएपछि गायक नवीन राति साढे ९ बजे ‘साँझ पख एकान्तमा...’ गाउँदै स्टेज उक्लिए । त्यसपछि माहोल एकाएक गर्मायो । त्यसपछि उनले लगालग ‘हौ लाखौंको धड्कन...’, ‘रात बित्यो...’, ‘चाहना छ एउटै मेरो...’, ‘सम्झिरहन्छु...’, ‘सयौं लास टेकेर..’, ‘दोबाटोमा...’ गाए ।
उनले गाइरहँदा दर्शकले नाच्दै गाएर उनलाई साथ दिइरहे । ‘तिमीले हेर्दा कसैलाई...’ गीतबाट आफ्नो प्रस्तुतिको बिट मार्दासमेत उपस्थित दर्शक नाचगानको ‘मुड’ मै थिए । कोही लगाएका ज्याकेट फुकाल्दै त कोही साथीका काँधमा चढेर नवीनको प्रस्तुतिमा झुमिरहेका थिए ।
नवीन र उनको ब्यान्ड सांगीतिक प्रस्तुतिका लागि पहिलो पटक पाँचथर सदरमुकाम फिदिममा उत्रिएको हो । त्यसैले पनि उनका फ्यान उत्साहित भएर कन्सर्ट हेर्न आएका थिए । कन्सर्टमा ताप्लेजुङ, तेह्रथुम र इलामसम्मका झन्डै १० हजार श्रोता र दर्शक उपस्थित भएको आयोजक हुलाक लाइन युवा क्लबले जनाएको छ ।
‘कन्सर्टमा जति रमाइलो होला भन्ने लागेको थियो, त्योभन्दा दोब्बर मनोरञ्जन भयो, नाच्दानाच्दै पसिनाले निथ्रुक्क भिजेछु,’ फालेलुङबाट तीन घण्टा मोटरसाइकल चलाएर फिदिम आइपुगेका सुमन लिम्बूले भने । प्रस्तुतिकै लागि भनेर पहिलो पटक पाँचथर आएका गायक नवीन पनि स्थानीय दर्शकको बाक्लो उपस्थितिले झनै उत्साहित भएको देखिन्थे । ‘पाँचथर पहिलो पटक आउँदा समर्थकको उपस्थितिले झनै ऊर्जा थपिदियो,’ उनले भने ।
फिदिमको हुलाक लाइन युवा क्लबले मिर्गौला पीडित बिरामीको उपचार सहयोगार्थ, लागूऔषध दुर्व्यसनमा फसेका युवाको आनीबानी परिवर्तन र सांगीतिक पर्यटन प्रवर्द्धनका लागि यो कार्यक्रम आयोजना गरेको हो ।
