टीभीमा फिल्म हेर्दै हुर्केका सन्दीपले त्यसै बेला सोचेका थिए, ‘म पनि हिरो बन्छु ।’ सबैका सबै सपना साकार हुन्छन् भन्ने छैन । उनको सपनाले लामो र घुमाउरो बाटो तय गर्दै गन्तव्य भेटायो– ‘फिरफिरे फिरिरी’ ।
काठमाडौँ — बाल्यकालमै टीभीमा फिल्म हेर्दा सन्दीप श्रेष्ठ ‘हिरो’ को नक्कल गर्थे, हिरोले बोलेका संवाद कण्ठस्थ पारेर ‘मिमिक्री’ गर्दै साथीभाइलाई सुनाउँथे, आफूलाई हिरो ठान्दै हावामा ‘किक’ हान्थे । हिरोको एकै मुक्काले दर्जनौं गुन्डाहरू भुइँमा पछारिएको हेर्दा सन्दीपलाई लाग्थ्यो, ‘म पनि हिरो बन्छु, गुन्डालाई मार्छु ।’ नृत्यमै उत्तिकै रुचि थियो उनको ।
हिरो बन्न त अभिनय सिक्नुपर्ने रहेछ भन्ने थाहा पाएपछि उनी पुतलीसडकतिर धाउन थाले, जहाँ टेलिसिरियलका निर्देशकहरूको जमघट बाक्लै हुन्थ्यो । तर त्यहाँ उनले हिरो बन्ने सपना साकार हुने छेकछन्द देखेनन् । त्यसपछि अभिनय सिक्छु भनेर मण्डला थिएटर पुगे ।
मण्डलामा प्रशिक्षण लिने क्रममा सन्दीपले बुझे, हिरो बन्नुका कठिनाइ । अनि लागे नाटकतर्फ नै । पहिलो नाटक ‘बैतरणी क्याफे’ खेले । सँगैका साथीहरूले प्रमुख भूमिका पाइरहँदा उनले चाहिँ सहायक पात्रमा नै चित्त बुझाउनुपर्यो । अहिले उनलाई लाग्छ, रंगमञ्च अझ कठिन बाटो हो । ‘यो संसारमा सबैभन्दा सजिलो थिएटर गर्नु हो । सबैभन्दा रमाइलो हुने काम पनि हो । तर, यसको गहिराइमा डुब्दै जाने हो भने यो नै सबैभन्दा कठिन पनि हो,’ सन्दीप भन्छन् ।
‘बैतरणी क्याफे’ मा माहुरीको भूमिका गरेपछि उनी नाटक ‘सिरुमा रानी’ मा द्वारपालक बने । जहाँ उनको भागमा एउटै मात्र संवाद थियो, ‘महाराज फलानो पाल्नुभएको छ ।’ अभिनयको गहिराइ बुझ्दै गएपछि सन्दीपलाई लाग्न थाल्यो, ‘मलाई त केही नै पो आउँदो रहेनछ ।’ सडक नाटक, सिरिज हुँदै मण्डलाकै ‘प्लेब्याक थिएटर’ मा पनि काम गरे । १०/१५ नाटकमा स–साना भूमिका गरे, कतिमा ‘ब्याकस्टेज’ काम गरे ।
त्यति बेला पनि उनलाई ‘लिड’ मा देखिने लोभ लागि नै रहन्थ्यो । २०७३ भदौमा उनले नाटक ‘आरोप’ मा त्यो मौका पाए । तर उक्त नाटक खासै चलेन, उनलाई पनि करिअरमा खासै उपलब्धि दिलाएन । ‘त्यति बेला अब जीवनभर नाटक गर्दिनँ भन्ने निर्णयमा पुगें,’ सन्दीप विगत सम्झन्छन् । ‘आरोप’ पछि उनले रंगमञ्चबाट ‘ब्रेक’ नै लिए ।
केही समयपछि राष्ट्रिय नाचघरमा ‘बौलाहा काजीको सपना’ मञ्चन हुँदै गरेको खबर सन्दीपसँग ठोक्कियो । त्यसमा पनि भूमिका उही सामान्य नै । तर यस बेलासम्म भने उनको ‘हिरो’ बन्ने धङधङी हराइसकेको थियो । अन्ततः ‘बौलाहा काजीको सपना’ को त्यही सामान्य चरित्रले उनलाई पुनः अभिनयतर्फ फर्काइदियो ।
‘त्यसपछि मलाई भूमिका सानो वा ठूलो हुन्छ भन्ने लाग्न छाड्यो । पात्र र चरित्रमा कलाकारले कत्तिको सजीवता वा जीवन्तता दिन सक्छ भन्ने कुराले पो अर्थ राख्ने रहेछ,’ सन्दीप परिपक्व सुनिए ।
‘बौलाहा काजीको सपना’ पछि उनले पहिलो अंग्रेजी नाटक गरे, ‘लारेमी प्रोजेक्ट’ । त्यसपछिका ‘ब्रिफ क्यान्डल’, ‘क्याफे दि फ्लोर’ उनका सम्झनयोग्य अभिनय गरेका अंग्रेजी नाटक हुन् । सन्दीपले अहिलेसम्म दर्जन बढी अंग्रेजी नाटक गरिसकेका छन् । अनुप बराल निर्देशित ‘महाभोज’ मा उनले स्नातकोत्तर सकेर आएको युवा विद्यार्थीको भूमिका निर्वाह गरे ।
सन्दीपले अहिलेसम्म ३ दर्जनभन्दा बढी नाटकमा अभिनय गरिसकेका छन् । रंगमञ्चमा लगातार सक्रिय रहे पनि उनले ठूलो पर्दामा भने मौका पाइरहेका थिएनन् । आखिर सानैदेखिको सपना फिल्म खेलेरै ‘हिरो’ बन्ने जो थियो । यति बेला आएर उनको त्यो बाल सपना सार्थक भएको छ ।
निर्देशक नवीन भट्टले उनलाई हरर कमेडी जनराको फिल्म ‘फिरफिरे फिरिरी’ मा ‘ब्रेक’ दिए । जुन फिल्म गत शुक्रबारदेखि देशभर प्रदर्शन भइरहेको छ । फिल्मको कथा पनि सन्दीपले नै निर्देशक भट्टसँग मिलेर तयार पारेका हुन् । यति बेला उनी आफ्नो कामको ‘फिडब्याक’ पर्खिरहेका छन् ।
थिएटर गर्दै आइरहेका युवालाई फिल्ममा पुग्न चुनौतीपूर्ण रहेको सन्दीपको अनुभव छ । फिल्मका कैयन् अडिसनमा धाए तर पनि नतिजा शून्य आउँदा दिक्क मान्थे । फेरि रंगमञ्चमै रमाउँदै आफूलाई भुलाउँथे । अन्ततः साथीसमेत रहेका निर्देशक भट्टले नै उनलाई ‘फिरफिरे फिरिरी’ का लागि पहिलो पटक फिल्ममा ‘रोल अफर’ गरेका थिए ।
‘यदि हामी जोकोही पनि कुनै कुराका लागि योग्य र परिपक्व छैनौं भने त्यो कुरा चाहँदैमा नपाइने रहेछ । त्यसैले पनि मैले फिल्ममा अभिनयका लागि यति लामो समय कुर्नुपर्यो जस्तो लाग्छ । अहिले बल्ल मेरो पालो आएको छ,’ सन्दीपले भने, ‘फिल्मको पहुँचसम्म पुग्न नयाँलाई गाह्रो नै रहेछ ।’
