आमा गइन्, आमा आइन्

केदारले फेरि आमा पाए, ‘कान्छी आमा’ । आमाले नै अन्तिम समयमा कान्छी आमालाई भनेकी थिइन्, ‘अब यी बच्चाहरू सम्हाल्ने जिम्मा तिम्रो ।’ दुवै आमाको नाम पनि उही– अग्निकुमारी । केदारका तीन दाजुभाइ बिस्तारै कान्छी आमाको काखमा लुट्पुटिन थाले ।

पुस २, २०८१

समर्पण श्री

Mother went, mother came

काठमाडौँ — यादहरू जतिसुकै धमिला हुन्, स्मृतिको एल्बममा केदार घिमिरेले आफ्नी आमालाई जतनले सँगालिराखेका छन् । बेलाबखत पल्टाउँछन् तर आमा आँसु भएर बग्छिन् । बाल्यकालमा कसैले अनायासै सोध्थे आमाको नाम । उनी भनिदिन्थे, ‘अग्निकुमारी ।’ तर, अग्निकुमारी अग्निमै विलीन भइन् ।

मनमा बिझ्थ्यो– आमा त गइन्, कहिल्यै नफर्किने बाटो भएर ।’ एकोहोरो बजेको शंख ध्वनि अहिले पनि गर्जिरहन्छ उनको कानमा । त्यो दिन माथि कोठाको झ्यालबाट उनले दाइसँग बाहिर चियाएर हेरे । चिर निद्रामा थिइन् उनी । सायद पहिलो पटक आमा शान्त थिइन् । आमाको दुखाइ शान्त थियो । सुतिरहेकी आमालाई बाँसमा बोकेर लगे । गाउँलेहरू पछिपछि लागे । ८ वर्षका केदारले दाइसँग फुस्फुसाए, ‘लगे–लगे । आमालाई लगे ।’

केदार ५ वर्षका थिए । घर वरिपरि छिमेकीहरू जम्मा थिए । त्यतिबेला ‘च्याँ...’ गरेर रोएको शिशुको आवाज सुनियो । गाउँकै कसैले उनलाई भनिदियो, ‘तेरो भाइ जन्मियो, तँ दाइ भइस् ।’ त्यसयताका मिरमिरे स्मृतिहरू कैद छन् केदारसँग । चेत खुलेदेखि उनी आमाको समीप त्यति हुन पाएनन् । ‘आमालाई फोक्सोको समस्या थियो, बिरामी हुनुहुन्थ्यो । उहाँलाई उपचारका लागि महिनौंसम्म ललितपुरको शान्तभवनमा राखिएको याद छ,’ उनी सम्झन्छन् । एक पटक चार महिना अस्पताल राखेर आमालाई घर ल्याइएको थियो । घरभित्र राखिएकी आमालाई उनले टुलुटुलु हेरिमात्र रहे । आफन्तले सोधे, ‘तैंले चिनिस् ?’ उनले मनमनै भने, ‘आमालाई नि बिर्सन सक्छु र !’

आमा अग्निकुमारी श्याम वर्णकी थिइन् । दयालु थिइन् । छिमेकीहरू बेलाबेलामा गाउँथे आमाको महिमा । ‘घरको बाटो भएर हिँड्ने मान्छेहरूलाई बोलाइ–बोलाइ खुवाउँथिन् । बरु रोग सहन्थिन्, भोकाएकाहरूको भोक सहन्नथिन्,’ छिमेकीहरू यसै भावमा भन्थे, ‘कति सोझी, शील स्वभावकी थिइन् ।’ केदार आमाका वाणीहरू सम्झन खोज्थे । सक्दैन थिए । दाइलाई सोध्थे, ‘के भन्थिन् हाम्री आमा ?’ दाइलाई याद भएका कुरा सुनाउँथे, ‘आमा भन्नुहुन्थ्यो– दाँत देखिने गरी हाँस्नु हुँदैन । समाजले राम्रो ठान्दैन ।’

उनलाई आमा अग्निकुमारीसँगको एउटा सम्झना छ । उनी आमासँग मामाघर गएका थिए । हिँड्दाहिँड्दै थाके तर मामाघर आइपुगेन । सोधे, ‘अब कति बेला आउँछ ?’ आमाले औंलाले देखाउँदै भनिन्, ‘ऊ त्यहीँ पर हो, आइसक्यो ।’ भनेको निकैबेरसम्म पनि मामाघर आइपुग्थेन । केदारलाई लाग्थ्यो, ‘आमाले बोकिदिए पनि हुने ।’ तर बोकिनन् । ‘कारण, पछि पो थाहा पाएँ । त्यतिबेला रोगले थलिएर आमाले बोक्न नसक्नुभएको रहेछ,’ केदार भन्छन् ।

केदार मकवानपुरको ठिंगनमा जन्मिए । दुई वर्षको हुँदा एउटा घटना उनलाई पछिसम्म पनि ठूलाहरूले सुनाउँथे । आमाले दाइलाई भाइ हेर्न अह्राएर घाँस काट्न गइछन् । फर्किंदा, दाइ मात्र थिए, केदार थिएनन् । अग्निकुमारीको ओठ–मुख सुके । बर्खाको बेला थियो । झमझम पानी परिरहेको । मकैका घारीहरू परसम्म फैलिएका थिए । स्याल आउने डर उत्तिकै थियो । छिमेकीहरूसहित मिलेर उनलाई धुइँपताल खोजे, भेटिएनन् । अग्निकुमारी अचेतजस्तै भइन् । सबैले माया मारेर घर फर्किंदा उनी आँगन छेउमै खेलिरहेका थिए । ‘त्यति बेला आमालाई के बितेको थियो होला ? अहिले अनुभूत गर्छु,’ केदार सुनाउँछन् ।

आमाका अन्तिम दिन सम्झँदा अहिले पनि उनी सम्हालिन सक्दैनन् । अघिल्लो साँझ कुरुवा बसेका गाउँलेहरूले छनक पाइसकेका थिए । केदार नजिक नजिकै थिए । उनलाई परतिर पठाउँदै भन्न थाले, ‘भुराहरूलाई छेउछाउमा बस्न नदेऊ ।’ 

त्यो क्षण आमाले कान्छो भाइलाई खोजिन् तर भाइलाई नजिक पर्न दिइएन । त्यतिबेलै केदारले ठम्याइसकेका थिए, ‘आमा जाँदै छिन् ।’ आमा गएपछिका दिनहरू केदारले अबोध अनुभूत गरे । साथीहरूले आफूलाई कसैले केही गरेमा ‘आमालाई भनिदिन्छु’ भन्थे । ‘साथीहरूले त आमालाई भन्लान्, मचाहिँ कसलाई भन्ने ?’ अबोध प्रश्नको जवाफ सायद उनीसँग पनि थिएन । उनको मनोबल कमजोर हुन्थ्यो अनि साथीहरूसँग डराउँथे ।

२०३९ सालमा, केदारले फेरि आमा पाए, ‘कान्छी आमा’ । आफ्नी आमाजस्तै दयालु । आमा जानुअघि नै बाको नयाँ विवाहको कुरा चलिरहेको थियो । आमाले नै सानी आमालाई सुम्पिदिँदै भनेकी थिइन्, ‘अब यी बच्चाहरू सम्हाल्ने जिम्मा तिम्रो ।’ केदारका तीन दाजुभाइ बिस्तारै कान्छी आमाको काखमा लुट्पुटिन थाले । आमाको जस्तै गाली, आमाको जस्तै स्नेह । त्यसमाथि नाम पनि अग्निकुमारी । 

अग्निकुमारीको कोखबाट अरू सन्तान जन्मिएनन् । उनले तीनै छोरालाई आफ्नो सन्तानका रूपमा अपनाइन् । मायाले आफ्नो छातीमा टाँसिन् । ‘उहाँले न कहिल्यै कान्छी आमाको महसुस गराउनुभयो, न अभाव हुन दिनुभयो । आमाले गर्ने सबै चीज गर्नुभयो,’ केदार सम्झन्छन् । उनी रिसाउँदा खाना खाँदैन थिए । आमा केदारको घुर्की बुझ्थिन् र फकाउँदै खुवाउँथिन् । उनी चाँडो सुत्थे । आमा उनलाई उठाएर काखमा राखेर खुवाउँथिन् । केदारलाई आमाको काख साह्रै प्यारो लाग्थ्यो । एक पटक केदारको खुट्टामा काँडा बिझेछ । खुट्टा पनि सुन्निएछ । आमाको गाली खाइन्छ भनेर उनले घाउ छोपेर हिँडेछन् । अग्निकुमारीले देखेपछि दुःखी भइन् । अनि औंलाले निचोरिदिँदै औषधि लगाइदिइन् । र, गाली पनि गरिन्, ‘फटाहा, यसरी घाउ लुकाएर हिँड्ने हो ?’ 

केदार कक्षा ७ पढ्न ललितपुरमा छात्रावास बसे । बेलाबेलामा घर पुग्दा आमाको एउटै चिन्ता हुन्थ्यो, ‘यो त दुब्लाएछ ।’ फर्किने बेलामा उनी मनग्गे कोसेली तयार पारेर पठाइदिन्थिन् । र, भन्थिन्, ‘भोकैचाहिँ बस्दै नबस् ।’ घरको आर्थिक अवस्था दरिलो थिएन । बाको कमाइलाई आमाले जोहो गर्थिन् । घरलाई घरजस्तो बनाउँथिन् । ‘आमा एक दिन नहुँदा घर सुनसान हुन्थ्यो । छरपस्ट हुन्थ्यो । उराठ लाग्थ्यो । जब आमा आउनुहुन्थ्यो, सबै कुराहरू लयमा हुन्थे,’ केदार सम्झन्छन् ।

आमा चाहन्थिन्, छोराहरू सधैं असल बाटोमा लागुन् । एक पटक केदार रक्सी पिएर घर पुगेका थिए । आमाले गन्ध थाहा पाइन् । चित्त दुखाउँदै भनिन्, ‘काठमाडौं गएर एकदमै ठूलो कुरा सिकेर आइछस् । राम्रो गरिछस् ।’ त्यति बेला केदार २४ वर्षका थिए । आमाले गरेको गाली पछिसम्म पनि सम्झिरहन्थे उनले । नभन्दै उनले रक्सी पनि छाडे । ‘म नचाहिने चीज केही खान्न । नचाहिने कुरा केही गर्दिनँ । किनकि मलाई आमाले हेरिरहेकी छन् झैं लाग्छ,’ केदार भन्छन् ।

Mother went, mother came

केदारका उमेरका साथीहरूले घरजम गरिसकेका थिए । २० वर्ष कटेपछि आमाको चिन्ता थियो, ‘बिहे कहिले गर्ला ?’ केदार काठमाडौंबाट घर पुग्दा जहिल्यै सोध्थिन्, ‘बिहे गर्नु पर्दैन ?’ केदारले ०५६ सालमा बिहे गरे । घरमा बुहारी भित्र्याउने उनै आमा थिइन् । ‘त्यतिबेला आमा निकै खुसी हुनुभएको थियो,’ केदार भन्छन् । आमा बुहारी सीतादेवीसँग खुब मिल्थिन् । उनीहरू सासू–बुहारीभन्दा बढी साथीजस्ता थिए । तर बुहारी भित्र्याएको २ वर्षपछि उनै आमाले पनि छाडेर गइन् । अस्पतालको शय्यामा हुँदा अग्निकुमारीले सीतादेवीलाई भनेकी थिइन्, ‘अब तिमीहरूको राम्रो हुन्छ । सबै राम्रो हुन्छ ।’ आमाको आशीर्वाद फाप्यो पनि । उनी कलाकारितामा चम्किए । लोकप्रिय हास्य टेलिशृंखला ‘मेरी बास्सै’ बाट उनको पात्र ‘माग्ने बुढा’ चर्चित बन्यो । फिल्ममा पनि ‘छ एक्कान छ’ बाट कहिल्यै पछाडि फर्किनुपरेन । कलाकारिताबाटै उनले आफ्नो कमजोर आर्थिक अवस्थालाई बलियो बनाए । उनलाई लाग्छ, ‘कलाकारिता क्षेत्रमा राम्रो हुँदै जानु आमाकै आशीर्वाद थियो कि !’

बितेको वर्षौंपछि सीतादेवीको सपनामा आइन्, आमा । उनले उसैगरी आशीर्वाद दिँदै भनिन्, ‘तेरो रुनु सकियो । अब कहिल्यै रुन पर्दैन ।’

२०५८ सालतिर । केदार काठमाडौंमा आफ्नो रेडियो पसलमा थिए । गाउँबाट एक्कासि आमाको पेट फुलेको खबर आयो । उनी गाउँ पुगेर आमालाई पाटन अस्पतालमा ल्याए । डाक्टरले भने, ‘तुरुन्तै अपरेसन गर्नुपर्छ ।’ आमाको आन्द्रा क्षयरोगले प्वाल परेको रहेछ । धन्न, अपरेसन सफल भयो । आमालाई घर लगियो । परिवारमा खुसियाली छायो । तर, अपरेसन गरेको एक महिना नपुग्दै आमाको पेट फेरि दुख्न थाल्यो । जीउ सुक्दै जान थाल्यो । केदारका तीनै दाजुभाइले आमालाई बचाउन हरतरह प्रयास गरे तर सकेनन् । 

अर्की आमा पनि गइन् । पहिलाकै आमाझैं, कहिल्यै नफर्किने बाटो भएर । केदारले बा कृष्णप्रसाद रोएको कहिल्यै देखेका थिएनन् । त्यस दिन पहिलो पटक देखे । आमालाई शव वाहनमा राखेपछि बाले मूर्छित हुँदै भने, ‘मेरो कर्म यस्तै रैछ । दुवैले छाडेर गए ।’ अहिले पनि केदार पाटन अस्पताल परिसरमा जान सक्दैनन् । दुई वर्ष अगाडि उनी बाको औषधि किन्न त्यहाँ पुगेका थिए । उनलाई ह्विलचियरमा राखिएकी आफ्नी आमाको कारुणिक दृश्यको झल्को आयो । उनी त्यहीँ गले । भक्कानिए । 

फिल्म छायांकनका क्रममा कहिलेकाहीँ आमाछोराका सम्बन्धका दृश्यहरू आउँछन् । त्यो बेला केदारलाई असह्य पीडा हुन्छ । ‘छक्का पञ्जा’ पहिलो सिरिज छायांकनका बेला एउटा दृश्य खिच्नुपर्ने थियो । जसमा केदारको पात्र आफ्नी क्षयरोग भएकी आमालाई छाडेर विदेश जाँदै छन् । उक्त दृश्य गर्दागर्दै केदारका आँखा भरिए । उनले अभिनय गर्नै सकेनन् । आँसु नआउनुपर्ने दृश्य तर आइरह्यो । १० टेकसम्म पनि उनले सकेनन् । ‘म मात्र हैन, टिममा भएकाहरूका पनि आमा थिएनन् । उनीहरू पनि रुन थाले,’ केदार सम्झन्छन् ।

हरेक वर्ष आमाको मुख हेर्ने दिन आउँछ । अरूले फेसबुकका भित्तामा आमाको तस्बिर पोस्ट्याउँछन् । तर उनी ? जसले जीवन दिइन्, ती आमाको फोटो त फ्रेममा सजिएको छ । तर जन्म दिने आमाको फोटो कहीँ कतै पनि छैन । उनी फ्रेममा सजिएकी आमालाई हेर्छन्, मन बुझाउँछन् । केदारले पहिलो आमाको फोटो नखोजेका पनि हैनन् । त्यति बेला फोटो खिच्ने चलन थिएन । न त खिच्न सक्ने परिवारको हैसियत नै । आमाको फोटो उनले पछिसम्म खोजे । कतै भेटेनन् । नागरिकता पनि खोजे । भेटेनन् । ०४९ सालमा उनको घर जलेको थियो । जल्दा धेरै थोक जलेका थिए । लाग्यो, ‘सायद नागरिकता पनि त्यहीँ जल्यो कि !’ 

खोज्दै जाँदा केदारले सोचे, ‘यदि नागरिकता बनेको थियो भने सीडीओ कार्यालयको ढड्डामा पो छ कि !’ उनको झिनो आशा त्यहीँ मात्र छ । फुर्सद मिल्नासाथ उनी आमाको फोटो खोज्न त्यहाँ पुग्नेछन् । नत्र त जन्म दिने आमाको धमिलो स्मृतिबाहेक केही हुने छैन उनीसँग । ‘यदि फोटो भेटिहालें भने ठूलो बनाएर भित्तामा सजाएर राख्छु,’ केदारले निकैबेरदेखि भिजेका आँखाहरू पुछ्दै भने ।

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully