रुकुम पश्चिमको चौरजहारी–८ स्थित गोइरी गाउँका १५ ढुंगाखानीबाट यहाँ तीन पुस्तादेखि स्लेट निकालिँदै आएको छ, टायल र मार्बलको सट्टा स्लेट ढुंगाको प्रयोग बढ्दै गएपछि झन्डै एक सय स्थानीयले रोजगारी पाएका छन्, स्थानीय भन्छन्, ‘गोइरीको ढुंगाले बिदेसिनबाट हामीलाई रोकेको छ’
सुर्खेत, रुकुमपश्चिम — रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ गोइरीका ७१ वर्षीय धनसिंह पुन बिहान ६ नबज्दै घरनजिकैको ढुंगाखानी पुग्छन् । साँझसम्मै खानीबाट ढुंगा निकाल्ने र त्यसलाई विभिन्न आकार दिने उनको यो दैनिकी ५६ वर्षदेखि निरन्तर चलिरहेको छ ।
उनका बाबु भोजसिंहले पनि यही खानीमा झन्डै ४० वर्ष बिताए । धनसिंहले ढुंगा निकालेर प्रशस्तै धन नकमाए पनि रोजगारीका लागि विदेश धाउनुपरेको छैन ।
‘यही कामले अहिलेसम्म परिवारको लालनपालन, घरखर्च, छोराछोरीको उच्च शिक्षाका लागि रकम जुटाइरहेको छु,’ उनले भने, ‘गाडी लिएर ग्राहकहरू खानीमै आउँछन्, घरनजिकैको रोजगारीले जीविका राम्रै चलेको छ, सन्तुष्टि पनि मिलिरहेको छ ।’
गोइरीकै ६१ वर्षीय खिमे घर्तीले पनि ढुंगाखानीमा काम गर्न लागेको झन्डै ५० वर्ष पुग्यो । उनका बाबु षडानन्दले पनि लामो समय यही खानीमै काम गरे ।
‘बुवाको पछिपछि लागेर ११ वर्षको उमेरदेखि यही खानीमा काम गरिरहेको छु, यहींकै कमाइले २ छोरालाई सरकारी जागिरे बनाएँ,’ उनले भने, ‘चौरजहारी बजारमा २ तले पक्की घर बनाएको छु, दुःख पनि खासै छैन, आम्दानी पनि भइरहेकाले बुढ्यौलीमा पनि दिनहुँ खानीमा आएर काम गर्छु ।’ उनले अहिले पनि खानीबाट ढुंगा निकालेर दैनिक १ हजारदेखि १५ सय रुपैयाॅसम्म कमाइ रहेको बताए ।
यहाँको खानीबाट निकालिएका ढुंगा सबैभन्दा बढी काठमाडौं र पोखरामा जाने गरेका छन् भने नेपालगन्ज, बुटवल, सुर्खेत, बागलुङ, दाङलगायत ठाउॅमा पनि यसको माग बढिरहेको छ । सुरुमा स्थानीयस्तरमै खपत भइरहेकोमा ५ वर्षयता यहाँका अधिकांश ढुंगा सहरतिर जाने गरेको हो ।
गोइरीका ढुंगा छानो छाउन, भान्सामा सिलौटोका रूपमा प्रयोग गर्न र सजावटका सामग्री बनाउन प्रयोग भइरहेको स्थानीय कविन्द्र बुढाले बताए । उनका अनुसार कतिपयले घरभित्र मार्बल र टायलको सट्टामा पनि गोइरीको ढुंगा प्रयोग गरिरहेका छन् ।
‘अन्यत्रका ढुंगाखानी लोप भइरहेका बेला हामीले भने पुस्तौंदेखि रोजगारी पाइरहेका छौं, गाउॅका हरेक परिवारबाट कम्तीमा एक जनाले खानीमा रोजगारी पाउँदा सबै घरको आम्दानीको स्रोत बनेको छ,’ कविन्द्रले भने, ‘यही खानीको कमाइबाट अधिकांशले चौरजहारी बजारमा घर बनाएका छौं, जग्गाजमिन जोडिरहेका छौं ।’
स्थानीय कमल विकका अनुसार खानीबाट ढुंगा बाहिर निकाल्न नपाउॅदै बिक्री भइहाल्छन् । ३/४ महिनाअघिदेखि नै ढुंगा व्यापारीले पेस्की रकम पठाउने गरेको उनले बताए । पछ्रिल्लो समय ठूला होटल, विभिन्न पार्क तथा पर्यटकीय स्थलहरूमा पनि यहाँका स्लेट ढुंगा प्रयोग भइरहेको छ ।
‘अहिले त सहरतिर टायल, मार्बलको सट्टा यहाॅका ढुंगा प्रयोग भइरहेका छन्, व्यापारीहरू गाडी लिएरै ढुंगा खरिद गर्न आउॅछन्,’ कमलले थपे, ‘उत्पादन कम माग बढी छ, माग धान्नै मुस्किल भइसक्यो ।’
सहरमा ढुंगा बिक्न थालेपछि खानीमा जोडिनेको संख्या पनि बढिरहेको उनको भनाइ छ । अहिले खानी र आसपासका क्षेत्रमा झन्डै १ सय जनाले रोजगारी पाएका छन् । उनीहरूको आम्दानी दैनिक १ हजारदेखि ५ हजार रुपैयाॅसम्म छ । खानीबाट निकालेको ढुंगाको संख्याका आधारमा उनीहरूको ज्याला निर्धारण हुन्छ ।
ढुंगाको माग बढिरहेपछि खानी क्षेत्रमा ढुंगा काट्ने मेसिन ल्याइएको अर्का कामदार धनबहादुर चन्दले बताए । ‘मेसिन ल्याएपछि हातले ढुंगालाई आकार दिन परेको छैन,’ उनले भने, ‘काम पनि छिटो र सहज हुन थालेको छ, मेसिनमार्फत अर्डरअनुसारकै ढुंगा बन्न थालेपछि बिक्री पनि ह्वात्तै बढेको छ ।’
ढुंगाखानीमा काम गर्ने उनको परिवारमा उनी तेस्रो पुस्ताका हुन् । बाबुबाजेले पनि यही खानीमा लामो समय काम गरेको उनले बताए । ‘यो हाम्रा बाजेहरूको पालादेखिकै खानी हो, खानीबाट पुरानै तरिकाबाट ढुंगा निकाल्छौं, बाहिर ल्याएर मेसिनमार्फत विभिन्न आकारमा ढाल्ने गरिएको छ,’ उनले भने, ‘सुरुमा स्थानीयस्तरमै घर छाउन मात्र यहाॅका ढुंगा प्रयोग गरिन्थ्यो, अचेल जस्तापाताले घर छाउन थालिएपछि ढुंगाको माग घटेको थियो, तर अहिले फेरि घर, पार्क सजावटका लागि यिनै ढुंगा प्रयोग गर्न थालिएको छ ।’ उनका अनुसार खानीमा ढुंगाका आकार हेरेर मूल्य तोक्ने गरिएको छ ।
सामान्यतया ४० देखि ७० रुपैयाॅसम्ममा एउटा ढुंगा बिक्री हुन्छ । यही मूल्यबाट जग्गाधनी, खानीमा काम गर्ने, श्रमिक र नगरपालिकाले कर लिन्छ । नगरपालिकाले ढुंगाको आकार हेरेर ५ रुपैयाॅसम्म कर लिने गरेको छ । पछिल्लो समय माग बढेसॅगै आम्दानी पनि बढिरहेको अर्का कामदार डिल्ली हमालले बताए ।
‘हामी यसैबाट परिवार पालेका छौं, छोराछोरीको पढाइ खर्च व्यहोरिरहेका छौं,’ उनले भने, ‘माग बढ्दै गएपछि दिनमा कम्तीमा ३ हजारसम्म कमाइ गरिरहेका छौं ।’ उनले अहिले बिहान सबेरैदेखि राति अबेरसम्म खानीमा व्यस्त हुने गरेको बताए ।
खानी नजिकसम्म नगरपालिकाले सडक निर्माण गरिदिएको छ । मध्यपहाडी लोकमार्गदेखि खानीसम्मको सडक निर्माणपछि व्यापारीहरू गाडी लिएर खानीमै ढुंगा ल्याउन जाने गरेको नगर प्रमुख पुष्प बादीले बताए । ‘यो खानीमा अहिले तेस्रो पुस्ताले काम गरिरहेका छन्, परम्परागत व्यवसायबाट गाउ नै आत्मनिर्भर बनेको छ,’ उनले भने, ‘आसपासका गाउॅबाट युवाहरू विदेश गएका गएै छन्, गोइरीमा भने ढुंगाखानीले विदेश पलायन रोकिरहेको छ, ढुंगाखानीबाट भएको आम्दानीले अधिकांशले सहर/बजारमा घरजग्गा जोडेका छन् ।’
गोइरीमा पाइने ढुंगा विशिष्ट खालको भएकाले संघीय राजधानीसम्म यसको माग बढिरहेको उनको भनाइ छ । ‘खानीले स्थानीयलाई आम्दानी त दिएको छ नै, चौरजहारीको पहिचान पनि विभिन्न ठाउॅसम्म पुर्याएको छ,’ उनले भने ।
खानीमा राम्रै आम्दानी भएपछि कालापहाड (भारत) जानु नपरेको ६२ वर्षीय तुलाबहादुर घर्तीले बताए । ‘सिंगो जीवन नै ढुंगाखानीमा बिताइयो, चौरजहारी बजारमा पक्की घर बनाउने, जग्गा जोड्ने, सन्तान पढाउने मुख्य आयस्रोत नै यही खानी हो,’ उनले भने, ‘गोइरी गाउॅवासीको जीविकोपार्जनको मुख्य स्रोत नै यही खानी हो ।’
उनले आफूले काम सुरु गर्दाताका एक सयवटा ढुंगा १० रुपैयाॅमा बिक्री गरेको सुनाए । कुनै बेला परम्परागत घर छाउन प्रयोग हुने स्लेट ढुंगा अहिले आधुनिक घरहरू सजाउन प्रयोग भइरहेको उनको भनाइ छ ।
‘पोखरा र काठमाडौंका घरमा भित्तामा टाँस्न र भुइॅमा छाप्न पनि यहाॅका स्लेट ढुंगा प्रयोग भइरहेका छन्,’ उनले भने, ‘पदमार्ग, पार्किङ र बगैंचामा पनि गोइरीका ढुंगाको माग बढ्दो छ । हेर्दा आकर्षक देखिने र मार्बलभन्दा धेरै टिकाउ हुने भएकाले स्लेटको माग बढिरहेको हो ।’
ढुंगाखानीका सञ्चालक मिसरकुमार मल्लले अहिले करिब ७५ जना दक्ष मिस्त्री र २३ जना कामदारले खानीमा काम गरिरहेको बताए । उनका अनुसार यो मौसममा ढुंगा निकालिरहेका १५ वटा खानीमा कम्तीमा ५ जनाका दरले मिस्त्री र अन्यले काम गरिरहेका छन् ।
हरेक वर्ष मंसिरदेखि जेठसम्म ढुंगाखानीमा काम हुने उनको भनाइ छ । अन्य महिनामा भने पानी पर्ने भएकाले पहिरो जाने र दुर्घटना हुने भएकाले काम रोक्ने गरिएको छ । बिक्रीका लागि तयार भएका ढुंगाहरू आकार हेरेर मूल्य निर्धारण हुने उनले जानकारी दिए । उनका अनुसार अहिले ७० रुपैयाॅ प्रतिगोटाका दरले ढुंगा बिक्री हुने गरेको छ ।
गोइरीको ढुंगाखानी व्यक्तिको जग्गामा छ । यो वर्ष ५ जनाको जग्गामा रहेको १५ वटा खानीबाट ढुंगा निकालिरहेको सञ्चालक मल्लले बताए । त्यसबाहेक अन्य खानीमा कुनैमा ढुंगा सिद्धिएका छन् भने कुनै माटोले पुरिएका छन् ।
खानीबाट यो वर्ष करिब २ लाख ५० हजार ढुंगा निकाल्नेगरी काम भइरहेको उनले बताए । चौरजहारी नगर प्रमुख पुष्पले गोइरी र गढीमालिकामा भएको ढुंगाखानी स्थानीयका लागि रोजगारीको प्रमुख स्थल भएको बताए । दुवै खानीमा गरेर झन्डै १ सय ५० जनाले दैनिक रोजगारी पाइरहेका उनको भनाइ छ ।
खानीबाट ढुंगा निकाल्नेले मात्र रोजगारी पाएका छैनन्, ढुंगा बोक्नेहरूले पनि आम्दानी गरिरहेका छन् । गोइरीबाट चौरजहारी बजारसम्म ढुंगा ओसार्नेहरूले प्रतिगोटा १० रुपैयाॅ ज्याला पाउँछन् । ‘दिनमा एक सयवटा ढुंगा बोक्दा पनि एक हजार रुपैयाँ कमाइ हुन्छ,’ स्थानीय राकेश घर्तीले भने, ‘खानीबाट ढुंगा ओसारपसार गर्न थालेपछि घरखर्च राम्ररी चलेको छ ।’
उनका अनुसार झन्डै ५० जनाले सिजनको बेला ढुंगा ओसार्ने काम पाउँछन् । ढुंगा ओसारपसार गर्दा ट्र्याक्टरलगायत मालवाहक साधनले पनि काम पाइरहेको उनको भनाइ छ । ‘मुख्य बाटोमा पुर्याएपछि ट्रकमा लोड गरी विभिन्न ठाउॅमा ढुंगा पुर्याइन्छ,’ उनले भने, ‘यहाॅको ढुंगा त आसपासका जिल्लाका लागि ब्रान्ड बनिसकेको छ ।’ यो ढुंगाखानी करिब ३ हजार वर्गमिटर क्षेत्रफलमा फैलिएको छ ।
