नेपालमात्र नभई देशबाहिर पनि स्थानीय मिथिला चित्रकलालाई फैलाउन नवलकिशोर लागिपरेका छन्, उनकै पहलमा अमेरिकामा पनि मिथिला चित्रकला प्रदर्शनी हुँदै आएको छ
काठमाडौँ — महोत्तरीको भित्री गाउँमा टिम्किया बस्ती छ । जुन अहिले औरही नगरपालिकामा पर्छ । टिम्किया बस्तीमा २०१२ सालमा एउटा सामान्य परिवारमा जन्मिएका नवलकिशोर यादव अहिले ६९ वर्षका भए । कुनै बेला गाउँमै रमाई बसेका यादव पछिल्ला वर्ष भने नेपालदेखि विश्वका विभिन्न कुनामा पुगेर एक अब्बल चार्टर्ड एकाउन्टेन्टको भूमिका निर्वाह गरे ।
संयुक्त राष्ट्रसंघ (यूएन) मै चार्टर्ड एकाउन्टेन्ट भएर १५ वर्ष बिताए । उनी संयुक्त राष्ट्रसंघका महासचिवद्वारा ‘सेक्रेटरी जनरल अवार्ड’ पाउने पहिलो नेपाली पनि हुन् । जुन अवार्ड सन् २०१७ मा पाएका थिए । सोही वर्ष यूएनबाट अवकाश पाएका थिए । ‘विगतलाई सम्झने हो भने मैले कहिल्यै पनि यूएनमा गएर जागिर खान्छु भन्ने सोचेको थिइनँ । इमानदारिताका साथ काम गर्दै गएँ र सफलता पनि हात लाग्दै गयो,’ उनले भने ।
यादवको जीवन निकै उतारचढावपूर्ण छ । बत्ती, बाटो केही पनि नपुगेको मधेशको विकट गाउँको सामान्य परिवारमा जन्मेका उनी राष्ट्रसंघको विश्वव्यापी खर्चको आन्तरिक लेखापढी गर्ने तहसम्मको उचाइमा पुगे । महोत्तरीको टिम्किया र भोइलाको बीचमा रहेको श्री रामविलास यादव प्राथमिक विद्यालय (अहिले माध्यमिक विद्यालय) मा कक्षा ५ सम्म पढे । त्यसपछिको पढाइका लागि जनकपुरको सरस्वती मावि गए । जहाँ नेपालका प्रथम राष्ट्रपति रामवरण यादवदेखि शिक्षाविद् सुरेशराज शर्मासम्मले पढेका हुन् ।
एकातिर यादवको पढाइ अघि बढिरहेको थियो भने अर्कोतिर उनको व्यक्तिगत जीवनमा भने उतारचढाव आइरह्यो । चार कक्षामा पढ्दापढ्दै नौ वर्षको उमेरमा ५ वर्षीया दुखनी यादवसँग विवाह गरे । यादवलाई आफ्नो विवाहको धुमिल सम्झना मात्रै छ । महोत्तरीकै अर्को गाउँ वनचौरीकी दुखनीलाई उनले धेरैपछि मात्रै आफ्नी श्रीमती भनेर चिनेका थिए । विवाहको एक वर्षपछि मात्रै नवलकिशोर पढ्न जनकपुर झरेका हुन् । मधेशमा सानोमा विवाह गरेपछि दुलही माइतै बस्ने र पछि दुलहाले घर भित्र्याउने चलन थियो । जसलाई गौना भनिन्छ । विवाह भए पनि गौना नभएकाले दुखनीचाहिँ माइतीमै बस्थिन् । र, श्रीमान् यादव भने जनकपुरको सरस्वती माविमा छात्रावासमा बसेर पढ्थें ।
कक्षा आठ पास गरेपछि उनलाई घरमा भनियो, ‘अब गौना गर्नुपर्छ ।’ उनी घोडा चढेर वनचौरी पुगे । लाज गालाभरि पोतिएको थियो । ९ वर्ष लागेकी दुखनी उनको पछिपछि लागेर आइन् । यसरी उनीहरूको गृह प्रवेश भयो । बिहेपछि दुखनीले पढ्न पाइनन् । यसमा उनले पछिसम्म कुनै कैफियत पनि जनाइन् । नवलकिशोरलाई भने उनले पढ्न उक्साइरहिन् । यादवले भने, ‘मेरा धेरै साथीले विवाहपछि पढ्न छाड्नुपर्यो । तर दुखनीले मलाई यसमा दुःख दिइनन्, आफू पढ्न नपाए पनि मलाई पढ्न उत्साह दिइरहिन् ।’
यादवले आईकम पास गरेपछि पञ्चायतकालीन भूमिगत जलस्रोत परियोजनामा २०२९ सालमा लेखापाल भएर काम गरे । पाँच वर्षपछि उनले लोक सेवामा नाम निकाले र सरुवा भएर लमजुङ पुगे । लमजुङको बसाइमा यादवले पहाड र मधेशको अन्तरबारे बुझे । मानिसहरू जागिर खाँदै ‘प्राइभेट एक्जाम’ दिँदा रहेछन् भन्ने पनि उनले लमजुङ गएपछि नै पत्तो पाए । उनले पनि त्यसरी नै बीकम पढ्न सुरु गरे ।
केहीपछि जनमतसंग्रह भयो । उनी तराई सरुवा भए । मतदान अधिकृत भएर खटिएको गाउँमा पञ्चायतलाई नसघाएको आरोपमा उनको जागिर खोसियो । तत्कालका लागि उनलाई बहुतै चोट परेको यो घटना यतिका वर्षपछि फर्केर हेर्दा भने त्यो घटना उनका लागि ‘टर्निङ प्वाइन्ट’ नै बन्यो । भने, ‘त्यसपछि म काठमाडौं आएँ र महालेखा परीक्षकको कार्यालयका लागि दरखास्त दिएँ । संयोगले मेरो नाम निस्कियो र पछि म त्यसै कार्यालयको छात्रवृत्तिमा चार्टर एकाउन्टेन्ट पढ्न भारत जान पाएँ ।’
चार्टर एकाउन्टेन्सीमा संसारकै अग्रणी मानिने प्राइस वाटर हाउस कुपरको दिल्लीस्थित कार्यालयमा तीन वर्ष अध्ययन गरे । त्यहाँ काम गर्ने मौका पनि पाए ।
२००३ अप्रिलमा उनी राष्ट्रसंघीय लेखापरीक्षणको जागिरे भए । राष्ट्रसंघको कामको सिलसिलामा विश्वका ५० भन्दा बढी देश घुमे र एक सयभन्दा बढी मुलुकको यूएनसम्बन्धी आन्तरिक लेखापरीक्षण गरे । उनले मुख्य गरी लेखापरीक्षण भने राष्ट्रसंघको न्युयोर्कस्थित मुख्यालय, टुक्रनुअघिको सुडान, टिमोर लिस्टे र केन्यामा गरे । उनी सन् २००३ मा केन्यामा पहिलो पटक पोस्टिङ भए । नौ महिनाको कामको दौरान नैरोबीमा बसेर अफ्रिकी महादेशको आन्तरिक लेखापरीक्षण गरे । त्यस बेला यूएनका अफ्रिकी महादेशमा भएका आन्तरिक प्रोटेक्टहरू, फिल्डमा भइरहेको काम र अन्य विभिन्न कार्यक्रमको लेखापरीक्षण गरे । त्यसपछि यादवको दोस्रो पोस्टिङ टिमोर लिस्टेमा सन् २००४ देखि २००५ सम्म भयो । इन्डोनेसियाबाट छुट्टिएको र भर्खरै शान्ति प्रक्रियामा अघि बढेको उक्त मुलुकलाई प्रशासनिक र अन्य हिसाबमा स्थायित्व दिलाउनका लागि यूएनले काम गरेको थियो ।
‘हामीले लेखापरीक्षण गर्दा मितव्ययी, कार्यक्षमता र त्यसको प्रभावकारिताबारेमा हेर्ने गर्छौं,’ उनले भने, ‘हामी त्यसैको आधारमा रहेर काम गर्छौं ।’ त्यसपछि यादवले सन् २००५ देखि २००७ सम्म सुडानमा काम गरे । त्यस बेला दक्षिण सुडान जन्मिसकेको थिएन । यूएनकै सबैभन्दा ठूलो मिसनका रूपमा पर्थ्यो त्यो मिसन । सुडानमा १० हजारभन्दा बढी शान्ति सैनिक थिए । उनीहरूको खाद्य, गुणस्तर, प्रयोग गर्ने सामग्रीलगायत सम्पूर्ण विषयको लेखापरीक्षण गर्नेमा यादव पनि थिए । अन्त्यमा सन् २००७ बाट २०१७ सम्म भने उनले यूएनको मुख्यालयमा रहेर काम गरे । जहाँबाट एक सयभन्दा बढी मुलुकका लेखापरीक्षण गरे ।
यादवले संयुक्त राष्ट्रसंघमा दुई तरिकाले नियमित रूपमा लेखापरीक्षण हुने प्रस्ट पारे । पहिलो ‘बोर्ड अफ अडिटर्स’ र दोस्रो आन्तरिक ‘अडिट’ हुन्छ । ‘बोर्ड अफ अडिटर्स’ मा राष्ट्रसंघका १९३ सदस्य मुलुकमध्ये तीन देशका प्रतिनिधि हुन्छन् । यो यूएनको बाह्य लेखापरीक्षणका लागि निर्माण गरिएको हो । सदस्यहरूलाई ६ वर्षको कार्यकाल सकिएपछि फेरि म्याद थप्न वा नियुक्त गर्न पाइँदैन । दोस्रो, आन्तरिक अडिटमा महासचिवको सिफारिसमा महासभाले ५ वर्षका लागि लेखापरीक्षकहरूलाई नियुक्त गर्छ । र, उनीहरूलाई ५ वर्षसम्म घटाउन पनि मिल्दैन । यादवले भने दोस्रो अर्थात् आन्तरिक अडिटमा काम गरेका हुन् ।
विभिन्न मुलुक हुँदै संयुक्त राष्ट्रसंघकै मुख्यालयमा गएर काम गरेका यादव अहिले आफ्नो विगतलाई सम्झँदै समाज सेवामा लागेका छन् । उनको भनाइ छ, ‘यो संसारले हामीलाई ऋणी बनाउँदो रहेछ । यहाँबाट बिदा हुनुअघि त्यो तिर्नुमा जीवनको गरिमा छ ।’ यादव अहिले समाजले दिएका अवसर नै ‘गिभिङ ब्याक टु सोसाइटी’ (समाजलाई फिर्ता दिने अभियान) मा छन् । साथीभाइहरूले विदेशमा नबसेर किन नेपाल फर्केको भन्ने प्रश्न गरिरहँदा उनी भने पहिला आफू पढेको स्कुलको पूर्वाधार निर्माणमा सहयोग गर्ने, आफू पढेको र आफ्नो क्षेत्रको विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति दिने तथा अन्य विभिन्न कार्यक्रमहरूमा व्यस्त छन् ।
आफ्नो गाउँको सामुदायिक विद्यालय भवन बनाउन र त्यहाँको पढाइ सुधार्न लागिरहेका यादवले मिहिनेत गरिरहेका छन् । उनले आफू पहिला ५ कक्षासम्म पढेको श्री रामविलास यादव माविलाई ३६ लाख रुपैयाँ अनुदान दिएका छन् । बालिकाहरूका लागि सुलभ शौचालय बनाउने तथा पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीका लागि छात्रवृत्तिको समेत व्यवस्था गरेका छन् । छात्रवृत्ति दिने काम उनले आफू पढेको स्कुलमा मात्र नभई नजिकैको वनचौरी माविमा पनि उपलब्ध गराएका छन् । कक्षा ४, ५, ६ र ७ का पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराएका छन् । उनले विगत ५ वर्षदेखि उक्त व्यवस्था गरिरहेका छन् र भविष्यमा पनि यसलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे । छात्रवृत्ति उनले नवल–दुखनी यादव फाउन्डेसनमार्फत दिइरहेका छन् ।
उनी अहिले जनकपुरको सरस्वती माविका सञ्चालक समितिका अध्यक्ष पनि हुन् । उनले उक्त स्कुलका लागि गुरुयोजना बनाउने अभियान पनि थालेका छन् । ‘कुनै बेलामा चर्चित विद्यालयलाई फेरि लयमा फर्काउने कोसिस गरिरहेको छु । विदेशमा बस्नुभन्दा त आफूले पढेकै विद्यालयमा फर्केर त्यसलाई थप बलियो बनाउन सकियो भने भविष्यमा राम्रा विद्यार्थी उत्पादन गर्न सकिन्छ, त्यो नै मेरा लागि खुसीको क्षण हुनेछ,’ यादवले भने । उनले नेपाल मात्र नभई देशबाहिर पनि आफ्नो स्थानीय मिथिला चित्रकलालाई फैलाउनका लागि पहल गरेका छन् । उनको पहल र नेपाल सरकारको सहयोगमा न्युयोर्कमा मिथिला चित्रकला प्रदर्शनी पनि भइरहेको छ । अन्त्यमा उनले थपे, ‘हरेकले आफू हुर्के–बढेको समाजमा ‘ऋण तिर्न’ केही न केही गर्नुपर्छ । मैले त्यही गरेको हुँ ।’
