‘धर्ती भिज्यो, अब बाली सप्रेला’

मंसिर २५, २०८१

वसन्तप्रताप सिंह

”The land is wet, now the crops are wet”

बझाङ — सुदूरपश्चिमका पहाडी जिल्लामा पनि सोमबार हिमपात भएको छ । बझाङ, बाजुरा, डोटी, डडेल्धुरा, दार्चुला, बैतडीका उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात भएको हो । हिउँदे बाली लगाएर वर्षाको आशामा रहेका किसानलाई हिमपातले खुसी बनाएको छ । 

अघिल्ला हिउँदमा लामो खडेरीको चपेटामा परेका किसानहरू सोमबार बिहानदेखि सुरु भएको वर्षासँगैको हिमपातले हिउँदे बाली सप्रिने आशामा किसानहरू हर्षित भएका हुन् । ‘५/६ वर्ष भइसक्यो, समयमै हिउँ नपरेर हिउँदे बाली गतिलो भएको थिएन । यस वर्ष मंसिरमै हिउँ पर्‍यो,’ बझाङ बित्थड चिरका किसान मानबहादुर बोहराले भने, ‘यो वर्ष राम्रो हिउँ पर्छ भन्ने आशा छ ।’ उनले मंसिरमा नै हिउँ पर्न सुरु हुनु हिउँदभरि पर्याप्त हिमपात हुने संकेत भएको बताए । 

बझाङका सुर्मा, साइपाल, तलकोट, मष्टा, छविसपाथीभेरा, थलारा, केदारस्युँ, दुर्गाथली, बित्थडचिर गाउँपालिका तथा जयपृथ्वी र बुंगल नगरपालिकाका उच्च पहाडी क्षेत्रमा हिमपात भएको हो । उच्च हिमाली क्षेत्रमा एक फिटसम्म हिउँ जमेको स्थानीयले बताए । यद्यपि बस्ती क्षेत्रमा भने हल्का हिउँ जमेको देखिन्छ । हिमपातसँगै जिल्लामा चिसो बढेको छ । 

बाजुराको गौमुल, बुढीनन्दा, हिमालीलगायतका गाउँपालिकामा हिमपात भएको स्थानीयले जानकारी दिए । ‘अघिल्ला वर्षजस्तै खडेरी पर्छ कि भनेर डराएका किसानलाई हिमपातले ठूलो राहत दिएको छ,’ बाजुरा कोल्टीका अनिल शाहीले भने, ‘धर्ती भिजेपछि आकाशेपानीको भरमा खेती लगाएका किसानहरू छरेको बीउ उम्रिने आशाले खुसी भएका छन् ।’ 

वर्षासँगै बैतडीको ग्वाल्लेक खोड्पे, अनारखाली, ढोल्यामोड, सिगास, मेलौलीलगायतका उच्च लेकाली स्थानमा हिमपात भएको छ । यस्तै डोटीको गैरा, साउखर्क, डडेल्धुराको हगुल्टे, डोटीको खप्तड क्षेत्रमा पनि हिमपात भएको स्थानीयले जानकारी दिए । हिमपात र वर्षाका कारण बढेको चिसोका कारण जनजीवन भने प्रभावित बनेको छ । दैनिक ज्याला मजदुरी गर्ने, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित भएका छन् । चिसोका कारण बाहिर हिँडडुल गर्न र नियमित काम गर्न पनि असहज भइरहेको देखिन्छ । स्थानीय आगो तापेर घरमै बसिरहेका छन् । 

हिमपातका बेला समूहमा आगो ताप्ने, भुम्ला (गेडागुडीको झोल) तथा फर्सी आदि पकाएर खाने यहाँका स्थानीयको प्रचलन छ ।

वसन्तप्रताप सिंह कान्तिपुरका बझाङ संवाददाता हुन् ।

Link copied successfully