हसिनापछिको बंगलादेशका ४ महिना

गत अगस्टमा आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताले हसिनाको दललाई राजनीतिक प्रतिबन्धको माग गर्दै आएका छन् तर युनुस आफ्नो अन्तरिम सरकारले ‘राजनीतिक दलका विषयमा कुनै निर्णय लिन नचाहेको’ बताउने गरेका छन् ।

मंसिर १९, २०८१

बुद्धिसागर मरासिनी

4 months of post-Hina Bangladesh

काठमाडौँ — बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले देश छाडेर भागेको चार महिना पुगेको छ । बंगलादेशमा लगातार १५ वर्ष शासन गरेकी हसिना आरक्षणविरोधी आन्दोलन चर्केपछि गत अगस्ट ५ मा देश छोडेर भागेकी थिइन् । गत जुलाई र अगस्टमा आरक्षणविरोधी प्रदर्शन चर्केसँगै हसिना सरकारले आन्दोलनकारीमाथि चरम दमन गरेको थियो । 

आन्दोलनका क्रममा कम्तीमा ४ सय जना मारिएका थिए । विद्यार्थी नेतृत्वको आन्दोलन चर्केपछि देशव्यापी कर्फ्यु जारी गरिएको थियो । तर विद्यार्थीहरूले त्यसको अवज्ञा गर्दै आन्दोलन थप चर्काएपछि हसिनाले सुरक्षा निकाय प्रमुखहरूसँगको छलफलपछि प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन् । 

आन्दोलनकारी विद्यार्थीहरूको आक्रोशित भीडले गणभवन घेरेपछि सुरक्षा प्रमुखहरूले ठूलो रक्तपात हुन सक्ने भएकाले बल प्रयोगका लागि अस्वीकार गरेका थिए । त्यसका साथै परिवारका अन्य सदस्यहरूले पनि बल प्रयोग नगर्न सुझाव दिएपछि हसिना देश छाड्न बाध्य भएकी थिइन् । 

हसिनालाई प्रधानमन्त्री निवास गणभवनबाट सेनाले स्कर्टिङ गरेर विमानस्थलसम्म पुर्‍याएको थियो । लगत्तै सैनिक जहाजबाट भारत पुगेकी हसिना गाजियावादको हिन्डनस्थित भारतीय वायु सेनाको हवाईअड्डामा अवतरण गरेकी थिइन् । दुई दिन त्यहाँ राखिएपछि उनलाई नयाँदिल्लीस्थित ‘सेफ हाउस’ पुर्‍याइएको थियो । हसिना केही दिन भारतमा रहने र त्यहाँबाट बेलायत जाने बताइएको थियो । भारतीय सञ्चारमाध्यमहरूले उनले बेलायत वा मध्यपूर्वमा शरण खोज्ने योजना बनाएको समाचार प्रकाशन गरेका थिए । तर देश छाडेको चार महिनासम्म पनि उनले भारतमा निर्वासित जीवन बिताइरहेकी छन् । 

देश छाडेको केही दिन चर्चामा रहेकी हसिना अहिले भने गुमनामजस्तै छिन् । भारतीय सञ्चारमाध्यममा प्रकाशित पछिल्ला समाचारअनुसार हसिना हाल भारतमै छिन् । तर भारत सरकारले औपचारिक रूपमा हसिना रहेको स्थानबारे केही उल्लेख गरेको छैन । भारतीय विदेशमन्त्री एस जयशंकरले गत अगस्टमा संसद्मा बोल्दै हसिनाले तत्कालका लागि भारत आउन अनुमति मागेकी र अनुमति दिइएको बताएका थिए । 

यसअघि ‘द प्रिन्ट’ ले उनको वस्तुस्थितिबारे सूचना मागेको भए पनि परराष्ट्र मन्त्रालयले नदिएको जनाएको थियो । उनी हाल उच्च सुरक्षा रहेको ‘द लुटयन्स बंगला क्षेत्र’ मा रहेको बताइएको छ । कडा सुरक्षा व्यवस्था रहेको उक्त क्षेत्रमा भारतका सांसद तथा उच्च पदस्थहरूको बसोबास रहेको छ ।

हसिनालाई सादा पोसाकका सुरक्षाकर्मीले चौबिसै घण्टा कडा सुरक्षा दिने गरेको जनाइएको छ । हसिना त्यहाँ छोरी साइमा वाजेदको साथमा रहेको बताइएको छ । साइमा विश्व स्वास्थ्य संगठनको दक्षिण–पूर्वी एसिया क्षेत्रको क्षेत्रीय निर्देशक हुन् । हसिना कहिलेकाहीँ आफ्ना साथीहरूसँगै नयाँदिल्लीको लोधी गार्डेनमा टहलिने गरेको पनि भारतीय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् । तर सेफ हाउसबाट बाहिर निस्कँदा उनलाई सुरक्षाकर्मीहरूले कडा निगरानी गर्ने गरेका छन् । 

हसिनाले यसअघि सन् १९७५ मा भारतमा शरण लिएकी थिइन् । त्यतिबेला बंगलादेशको राष्ट्रपति रहेका हसिनाका बुबा शेख मुजिबुर रहमानसँगै उनको परिवारका सदस्यहरूको हत्या हुँदा हसिना र उनकी बहिनी शेख रेहाना युरोपमा भएकाले बाँच्न सफल भएका थिए ।

तत्कालीन पश्चिम जर्मनीमा रहेका उनीहरूले बंगलादेशी राजदूतको निवासमा शरण लिएका थिए । पछि हसिना र रेहाना बंगलादेशको स्वतन्त्रताका लागि सघाएकी भारतीय पूर्वप्रधानमन्त्री इन्दिरा गान्धीसँग सम्पर्क गरेर भारतमा राजनीतिक शरण लिएका थिए ।

६ वर्षपछि सन् १९८१ मा राष्ट्रपति जियाउर रहमानले उनीहरूलाई देश फर्कन अनुमति दिएका थिए । त्यसपछि बुबाले स्थापना गरेको दल अवामी लिगमा आबद्ध भएकी हसिना सन् २००९ यता गत अगस्टसम्म प्रधानमन्त्री भएकी थिइन् । 

हसिना र उनको मन्त्रिपरिषद्का सदस्यहरूविरुद्ध हाल बंगलादेशको आन्तरिक अपराध न्यायाधिकरण (आईसीटी–बीडी) मा विभिन्न मुद्दा दायर गरिएको छ ।

हसिना र उनको दल आवामी लिगका वरिष्ठ नेताहरूसहित अन्य ४५ जनाविरुद्ध आईसीटी–बीडीले पक्राउ पुर्जीसमेत जारी गरिसकेको छ । स्थानीय सञ्चारमाध्यमहरूका अनुसार हसिना र अवामी लिगका अन्य नेताहरूमाथि नरसंहार र मानवताविरुद्धको अपराधमा ६० भन्दा बढी उजुरीहरू परेका छन् । 

बंगलादेशको अन्तरिम सरकारले हसिनाको सुपुर्दगीको लागि अनौपचारिक आह्वान गरेको जनाइएको छ । त्यस्तै, बंगलादेशको अन्तरिम सरकारले उनीविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गर्न इन्टरपोलमा पत्राचार पनि गरिसकेको छ । ढाकाले हसिनाको कूटनीतिक राहदानी पनि खारेज गरेको छ ।

बंगलादेशको अन्तरिम सरकारले हसिनाविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) मा मुद्दा चलाउन चाहेको छ । बंगलादेशका सञ्चारमाध्यमहरूका अनुसार सरकारका प्रमुख सल्लाहकार मुहम्मद युनुसले उनीमाथि ‘मानवताविरुद्धको अपराध’ मा मुद्दा चलाउने तयारी भएको जनाएका छन् । 

‘अन्तरिम सरकारका प्रमुख सल्लाहकार युनुसले हसिनाविरुद्ध मुद्दा चलाउने विषयमा आईसीसीका अभियोजनकर्ता करिम ए खानसँग छलफल गर्नुभएको छ,’ युनुसको प्रेस सचिवालयका एक अधिकारीले केही दिनअघि भनेका थिए ।

ती अधिकारीका अनुसार करिमसँगको भेटमा युनुसले हसिनाको १५ वर्षे शासनकालका सहयोगी तथा गत जुलाई र अगस्ट महिनामा भएका विरोध प्रदर्शनमा गरिएको दमनका विषयमा छलफल गरेका थिए । 

4 months of post-Hina Bangladesh

त्यस्तै, प्रमुख सल्लाहकार युनुसद्वारा गठित समितिले पूर्वप्रधानमन्त्री हसिनाको शासनकालमा बंगलादेशको ठूलो रकम अपचलन भएको निष्कर्ष निकालेको छ । हसिनाको १५ वर्षे शासनकालमा बंगलादेशबाट वार्षिक औसत १६ अर्ब डलर अवैध रूपमा देशबाहिर लगिएको अर्थशास्त्री देवप्रिया भट्टाचार्यको नेतृत्वको समितिको निष्कर्ष छ । 

हसिनाले भने अन्तरिम सरकारका प्रमुख सल्लाहकार युनुसमाथि सामूहिक हत्याको आरोप लगाएकी छन् । युनुसले बंगलादेशका अल्पसंख्यकमाथि अत्याचार गरेको हसिनाको आरोप छ । अमेरिकाको न्युयोर्कमा आयोजित आफ्नो दल आवामी लिगको कार्यक्रमलाई भर्चुअल रूपमा सम्बोधन गर्दै हसिनाले मन्दिर, गिर्जाघर र इस्कन लगायतका धार्मिक स्थलहरूमा आक्रमण गरिएको र त्यसका लागि युनुस जिम्मेवार भएको बताएकी हुन् । 

‘आज, शिक्षक र प्रहरी सबैलाई आक्रमण गरी मारिएको छ । हिन्दु, बौद्ध र इसाईलाई लक्षित गरिँदै छ । चर्च र धेरै मन्दिरमा आक्रमण भएको छ । अहिले बंगलादेशमा अल्पसंख्यकलाई किन निसाना बनाइन्छ ?’ सम्बोधनमा हसिनाले भनेकी छन्, ‘आज ममाथि सामूहिक हत्याको आरोप लागेको छ । वास्तवमा, मुहम्मद युनुस आफैं विद्यार्थी संयोजकहरूसँग सावधानीपूर्वक तयार गरिएको योजनामार्फत सामूहिक हत्यामा संलग्न छन् । तिनीहरू मास्टरमाइन्ड हुन् ।’ 

बेलायतमा रहेका बंगलादेश नेसनलिस्ट पार्टीका नेता तथा पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक रहमानले पनि ‘देशमा हत्याहिंसाको शृंखला जारी रहेको भए सरकार नटिक्ने बताएको’ हसिनाको भनाइ छ । गत साता बंगलादेशको राजधानी ढाकामा प्रहरीले तीन भिक्षुहरूलाई पक्राउ गरेपछि तनाव बढेको थियो । 

हसिनाले आफ्नो बुबा र बंगबन्धु शेख मुजिबुर रहमानको जस्तै आफ्नो पनि हत्या गर्ने योजना बनाइएको दाबी गरेकी छन् । आफूले बंगलादेशमा ‘नरसंहार’ नचाहेकोले देश छाडेको उनको भनाइ छ ।

‘सन् १९७५ अगस्ट १५ मा मारिएका हाम्रा राष्ट्रपिताको जस्तै हत्या गर्ने योजना थियो । यो २५–३० मिनेटको कुरा थियो । तर मैले आफ्ना सुरक्षाकर्मीलाई गोली नचलाउन भने,’ हसिनाले पार्टी सदस्यहरूलाई सम्बोधन गर्दै भनेकी छन्, ‘सत्तामा बस्न चाहेको भए नरसंहार हुन्थ्यो । तर म नरसंहार चाहन्नँ । मेरो सुरक्षाकर्मीले गोली चलाएको भए गणभवनमा धेरैको मृत्यु हुने थियो । मैले त्यो चाहिनँ र छाडेँ ।’ 

अन्तरिम सरकारका प्रमुख सल्लाहकार युनुसले गत अक्टोबरमा बंगलादेशी अखबार ‘प्रोथोम आलो’ सँगको अन्तर्वार्तामा बंगलादेशमा कानुन र सुव्यवस्थाजस्ता आधारभूत कुरामा गडबडी रहेको स्विकारेका थिए । 

बंगलादेशमा कहिल्यै पनि पूर्णरूपमा सुरक्षित नरहेका अल्पसंख्यकहरू हसिना सरकारको पतनपछि झन् असुरक्षित र कमजोर भएका छन् । बौद्ध र आदिवासी समूहहरूमाथि हिंसाका समाचारहरू आउने गरेका छन् ।

खासगरी हिन्दुहरूलाई हसिनाको धर्मनिरपेक्ष अवामी लिग पार्टीको समर्थकका रूपमा हेरिएका कारण पनि उनीहरू थप प्रताडित भएका बताइएको छ । युनुस नेतृत्वको अन्तरिम सरकार निरंकुश भए/नभएको विषयमा प्रस्ट भइनसकेको भए पनि हसिनाको पतनपछिको बंगलादेशमा राजनीतिक र धार्मिक विपक्षीहरूविरुद्धका हिंसा र सडक हिंसामा वृद्धि भएका छन् । 

योसँगै बंगलादेशको राजनीतिमा पछिल्लो समय चुनावबारे एउटा ठूलो प्रश्न खडा भएको छ । युनुसको अन्तरिम सरकार चुनाव गराउने भूमिकामा सहज छ कि छैन भन्ने प्रश्न उठ्न थालेको छ । 

गत सेप्टेम्बरमा ‘प्रोथोम आलो’ ले हसिनाको पतन हुनुअघि प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) चुनावका लागि धेरै समय पर्खन इच्छुक नभएको समाचार प्रकाशन गरेको थियो । ‘अन्तरिम सरकारले छोटो समयमा आवश्यक सुधार गरेर निर्वाचन गराउन सक्ने’ जनाउँदै बीएनपीले करिब १८ महिनाको समयावधि सुझाव गरेको थियो । 

तर पछिल्लो समय भने आवामी लिगलाई आगामी चुनाव लड्न प्रतिबन्ध लगाउनका लागि अन्तरिम सरकारले दबाब झेलिरहेको छ । गत जुलाई/अगस्टमा आन्दोलनको नेतृत्व गरेका विद्यार्थी नेताहरूले आवामी लिगलाई राजनीतिक प्रतिबन्ध लगाउन आह्वान गर्दै आएका छन् । तर गत नोभेम्बरमा युनुसले आफ्नो अन्तरिम सरकारले ‘राजनीतिक दलका विषयमा कुनै निर्णय’ निर्णय लिन नचाहेको बताएका थिए । 

तर त्यसको प्रतिक्रियामा युनुसलाई समर्थन गरेका विद्यार्थी नेताहरूले आफ्ना मागहरू पूरा नगरे ‘दोस्रो चरणको आन्दोलन’ गर्ने चेतावनी दिएका छन् । जसका कारण हाल युनुस र अन्य राजनीतिक दलहरू बंगलादेशमा अवामी लिगको भविष्यको प्रश्नमा सावधानीपूर्वक हिँड्न चाहेको देखिएका छन् ।

तर देशभित्र र प्रवासमा रहेका अधिकांश बंगलादेशी भने युनुस नेतृत्वको सरकारले देशलाई हसिना र उनको तानाशाही शासनबाट बचाउनका लागि आवश्यक रहेको र देशमा राजनीतिक र आर्थिक स्थिरता स्थापित गर्नुपर्ने पक्षमा रहेको बताइन्छ । 

(एजेन्सीहरूको सहयोगमा)

बुद्धिसागर मरासिनी कान्तिपुर संवाददाता हुन्। उनी अन्तर्राष्ट्रिय तथा समसामयिक विषयमा रिपाेर्टिङ र टिप्पणी लेख्छन् ।

Link copied successfully