सन् २००९ देखि ‘अपरेसन वाक सिकागो’ ले नेपाल अर्थोपेडिक अस्पतालसागको सहकार्यमा नेपालका विपन्नतामा परेका बिरामीलाई अत्यावश्यक हेरचाहमा सघाइरहेको छ
काठमाडौँ — परोपकारी जोडी टम र मार्गट प्रिट्ज्कर ५० वर्षअघि पहिलो पटक नेपाल आएका थिए । त्यही बिन्दुमै हो— यो जोडीले नेपाल र नेपालीप्रति गहिरो माया फेला पारेको । व्यावसायिक काममा डटिरहँदा पनि उनीहरूले सँगसँगै परोपकारी सेवा पनि जारी राखे ।
टम हयात होटल्स कर्पोरेसनका कार्यकारी अध्यक्ष हुन् । र, मार्गट एस्पेन इन्स्टिच्युट बोर्ड अफ ट्रस्टीकी अध्यक्ष हुन् । उनीहरूले अन्य संस्थामा रहेर पनि मानवताका लागि सेवा गरिरहेका छन् । दुई जना मिलेर अरू धेरै परोपकारी सेवामा पनि लागेका छन् । उनीहरू यति नम्र र शालीन छन्, उनीहरूको स्वभाव हेर्दा जो कसैलाई लाग्छ— कति विनम्र, कति साधारण । उनीहरूको आत्मीय व्यवहारले उनीहरूको व्यावसायिक कदलाई थप बलियो बनाएको महसुस हुन्छ । भौतिकवादी सुखसयलमा सहजै जीवनयापन गर्न सक्ने उनीहरूले आफ्नो जीवन परोपकार र समुदायलाई दिइरहेका छन् । सुख सयलमा रमाउनुभन्दा उनीहरू परोपकारमै बढी दत्तचित्त छन् ।
मार्गटले नेपालमा आफ्ना प्रारम्भिक अनुभव सुनाइन् । उनले आफ्ना कुरा राखिरहँदा उनको आवाज भावनाहरूले भरिपूर्ण सुनियो । भनिन्, ‘दशकअघि आकर्षक हिमाली क्षेत्रको पदयात्रा गर्दा हामीले जटिल रोगबाट पीडित धेरै नेपाली भेट्यौं । उनीहरूले पछाडि ढाडको समस्या र जोर्नीहरूको समस्यासँग संघर्ष गरेका रहेछन् । त्यसले उनीहरूलाई सामान्य रूपमा हिँडडुल गर्न नसक्ने र घरमै सीमित रहनुपर्ने बाध्यता थियो ।’
नेपालीहरूको यस्तो कष्टकर जीवन देखेर प्रिट्ज्कर जोडीको मन छोयो । जसले गर्दा आफूहरूले भेटेका व्यक्तिहरूको जीवनमा फरक पार्ने इच्छा जगायो । त्यही बेलादेखि टम र मार्गटले नेपालीहरूको अवस्था सुधार गर्ने उद्देश्यले परोपकारी प्रयासहरूमा आफूलाई समर्पित गर्दै आएका छन् ।
मार्गट प्रिट्ज्कर ।
सन् २००९ मा मार्गटले घाँटीमा एक गम्भीर समस्याको सामना गर्नुपर्यो । उनलाई उपचारका लागि अमेरिकाको सिकागोस्थित डा. भिक्टोरिया ब्रान्डरकोमा लगिएको थियो । डा. ब्रान्डरले डा. डेभिड स्टलबर्गसँग मिलेर सन् २००५ मा ‘अपरेसन वाक सिकागो’ को सहस्थापना गरेका थिए । जसले कम्मर (हिप) र घुँडा प्रतिस्थापन शल्यक्रिया निःशुल्क उपलब्ध गराउँथ्यो । त्यो गैरनाफामूलक चिकित्सा संस्था हो ।
अशक्तता घटाएर विश्वव्यापी रूपमा रहेका बिरामीहरूको जीवनस्तरलाई सुधार गर्नु ‘अपरेसन वाक सिकागो’ को लक्ष्य हो । ‘यसले आफ्नो स्थापनाकालदेखि नै धेरै देशका बिरामीलाई उनीहरूको आवश्यकताअनुसार उपचार गरेर जीवन परिवर्तन गर्ने काम गरेको छ,’ डा. स्टलबर्गले भने । उक्त संस्थाको टोली सन् २००९ देखि नेपाल आएर यहाँका बिरामीको शल्यक्रिया गर्दै आएको छ ।
डा. ब्रान्डरसँग आफ्नो उपचारका क्रममा मार्गटले संस्थाको मानवीय कार्यबारे जानकारी पाएकी थिइन् । नेपालमा समेत उक्त संस्थाले गरेको कामले मार्गटको विशेष ध्यान खिच्यो, जुन संस्थालाई मार्गटले आफ्नो हृदयमा पहिल्यैदेखि राखिरहेकी थिइन् । संस्थाको समर्पण र उसले गरिरहेको कामबाट उनी प्रभावित भइन् । त्यही उत्प्रेरणाकै कारण मार्गटले ‘अपरेसन वाक सिकागो’ हिँडेको पाइलामा सक्रिय रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाइन् । उक्त संस्थासँगको संलग्नताले नेपालसँग मार्गटको सम्बन्धलाई अझ गहिरो बनाउने काम गरेको छ । त्यसपछि नेपाल र नेपालीप्रतिको मायालाई थप बलियो बनाउनेतर्फ पनि मार्गट लागिरहिन् ।
सन् २००९ देखि ‘अपरेसन वाक सिकागो’ ले नेपाल अर्थोपेडिक अस्पतालसँगको सहकार्यमा नेपालका विपन्नता बिरामीहरूलाई अत्यावश्यक हेरचाह उपलब्ध गराउन सहयोग गरेको छ । नेपालमा गुणस्तरीय अर्थोपेडिक हेरचाह प्रदान गर्ने लक्ष्यका साथ एक परोपकारी संस्थाका रूपमा सन् १९९८ मा नेपाल अर्थोपेडिक अस्पताल स्थापना गरिएको थियो, जसले आवश्यक परेका तथा विशेषगरी विपन्न मानिसलाई सहयोग पुर्याउँदै आएको छ ।
‘अस्पतालले आफ्नो स्थापनाकालदेखि नै नेपालका जनताका लागि अत्याधुनिक अर्थोपेडिक उपचारलाई सुलभ र सहज बनाउने लक्ष्य राखेको छ,’ अस्पतालका प्रशासकीय प्रमुख धीरज मैनाली भन्छन्, ‘जसमध्ये धेरै जना पहिल्यैदेखि नै यस्ता चिकित्सा सेवाबाट वञ्चित छन् । देशमा विशेषगरी अर्थोपेडिक हेरचाहको बढ्दो माग पूरा गर्न अस्पतालको सुरुवात गरिएको हो । यसको क्षमता एक सय शय्या छ । नेपालको मुख्यतः न्यून आय भएका जनसंख्याको पहुँचमा रहनु र उच्च गुणस्तरीय हेरचाह प्रदान गर्नुमा यसको विशेष ध्यान छ ।’
सीमित स्रोतहरूसँग संघर्ष गर्दै गरिबीमा बाँचिरहेका धेरै नेपालीमा अस्पतालको सहज उपलब्धता दिलाउन स्वास्थ्य सेवा प्रदान गर्न यसले महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ ।
प्रिट्ज्कर जोडीले नेपालमा स्वास्थ्य सेवा सुधारका लागि आवश्यक विषयको पहललाई सहयोग गर्न ‘प्रिट्ज्कर अर्थोपेडिक कोष’ स्थापना गरेर सञ्चालन गर्दै आएको छ । यो अनुदान कार्यक्रम विशेष गरी संयुक्त प्रतिस्थापन शल्यक्रियाको सबैभन्दा महत्त्वपूर्ण अवरोधहरूमध्ये एकलाई सम्बोधन गर्न डिजाइन गरिएको डा. भिक्टोरिया ब्रान्डरले जनाए । यसमा विशेषगरी हिप (कम्मर) र घुँडा प्रत्यारोपणको उच्च लागतलाई सम्बोधन गरिन्छ । ‘यस कार्यक्रमले धेरै गरिबका लागि आर्थिक बोझ कम गर्न र जीवन परिवर्तन गर्ने अर्थोपेडिक हेरचाहमा पहुँच पुर्याउन र सक्षम बनाउन सघाउँछ,’ डा. ब्रान्डरले भने ।
कोषको उद्देश्य उन्नत चिकित्सा उपचार जस्तै हिप र घुँडा प्रतिस्थापन, कमजोर व्यक्तिहरूलाई थप पहुँचयोग्य बनाउनु हो, जसले खर्च गर्न असमर्थ व्यक्तिहरूलाई सहयोग पुर्याउने डा. ब्रान्डर बताउँछन् । ‘जनवरीदेखि कार्यक्रमले यी आवश्यक प्रत्यारोपणहरूको लागतमा अनुदान दिन र नेपाल अर्थोपेडिक अस्पतालमा शल्यक्रिया हुन सक्ने सुनिश्चितता गर्न अनुदान वितरण सुरु गर्नेछ,’ डा. ब्रान्डरले भने ।
टम प्रिट्ज्कर ।
दस वर्षअघि डा. स्टलबर्ग र डा. ब्रान्डरले नेपालमा यस कार्यक्रमलाई दीर्घकालीन रूपमा अघि बढाउन यहाँका शल्यक्रिया गर्ने चिकित्सकलाई सिकाउनुपर्छ भन्ने महसुस गरे । जुन नेपालीले नेपालीको ख्याल राख्ने उपयुक्त उपाय थियो । ‘सिकाउनु भनेको किताब लिएर बसेर शल्यक्रिया कसरी गर्ने भनेर देखाउनु मात्र होइन । सुरुमा, एक्स–रे र बिरामीको परीक्षाको समीक्षा गर्छौं । र, हामीले के हेर्ने आशा गर्न सक्छौं भनेर छलफल गर्छौं । त्यसपछि हामीसँगै केसहरूमा काम गर्छौं । त्यसैले हामी शल्यक्रियाको समयमा विभिन्न प्रविधि र दृष्टिकोणमा काम गर्छौं । त्यसपछि हामीले फेरि के गर्यौं र के देख्यौं भनेर समीक्षा गर्छौं । यसरी हामी नेपाली चिकित्सकलाई सिकाइको अनुभव दिन्छौं,’ नेपाल अर्थोपेडिक अस्पतालमा स्वयंसेवकका रूपमा आएका सिकागोस्थित इलिनोइसका अर्थोपेडिक सर्जन रवि बस्यालले भने । जसले गर्दा विगतका वर्षमा उनीहरूले सिकाएका नेपाली सर्जन अहिले हिप र घुँडा प्रतिस्थापन शल्यक्रिया गर्न पूर्ण रूपमा सक्षम छन् ।
नेपाल अर्थोपेडिक अस्पतालमा उपचाररत सञ्जु थापा दुई दशकअघिदेखि घुँडाको समस्याबाट पीडित थिइन् । आफ्नो घुँडाको सही उपचार होस् भन्ने आशामा उनी धेरै ठाउँ पुगिन् । तर कुनै फाइदा भएन । ‘जब मलाई यो अस्पतालमा ल्याइयो, मेरो घुँडाको शल्यक्रिया भयो । र, म अहिले आरामसँग जीवन बिताइरहेकी छु । दुई दशकपछि म अब राम्ररी हिँड्न सक्ने भएकी छु,’ थापा भन्छिन् ।
आफूहरूले नेपालमा सञ्चालन गरिरहेको सबैभन्दा प्रभावकारी परोपकारी कार्यमध्ये यो एक रहेको टमको टिप्पणी छ । ‘हिँड्न सक्छु भन्ने कहिल्यै नसोचेका मानिस जुरुक्क उठेर हिँड्न सक्छन्,’ उनले भने, ‘यो साँच्चै जीवन परिवर्तन हो ।’ नेपाल अर्थोपेडिक अस्पतालको हिप र घुँडा प्रतिस्थापनको शल्यक्रिया क्षमता राम्रो रहेको डा. ब्रान्डरको दाबी छ । ‘मेरै उदाहरण लिनुहुन्छ भने पनि मलाई यहाँ आफ्नो हिप प्रतिस्थापन गर्न कुनै समस्या हुने छैन,’ उनले भने ।
जब हामी अमेरिकामा हिप र घुँडा प्रतिस्थापनको शल्यक्रिया गर्छौं, यसले व्यक्तिको जीवनशैली परिवर्तन गर्छ । तर नेपालमा यसले एक व्यक्तिको मात्र होइन, उनीहरूको परिवारको जीवन बचाउने बस्यालको भनाइ छ । ‘त्यसकारण शल्यक्रियाको प्रभाव यहाँ बढी छ,’ उनले भने, ‘स्वास्थ्य सेवा, शिक्षा आदि सबै क्षेत्र— मलाई लाग्छ यिनमा परोपकारले ठूलो महत्त्वपूर्ण भूमिका खेल्छ ।’ सरकारले अझै पनि आफ्नो काम गर्नुपर्छ । तर जब परोपकारी सहयोग त्यसमा थपिन्छ, त्यो झन् अपूर्व हुने मार्गट बताउँछिन् ।
