युवा ढुकढुकी छामेका गायक महेश

‘नाच फिरिरी’ ले सन् २०१८ मा महेशलाई अवार्ड दिलायो, यो गीत उनलाई घुइँचोमा फुरेको हो, योसँगै ‘माया बिरानी’, ‘तातो गोली’, ‘लजावती झार’, ‘चाइना जापान’ देखि अहिले ‘धन्यवाद मायालु’ सम्म उनी आइपुगेका छन् । 

मंसिर २२, २०८१

रीना मोक्तान

Singer Mahesh of Yuva Dhukdhuki Chhame

काठमाडौँ — उनी युवा अनुभूति र अनुभवलाई चट्ट टिपेर गीतका शब्द बुन्छन्, लोक लय मिसाएर गीत गुन्छन् । यही शैलीकै कारण गायक महेश काफ्लेका गीतमा युवाले आफूलाई पाउँछन्, देख्छन् ।

‘नाच फिरिरी’, ‘माया बिरानी’, ‘तातो गोली’, ‘लजावती झार’ मा आफूभित्रका प्रेमिल भावना मात्रै होइन, ‘चाइना जापान’ देखि ‘धन्यवाद मायालु’ सम्म आइपुग्दा विरह भावमा पनि युवापुस्ताले आफूलाई नजिक पाएका छन् । त्यस अर्थमा युवाका भावलाई शब्द/संगीतमार्फत अभिव्यक्त गरिदिने कुशल गायकमा पर्छन्, महेश । 

१२ दिनअघि सार्वजनिक गरिएको गीत ‘धन्यवाद मायालु’ बाट युट्युबमा बटुलेको लाखौं भ्युज र प्रतिक्रियाले महेशलाई लाग्न थालेको छ, रमाइला मात्रै होइन ‘स्याड सङ’ लाई दर्शकले झन् बढी आफ्नो ठान्दा रहेछन् । ‘यो गीत त मेरो औषधि भयो, राति म यो गीत सुनेर मात्रै सुत्छु,’ हालै कसैले भावुक भएर महेशलाई गीतमाथि प्रतिक्रिया दिएका थिए । यसअघि पनि महेशले ल्याएको गीत विरह भावकै थियो । उनी सधैं विभिन्न भाव बोक्ने गीतहरू गाउन चाहन्थे । चाहे रमाइलो होस् वा सामाजिक विषयका गीत वा विरहका नै । 

‘नाच फिरिरी’ जस्तो रमाइलो गीतबाट बढी चिनिएका महेशले ८ महिनाअघि ‘चाइना जापान’ सार्वजनिक गर्दा, संगीत क्षेत्रमा उनको ब्रेकअपकै हल्ला भयो । धन्न यसपटक गायिका अस्मिता अधिकारीसँगको मगनीले यस्ता हल्लाबाट बचायो । तर, केही अजिबका प्रतिक्रिया नआएका होइनन् ।

‘महेश काफ्लेको जीवनमा साँच्चिकै यस्तै भइरहेको छ कि क्या हो ?’ कतिले भिडियोको कमेन्टमा चिन्ता व्यक्त गरेका छन् । ‘गीतको भिडियोमा देखाएजस्तै महेश कतै आफ्नो प्रेमिकाको बिहे भोजतिर त पुगेननन् ?’ एउटै गीतमार्फत धेरैले धेरै लख काटे, पीडा र चोटले धेरैसम्म हिर्काउने हुँदा यस किसिमको भाव बोकेका गीतलाई दर्शकले पनि गहिरोसँग सुनिदिने गरेको अनुभव दुई विरहका गीतबाट महेशले बटुलेका ज्ञान हुन् । 

अस्मितासँग प्रेम सम्बन्धमा रहेको चर्चा चलिरहँदा ल्याएको ‘चाइना जापान’ ताका त थुप्रै हल्ला चले । ‘चाइना र जापानजस्तो दुई देशसँग पिरती नफापेको प्रसंग कसरी जोडियो ?’ कतिले ठट्यौली प्रश्न गर्थे । महेशले यी शब्दलाई लोकशैलीबाट टिपेका रहेछन् ।

‘पुरानो लोक पपमा पनि हङकङ पोखरा, चाइना कम्पनी भन्ने शब्दहरूमाथि गीत बनेको छ । लोकभाकाका यही शैली सुन्दै म हुर्कें । त्यसैले पनि यो गीतमा चाइना र जापान जोडियो,’ उनी थप्छन्, ‘खासमा गीतमा राइम मात्रै मिलाइएको हो ।’ 

उक्त गीतको म्युजिक भिडियोमा निर्देशक सुनील शिवभक्तिले कथालाई जापानसँग जोडिदिएका छन् । यसमा युवा पात्रलाई छोडेर उनकी प्रेमिका जापान उडेकी छन् । तर, गीतको कथा यहीं सकिँदैन, प्रेमिका जापान उडेसँगै उक्त पात्रसँगै डेरा बस्दै आएकी अर्की पात्रको प्रेममा पर्छन्, त्यो पनि विवाहेत्तर सम्बन्ध । आफ्नो गीतमा यो कथा देखाउने प्रस्ताव आउँदा महेश सुरुमा सोचमग्न बने । तर, निर्देशकले जसरी कथालाई गीतमै घोलेका छन्, त्यसमा चित्तबुझ्दो नतिजा निस्किएको महेश सुनाउँछन् । यो गीतको कथा उनी आफैंलाई विशेष लाग्छ । 

तर, महेश विरह भावले होइन, रमाइला गीतमार्फत चर्चामा आएका हुन् । सन् २०१८ मा बजारमा ल्याएको ‘नाच फिरिरी’ दर्शकबीच निकै चल्यो । सांगीतिक माहोलमा बाल्यकाल बिते पनि हुर्कंदै गर्दा महेशबाट संगीत टाढै भयो, अथवा संगीतबाट उनी परै बसे । १२ कक्षा सकिनेबित्तिकै केही पेसा अँगाल्न चाहन्थे उनी ।

खेलकुदमा निकै रुचि, त्यसैले खेलकुद पत्रकार बने । खेलाडी भेट्ने, खेल हेर्ने अनि रिपोर्टिङ गर्ने, पत्रकारिताको यो दैनिकीमा रमाइरहेकै थिए । थुप्रै मानिससँग ठोक्किए । जति जनासँग उनी ठोक्किन्थे, उनीहरूले महेशले बाल्यकालमा गाएको गीत सम्झाइदिन्थ्यो । जति–जति महेशसँगको संगीत सम्बन्ध मानिसहरूले उप्काउँथे, बिस्तारै महेश संगीततर्फ धकेलिन्थे ।

खेलकुद पत्रकारिताको करिअर उकाली लागिरहँदा, महेशका मस्तिष्कमा भने शब्दहरू फुर्न थालिसकेका थिए । त्यसैले उनलाई झट्ट खेलकुद पत्रकारिता छोड्न सकिरहेका थिएनन् । संगीत नै गर्छु भन्ने लागिसकेपछि भने पत्रकारिता छाडे । ‘पत्रकारिता मन नपरेर भन्दा पनि, संगीत धेरै मन परेर त्यो पेसा छोड्नुपरेको हो,’ महेशले संगीतमा फड्को मार्दाको निर्णय सम्झे । 

महेशले कक्षा १२ को पढाइपछि लोक सेवाको परीक्षा दिन नासुको आवेदन पनि भरे । तर, परीक्षामा सरिक भएनन् । त्यसअघि सेकेन्ड लेफ्टिनेन्टको आवेदन खुल्दा त्यता पनि आवेदन भर्न पुगेको रमाइलो सम्झना छ । आवेदन भर्ने पंक्तिमा उभिँदा महेशलाई उक्त क्षेत्र आफ्ना लागि होइन भन्ने भान भइसकेको थियो ।

‘म शान्त स्वभावको । त्यहाँ त उभिएको लाइनमै पनि सबै जना चर्को स्वरमा चिच्च्याउँदै बोलिरहेका थिए । यता बस भन्थे । कति जना त हेर्दै छानिन्छ जस्ता देखिन्थे,’ महेशले त्यतिबेलाको क्षण सम्झँदै भने । त्यतिबेला आवेदन बुझाउने पंक्तिमा उभिँदा एक जनाले मधुर लवजमा महेशलाई सोधे, ‘हजुर डाक्टरमा फर्म भर्न आउनुभएको हो ?’ त्यतिबेला उनलाई लाग्यो, सेकेन्ड लेफ्टिनेन्ट बन्न आफ्नो आभाले पनि साथ दिइरहेको रहेनछ, त्यसपछि लेफ्टिनेन्ट सपना त्यागे । 

पत्रकारिता छाडेर संगीततर्फ लाग्दा चाँडै दर्शकले गीतलाई रुचाइदेलान् भन्ने सोचेका थिएनन् । तर, संगीत यात्राका हरेक समस्या झेल्दै अघि बढ्ने सोचले पत्रकारिता छाडे । पहिलो गीतले निकै चर्चा बटुल्यो, गीतहरू निकाल्नकै लागि संघर्ष गरिरहनुपरेन । ‘तर, संगीत रोज्नुअघि पत्रकारिता छोड्ने कि नछोड्ने भन्नेमा धेरै अलमल भयो । म आफैंभित्र संघर्ष गरिरहेको थिएँ । त्यो पेसा चट्टै छाड्दा सकस नै भएको थियो,’ महेश सुनाउँछन् ।

बुम समातेर अन्तर्वार्ता लिइरहँदा, कुनै दिन आफैं अन्तर्वार्ता दिइरहेको हुनेछु भन्ने कल्पन्थे, महेश । इमेज च्यानलले दिने अवार्डमा जाँदा साथीहरूलाई भन्थे, ‘यो अवार्ड एक दिन मैले पाउनेछु’ । खेल पत्रकार र गायन अवार्डको सम्बन्ध धेरै टाढाको भए पनि साथीहरू उनका कुरा सुनिदिन्थे । 

Singer Mahesh of Yuva Dhukdhuki Chhame

‘नाच फिरिरी’ ले सन् २०१८ मा महेशलाई अवार्ड दिलायो । साथीहरू पनि छक्क । ‘नाच फिरिरी’ उनलाई घुइँचोमा फुरेको गीत हो । पत्रकारिता गर्दा उनी कोटेश्वरबाट बालुवाटार, लाजिम्पाटसम्म जान नेपाल यातायात चढ्थे ।

यात्रुको ठेलमठेलबीच महेशका मगजमा शब्दहरू पैंठेजोरी खेल्न आइपुग्थे । काम गरिरहँदा पनि त्यस्तै । हातमा बुम तर दिमागमा गीतकै शब्दहरू । असारको समय, पानी परिरहेको र हावा चलिरहेको थियो । झ्यालमा अनुहार टाँसेर बाहिर हेरिरहेका महेशले गीतको पहिलो शब्द बुने, ‘हावा चल्यो सिरिरी आँतै जिरिरी, म बजाउँछु मुरली तिरिरी, तिमी नाच फिरिरी ।’ अनि झम्झम् परिरहेका वर्षाद्का थोपाहरूसँग जिस्किए, ‘असारे महिना सिमसिमे पानी, परिरहेकै छ नि । तिमीलाई भेट्न भनेर छाता ओढेर आको सानी ।’ 

महेशलाई केही कुराको अनुभव भइसकेपछि शब्दहरू त्यसै आउँछ, बिर्सेको कुरा फेरि फर्केजस्तो । ‘त्यतिबेला सबै अनुभव लेख्छु, अनि बिस्तारै मिलाउँदै जान्छु,’ महेश गीत लेखनका प्रक्रिया सुनाउँछन् । उनी गीत सिर्जना गर्दा शब्दहरू थोपर्दैनन् । आफ्ना सिर्जनशील पाटोलाई प्रयोग गर्न खोजिरहेका हुन्छन् । उनको त्यही प्रयोग हो, ‘लजावती झार’ ।

यो गीतमा उनले महिलाले नेतृत्व गर्ने प्रेम सम्बन्ध, महिला पात्र उभ्याउँदै ती भावहरू पोखिदिएका छन् । पुरुषलाई बलवान्, सामर्थ्य देखाउने भाष्य भत्काउँदै उनीहरूभित्रका कोमल पक्षलाई सुन्दर ढंगले प्रस्तुत गरेका छन् । लजावती झारसँग गीतमा पुरुषको दाँजो गरिएको छ । अनि पुरुष पात्रले निर्धक्क गाउँछ :-

आगोमा घिउ हालेझैं भइहाल्छु 

तिम्रो छेउमा पग्लिँदै गइहाल्छु

खै कसरी आऊँ

यो प्रेमिल गीतमा महेशले शब्दमार्फत यसरी आफ्नो सिर्जनालाई मजबुती देखाए । महेशलाई कुनै पनि गीत सिर्जना गर्न, पहिला कथा अथवा परिस्थिति चाहिन्छ । त्यसपछि बल्ल त्यो परिधिमा बसेर लेख्न थाल्छन् ।

‘म केही हदसम्म अन्तरमुखी छु । मैले पनि त्यो लजालु अनुभव महसुस गरेको छु । हुर्कंदै गर्दा कति महिला साथीहरू उस्तै पाएँ होला, जो अलिकति हाबी गर्ने स्वभावका थिए होला । मलाई महिलाले लिड गरिरहेको सम्बन्ध देखाउन पाए कस्तो हुन्छ होला भन्ने लागेको थियो,’ उनले सुनाए, ‘एक दिन न्युरोड जाँदा त्यहाँ चुरा, पोते झुन्ड्याएको देखें । त्यहीं मलाई कन्सेप्ट आयो अनि शब्द लेखें– लजावती झारजस्तै लजाउँछौ ।’ 

यो गीतको म्युजिक भिडियोमा अभिनेत्री आँचल शर्मासँग महेशले अभिनय गरेका छन् । पहिलो पटक यसरी मोडल बनेर अभिनेत्रीसँग अभिनय गर्दा उनलाई लाज लाग्यो । भिडियोमा उनले दाँतमा ‘ब्रेसेस’ लगाएका थिए, अन्ततिर महिला पात्रले सोध्छिन्, ‘बिहे गर्दा त त्यो दाँतको खोल्छस् होला नि ?’ अहिले पनि धेरैले महेशलाई त्यही प्रश्न गर्छन् । 

‘माया बिरानी’ र ‘तातो गोली’ बोलका गीतहरूका शब्द पनि ‘लजावती’ जस्तै टपक्क टिप्न मिल्ने किसिमका छन् । मेलोडी पनि उत्तिकै मिठो छ । म्युजिक भिडियो पनि रोचक भएका कारण यी गीत दर्शकले अझ बढी मन पराइदिएका छन् । यी दुई गीतको भिडियोमा भने महिलालाई धोका दिने पात्रका रूपमा देखाइएको छ ।

‘त्योचाहिँ महिलाहरूलाई धोकेबाज देखाउनुभन्दा पनि रमाइलो कथा देखाउने बेला त्यसरी प्रस्तुत भएको हो । हामीले चाहिँ केटाहरूलाई बिचरा बनाउँदा त्यस्तो पनि भएको हो,’ उनले भने । ‘माया बिरानी’ मा मनपर्ने युवतीका लागि एक पुरुष पात्रले अनुभव गर्ने भावना पोखिएको छ । 

सांसद हुनुअघि असिम शाहले निर्देशन गरेको यी दुई गीतको कथा शृंखलाबद्ध रूपमा निर्माण गरिएको हो । एउटा गीतमा अधुरो रहेको बिहे सपना अर्को गीततिर पूरा गर्न खोजिएजस्तै । ‘माया बिरानी’ मा युवा पात्रलाई युवतीले पत्याइदिँदैनन् ।

‘माया बिरानी २’ का रूपमा सार्वजनिक ‘तातो गोली’ मा भने प्रेम सम्बन्धमा बुवा पर्खाल बनेको पुरानो कथा दोहोरिएको छ । गीतमा अभिनेत्री स्वस्तिमा खड्का र निश्चल बस्नेतले पनि अभिनय गरेका छन् । यी गीतका शब्दहरू मुखैमा झुन्डिने किसिमका छन्, त्यसमा महेशले आफ्ना लोक लय मिसाइहाल्छन् । ‘माया बिरानी’ कै शब्द हेरौं :- 

‘माया बिरानी, बिस्तारामा तिमीलाई सम्झेर च्याप्छु सिरानी’

‘सायद यो गीत लेख्दा म २१/२२ वर्षको थिएँ । त्यतिबेलाको फिलिङ्सलाई नै लेखें होला । कति आफूलाई मन पर्ने महिलासँग जिस्किनुहुन्छ होला, मैले यही गीतमार्फत मेरो फ्लर्टी स्वभाव पस्कें,’ महेश सुनाउँछन् ।

शब्द, संगीत, गायन र भिडियो नै राम्रो बनेको हुँदा ‘माया बिरानी’ र ‘तातो गोली’ अत्यधिक रुचाइएको महेशको अनुभवले भन्छ । ‘जुनसुकै गीत हिट हुनु त त्यो अडियो नै मन पराइदिनुभएको हो । मैले व्यक्त गरेका गीतहरूले मेरै उमेर समूहकाहरूको भावना बोकिदिएको र लोक लयका कारण हुन सक्छ,’ महेशले तर्क गरे । 

Singer Mahesh of Yuva Dhukdhuki Chhame

धेरैलाई थाहा नहुन सक्छ, महेश ती बाल गायक हुन् जसले ११ वर्षको उमेरमै हिट गीत गाए, ‘सानिमा मार्देउ बरु, बगाइदेउ पानीमा’ । अहिलेका गीत चर्चित हुँदै गर्दा महेशले गाएको त्यो गीतको चर्चा चुलिँदै गएको छ । ‘सौतेनी आमा’ बोलको उक्त गीत अहिलेको महेशले गाएको भन्दै कतिले सम्झन्छन् । त्यो गीतमाथिको ट्रोलहरू महेशसँग समय–समयमा ठोक्किरहन्छन् । कुनै बैंकले सेयर दिएन ? ‘सानीमा मार्देउ बरु बगाई देउ पानीमा’ भन्ने ट्रोल अझै बन्छ । भिसा लागेन भने पनि त्यही गीतमा ‘मिम’ आउँछ । 

‘त्यो गीत पुरानो हो, तर अझै फ्रेस सुनिन्छ,’ महेशले भने । ‘बोतलको पानीले’, ‘लोकल भाले’ जस्ता चर्चित गीतका लोकगायक भोजराज काफ्लेका छोरा महेशले बाल्यकालमै सफलताको शिखर चुमेका थिए । दाजु दिनेश काफ्ले त्यतिबेलै ‘आमा रातो साडी, चुरा पोते किन नलाको’ जस्तो गीतले चर्चित । दाजुको त्यो चर्चाले पनि महेशलाई गीत गाउने रहर जाग्थ्यो, चर्चित बन्ने मन हुन्थ्यो ।

यो गीत चलेपछि अन्तर्वार्ताहरूमा पुगे, त्यतिबेलै उनी मास्क लगाएर हिँड्थे । ‘त्यतिबेला मेरो बाल्यकाल नै गडबडायो, खेल्नेतिर भन्दा पनि पसलतिर जाँदा पनि मास्क लगाएर जान्थें, त्यतिबेला अर्कै अनुभव भएको थियो,’ महेश बाल्यकालको अनुभूति सुनाउँछन्, ‘बाल कलाकार हुनु र पछि फेरि युवा भइसकेपछि संगीतमा लाग्नु फरक कुरा रहेछ । त्यतिबेला बाबाकै कारण गीत गाएँ । पछि त संगीतलाई नै व्यवसायका रूपमा मेरो रोजाइ बन्यो नि त ।’ 

अहिले बाल्यकालमा बुझ्दै आएको संगीतलाई फरक तरिकाले बुझ्ने भएका छन्, महेश । ‘संगीत गरिरहनु त आफूलाई खोजिरहनु, भेटिरहनुजस्तो हो । ‘नाच फिरिरी’ देखि ‘धन्यवाद’ सम्म आइपुग्दा मेरो बुझाइ फेरिँदै आएका छन्,’ महेश परिपक्व सुनिन्छन्, ‘आफूलाई खोज्नु, भेट्नु त ठूलो कुरा हो ।’

सामाजिक कथा वस्तुका गीतका सर्जक भोजराज छोराका माया–प्रेमका गीत, गायन करिअरलाई लिएर खुसी छन् । बुवाको समयमा कलाकारिता पेसा व्यावसायिक थिएन, अहिले समय बदलियो । सुरुवातमा अन्य पेसा रोजिदिऊन् भन्ने चाहना राख्ने बुवालाई महेशले व्यावसायिक बन्दै गएको संगीत क्षेत्रप्रतिको भविष्य बलियो हुने सावित गरिदिएका छन् ।

रीना मोक्तान मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully