२०५४ मा ८ प्रकारका औषधि उत्पादनबाट सुरु भएको टाइम फर्माले हाल ३६० जनालाई रोजगार दिँदै वार्षिक १ अर्ब १५ करोडको कारोबार गर्ने भएको छ भने हङकङमा औषधि पठाएर निर्यात पनि सुरु गरेको छ।
चितवन — औषधि उत्पादक कम्पनी टाइम फर्मास्युटिकल्स आफ्ना आठ वटा उत्पादनसहित २०५४ मंसिर २ मा बजार प्रवेश गरेको थियो । २८ वर्षे अवधिमा टाइमले २ सय ७० प्रकारका औषधि उत्पादन गर्ने अवस्थामा आइपुगेको छ । यसको सुरुवाती उत्पादन भने ‘साइनेक्स’ हो ।
रुघाका बिरामीका लागि ‘साइनेक्स’ खाने बानी नै परिसकेको छ । देशभर बजार बिस्तार गर्न र राम्रो प्रभाव पार्न सफल टाइमको सुरुवाती समय भने सहज थिएन ।
समस्या समाधान गर्दै अगाडि बढ्दै आएका कारण टाइम फैलन सकेको कम्पनीका संस्थापक अध्यक्ष र हाल कार्यकारी अध्यक्ष जी नारायणबहादुर क्षेत्री सुनाउँछन् । टाइमको आगामी आकार झनै फराकिलो बनाउने योजनामा उनी छन् । औषधि उत्पादनमा आत्मनिर्भर हुने र निर्यातसमेत गर्ने तयारीमा लागेको छ टाइमको टिम ।
प्यूठानका जी नारायणबहादुर अध्ययनका लागि भारतको मद्रास पुगे । त्यहाँबाट कमर्समा स्नातक अध्ययन गरेपछि उनले बजार प्रतिनिधिको काममा हात हाले । ‘मैले औषधि कम्पनीको बजार प्रतिनिधि (एमआर) भएर जागिर जीवन सुरु गरेको हुँ,’ क्षेत्रीले भने । भारतमा डेढ वर्ष र स्वदेश फर्केर काठमाडौंमा १० वर्ष जति उनले एमआरको काम गरे । देशभर डुल्दा उनलाई चितवनले तानिरह्यो ।
‘एमआरको जागिर र आम्दानी आकर्षक नै हुन्छ । तर काम गर्दै जाँदा मलाई जागिर हैन, आफैंले केही गरौं भन्ने भावना बढ्दै आएको थियो,’ क्षेत्रीले सुनाए । भारतीय औषधि कम्पनीका एमआर रहेका क्षेत्रीलाई धेरै साथीभाइले सल्लाह दिन्थे, ‘उतैका औषधि आयात गरेर आफैं व्यापार गरौं ।’ तर उनी औषधि उद्योग नै खोल्ने धुनमा लागे ।
‘त्यो बेला नेपालमा निजी औषधि उत्पादक कम्पनीहरू औंलामा गन्न सकिने थिए । एकाध सरकारी औषधि कम्पनी थिए । यहाँको मागको लगभग धेरै हिस्सा आयातित औषधिले ओगटेको थियो । त्यो देखेर आयातमा आधारित व्यापार हैन उद्योग खोलौं भन्ने सोच जाग्यो,’ क्षेत्रीले भने ।
माग देखेर उनी औषधि उद्योग खोल्ने निचोडमा पुगे । जागिरले उनलाई औषधिको अनुभव बढाएको थियो । अनि देशको केन्द्रमा उद्योग राखे चारैतर्फ जान सहज हुने ठानेर चितवन झरे । जमिन खोज्दै उनी चितवनभन्दा केही पर नारायणगढ बजारदेखि १३ किमि पश्चिम नवलपरासीको मुकुन्दपुर भैंसाखोरी पुगे । हाल यो ठाउँ गैंडाकोट नगरपालिका–१० मा पर्छ । २०५३ मा जग्गा किनेर उद्योग खोल्न सजिलो थिएन ।
पुँजी जुटाउनै गाह्रो थियो । उद्योग खोल्न त्यो बेला एक करोड १० लाख रुपैयाँ लगानी गरेको क्षेत्रीले बताए । त्यो बेला नेपाल औद्योगिक विकास निगम (एनआईडीसी) ले ५४ लाख रुपैयाँ ऋण दिने भयो । चितवनका दुईसहित कुल सात जना साझेदारबाट थप ५४ लाख जुटाए ।
‘जमिन किन्यौं, भवन उपकरण राखेर उत्पादन पनि सुरु गर्यौं । तर सुरुवातका तीन/चार वर्ष सञ्चालन खर्चका लागि हामीलाई अप्ठ्यारो पनि पर्यो । बैंकहरूले नयाँ उद्यमीलाई विश्वास नगर्ने समय थियो,’ क्षेत्रीले भने ।
बजारमा गएका औषधिले विश्वास जित्दै गएपछि सजिलो हुँदै गएको उनले बताए । गुणस्तर र मापदण्ड पालनामा सम्झौता नगरेको क्षेत्रीको दाबी छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को गुड म्यानुफेक्चरिङ प्राक्टिस (जीएमपी) लाई अनुशरण गर्दै आएको उनले बताए ।
कम्पनीले २० वर्षअघि नै जीएमपी मान्यता पाएको उनले बताए । कम्पनीले औषधिको संख्या बढाउँदै गयो, उपभोक्ताले साथ दिँदै आए ।
‘हामीले जनरल औषधिबाट उत्पादन सुरु गरेका हौं । अहिले मुटु, मधुमेहलगायतका औषधिहरू उत्पादन हुन्छ । ट्याब्लेटका साथै मल्हम, सिरप, ड्रप र ड्राइ सिरपहरू उत्पादन गर्छौं,’ हाल कम्पनीका कार्यकारी अध्यक्षसमेत रहेका क्षेत्रीले भने । सिरिन्ज र भ्याक्सिनबाहेक नेपालमा आवश्यक हुने धेरैखाले औषधि उत्पादन हुने उनले बताए ।
योबीचमा टाइमको मात्रै हैन नेपाली औषधि उत्पादन क्षेत्र नै फैलिएको छ । चितवन, नवलपुर क्षेत्रमा औषधि उद्योगहरू नै नभएका बेला टाइमले काम सुरु गर्यो । अहिले यो क्षेत्रमा १४ वटा औषधि उद्योग छन् । देशभर औषधि उत्पादक उद्योगहरू ८० हाराहारीमा पुगेका छन् ।
नेपाली औषधि उद्योगहरूको क्षमता यहाँको माग धेरै हदसम्म पूरा गर्न सक्ने भएको उनको भनाइ छ । तर नेपाली उद्योगहरू क्षमताअनुसार चल्न पाएका छैनन् । ‘सरकारले नीतिगत सहयोग गर्ने हो भने नेपालका औषधि कम्पनीले यहीं नै धेरैखाले औषधि उत्पादन गर्न सक्षम छन् । उनीहरूले त्यो क्षमता बनाएका छन् । भ्याक्सिन र क्यान्सरका केही विशेष औषधिबाहेक अन्य औषधि आयात गरिरहनुपर्ने अवस्था छैन,’ क्षेत्रीले भने ।
उनी नेपाली औषधि उत्पादक संघको सहसचिव, महासचिव, उपाध्यक्ष, वरिष्ठ उपाध्यक्ष हुँदै सन् २०२० मा राष्ट्रिय अध्यक्ष नै भएका थिए । नेपालमा अहिले पनि ५० प्रतिशत औषधि आयात हुने गरेको छ ।
‘नेपालमा जे औषधि उत्पादन हुन्छ, त्यो आयात नगरौं यहींकै उद्योगलाई उत्पादन गर्न दिउँ भन्ने हाम्रो माग हो । यसो भएमा आयात कम हुँदै जाने र यहाँका उद्योगले पनि क्षमताअनुसार उत्पादन गर्दै जानेछन् । यसले देशकै हित गर्छ,’ उनले भने । उद्योगले अर्थतन्त्रलाई उकास्ने, रोजगार बढाउने र आन्तरिक आय मजबुत बनाउने उनले बताए ।
स्वदेशी उद्योगलाई प्रवर्द्धन गर्न राष्ट्रिय नीति बने उद्योगीहरूलाई पनि उत्प्रेरणा जाग्ने उनले बताए । उनी बंगलादेशले औषधि उत्पादनमा यही नीति लिएको हुँदा नेपालले पनि यसलाई बेलैमा अंगिकार गरोस् भन्ने चाहन्छन् । नियमन निकाय औषधि व्यवस्था विभागलाई चुस्त बनाउँदै लग्नुपर्ने उनको सुझाव छ ।
कच्चा पदार्थ, मेसिन औजार र प्याकेजिङका धेरैखाले सामग्रीहरू आयात नै गर्नुपर्छ । ‘आयातसम्बन्धी नीति लिँदा हेक्का नराखे औषधि उद्योगीहरू मारमा पर्छन् । सरकारले यो कुरा ख्याल राख्नुपर्छ । तयारी औषधिको आयातलाई निरुत्साहित त गर्नु नै छ, कच्चा पदार्थको आयात नीतिले उद्योगमा असर नगरोस् भनेर पनि सोच्न आवश्यक छ,’ उनले भने ।
मूल्य निर्धारणसम्बन्धी नीति समयसाक्षेप नबनाएका कारण उद्योगीहरू घाटामा जाने अवस्था आएको पनि उनले बताए । ‘कोरोनाकालको संकटमा यहाँको माग धान्न नेपाली औषधि उद्योगहरूले राम्रो सहयोग गरे । सरकारलाई थाहा भएको छ कि संकटमा चाहिने यहींकै उद्योगहरू हुन् । त्यसैले स्वदेशी उद्योगको संरक्षणमा सरकार लाग्नुपर्यो,’ क्षेत्रीले भने ।
चुनौती धेरै भए पनि आफूहरू हतास नभएको उनले बताए । टाइम फर्माको उत्पादन देशभर पुगेसँगै रोजगारी ह्वात्तै बढेको छ । सुरुमा २५ जनाले रोजगार पाएका थिए, अहिले ३ सय ६० जना छन् । ‘सुरुका वर्षहरूमा ८० लाख रुपैयाँ बराबरको औषधि बिक्री भएको थियो । गत वर्षको कारोबार एक अर्ब १५ करोड रुपैयाँ भएको छ । यसमा धेरैको सरसहयोग, उपभोक्ताको विश्वास र हाम्रो धैर्य, लगन र मिहिनेत जोडिएको छ,’ क्षेत्रीले भने ।
उद्योगका साझेदारहरू ४३ जनासम्म पुगेका थिए । हाल टाइम फर्मास्युटिकल्स पब्लिक लिमिटेड कम्पनी भइसकेको छ । चाँडै आईपीओ निष्कासन गर्ने तयारीमा रहेको क्षेत्रीले बताए । टाइमले यो अवधिमा केही मात्रामा औषधि निर्यात सुरु गरेको छ । हङकङमा औषधि पठाएको र यो मात्रा बढाउँदै जाने उनले सुनाए ।
टाइम फर्माकै ग्रुपले नेपाली जडिबुटी चुत्रो र लोठसल्लाबाट औषधि बनाउने तयारी गरेको पनि उनले बताए । चुत्रोबाट टनिक र मधुमेहका औषधिहरू तथा लोठसल्लाबाट क्यान्सरको औषधि उत्पादन हुन्छ । औषधिको कच्चा पदार्थ उत्पादन गर्ने तयारीमा रहेको उनले बताए ।
‘हामी केही नयाँ गर्दै छौं । नेपाल यस्तो काम पनि गर्न सक्षम छ भन्ने सन्देश दिन पनि आउँदा दिनमा आफ्ना उत्पादन बजारमा ल्याउनेछौं । देशलाई औषधिमा आत्मनिर्भर बनाउन हाम्रो टेवा रहनेछ,’ क्षेत्रीले भने । नेपाली औषधिहरू प्रभावकारी छैनन् भन्ने गलत कुरा बजारमा फैलिएको हुँदा यसलाई चिर्न सबै पक्ष लाग्नुपर्ने र नेपाली उत्पादन गुणस्तरीय रहेको हुँदा स्वदेशी उत्पादनलाई प्राथमितामा राख्न उपभोक्तालाई उनले अपिल गरे ।
