काठमाडौंमा फेरि गुन्जँदै भैंसी लड्यो है माया...

मंसिर २७, २०८१

पर्वत पोर्तेल

The buffalo fell again in Kathmandu.

दार्जिलिङ — गायिका डेजी बराइलीको पारिवारिक माहोल संगीतमय थियो । बुबाआमादेखि मामासम्म गानाबजाना गर्थे । देउसीभैलो, बिहेबटुलोमा गाउन पुगिहाल्थे । त्यही माहोलले गायनप्रति डेजीको मोह बढ्यो । सन् १९६० अप्रिल २५ मा दार्जिलिङको रंगमुक चिया कमानमा जन्मिएकी उनले १० वर्षको उमेरदेखि नै गायनको मेलो समातिसकेकी थिइन् ।

‘मामा भीमबहादुर लकान्द्रीकै सहयोगले म गायिका भएकी हुँ,’ दार्जिलिङको भानु भवन अघिल्तिर बसेर डेजीले ती दिन सम्झिइन् । गायनप्रतिको उत्कट चाहना देखेपछि परिवारले डेजीलाई दार्जिलिङ सहर पठाए, सन् १९७४ ताका । उनी दार्जिलिङको सेन्ट रिजर्स गल्स हाईस्कुलमा ५ कक्षामा भर्ती भइन् । पढाइसँगै गायन पनि अघि बढाइन् । कर्मा योञ्जन, बद्री दुर्गा खरेलहरूसँगको संगतले उनको गायकी तिखारियो । 

सन् १९७५ ताका बद्री दुर्गा खरेल, दावा ग्याल्मो, गणेश शर्मासहितका अगुवा सर्जकको साथ लागेर पहिलो पटक डेजी मेची तरेर नेपाल पसिन् । त्यो बेला उनी भर्खरै १५ पुगेर १६ वर्ष मात्रै टेकेकी थिइन् । काठमाडौंको नेपाल पुलिस क्लबमा भव्य सांगीतिक कार्यक्रम भयो । ‘भैंसी लड्यो है माया’ बोलको गीत त्यही मेसोमा रेकर्ड गरेकी थिइन्, डेजीले । कमल दर्नालको रचना र संगीतको त्यो गीत रत्न रेकर्डिङ स्टुडियोमा रेकर्डिङ भएको थियो । 

नेपालमा रेकर्डिङ भएको डेजीको पहिलो गीतचाहिँ ‘मायालुले सम्झ्यो कि कसो’ हो । शशि ठटालले लेखेको त्यो गीतमा शान्ति ठटालको संगीत छ । डेजी र दावा ग्याल्मोले युगल रूपमा त्यो गीत रेकर्ड गराएका थिए । डेजीले नेपाल जानुअघि नै अल इन्डिया रेडियो, खर्साङबाट स्वर परीक्षा पास गरेकी थिइन् । 

त्यसपछि दार्जिलिङ–नेपाल आउजाउ गरिरहन थालिन् । २०४१ सालमा दोस्रो पटक नेपाल गएको मौकामा उनले ‘बादलमा नाची हिँड्ने पहाडकी सानी’ सहित अरू चार गीत रेकर्ड गरेर फर्किएकी थिइन् । 

त्यसको ८ वर्षपछि उनी पुनः नेपाल गइन् । गायक तथा अभिनेता मुरलीधरसँग प्रज्ञा भवनमा गीत गाइन् । २०५९ सालमा दार्जिलिङ गोर्खा पार्वत्य परिषद्को सांगीतिक टोलीमा समावेश भएर उनी तेस्रोपल्ट नेपाल पुगिन् । २०६३ मा पलेँटी कार्यक्रमका लागि उनी नेपाल गएकी थिइन् । उनी पछिल्लो पटक काठमाडौं पुगेको २०७६ सालमा हो । ‘भ्वाइस अफ नेपाल’ कार्यक्रममा छोरी विमोचना छानिएपछि उनी काठमाडौं पुगिन् । अनि भ्वाइसको मञ्चमा ४४ वर्षपछि दोहोर्‍याइन्, ‘भैंसी लड्यो है माया भीरबाट हेर ।’

उनी करिब तीन महिनापछि पुनः नेपाल जाँदै छिन् । पलेँटी शृंखलामा गाउन । सँगै जाँदै छिन् छोरी विमोचना र पति संगीतकार चन्दन लम्जेल पनि । ‘फेब्रुअरीतिर हाम्रो कार्यक्रम हुन्छ होला है,’ डेजीले सुरिलो स्वरमा सुनाइन्, ‘त्यो कार्यक्रमका लागि हामी तीनै जना तयारी गरिरहेका छौं ।’ डेजीको पारिवारिक माहोल उबेला माइतीघरमा जस्तै संगीतमय छ । पति संगीतकार, छोरी गायिका अनि छोरो गितारिस्ट । सबै कलाकारै कलाकार । पति लम्जेलले २ सयभन्दा बढी गीतमा संगीत भरेका छन् ।

स्वरसम्राट् नारायण गोपालले गाएको ‘मेरा सबै रातहरू अब मातहरू भए’ बोलको गीतमा चन्दनले संगीत भरेका हुन् । यो गीत नर्देन रुम्बाले रचेका हुन् । छोरा अनमोल दार्जिलिङ–मुम्बई ओहोरदोहोर गरिरहन्छन् । उनी गायक मोहित चौहानको टिममा आबद्ध छन् । उनी गितार बजाउँछन् । 

The buffalo fell again in Kathmandu.

डेजीले करिब डेढ–दुई सय गीत गाइन् । सय जति रेकर्डिङ भए । तर, भैंसी लड्योले उनलाई पहिचान दिलायो । नेपाल, भारत, भुटान, म्यानमारलगायत जहाँ–जहाँ नेपालीभाषी छन्, डेजी त्यहीँ–त्यहीँ चर्चित भइन् । पछिल्लो पुस्तामाझ पनि डेजीको लोकप्रियता उस्तै नै छ । 

त्यो कालजयी गीत रेकर्डिङको चाँजो मिलाउने मान्छे थिए, गोपाल योञ्जन । दार्जिलिङे योञ्जन सन् ६० को दशकतिरै काठमाडौं गएका थिए । डेजीले दाजु कर्मामार्फत गोपाललाई चिनेकी थिइन् । ‘मेरो गीतलाई पाकादेखि अहिलेका तन्नेर पुस्ताले पनि मन पराइरहेको पाएकी छु,’ डेजीले चौरस्ताबाट आएको चिसो सिरेटो छल्न खोज्दै भनिन्, ‘त्यो गीतले यति धेरै माया किन पायो, मलाई थाहा छैन ।’ 

सन् १९८३ मा बिहे गरिन् डेजीले । सांगीतिक कार्यक्रममै भेटिएका थिए, चन्दन । डेजीले उनैलाई जीवन साथी बनाइन् । खासमा संगीतले नै उनीहरूको भेट जुराएको थियो । पारिवारिक जीवन, गीत/संगीत अनि सरकारी नोकरी यी तीन कामलाई उनले व्यवस्थापन गरेर गइन् । ‘सोसियल वेल्फेयर डिपार्टमेन्ट’ मा उनी कार्यरत छिन् । ‘अवकाश हुन मात्रै डेढ वर्ष बाँकी छ,’ उमेरले ६ दशक नाघेकी डेजीले थपिन्, ‘जागिरपछि सबै जीवन संगीतमै खर्चिन्छु ।’ 

दार्जिलिङका कतिपय सर्जकजसरी जन्मथलो छाडेर नेपाल जान मन मानेन । मौका भने पाएकी हुन् । तर, जन्मथलोको मायाले उनलाई रोक्यो । डेजीको नारायण गोपालसँग पनि राम्रो सम्बन्ध थियो । स्वर सम्राटसँगै उनले नारायणघाटको एक कार्यक्रममा गाएकी थिइन् । ‘म सानी थिएँ, मलाई धेरै माया गर्नुहुन्थ्यो गायन नछाड्न सुझाव दिनुहुन्थ्यो,’ डेजीले सुनाइन् । दार्जिलिङे प्रतिभाहरू– कर्मा योञ्जन, दावा ग्याल्मो, कुमार सुब्बा, कमल दर्नाल, शान्ति ठटाल, जस योञ्जन प्यासी, मणिकमल छेत्रीलगायतको साथ र संगत उनले पछिसम्मै पाइन् । 

The buffalo fell again in Kathmandu.

 उनको भैंसी लड्योपछि एउटा खुला किताब, भिखारी हुँ म, कति बग्यो कति बग्यो, पुलमुनि पानी रेशम श्रोताले अत्यधिक रुचाएका स्तरीय गीत हुन् । डेजीका बुबा चन्द्रसिंह रंगमुक सार्वजनिक प्राथमिक पाठशालाका हेडमास्टर थिए । आमा राधिका चिया श्रमिक । चियाकमानका मेनेजर ब्रिटिस थिए । मेनेजरकी श्रीमतीले उनको नाम जुराइदिएकी थिइन्, ‘डेजी’ भनेर । डेजी अहिले पनि नेपाली संगीतको अमूल्य निधिका रूपमा नेपाली जनमानसमा अटल छिन् । उनका गीतहरूले भावनाको गहिराइमा डुबुल्की मार्न अझै प्रेरित गरिरहेका छन् ।

पर्वत पोर्तेल कान्तिपुरका कोशी प्रदेश संवाददाता हुन् । उनी झापा र विराटनगर क्षेत्रबाट लेख्छन् ।

Link copied successfully