जनविद्रोहको सपना जीवित राख्दै वैद्य

क्रान्तिकारी कम्युनिस्ट पार्टीको हालैको महाधिवेशनबाट सर्वसम्मत महासचिव बनेका वैद्यको दस्ताबेज ‘जनसंघर्ष तथा जनप्रतिरोध संघर्षका बीचबाट सर्वहारा वर्गको नेतृत्व तथा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्ति’ पारित भएको छ जसमा एमाले र माओवादीलाई ‘दक्षिणपन्थी, संशोधनवादी तथा संसदीय यथास्थितिवादी पार्टी’ का रूपमा व्याख्या गरिएको छ

मंसिर २९, २०८१

गंगा बीसी

Vaidya keeping the dream of public uprising alive

काठमाडौँ — जनविद्रोह गर्ने भन्दै २०६९ असारमा माओवादी केन्द्रबाट अलग्गिएका तत्कालीन माओवादी उपाध्यक्ष मोहन वैद्य क्रान्तिकारी कम्युनिस्ट पार्टीको महाधिवेशनबाट सर्वसम्मत महासचिव निर्वाचित भएका छन् । काठमाडौंमा १० दिनसम्म चलेको महाधिवेशनले ७९ वर्षीय वैद्यलाई एकल नेतृत्वमा महासचिव चयन गरेको हो । उनको पार्टीमा अरू पदाधिकारी नरहने व्यवस्था गरी स्थायी, पोलिटब्युरो र केन्द्रीय समिति रहनेछ । 

महाधिवेशनले गत सोमबार १ सय १७ पूर्ण र ८० वैकल्पिक सदस्य रहेको केन्द्रीय समिति चयन गरेको छ । २००३ सालमा प्यूठानको खैरामा जन्मिएका वैद्य नेपालमा मार्क्सवाद दर्शनशास्त्रका व्याख्याता मानिन्छन् । उनी माओवादी सत्ता र शक्तिमा रहँदा कुनै पनि सुविधाको पदमा रहेनन् । माओवादीमा रहँदा जनविद्रोहको नीति नछाडी फरक मत राखिरहे । जनविद्रोहको सपना उनले अझै पनि जीवित राखेका छन् । उनका राजनीतिक विद्यार्थी पुष्पकमल दाहाल भने शान्तिपूर्ण बाटोबाट तीन पटक प्रधानमन्त्री भइसकेका छन् । तर वैद्यको पार्टीको महाधिवेशनले पुनः विद्रोहको नीति पास गरेको छ । 

‘जनसंघर्ष तथा जनप्रतिरोध संघर्षका बीचबाट सर्वहारा वर्गको नेतृत्व तथा अधिनायकत्वअन्तर्गत निरन्तर क्रान्तिको दिशामा अघि बढ्नुपर्दछ’ वैद्यको महाधिवेशनमा पारित दस्ताबेजमा भनिएको छ, ‘त्यसरी नयाँ जनवादी राज्यसत्ता स्थापनाको बाटोमा अघि बढ्नुपर्ने छ ।’ क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता सीपी गजुरेलले सर्वसाधारणले भोग्दै आएका दैनिक समस्यालाई लिएर जनसंघर्ष अघि बढाउने र त्यसलाई बिस्तारै विद्रोहको रूप दिने बताए । ‘हाम्रो पार्टीको कार्यदिशा जनसंघर्ष, जनआन्दोलन र जनविद्रोह गर्नु हो । हामी सुरुसुरुमा शान्तिपूर्ण संघर्ष गर्छौं, त्यसपछि सरकारको व्यवहारअनुसार अघि बढ्छौं’ उनले भने । उनले एमाले, माओवादी केन्द्रबाट समाजवादी क्रान्ति सम्भव नहुने भन्दै जनविद्रोहको नीति लिएको जनाएका छन् । 

‘वर्गीय रूपमा दलाल एवम् नोकरशाही पुँजीपति तथा सामन्तीय राज्यसत्ता र अर्कोतिर राजनीतिक रूपमा वर्तमान संसदीय व्यवस्था तथा संविधानको पक्षधर एवम् रक्षा कबचका रूपमा प्रस्तुत हुँदै आएका छन्’ वैद्यको विश्लेषण छ, ‘यी सबैले वर्ग समन्वयवाद, बहुलवाद, सारसंग्रहवाद तथा शान्तिपूर्ण संसदीय प्रतिस्पर्धाको मान्यता अवलम्बन गरेर पश्चगामी वर्ग, राज्यसत्ता तथा व्यवस्थाको असली संवाहकका रूपमा आफूलाई देखाएर साम्राज्यवाद/विस्तारवादद्वारा नेपाली जनता तथा नेपालका विरुद्ध लादिएका असमान सन्धि र विभिन्न शोषण उत्पीडनलाई यथावत् स्वीकार गरेर स्वदेशी तथा विदेशी प्रतिक्रियावादी शक्तिका सामु आत्मसमर्पण गरिसकेका छन् र स्वयम् नवकुलीन वर्ग तथा नवप्रतिक्रियावादी शक्तिका रूपमा प्रकट भइरहेका छन् ।’ 

वैद्यले कांग्रेसलाई ‘संसद्वादी राजनीतिक पार्टीहरू अन्तर्गत मूलतः सर्वप्रथम नेपाली कांग्रेस भएको’ उल्लेख गरेका छन् । ‘वर्गर्यी रूपमा कांग्रेसले दलाल तथा नोकरशाही पुँजीपति एवम् सामन्त वर्गको प्रतिनिधित्व गर्दछ’ दस्ताबेजमा भनिएको छ, ‘विचारधारात्मक तथा राजनीतिक रूपमा यसले बहुलवाद, प्रजातान्त्रिक समाजवाद र संसदीय लोकतन्त्रलाई अंगीकार गर्दछ । यसले आफूलाई संसदीय लोकतन्त्रको एकमात्र मसीहा ठान्दछ ।’ कांग्रेसलाई ‘संसद्वादी यथास्थितिवादको पक्षधर रहिआएको पुरानो रैथाने पार्टी’ का रूपमा चित्रण गरेका छन् । 

एमाले र माओवादी केन्द्रलाई ‘दक्षिणपन्थी, संशोधनवादी तथा संसदीय यथास्थितिवादी पार्टी’ को कित्तामा उभ्याएका छन् । ‘नेपालमा एकातिर दक्षिणपन्थी संशोधनवाद र अर्कोतिर संसदीय यथास्थितिवादलाई शिरोधार्य गर्ने कतिपय राजनीतिक पार्टीहरू पनि अस्तित्वशील रहिआएका छन्’ वैद्यको विश्लेषण छ, ‘यस प्रकारका पार्टीहरूमा मूलतः एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी पार्टीहरू पर्दछन् । रूपमा यी सबैले आफूलाई कम्युनिस्ट पार्टी भनेका छन् ।’

राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘सबै संसद्वादी राजनीतिक दलहरूलाई असक्षम, असफल तथा असमर्थ बताए पनि संसद्वादी पार्टी भएको वैद्यको विश्लेषण छ । ‘पुरानो राज्यसत्ता, वर्तमान संविधान र संसदीय व्यवस्थाको असली पक्षधरका रूपमा आफूलाई पेस गर्दै व्यवस्था होइन अवस्था फेर्नुपर्छ भन्ने मान्यताका साथ अस्तित्वमा आएको छ’ वैद्यले भनेका छन् । उनले नेत्रविक्रम चन्दलाई पनि माओवादीकै कित्तामा राखेका छन् । 

२०६४ को संविधानसभाको पहिलो निर्वाचनमा पहिलो पार्टी भएपछि माओवादी ‘राप ताप’ को अघि अरू दल फिक्का जस्तै थिए । त्यो पार्टीका शक्तिशाली अध्यक्ष थिए पुष्पकमल दाहाल । 

सशस्त्र युद्धको जगमा बलियो जनादेश पाए पनि माओवादी विद्रोहको नीति लिने कि शान्तिपूर्ण भन्नेमा द्विविधामा थियो । दाहाल र तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराई शान्तिपूर्ण बाटो लिने पक्षमा थिए भने विद्रोहको लाइनमा वरिष्ठ उपाध्यक्ष मोहन वैद्य । 

भारतको जेलबाट छुटेर आएका वैद्यलाई पार्टी शान्तिपूर्ण बाटोमा आएकोमा चित्त बुझेको थिएन । उनी भारतको जेलमा रहेकै बेला अध्यक्ष दाहालले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग २०६३ मंसिर ५ मा विस्तृत शान्ति सम्झौता गरिसकेका थिए । सरकारसँग शान्ति सम्झौता भएपछि भारतबाट रिहा भई स्वदेश फर्केका वैद्य भने अझै विद्रोहको सम्भावना देख्दै थिए । त्यही बेला माओवादीले २०६४ साउनमा काठमाडौंको बालाजुमा गरेको विस्तारित बैठकमा वैद्यले दाहालविरुद्ध ‘जनविद्रोहको कार्यदिशा’ सहित फरक मत राखे । 

केन्द्रीय समितिमा बहुमतमा रहेका वैद्यको फरक मतले दाहाललाई झुक्न बाध्य बनायो । दाहाल पनि वैद्यको नीतिमा सहमत भई जनविद्रोहको नीतिमा सहमत भए । त्यो विस्तारित बैठकले ‘मुखमा संविधानसभाबाट जनसंविधान र भित्री रणनीतिमा विद्रोह’ नीति पास गरेको थियो ।

माओवादीमा रहँदासम्म वैद्यको जबरजस्त प्रभाव रह्यो । २०६५ पुसमा भक्तपुरको खरिपाटी बैठकमा वैद्य पक्षको ‘जनविद्रोहबाट जनगणतन्त्र स्थापना गर्ने’ तत्कालीन कार्यदिशा पारित भएको थियो । त्यतिबेला नचाहँदा नचाहँदै पनि दाहाल जनविद्रोहबाट जनगणतन्त्रमा जाने नीतिमा सहमत भएका थिए । जनविद्रोहको नीतिमा तत्कालीन उपाध्यक्ष बाबुराम भट्टराईको असहमति थियो । 

२०६७ मंसिरमा गोरखाको पालुङटारमा माओवादीको विस्तारित बैठकमा अध्यक्ष दाहालको प्रस्तावका विरुद्ध उपाध्यक्षद्वय वैद्य र भट्टराईले छुट्टाछुट्टै लिखित फरक मत राखेका थिए । त्यो बैठकमा पनि दाहाल र वैद्यको नीति पारित भई विद्रोहको आधार तयार गर्ने निर्णय गरेको थियो । तर त्यतिबेला दाहालको चाहना शान्तिपूर्ण बाटो अँगाल्ने भएपछि वैद्य असन्तुष्ट हुँदै गए । देशका विभिन्न ठाउँमा रहेका २८ क्याम्पका लडाकु समायोजन प्रक्रिया अघि बढेपछि वैद्यले माओवादी ‘आत्मसमर्पण’ को बाटोमा अघि बढेको निष्कर्ष निकाले । पार्टीभित्र अन्तरसंघर्ष जारी राखेका उनले २०६९ असारमा विद्रोह गरी क्रान्तिकारी माओवादी नामको नयाँ पार्टी गठन गरे । जनविद्रोहको नीति लिएर माओवादीबाट अलग भएको ११ वर्ष बितिसक्दा पनि वैद्यले विद्रोहको नीति भने छाडेका छैनन् । 

हाल माओवादी केन्द्रले जुन बाटो लिएको छ, वैद्यले त्यसको स्वामित्व कहिले पनि लिएका छैनन् । सशस्त्र युद्धको रणनीतिकारमध्ये एक भए पनि उनी शान्तिपूर्ण कार्यदिशाको सधैं विपक्षमा उभिएका थिए । माओवादी युद्धमै रहेका बेला वैद्य २०६० चैतमा भारतको सिलगुढीबाट पक्राउ परेका थिए । माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि २०६५ मा रिहा भएर स्वदेश फर्केका थिए । तर उनी अझै पनि बल प्रयोगबाट राज्यसत्ता कब्जा गरी नयाँ जनवादी क्रान्ति गर्ने लाइनमा नै छन् । 

२०४२ सालमा नेकपा मशालमा विभाजन आएपछि वैद्यको नेतृत्वमा नेकपा मशाल र मोहनविक्रम सिंहको नेतृत्वमा नेकपा मसाल गठन भएको थियो । मोटो मशालको नेतृत्व वैद्यले गरेका थिए, जसले सशस्त्र जनयुद्ध गर्ने नीति पारित गरी तयारीसमेत सुरु गरेको थियो । वैद्यको नेतृत्वमा २०४३ मा मशालका तर्फबाट काठमाडौंका प्रहरी बिटमा आक्रमण र पोस्टर टाँस्ने काम भयो । सरकारले मशालका दर्जनौं कार्यकर्ता गिरफ्तार गरी चर्को यातना दियो । त्यसको जिम्मेवारी लिँदै वैद्यले महामन्त्रीबाट राजीनामा दिएपछि हालका माओवादी अध्यक्ष दाहाल महामन्त्रीमा चयन भए । २०४५ मा मशालको सम्मेलनद्वारा दाहाल महामन्त्रीमा निर्वाचित भएपछि हालसम्म उनी नै मूल पार्टीको नेतृत्वमा छन् । 

वैद्यको नेतृत्वमा २०४५ सालमा गोरखा सिरानचोकमा पहिलो जनयुद्धसम्बन्धी तालिम भएको थियो । वैद्यको २०४५ मा नै जनयुद्ध सुरु गर्ने तयारी भइरहेका बेला जनआन्दोलन सुरु भएपछि त्यो स्थगित भयो । वैद्य पाखा लागेपछि दाहालको नेतृत्वमा २०५२ मा ‘जनयुद्ध’ सुरु भई १० वर्ष चल्यो । वैद्य भारतको जेलमा रहेका बेला २०६२ असोजमा भएको माओवादी बैठकद्वारा प्रतिस्पर्धात्मक लोकतान्त्रिक गणतन्त्रको कार्यदिशा पारित गरेको थियो । 

मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गएको दस वर्ष पुगे पनि वैद्यले भने अझै जनविद्रोहको नीतिलाई अलिकति पनि छोडेका छैनन् । के त्यो सम्भव छ ? वैद्यले महाधिवेशन समापन गर्दै ‘त्यो सम्भव भएको’ बताए । ‘क्रान्तिकारी शक्तिहरू अझै एकताबद्ध भएर जानुपर्छ । क्रान्ति अझै पूरा भएको छैन’ उनले भने, ‘जनविद्रोहको बाटोबाट जनवादी सत्ता स्थापना गर्न सकिन्छ । त्यो सम्भव छ ।’ क्रान्तिकारी कम्युनिस्ट पार्टीका वरिष्ठ नेता गजुरेलले एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी दक्षिणपन्थी बाटोमा गएकाले जनविद्रोह सम्भव भएको तर्क गर्छन् । ‘माओवादी, कांग्रेस र एमाले एउटै कित्तामा गइसकेका छन् । उनीहरू यथास्थितिवादी दक्षिणपन्थी हुन्’ उनले थपे, ‘हामी क्रान्तिकारी हौं । उनीहरू र हामीमा ठूलो अन्तर यही हो ।’ दाहालले १० वर्ष ‘जनयुद्ध’ को नेतृत्व गरे पनि दक्षिणपन्थी यथास्थितवादी बाटोमा गइसकेको गजुरेलको तर्क छ । 

वामपन्थी विश्लेषक एवं माओवादीका सचिव राम कार्कीले ‘वैद्य मार्क्सवादलाई एक इन्च पनि तलमाथि गर्न नमान्ने इमानदार तर कट्टरवादी नेता भएको’ बताए । 

‘देशको मौलिकतामा भन्दा पनि मार्क्सको सिद्धान्तमा बढी जोड दिनुहुन्छ । देशको स्थिति कस्तो छ भन्ने कुरामा ध्यान नदिई कट्टर मार्क्स, लेनिन, माओवाद मान्नुहुन्छ । आफ्नो आदर्श, आस्था र सिद्धान्त निष्ठामा इमानदार नेता हो’ कार्कीले भने, ‘नेपालको मौलिकतामा मार्क्सवादलाई अलिकति परिवर्तन गर्न पनि डराउनुहुन्छ । मार्क्सवादलाई परिमार्जन गर्न खोज्दा अशुद्ध ठान्नुहुन्छ ।’

वैद्य ‘ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नचाहने, नेपालको मौलिकतालाई ध्यान नदिएकाले उनको जनविद्रोह सफल हुन गाह्रो हुने’ कार्कीको भनाइ छ । तर नेपालमा कम्युनिस्ट पार्टीहरूमा क्रान्तिकारी सिद्धान्तको अनिकाल भएकाले वैद्य एउटा बिउ हुन सक्नुहुन्छ’ उनले भने ।

गंगा

Link copied successfully