टेलिकमको मुख्यालयमा ‘मार्केटिङ सेल्स एन्ड सपोर्ट’ शाखाका सहायक प्रशासकीय अधिकृत गौतम पोखरेल हुन् वा भद्रकालीस्थित कृषि विकास बैंकको ‘मार्केटिङ एन्ड सर्भिस डिपार्टमेन्ट’ का ‘बिजनेस अफिसर’ सुनील ढकाल अथवा ललितपुरस्थित बाघ भैरव प्राविधिक माविमा सामाजिक पढाइरहेका भरत चौलागाईं आ–आफ्नो जिम्मेवारीमा अब्बल छन् ।
काठमाडौँ — गौतम पोखरेल, नेपाल टेलिकम सहायक प्रशासकीय अधिकृत । ‘मार्केटिङ सेल्स एन्ड सपोर्ट’ शाखामा काम गर्ने उनी हरेक ग्राहकसँग ठोकिन्छन् । उनको कामलाई नियाल्नेहरू उनको जोस, जाँगरको प्रशंसा नगर्ने सायद कमै होलान् ।
सुन्धारास्थित नेपाल टेलिकमको कार्यालयमा पुग्दा काम गर्ने शैली र बोलीबचन, व्यवहारमा ग्राहकले उनलाई फरक देख्दैनन् । तर उनीसँगै भएको सेतो छडी जब ग्राहकको आँखामा पर्छ तब उनलाई प्रश्न गर्छन्, ‘सर दृष्टिविहीन हो र ? देख्दा त त्यस्तो लाग्दैन त ?’ आफूसँगै राखेको सेतो छडीले उनको पहिचान खुलेको छ ।
पोखरेल भन्छन्, ‘यहाँ आउनेहरू नझुक्किउन् भनेर छडीलाई आफूसँगै राखेको छु ताकि ग्राहकहरूले मलाई चिन्न सकुन् ।’ दृष्टिविहीन उनी कम्प्युटर चलाउन पोख्त छन् । तारन्तार बज्ने फोनले उनलाई फुर्सद हुँदैन । टेलिकममा यसैगरी काम गर्न थालेको पाँच वर्ष भइसक्यो । उनलाई काम गर्ने वातावरण बनाइदिने उपकरण हो कम्प्युटर । विभिन्न सफ्टवेयरमार्फत उनले काम गरिरहेका छन् ।
‘स्क्रिन रिडर’को सहायताले आफ्नो कार्यशैली अब्बल बनाउने प्रयासमा रहेको उनी बताउँछन् । उनले भने, ‘प्रविधिको बढ्दो विकासले दृष्टिविहीनलाई धेरै सहयोग पुगेको छ, डिजिटल प्रविधिमा काम गर्न हामी अभ्यस्त भइसकेका छौं ।’
२०७६ सालबाट नेपाल टेलिकमको चौथो तहबाट सरकारी सेवा सुरुवात गरेका उनी समावेशीमार्फत अपांगता आरक्षणमा सफल भएका हुन् । अधिकृतसम्म आइपुग्न लोक सेवाको लामो संघर्ष छ पोखरेलसँग । सरकारी सेवामा जागिर खानुको विकल्प नभएर नै लोक सेवाको तयारी थालेको उनको भनाइ छ । निजामती क्षेत्रमा नायब सुब्बा, खरिदारमा पनि परीक्षा दिएको अनुभव छ उनीसँग ।
भन्छन्, ‘दृष्टिविहीन तथा अपांगता व्यक्तिहरूलाई निजी तथा अन्य क्षेत्रमा सहज छैन । पढ्न सकेमा सरकारी जागिर सुरक्षित र सहज भएकाले लोक सेवामा नै बढी फोकस रह्यो ।’ लोक सेवा तयारीका क्रममा उनले कति तिथिमिति याद गरे, कति बिर्सिए तर २०६७ मंसिर ९ को मिति उनले कहिल्यै बिर्सन सक्दैनन् । किनकि अल्पदृष्टिमा १७ वर्ष कटाएका उनले त्यस दिनदेखि आँखाको पूर्णरूपमा ज्योति गुमाए ।
दृष्टि गुमेसँगै पढ्न, हिँड्न, काम गर्न उनले केमा चाहिँ संघर्ष गरेनन् र ? स्याङ्जाका उनी पढाइमा भने तेज थिए । जनप्रशासनमा स्नातकोत्तरसम्म अध्ययन गरेका छन् । ‘आँखाको कारण दुःख, संघर्ष धेरै भयो तर विकल्पहरू पनि उत्तिकै हुने रहेछन् । आँखाको दृष्टि गुमाए पनि कानको सहाराले यहाँसम्म आइपुगेको हुँ ।’ लोक सेवा पढ्नका लागि ‘डिजिटल डिभाइस’ नै उनले प्रयोग गरे । युट्युबको माध्यमबाट लोक सेवा पढ्न र लेखाइमा अरूको सहायताले यसमा सफल भएको उनले बताए ।
कृषि विकास बैंकको ‘मार्केटिङ एन्ड सर्भिस डिपार्टमेन्ट’मा बिजनेस अफिसरका रूपमा कार्यरत छन्, सुनील ढकाल । उनी पनि दृष्टिविहीन हुन्, तर उनको अवस्था भने केही फरक छ । उनी घाममा आँखा देख्छन् जहाँ लेख्न, पढ्न उनलाई सहज हुन्छ । तर घाम नलाग्ने कोठा उनका लागि दिउँसै अँध्यारो भइरहन्छ ।
भद्रकालीस्थित बैंकको मुख्यालयमा घाम नलाग्ने भुइँतलामा उनको कार्यक्षेत्र तोकिएको छ । जहाँ उनी आफ्नो काम जिम्मेवारीपूर्वक गरिरहेका छन् । उनको मुख्य जिम्मेवारी ग्राहकका गुनासो सुन्ने, जाँच/अनुसन्धान गर्ने र समस्याको समाधान गर्ने हो । उनी यी सबै काम डिजिटल प्लेटफर्मबाट नै गर्ने गर्छन् । इमेल, भाइबर, ह्वाट्सएप जस्ता एपमार्फत आएका गुनासाहरूको उनले समाधान गरिरहेका छन् ।
बैंकमा चौथो तहबाट प्रवेश गरेका उनी अधिकृत बन्दासम्म ६ वर्ष बिताइसकेका छन् । यो अवधिको अनुभवले उनलाई धेरै कुरा सिकाइसकेको छ । कति मिठा, कति तीता अनुभव ताजै छन् । आफ्नै संघर्ष र काम गर्ने हुटहुटीले बैंकमा आफैं काम सिकेका हुन् ।
२०७५ मा सिफारिस भएर पहिलो पटक लमजुङ बेंसीसहरको नियुक्ति लिँदाको अनुभव सुनाउँदै उनी भन्छन्, ‘सिफारिस भएर पहिलोपल्ट बेंसीसहर पुग्दा ६ महिना जति त जिम्मेवारीविहीन बनाइयो, ममाथि कुनै विश्वास नै गरिएन ।’ धेरै पटक ताकेता गर्दा पनि सहज रूपमा जिम्मेवारी पाउन सकेनन् उनले । दृष्टिविहीनलाई बैंकिङ कारोबारमा कसरी अधिकार दिने भन्नेमा सबैको डर थियो । आफ्नै ल्यापटपबाट उनले काम गरे ।
बैंकमा उनको कार्यको सुरुवात भने कर्जा तिर्नका लागि ताकेता गर्नु थियो । सिफारिस भएको एक वर्षपछि मात्र उनले कार्यालयको कम्प्युटर पाएका थिए । बैंक प्रवेशपश्चात् सबैभन्दा खुसीको क्षण नै उनका लागि कम्प्युटर पाउनु रहेको सुनाउँछन् । आफूलाई निखार्दै आफ्ना लागि आफैं काम खोज्दै उनले अहिले धेरै काम गर्न सक्ने भएका छन् ।
‘डिजिटल डिभाइस’मा काम गर्न अब उनलाई समस्या छैन । उनी भन्छन्, ‘मोबाइलका डिजिटल डिभाइस मोबाइल बैंकिङ, क्यूआरकोड जस्ता प्रोडक्ट अहिले सहजै बनाउन सक्छु ।’
बैंकमा जिम्मेवारी लिनका लागि भोगेको समस्याभन्दा पनि ठूलो छ उनका लागि लोक सेवाको संघर्ष । प्राइभेट बैंकमा दृष्टिविहीन भएकै कारणले अन्तर्वार्तामा फालिएपश्चात् उनले सरकारी बैंकको सपना बुनेका हुन् । व्यवस्थापन पढाइले पनि उनलाई थप बल दिएको हो । यसका लागि उनले रातोदिन मिहिनेत गरेका छन् । श्रब्य सामग्री संकलन गर्दै कम्प्युटरमा अध्ययन गर्नु नै उनको सफलताको बाटो रहेको बताए ।
उनले भने, ‘हाम्रो पढाइ नै डिजिटल डिभाइसमा हुने हो, सुन्छौं र लेख्नका लागि कम्प्युटर नै प्रयोग गर्छौं ।’ आफूले अध्ययन गरेअनुसार परीक्षामा शब्दमा उतार्न नसक्दा लेखनमा अरूको भर पर्नुपर्ने बाध्यताले समस्या हुने गरेको उनको अनुभव छ । कृषि विकास र वाणिज्य बैंक गरी उनले ५ स्थानमा लिखितमा नाम निकाले । यी पाँचै वटा परीक्षामा फरक व्यक्तिले उनको परीक्षा लेखिदिए र सफल पनि भए ।
उनले भने, ‘लोक सेवाले हाम्रा लागि राइटर आफैं खोजिदिन्छ तर राइटरसँग आफ्नो बुझाइ नमिल्दा भने परीक्षा लेखनमा समस्या आउँछ, भनेअनुसार लेखिदिने र समयमा नै परीक्षा पूरा गर्न अठ्यारो नै छ ।’
लोक सेवा आयोगले लेखकको व्यवस्था आफैं गरिदिन्छ । परीक्षार्थीलाई लेखक खोज्ने झन्झट भने छैन । तर शिक्षक सेवा आयोगमा भने यो व्यवस्था नहुँदा धेरै अपांगता भएका परीक्षार्थीहरूले लेखक खोज्नमा सास्ती भोग्नुपरेको छ । माध्यमिक तहमा सामाजिक विषयका दृष्टिविहीन शिक्षक भरत चौलागाईं परीक्षाको समयमा लेखकको अभावले मानसिक तनाव नै हुने बताए ।
‘आफूले राम्रो तयारी गरे पनि लेखक खोज्नु र त्यसलाई परीक्षामा सामेल गराउन सधैं समस्या भोग्नुपरेको छ ।’ उदाहरण दिँदै उनले भने, ‘वर्तमान परिप्रेक्ष्यमा लेख्न नजान्ने लेखकबाट पनि मैले परीक्षा दिएको छु, एकदमै सहयोगी र भाषा बुझ्ने लेखकबाट पनि परीक्षा दिएको छु ।’ परीक्षार्थीको परीक्षाअनुसार आयोगले योग्य लेखक व्यवस्था गराउन आवश्यक देख्छन् उनी ।
अरूबाटै लेखाएर उनले खुलामा गण्डकी प्रदेशमा निम्न माध्यमिक तहमा नाम निकाले । २०७९ मा उनको पहिलो नियुक्ति कास्कीस्थित धनुवास कालिका माध्यमिक विद्यालयमा भयो । २०८१ मा वाग्मती प्रदेशबाट माध्यमिक तहमा खुलाबाट नाम निकाली हाल ललितपुरस्थित बाघ भैरव प्राविधिक माध्यमिक विद्यालयमा सामाजिक विषय पढाइरहेका छन् ।
जुम्लाका उनी जन्मँदै दृष्टिविहीन हुन् । दृष्टिविहीन भएकै कारण उनले थुप्रै सामाजिक अपहेलना पनि भोग्नुपर्यो । उनका लागि पढाइलेखाइमा भने परिवारले कुनै कसुर बाँकी राखेन । बर्दिया र नेपालगन्जबाट ब्रेललिपिमा पढाइ सुरु गरेका उनको पढाइ कहिल्यै रोकिएन । काठमाडौं आएर उनले राजनीतिशास्त्रमा स्नातकोत्तरसम्म अध्ययन गरे ।
एक वर्ष बीएडको अध्ययन पूरा गरेपश्चात् उनी शिक्षक सेवाको तयारीमा जुटेका हुन् । त्यसका लागि अध्ययन सामग्रीमा उनले डिजिटल माध्यमदेखि साथीहरूको सहयोग लिए । परीक्षाका लागि भने दृष्टिविहीनहरूलाई पढ्न सहज वातावरण हुन नसकेको उनले बताए । गणित विषयका लागि उपयुक्त शिक्षक नहुनु र प्रविधिमैत्री वातावरण नहुनु जस्ता समस्या रहेको उनले बताए । भने, ‘तर पढ्न, लेख्न र अरूलाई लेखाएर आफू पास हुन सहज वातावरण निर्माण हुन सकेको छैन ।’
पढ्नमा उनी तेज छन् । आफ्नो काममा अरूको सहारा चाहिँदैन उनलाई । कक्षाकोठामा विद्यार्थीलाई बुझाउन र पढाउनमा अब्बल भए पनि दृष्टिविहीन भएका कारण क्षमतामा सधैं प्रश्न उठाइरहने गरिएको उनले दुखेसो गरे । पहिलो पटक त विद्यालयमा नै उनको क्षमतामाथि प्रश्न उठाइएको उनले बताए ।
उनले ‘तपाईंले कसरी पढाउनुहुन्छ ? विद्यार्थीले कसरी सिक्छन्’ जस्ता प्रश्नको सामना गर्नुपर्यो । एक पटक मौका दिएर हेर्नुस् भनेर कक्षाकोठा प्रवेश गरेका उनले आफ्नो कार्यशैली र क्षमतामा सधैं गर्व गर्छन् । पढ्न र पढाउनेबाहेक उनी खेलकुदमा पनि सक्रिय छन् उनी । राष्ट्रिय दृष्टिविहीन क्रिकेट खेलाडी हुन् उनी, ३ पटक विश्वकपमा सहभागी भइसकेका छन् । यो वर्ष भने पारिवारिक कारणले सहभागिता जनाउन नसकेको उनले सुनाए ।
अवसर पाउन सके अपांगता भएका व्यक्तिहरूले पनि सक्षमतापूर्वक आफ्नो कार्यजिम्मेवारी निभाउन सक्छन् भन्ने लाग्दछ उनलाई । क्रिकेट खेल्दै प्रविधिमा जुम्लाका विद्यार्थीहरूलाई जोड्ने योजना बुनेका छन् । आफ्नै प्राविधिक विद्यालयमा जुम्लाका धेरै विद्यार्थीर्हरूलाई पढाउने वातावरण निर्माणमा आफू अग्रसर रहेको बताए ।
अपांगता भएका व्यक्तिहरूका लागि परिचयपत्र वितरण निर्देशिका २०६५ मा अति पूर्ण अशक्त, अशक्त, मध्यम र सामान्य गरी चार प्रकारमा परिचयपत्र वितरणको व्यवस्था छ । २०६४ मा लागू भएको समावेशी व्यवस्थाअन्तर्गत ५ प्रतिशत अपांगता आरक्षणको व्यवस्था गरिएको छ ।
लोक सेवा आयोगले तोकिएका अपांगहरूबीच प्रतिस्पर्धा गराई पदपूर्ति गराउँदै आएको छ । अपांगता समावेशी आरक्षणमा २०६४ देखि २०८० सम्म १ हजार १ सय १२ जना सिफारिस भएका छन् । यो एकमुष्ट सिफारिसको तथ्यांक हो । यसमा अपांगताको वर्गीकरणअनुसार आयोगले तथ्यांक राखेको छैन ।
परीक्षामा सहयोगी लेखक आवश्यक पर्ने व्यक्तिहरूले आयोगमा एक हप्ता अगाडि निवेदन दिनुपर्दछ । परीक्षार्थीले आफूले खोजेका र चिनजानको लेखकलाई आयोगले मान्यता दिँदैन । ‘सहयोगी लेखक आयोगले आफैं व्यवस्था गरिदिन्छ, परीक्षार्थीले खोजेको व्यक्तिलाई आयोगले राख्दैन,’ लोक सेवा आयोगकी प्रवक्ता गीताकुमारी हुमागाईंले भनिन्, ‘हामीले विभिन्न क्लस्टर बनाएर लेखकको व्यवस्था गर्ने गरेका छौं ।’
उनका अनुसार आयोगभित्रका कर्मचारीदेखि बाहिरका व्यक्तिहरू लेखकका रूपमा खटिने गर्दछन् । परीक्षार्थीभन्दा एक तहमुनिको लेखक खटाउने व्यवस्था रहेको उनले सुनाइन् । दृष्टिविहीनका लागि परीक्षामा चित्रहरू समावेश गरिएका हुँदैनन् । उनका अनुसार परीक्षामा अन्यको तुलनामा १ घण्टामा १० मिनेट समय थप हुन्छ । सीप परीक्षण र कम्प्युटरमा भने छुट दिइएको छैन । ‘अपांगताको प्रकृतिअनुसार कार्यजिम्मेवारी तोक्न आवश्यक छ,’ प्रवक्ता हुमागार्इं भन्छिन् ।
लोक सेवा आयोगले अपांगता परिचयपत्रका आधारमा सबै प्रकारका अपांगताबीच प्रतिस्पर्धा गराउँदै पदपूर्ति गर्दै आइरहेको छ । अपांगको प्रकृतिअनुसार कार्यजिम्मेवारी तोकिनुपर्दछ भनेर विभिन्न नियमावलीमा व्यवस्था भए पनि सोहीअनुसार वर्गीकरण गर्न नसक्दा कार्यसम्पादनमा समस्या उत्पन्न भएको छ ।
सबै किसिमका अपांगताले सबै किसिमको काम गर्ने सक्ने अवस्था रहँदैन । कुन अपांगताले कस्तो काम गर्न सक्दछ भन्ने नै निर्क्योल नहुनु र भौतिक संरचना पनि अपांगतामैत्री नहुनाले विभिन्न प्रकारका समस्याहरू देखिएको छ । अपांगताको वर्गीकरण नगर्नाले मुख्यतया खटाएको स्थानमा जान नसक्ने र नियुक्ति पत्र नलिने जस्ता समस्याहरू देखिएका छन् । यसका लागि राज्यले नै अपांगताको वर्गीकरण गरेर कार्यजिम्मेवारी तोकिदिएमा मात्र सहज वातावरण बन्ने देखिन्छ ।
