डिमृती : दसमा दस

पितृसत्ता र जातीय विभेदलाई भत्काउँदै र्‍याप गाउने डिमृती भन्छिन् : अहिले महिलाहरूले के-के गरिसके, मैले र्‍याप हान्दा छक्क पर्ने ? कोही महिलाले र्‍याप हान्दै नहान्या जस्तो !

जेष्ठ १९, २०८३

रीना मोक्तान

Dimriti: Ten out of ten

What you should know

काठमाडौँ — कहिलेकाहीँ लाग्छ नि, म कोहीभन्दा कम छैन । अरूभन्दा बबाल नै छु ! मेरो तुलना कोहीसँग हुँदैन । हो, यस्तै भाव टपक्क टिपेर र्‍यापर डिमृतीले लेखेकी हुन्-दसमा दस । कहिलेकाहीँ डिमृतीसामु त्यसै बिट (धून) आइपुग्छन् । त्यही धूनलाई उनी गुनगुनाइरहन्छिन्, त्यसले दिने भावमा शब्द मिलाउँदै । यसरी नै बन्यो- 'दसमा दस' । अहिले यो र्‍यापका केही क्लिप्स सामाजिक सञ्जालतिर चर्चामा छ । फिल्म 'शक्ति'का लागि गाइएको नयाँ र्‍याप पनि म्युजिक भिडियोसहित सार्वजनिक हुँदा डिमृती त्यसै चर्चामा !

दसमा दस

मेरो पारा देखी सबले सोच्छ 

दसमा दस 

केटाहरूदेखि केटी सबै जना सक्ड… 

महिलालाई कमजोर, शालीन र सुशील देख्न चाहने पितृसत्तात्मक सोचमाथि व्यंग्य प्रहार गर्दै यो र्‍यापमा डिमृतीले त्यस्तो एउटा महिलाको चर्चा गर्छिन्, जो दसमा दस छिन् । जो स्वतन्त्र छिन्, महिलाले गर्नुपर्ने भनिएको नियम तोड्छिन् । उक्त महिला पात्रको केन्द्रमा आफैंलाई उभ्याउँदै उनी गाउँछिन्,'आई सेड आइम द बम, आइम द गन । नट अ बिच, न अ चिक, इन्डिपेन्डेन्ट डन(मैले भनें, म नै विस्फोटक शक्ति हुँ, म नै हतियार हुँ । म कसैको अधीनमा पर्ने व्यक्ति होइन म आफैंमा स्वतन्त्र र शक्तिशाली डन हुँ) ।' 

हुन त ३ वर्षअघि नै डिमृतीले यो र्‍याप बजारमा ल्याएकी थिइन् । तर, एक महिनाअघि 'लाउन्ज'मा गरिएको सोले गर्दा यो र्‍यापको चर्चा चुलियो । लाउन्जमा यो गीत प्रस्तुत गर्दा, डिमृतीले केही नयाँ गर्ने सोचमा र्‍यापलाई अकस्टिकमा गाइदिइन् । बाँसुरीका धून मिसाइन् । अनि पृष्ठभूमिमा अर्को आवाजलाई 'ब्याक भोकल' बनाइन् । 'केही नयाँ गर्ने मन भएर अकस्टिक भर्सनमा गाएँ, इन्स्टाग्रामतिर चलेछ,'डिमृती सुनाउँछिन् ।

कहिलेकाहीँ डिमृती आफूलाई १० मा शून्य अनुभव गर्छिन्  त कहिले भने 'दसमा दस'  नै । उतिबेला 'म केही त हुँ'भन्ने भाव पक्रेरै यो गीत लेखे पनि जीवनमा आफू 'केही होइन' भन्ने लागिरहँदा 'दस मा दस' सुन्दा अप्ठ्यारो पनि महसुस गर्छिन् । 'त्यतिबेला त त्यसरी लेखेको थिएँ, तर अहिलेचाहिँ के लेखेँ भन्ने कुरा लाग्दो रहेछ,'डिमृतीले भनिन्,'तर मलाई यो र्‍यापको भर्स एकदम मनपर्छ ।' 

दसमा दस’को बीचतिर डिमृती आफ्नै कथा गाउँछिन्- ‘एट एइटिन् ह्वेन आई लेफ्ट द होम, आई डिड अल’ । अर्थात १८ वर्षको उमेरमा घर छाडेर मैले सबैकुरा आफैंले थालेँ । यसअघिको पंक्तिमा आफू साधारण भएको र विशेष सहुलियतबाट टाढा रहेर पनि अहिले ‘क्वीन’ बनिसकेको गाउँछिन् । र्‍यापमा झैं डिमृती, १८ वर्षको उमेरमै झापा छाडेर काठमाडौं आएकी हुन् । त्यो पनि र्‍यापर बन्न । 

हुन त उनी काठमाडौंमै जन्मिइन् । भाइ जन्मने बेला परिवार झापाको पृथ्वीनगर बसाइँ सरे । झापामा हुर्कँदै गर्दा सधैँ उनलाई काठमाडौंको तिर्सना लागिरहन्थ्यो । 'काठमाडौं जान पाए हुने' भन्ने भाव आइरहन्थ्यो । १६ वर्षको हुँदै काठमाडौं आउने सोचिन् । तर त्यतिबेला आमा बुवाले आउन दिनुभएन । १२ को कक्षा सकिएपछि भने परिवार सहमत भए, अनि सपना पछ्याउँदै डिमृती काठमाडौं आइन् । यो सन् २०१२ तिरको कुरा हो । अहिले हिपहप संगीतमा डिमृतीको छुट्टै पहिचान छ । पुरुष दमित र्‍याप क्षेत्रमै उनी त्यस्तो आवाज हुन्, जो बुलन्द स्वरमा समाजका दबाइएका, दबिएका विषयमाथि संगीत बनाउँछिन् । 

Dimriti: Ten out of ten

र्‍यापमा उनको यात्रा भने 'वाई वाई डाइनामाइट ब्रेक बार्स र्‍याप ब्याटल'बाट सुरु भएको हो । सन् २०१२ मा यो ब्याटलमा सहभागी हुँदै डिमृतीले प्रतिस्पर्धा जितिन् । सानो छँदा एमिनेमदेखि रिहाना, एमसी फ्लोदेखि यमबुद्ध सुन्दै हुर्केकी डिमृती अहिले दुनियाँलाई आफ्नो र्‍याप सुनाउँछिन् । फिल्म ‘शक्ति’मा रहेको ‘नाम’शीर्षकको र्‍याप स्पोटिफाइमै रिलिज भइसक्यो । 

पेन्ड्राइभमा हिपहप गीत राखेर र्‍याप सुन्ने जमानाकी डिमृतीले कहिल्यै र्‍यापर बन्छु भन्ने सोचिनन् । तर, र्‍यापको रुचिले ब्रेक बार्स पुर्‍यायो । प्रतिस्पर्धामा पनि उनी मात्रै महिला । पहिलो ब्याटलमा भएको महिला सहभागीलाई सुरूमै हराइन् । तर, त्यो ब्याटल जित्दा र्‍यापमा उनी तगडा भइसकेकी थिइनन् । प्रतिस्पर्धी कमजोर भइदिएर पहिलो ब्याटल जितेको उनी सुनाउँछिन् । ‘त्यो ब्याटलमा त आँखा चिम्लिएको कसैले नदेखेस् भनेर । आँखामा कालो चस्मा थियो । ब्याटल सुरू हुँदा सबै बिर्सें । मेरोभन्दा अर्को प्रतिस्पर्धीको ब्याटल खराब भइदियो । अनि मैले जितें,’ डिमृती सुनाउँछिन् ।

पहिलो ब्याटलको जितपछि त उनको निन्द्रा हरायो । ब्याटलबाट २ हप्ताको छुट्टी पाउँथिन् । घर फर्केर ब्याटलको तयारी गर्थिन् । रात-रातसम्म र्‍याप राम्रो बनाउन लागि पर्थिन् ।  ‘डर भन्ने चिज पनि आवश्यक रहेछ भन्ने भयो । त्यहाँ छाडा धेरै बोल्न पाइँदैन भन्ने थियो, जुन सबैभन्दा राम्रो अभ्यास भयो । मलाई परम्परागत ब्याटलमा बोलिने छाडा मनपर्दैन थियो,’उनले सम्झिन् । सबै पुरुष प्रतिस्पर्धीलाई पछाडि पार्दै डिमृतीले र्‍याप क्षेत्रको एउटा शक्तिशाली ब्याटल जितिन् । ‘मलाई जित्छु भन्ने लागेको थिएन -तर जितियो । अलिअलि कमायो अनि बाँच्न पनि सकिने रहेछ भन्ने भयो,’उनी भन्छिन् । 

हुन त ब्रेकबार्सभन्दा अगाडि पनि डिमृतीले र्‍याप नगाएकी होइनन् । अन्डरग्राउन्ड र्‍याप निकाल्थिन् । तर, र्‍यापमै भविष्य देखेकी थिइनन् । मात्र रुचि पूरा गर्न र्‍याप गाउँथिन् । गाएर युट्युबमा राख्थिन्, सय भ्युज पाउँदा दंग पर्थिन् । ‘कलेजमा पनि गाउँथे, सिरियसचाहिँ थिइनँ,’ उनले भनिन् । 

अंग्रेजीमा बलियो पकड छ, डिमृतीको । त्यसैले उनका अधिकांश र्‍याप, अंग्रेजीमै छन् । अंग्रेजीमा र्‍याप गाए पनि उनी कतै न कतै टुच्च नेपाली पनि मिसाइदिन्छिन् । ‘आजभोलि’ भन्ने शीर्षकको र्‍याप भने नेपालीमै गाइन् । ‘मलाई एउटा समयदेखि इंग्लिसमै लेख्न सजिलो लाग्यो । किन-किन? प्राय: इंग्लिस नै सुनेर होला । अर्को त मेरो दिमागले नै कति कुरा इंग्लिसमै सोचिदिन्छ त्यसैले यसमा सहज लाग्यो,’उनले भनिन्,’नेपालीमा र्‍याप लेख्दाचाहिँ नमिले-नमिलेको जस्तो लाग्छ । तर पनि म कोसिस गरिरहेकी छु ।‘ 

भाषा अंग्रेजी होस् या नेपाली, र्‍यापमा डिमृती माया-प्रेम मात्रै मिसाउँदिनन् । दबिएका महिलाहरूको पहिचान होस् या वर्षौंदेखिको जात व्यवस्था । उनका र्‍यापका शब्दहरूमा पितृसत्तादेखि समाजभित्र गढेर बसेका थिचोमिचोमाथि प्रहार भेटिन्छ । ‘आजभोली’ प्रेमकै विषयमाथिको र्‍याप भए पनि यसमा जात व्यवस्थाले असर पस्किएको छ;

…तर कहाँ छ तिम्रो माया, जब खाँचो मलाई भाछ

एउटा साथको, कति काँतर 

तिमी सागर तार्न आँट छ तर 

जाबो मेरो जातले लायो हातमा ताल्चा 

जब तिम्रो बा नै आए हाम्रा सम्बन्धको गाँठो काट्न 

‘आजभोलि’को यो अंश पनि डिमृतीले आफ्नो भोगाइबाटै लेखेकी हुन् । ‘मैले अहिलेसम्म भेटेको दलित महिलाहरूको अनुभव पनि यस्तै थियो । डेटिङ गरेको ६ महिनापछि मात्रै केटाहरूलाई थाहा हुन्छ कि उनीहरूको फ्यामिलीलाई हामी मन पर्दैन भनेर । प्रेममा मेरो पनि यस्तै अनुभव दोहोरिरह्यो,’उनले भनिन्,’अहिलेको समयमा परिवारसँग यस्तो कुप्रथाको विरुद्धमा बोल्नै नसक्नु त लाजमर्दो भएन र ?’ 

तर, र्‍याप सुन्ने दर्शकले डिमृतीले उठाउने यस्तो मुद्दा होइन, चटपटे संगीत सुन्न रुचाइदिन्छन् । उटपट्याङ शब्द भएका संगीतले बजार पिटिरहेको यो अवस्थामा कस्तो संगीत गर्ने ? डिमृती दोधारमा पर्छिन् कहिलेकाहीँ । ‘मैले गरेको र्‍याप पो दर्शकले नबुझ्ने हो कि?’ कहिले यस्तो महसुस पनि गर्छिन् । कला र साहित्यलाई विद्यालयस्तरदेखि नपढाइने हुँदा नेपाली दर्शकमा यो क्षेत्रको गहिराइ बुझ्ने चेतना विकास हुन समय लागेको हो भन्ने लाग्छ, उनलाई । 

Dimriti: Ten out of ten

‘विदेशतिर त सानैदेखि पढाइन्छ, म्युजिक पढाइन्छ । मलाई अहिले लाग्ने त मैले गाएको गीत बुझ्ला कि नबुझ्ला भन्ने हो । झन् इंग्लिसमा भन्यो भने त झन् बुझ्दैन होला भन्ने लाग्छ । त्यही भएर के गरौं ? भन्ने भइरहेको छ,’सोचमग्न हुँदै डिमृती सुनाउँछिन्,’फ्रिक्वेन्सी नै मिलेन आर्टिस्ट र अडियन्सको । गम्भीर गीत सुन्ने दर्शक त हुनुहुन्छ, तर कतिले नेपाली गीत नै सुनिदिँदैनन् ।‘

अहिलेसम्म डिमृतीले अडियन्सको  स्वाद बुझेकी छन् । र यो नेपालको मात्रै होइन अन्य क्षेत्रकै संगीतमा पनि देखिएको समस्या हो भन्ने जानेकी छन् । तर, दर्शकले मन पराउने भन्दा पनि आफूलाई मनपर्ने संगीत गर्नुछ उनलाई । ‘जुन विषयमा गाए पनि मलाई सिरिङ्ग हुनुपर्‍यो पहिला । मलाई त्यो अनुभव भयो भने दर्शकलाई पनि त्यही होला । म दर्शकको चिन्ता लिँदिन,’उनले सुनाइन् । समयसँगै आफू संगीतमा परिपक्व भएको महसुस गरेकी छन् उनले । संगीतलाई हेर्ने दृष्टिकोण पनि फेरिएको छ । अब उनको एउटै उदेश्य हो –सुन्दा मिठ्ठो सुनिने र्‍याप गाउने । ‘मैले र्‍यापमा भनेको कुराले मलाई निको पारोस् । त्यसलाई सुन्दा पछि लाज नलागोस् । यसरी र्‍याप गर्दा मलाई फाइदा नहोला तर म जे पायो त्यही गाउन चाहन्न,’उनले भनिन् । 

डिमृती र्‍याप लेख्न दिनहुँ बस्छिन् । तर, हरेक बसाइमा गीत बन्दैन । गीतहरू अकस्मात नै फुर्छ । फुर्दाखेरी सुरूदेखि अन्तिमसम्म सरर बग्छ । ‘दसमा दस’ पनि यसरी नै लेखिएको थियो । ‘गीत लेख्ने शैली डाङडुङ नै छ । समुन्द्रको छालजस्तो,’ हाँस्दै सुनाइन् । 

‘शक्ति’को गीत लेख्दा भने उनले धेरै सोच्नु परेको थियो । पहिले फिल्म हेरिन् । यौन दुर्व्यवहारमाथिको यो सशक्त फिल्मले डिमृतीको मन हुँडल्यो । त्यसैले उनी गीतका शब्दमै पनि त्यो गहिराइ खोज्दै थिइन् । ‘ल गीत चाहिसक्यो भन्नु भइसकेको थियो निर्माण टिमले । तर, म चाहिँ पख्नुस-पख्नुस भन्दै थिएँ,’उनी शक्तिका लागि गीत लेख्दाको समयमा फर्कन्छिन् । फिल्म हेरिसकेपछि निर्देशक नानी सारा वाकरलाई भेटिन् । फिल्म हेर्दाको आफ्नै अनुभव, निर्देशकसँग कुरा गरिसकेपछि फेरि लेख्न बसिन् । ‘जब निक्ल्यो तब चाहिँ एकै छिनमा निक्ल्यो । तर निक्लिनलाई चाहिँ एकदमै कुर्नु पर्‍यो । त्यो फिल्मको र्‍याप त्यसरी लेखिएको थियो । तर कहिलेकाहीँ गीत हाँच्छ्युउँ निस्केजसरी सजिलै निस्कन्छ,’ उनले भनिन् । 

‘शक्ति’का लागि निर्देशक नानी आक्रोश भावको गीत पर्खिरहेकी थिइन् । त्यतिबेला डिमृतीले एउटा गीतको कोरस भर्खरै लेखिसकेकी थिइन् - 'हराएको यात्री हुँ म, मेरो घर ठिगान छैन । जिन्दगीको मोह हराएर जिउँदो लास भए म । म बाँचेको तिम्रै लागि प्रियसी' । गीतका यी शब्द उनले आमाका लागि लेखेकी थिइन् । फिल्ममा आमा छोरीकै  सम्बन्ध थियो । त्यसैले त्यही कोरसमा बाँकी शब्दहरू थप्दै ‘नाम’ लेखिन् । 

पापी समाज

मेरो पुर्खा र पितृको पीरको महान

पापी समाज

मेरो मान्छे भइ जिउने नै खोइ अधिकार 

पापी समाज 

विभेदमा उभिएर टाउको उठा…

डिमृतीको ‘फिमेल र्‍यापर’ त उतिकै व्यंग्यहरूले भरिएको छ । यो र्‍याप भने ब्याटल जितिसकेपछि सार्वजनिक गरेकी थिइन् । तर, र्‍यापका शब्द ब्याटल अगाडि नै लेखिसकेकी थिइन् । यो र्‍यापमा भनिए झैं अरूले उनलाई दोस्रो दर्जाको र्‍यापरका रूपमा हेर्थे । त्यसैले उनीहरूलाई जवाफ दिइन् यो र्‍यापमार्फत । जहाँ उनी गाउँछिन्,’तेरो सम्बोधनमा मैले आदर भेटिनँ…’ ।

उनको र्‍याप गर्ने क्षमता, लेख्ने प्रतिभालाई कम आँक्नेहरूलाई उनले यो र्‍यापमा गजबले जवाफ दिएकी छन् । ‘तिमी राम्रो त छौँ । तर तिमी असाध्यै राम्रो र्‍यापरचाहिँ होइनौं । तिमी राम्रो, कारण तिमी महिला र्‍यापर हौँ भन्ने महसुस गराइदिन्थ्यो,’ उनले भनिन्, ‘कोही महिला र्‍यापर नभएको कारण तिमी राम्रो भएको हो भन्ने के मलाई । कसैले राम्रै र्‍याप गर्न सक्छ भन्ने विश्वास पनि नगर्ने के, यो त तिमी फस्ट भयौ कारण क्लासमा तिमी एउटै विद्यार्थी थियौ भन्ने भएन ।’

आफ्नो असली नाम स्मृति अगाडि ‘डि’ राखेर डिमृती बनेकी उनलाई महिला र्‍यापर हुनुमा कुनै समस्या छैन । तर, आफ्नो क्षमता र प्रतिभालाई लिंगमै आधारित बनाएर सीमित गराइदिने पितृसत्तात्मक सोच उनी मनपराउँदिन् ।

‘महिला र्‍यापर हुनुमा कुनै लाज होइन । तर महिला नभएरै महिला र्‍यापर भएको भनेर बुझ्नु गलत हो । कोही नभएर देखिएकोजस्तो,’ डिमृतीले भनिन्, ‘अहिले महिलाहरूले के-के गरिसके, मैले र्‍याप हान्दा छक्क पर्ने ? कोही महिलाले र्‍याप हान्दै नहान्नेजस्तो,’ २५ वर्षीया डिमृतीले भनिन् । पितृसत्तात्मक यो सोचसँगको लडाइँ, सशक्त र्‍याप लेख्ने डिमृतीले लिने यस्तै निर्णय र संगीतले र्‍यापमा उनी 'दसमा दस' हुन् । 

फिचर

रीना मोक्तान इकान्तिपुरमा कार्यरत छिन् । उनी मनोरञ्जन, कलाशैली लगायत समसामयिक विषयमा लेख्छिन् ।

Link copied successfully