आलु खेतीले भान्छा र वर्षभरीको खर्च धान्छन् मुठाचौरका किसान
What you should know
बागलुङ — तमानखोला गाउँपालिका–२ मुठाचौरकी मैतादेवी रसाइलीको भान्छामा साँझबिहान आलुकै परिकार पाक्छन् । पाहुनाका लागि पनि उनले उसिनेको, तारेको र पकाएको आलुबाट अन्य परिकार बनाउँछिन् । यहाँका हरेक घरमा गहुँ, जौं र फापरको रोटीसँग पनि आलु नै पकाइन्छ ।
२ हजार ६ सय मिटरको उचाइमा भएकोले यहाँ धान र मकै उत्पादन हुँदैन । त्यसैले सबैको भान्सामा आलुकै परिकार पाकेका हुन्छन् । स्थानीयले वर्षभरीको खाने जोहो आफ्नो बारीमा फलेका आलु र त्यसलाई बेचेरै पुर्याउँछन् ।
गत फागुनमा आलु लगाएर छाडेपछि बेंसी झरेका, बजार पसेका र पढ्नलेख्न सहर गएकाहरु पनि आलु खन्ने बेलामा गाउँ आइपुग्छन् । पोखरामा कक्षा १२ को परीक्षा सकेपछि बोङगादोभानकी रबिना रसाइली आलु गोड्न मुठाचौर आइपुगेकी छिन् । आमा गौमतीले बोलाएपछि उनी एक सातादेखि मुठाचौरमा छिन् । उनीहरुले आफ्नो र भाडामा लिएको गरी २५ रोपनी जमिनमा आलु खेती गरेका छन् । यो आलु वर्षभरी खाने र घर खर्चकालागि बेच्ने समेत गर्छन् ।
२६ सय मिटर उचाइमा रहेको मुठाचौरका किसानले आलु खेतीबाटै वर्षभरि खानपिन, चाडपर्व र घर खर्चको जोहो गर्दै आएका छन्।आलु बेचेर अन्य खाद्यान्न भित्र्याउने गरेको स्थानीय मैतादेवी रसाइलीले बताइन् । ‘यहाँ अरु खेती हुँदैन, आलु बेचेर चामल किन्ने हो,’ उनले भनिन्, ‘नुनतेल खाने पैसा पनि आलुकै भर हो ।’ श्रीमान् ढालबहादुरसहित छोराहरु आलु गोड्ने र खन्ने बेलामा समय मिलाएर गाउँ आइपुग्ने गरेका छन् । उनको बारीमा ५० मुरी आलु फल्छ । प्रतिमुरी १ हजारदेखि १५ सयमा बिक्री हुने उनले बताइन् । त्यसबाट चाडपर्वलाई चामल र नुनतेल ल्याउने गरेको उनको भनाइ छ । ‘जौं र गहुँले रोटी खान पुग्छ । आलु आधा बिक्री गर्दा चाडपर्वलाई चामल र नुनतेल ल्याउँछौं,’ उनले भनिन् ।
आलुमा रोगकिरा नलागेका वर्ष राम्रै फल्छ । केही समय सुकाएर राखेपछि बिग्रदैन । बुर्तिवाङबाट व्यापारी मुठाचौरमै आएर आलु किनेर ट्रयाक्टरमा लैजान्छन् । यहाँका किसानले बारीबाटै बिक्री गर्दा आलु सस्तो मूल्यमा दिन्छन् । त्यसैले व्यापारी सिधैं आउने गरेका हुन् ।
२६ सय मिटरको उचाइमा रहेको मुठाचौर आलु उत्पादनकालागि प्रसिद्ध स्थान हो । यहाँ स्थानीय जातकै आलु रोपिन्छ । स्थानीयले गोबर र जंगलबाट ल्याएका स्याउला (पस्र्यौला)बाट मल बनाउने गरेका छन् । यहाँ रसायनिक मल अहिलेसम्म प्रयोग नभएको वडाध्यक्ष नारायण सुनारले बताए । ‘आलुबाटै दैनिकी चलाइरहेका धेरै किसान छन् । त्यसैले आलु रोप्ने, खन्ने र गोड्ने बेलामा बाहिर गएका पनि आइपुग्छन्,’ सुनारले भने, ‘यहाँको आलुको स्वाद र गुणस्तर पनि राम्रो छ ।’
यहाँ कति आलु फल्छ भन्ने गणना भने भएको छैन । तमानखोला–२ का अधिकांश स्थानीयको यहाँ जमिन छ । उनीहरुले आफ्नो घरलाई चाहिने र केही बिक्री गर्ने समेत आलु फलाउँछन् । गाउँपालिकाले पनि आलुबाटै गुजारा गर्ने किसानलाई अनुदान दिने व्यवस्था गरेको छ । छिटो पाक्ने, मिठो भएकोले यहाँको आलुको माग अत्याधिक छ ।
कृषि विकास कार्यालय बागलुङले यो क्षेत्रलाई आलु जोनको रुपमा राखेको छ । किसानको आवश्यकता र मागको आधारमा खायन आलु प्रवद्र्धनका कार्यक्रम राखिने कार्यालयका प्रमुख कुमार पुनले बताए । पुनका अनुसार बागलुङमा वर्षको ५५ हजार ६ सय मेट्रिक टन आलु उत्पादन हुने तथ्यांक छ । यो आलु किसानले सहरी क्षेत्रमा पनि बेच्छन् । आलुको अर्गानिक स्वरुप संरक्षण गरी किसानको उत्पादन समेत बढाउन खायन आलु प्रवद्र्धन कार्यक्रम गरिएको हो । ‘आलुको उत्पादन जति भए पनि खपत हुन्छ,’ केन्द्र प्रमुख पुनले भने, ‘खायन आलुमा जिल्लालाई आत्मनिर्भर बनाउन सकिन्छ ।’ जिल्लाबाट बुटवल, पोखरालगायतका स्थानमा आलु बिक्री भइरहेको छ ।
बेलाबेला तराइको आलु पनि यहाँ भित्रिन्छ । खानामा मिठो भएकोले उत्पादन बढाउन सकेमा स्थानीय आलुबाटै मनग्ये कमाइ गर्न सक्ने गरी आलु उत्पादन गर्न सकिने उनले बताए । आलुको भण्डारणकालागि प्रदेश सरकार र स्थानीय तह समेतले जिल्लामा दर्जन बढी स्टोर बनाएका छन् । ती स्टोरमध्ये कतिपयमा विद्युत सुविधा छैन ।
तमानखोला–४ मा बनेको आलुभण्डारण केन्द्रमा विद्युत अभावले पूर्णरुपमा संचालनमा ल्याउन नसकिएको अध्यक्ष जोकलाल बुढाले बताए । नेपाल विद्युत प्राधिकरणसँग यहाँसम्म राष्ट्रिय प्रशारण लाइन बिस्तार गरिदिन आग्रह गरिएको उनको भनाइ छ । यहाँ वर्षौंदेखि स्थानीयले लघु जलविद्युतबाट बिजुली बाल्दै आएका छन् ।
