सिजन अनुसार। गोठ सारेर लेकमा पशु चराउँदै आलु खेती गर्ने किसानको मेहनतले मुठाचौर क्षेत्र हराभरा बन्न पुगेको छ।
What you should know
काठमाडौँ — तमानखोला गाउँपालिका २ भयरबोंगाका बेगबहादुर विक अहिले २ हजार ६ सय मिटर उचाइको बराह तालस्थित मुठाचौरमा छन् । गत चैततिर चिसो घट्न थाल्दा घरबाट ४ घण्टा उकालो चढेर उनले मुठाचौरमा गोठ सारेका थिए । भयरबोंगा भन्दा मुठाचौर चिसो ठाउँ हो ।
चैतदेखि उनको गोठ यहाँ छ । त्यतिबेला मुठाचौरमा लगाइएको गहुँ र जौं भित्र्याए । डिंगाबाच्छा (गाई, भैंसी) लगेर उनले यहाँ राखेको २ महिना भयो । उनको गोठमा १० चौपाया छन् । यहाँ झण्डै ५ रोपनी जमिनमा आलु लगाएका छन् । यो आलुकालागि चाहिने मल गोठमा जम्मा भइसक्यो । मुठाचौरमा चौपायालाई चरन पनि प्रशस्त पुग्ने स्थान छ । बराहताल आसपास चरन क्षेत्र प्रशस्त छ । आफ्नै चौपायाको मलले आलु, फापर, जौंलगायत खेतीलाई गर्न पुग्छ । गर्मी बढ्दै जाँदा बेगबहादुर गोठलाई लेक उकाल्दै लाग्छन् । यतिबेला उनी गोठ सार्ने तयारीमा छन् । चौपाया चराउँदै उनी ३ हजार मिटर उचाइको ढोरपाटन, ३ हजार ५ सय मिटरको बुकीपाटन र ४ हजार मिटरको टीकाधारासम्म पुग्ने गर्छन् ।
६१ वर्षीय बेगबहादुरले १० वर्षको उमेरदेखि नै बुकी जान थालेको बताए । ‘बुबा गोपीरामले गोठ जान सिकाउनु भयो, अहिले पनि त्यही पेशा गर्दैछु,’ उनले भने, ‘पढ्ने लेख्न विद्यालय थिएन, पशु चराएरै जीवन बितायौं, अहिले पनि त्यही पेशामा छु ।’ गोठ सार्दै गर्मीमा लेक चढ्ने, जाडो पलाएपछि बेंसी झर्ने स्थानीयको नियमित काम हो । मुठाचौरमा अहिले आलु गोड्ने चटारो पनि छ । छिट्टै काम सकेर उनीहरु लेक जाने योजनामा छन् ।
बेगबहादुरका छिमेकी ढालबहादुर रसाइली, भीमे छन्त्याल, मैतादेवी रसाइली पनि बिहानभर आलु गोड्ने, दिउँसो पशु चराउने काममा व्यस्त छन् । भीमे छन्तयाल एक्लैले २० रोपनी भन्दा बढीमा आलु लगाएका छन् । उनले खेताला समेत लगाएर आलु गोड्दैछन् । यो आलु असारको अन्तिम साता खन्ने बेला हुन्छ ।
आलु गोड्ने काम सकेर उनीहरु चौपाया खेद्दै ढोरपाटन, छेन्तुङ हुँदै बुकीसम्म जाने योजनामा छन् । त्यसकालागि बेगबहादुरकी पत्नी भीमकुमारी ‘आँटो–पिठो’ जोहो गर्न बेंसी झरेकी छिन् । छिमेकीको समेत खानेकुरा उनैले ल्याइदिन्छिन् । खानेकुरा बोकेर पशु खेद्दै लेक लागेपछि खनजोत गर्न सक्नेहरु आलु खन्ने समयमा मुठाचौर झर्छन् । त्यतिबेला धेरैजसोले साथीलाई चौपाया जिम्मा लगाएर आइपुग्ने बताए ।
काम सकेर पशु चराउँदै निस्कने उनीहरु असार पहिलो सातासम्म बुकी पुग्छन् । साउन र भदौसम्म गोठ उतै राखिन्छ । आलु खन्ने बेलामा पालो गरेर पशुचौपाया हेरिदिन्छन् । तमानखोला २ खोल्सेबाङका ऐले घर्तीमगर केही दिनअघिनै चौपाया लिएर बुकी हिँडिसकेका छन् । उनले त्यहाँ गोठ राख्ने उपयुक्त ठाउँ खोजेर तयारी गर्नेछन् । आलु खन्ने बेलामा बेगबहादुरलाई उनैले सहयोग गर्दै आएका छन् । ऐलेका घरमा धेरै जहान भएकोले असारदेखि असोजसम्म बुकीमै बस्छन् । त्यतिबेला बेगबहादुर जस्तै केही साथीको पशु हेरिदिएर सहयोग गर्छन्।
पशु खेद्दै उनीहरु फेरि असोज लाग्दा मुठाचौर आइपुग्छन् । त्यतिबेला यहाँ गहुँ र जौं छर्ने बेला हुन्छ । एक महिना यहाँ बसेर खेती लगाएपछि कात्तिक लाग्दा उनीहरु भयरबोङगा, बोङगादोभान र स्उाउलातर्फ झर्छन् । चिसो बढ्दा मुठाचौर, बराहताल, ढोरपाटन क्षेक्र सुनसान जस्तै हुन्छ । यो क्रम हरेक वर्ष चल्छ । स्थानीयले जता पुग्छन् त्यतै केही न केही खेती लगाउँछन् ।
यहाँ धान फल्दैन । त्यसैले चाडपर्वकालागि मात्रै खाने चामल ल्याउँछन् । एक दिनको यात्रामा पुगिने बुर्तिवाङबाट उनीहरुले चामल, नून, तेल किनेर ल्याउनु पर्छ । चामल चाडपर्वकालागि मात्र हो । अन्य समयमा प्रायः आँटो, पिठो, ढिडो खान्छन् । लेकमा पाइने ढकायो, लसुने साग, आलु र जंगली च्याउसहितको तरकारी खान्छन् । त्यहा प्रायः लेकाली सिमीको दाल पकाउने गरेको बेगबहादुरले बताए । ‘हामीले चाडपर्व र पाहुना आए भात पकाएर दिन्छौं, अरुबेला आँटो पिठो खाने हो,’ उनले भने, ‘गाईभैंसी पालेकोले भुटुन पनि घिउको राख्छौं ।’ घरमा वर्षमा एक/दुई लिटर मात्रै तेल किन्नु पर्ने उनले बताए ।
बुकी जाँदा धेरै सामान बोक्न सकिँदैन । त्यसैले पिठो र नुन लगेपछि लेकाली साग टिपेर रोटी र तरकारी खाने गरेको उनले बताए । असारदेखि असोजसम्म बुकीमा सयौं गोठ लगिन्छ । सयौं भेडाबाख्रा, गाईभैंसी चराउने स्थान यहाँ छ । उनीहरुको पुस्तौंदेखि नै घुमन्ते शैलीमा पशुचौपाया चराउने चलन छ । गाउँबाट पालो गरेर स्थानीयले १५ देखि २० दिनमा खाने खर्च लगिदिन्छन् । बेंसीका प्रायः घर बन्द गरेर उनीहरु लेक चढ्छन् ।
स्थानीय लेक चढेकै बेला वैशाखमा बराहतालमा मेला लाग्छ । बराहको पूजा गरे चौपायामा रोग नलाग्ने, खेतीपाती सप्रिने, रोगकिराले आक्रमण नगर्ने र सहकाल आउने विश्वास छ । यो ताल संरक्षणकालागि गाउँपालिकाले ५० लाख खर्चेर घेरबार, मन्दिर पुनर्निर्माण, सार्वजनिक शौचालय र पदमार्ग बनाएको छ । आर्कषक र गर्मी छल्न उपयुक्त स्थान भएकोले चैतदेखि कात्तिकसम्म यहाँ आन्तरिक पर्यटक पनि पुग्ने गरेका छन् ।
केही पर्यटक बराहतालमा टेन्ट टाँगेर बस्ने गर्छन् । उनीहरुले यहाँको आलुका परिकार रुचाउने गर्छन् । यहाँबाट एक दिनको पैदलयात्रामा ढोरपाटनका विभिन्न स्थान पुग्न सकिन्छ । जलजला, गुर्जाघाट, छेन्तुङ जस्ता क्षेत्रमा जानेले यहाँबाट पदयात्रा गर्ने गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताए । ‘किसानको मिहनेत, पशुचरन, खेती र गोठ सार्ने परम्परा हेर्न र रमाउन यो क्षेत्र उपयोगी छ,’ बुढाले भने, ‘कृषि पर्यटनकालागि पनि यो क्षेत्र महत्वपूर्ण छ ।’
गाउँपालिकाले पनि पर्यटन गुरुयोजनामा बराहताल र मुठाचौरको कृषिलाई समावेश गराएको बुढाले बताए । गुरुयोजनामा किसानको चक्रीय खेती र पशुचरनलाई पर्यटन प्रवर्द्धनमा जोड्न लागिएको बुढाको भनाइ छ । ‘हामीले हाम्रो बराहताल मात्र होइन, किसानको संस्कृतिलाई पनि पर्यटनमा जोड्न खोजेका छौं,’ उनले भने, ‘आलु खन्ने, गोठ सार्ने मेलाको रुपमा लिन सकियो भने पर्यटन प्रवर्द्धन गर्न सकिन्छ ।’ त्यसकालागि यहाँ पुग्ने सडक र पदमार्ग स्तरीय बनाउन लगानी समेत भएको उनले बताए ।
