कान्तिपुरले यस मुद्दाको अभियोगपत्र अध्ययन गरेको छ, अदालतमा पेस भएका भिडियो प्रमाण अवलोकन गरेको छ । कागजात र अन्तर्वार्ताहरूले चित्रण गर्ने घटनाक्रम सामान्य हत्या षड्यन्त्रको सीमाभन्दा धेरै पर जान्छ ।
What you should know
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इमेलमा १५ असोज २०८२ मा एउटा इमेल आयो, जसमा प्रमुख आयुक्त प्रेमकुमार राईलाई अन्तिम इच्छा पूरा गर्न १० दिनको समय दिइएको उल्लेख थियो ।
तोकिएको समयभित्र राजीनामा नदिए आयोगका १० जना अधिकारीको हत्या गर्ने चेतावनीसमेत त्यसमा थियो । इमेलको अन्तिममा हस्ताक्षर थियो, ‘प्रकाश पाठक, अध्यक्ष, ईजीएन ।’
ईजीएन अर्थात् एक्स्ट्रिमिस्ट ग्रुप अफ नेपाल ।
अनुसन्धानकर्ताहरूका अनुसार यसका संस्थापकले सुरुमा सोचेको नाम आक्रामक खालको थिएन । तर अनुसन्धानको सबैभन्दा चकित पार्ने पक्ष संगठनको नाम होइन, अनुसन्धानले पुर्याएको गन्तव्य थियो ।
प्रहरी नेपाल, भारत, संयुक्त अरब इमिरेट्स (यूएई) र फिलिपिन्ससम्म फैलिएका इमेल मेटाडाटा, ह्वाट्सएप खाताहरू र वित्तीय कारोबारको शृंखला पछ्याउँदै अन्ततः प्रदीप अधिकारीसम्म पुग्यो । अधिकारी नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक तथा देशका सबैभन्दा प्रभावशाली र दीर्घकालसम्म टिकेका प्रशासनिक शक्ति केन्द्रहरूमध्ये एक मानिन्छन् ।
सरकारी वकिलको कार्यालयले १८ वैशाखमा काठमाडौं जिल्ला अदालतमा पाँचौं फौजदारी मुद्दा दर्ता गर्दै अधिकारीमाथि संगठित अपराध, अवैध हुन्डी कारोबार तथा प्रेमकुमार राईलाई राजीनामा दिन बाध्य पार्ने वा उनको हत्या गराउने षड्यन्त्रमा संलग्न रहेको आरोप लगाएका छन् ।
कान्तिपुरले उक्त मुद्दाको अभियोगपत्र अध्ययन गरेको छ, अनुसन्धानकर्ताहरूले अदालतमा पेस गरेका भिडियो प्रमाण अवलोकन गरेको छ तथा स्वयं राई, दुई अनुसन्धानकर्ता, एक वरिष्ठ प्रहरी उपरीक्षक र अभियुक्त पक्षका कानुन व्यवसायीसँग कुराकानी गरेको छ ।
कागजातहरू र अन्तर्वार्ताहरूले चित्रण गर्ने घटनाक्रम सामान्य हत्या षड्यन्त्रको सीमाभन्दा धेरै पर जान्छ ।
ती विवरणले भ्रष्टाचारविरुद्ध अनुसन्धान गर्ने संवैधानिक निकायमाथि दिन खोजिएको एक खालको दबाबलाई पनि उजागर गर्छ । जहाँ धम्की, योजनाबद्ध प्रचार, सीमापार अवैध आर्थिक कारोबार तथा कार्यरत भ्रष्टाचारविरोधी उच्च अधिकारीलाई लक्षित गरेर गरिएको तान्त्रिक तथा धार्मिक अनुष्ठानसमेत अनेक विषय जेलिएका छन् ।
अनुसन्धानमा खुलेको विवरणअनुसार, धम्कीको यो गिरोहका केही गतिविधिमा नेपालमा सबैभन्दा ठूला चिनियाँ लगानीमा निर्मित पूर्वाधार आयोजनामध्ये एकसँग सम्बन्धित ठेकेदारहरूको आर्थिक सहयोगसमेत जोडिएको छ । ४६ वर्षीय अधिकारीले आफूमाथिका सबै आरोप अस्वीकार गरेका छन् ।
अधिकारीका कानुन व्यवसायी सुभाष आचार्यले कान्तिपुरसँग कुरा गर्दै अधिकारीलाई फसाइएको दाबी गरे । अधिकारीले एक दशकभन्दा बढी समय नेपालको प्रशासनिक संयन्त्रमा सबैभन्दा शक्तिशाली र लगभग अछुतो मानिने अधिकारीका रूपमा बिताए । नागरिक उड्डयन क्षेत्रका कर्मचारीहरूले अनौपचारिक कुराकानीमा उनलाई ‘स्थायी सरकार’ भनेर सम्बोधन गर्थे । सरकारहरू बन्थे र ढल्थे । प्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवाबीच फेरिन्थे ।
तर अधिकारी हरेक राजनीतिक परिवर्तनसँग आफूलाई अनुकूल बनाउँदै टिकिरहे । सत्तामा जो आए पनि उनीसँग सम्बन्ध कायम राख्दै उनले अर्बौं रुपैयाँका पूर्वाधार ठेक्काहरूमा प्रभाव कायम राखे । तीमध्ये नेपालका तीनवटै ‘राष्ट्रिय गौरव’ का अन्तर्राष्ट्रिय विमानस्थल आयोजना पनि पर्थे ।
‘अधिकारीजस्ता कर्मचारी राजनीतिक नेतृत्वले उत्पादन गर्छ,’ ट्रान्सपरेन्सी इन्टरनेसनल नेपालका पूर्वअध्यक्ष तथा नेपाल सरकारका अवकाशप्राप्त सचिव खेमराज रेग्मीले कान्तिपुरसँग भने, ‘राजनीतिज्ञहरूले यस्ता व्यक्तिलाई रोप्छन्, हुर्काउँछन् र आफ्नो स्वार्थका लागि प्रयोग गर्छन् ।’
तर २३ भदौ २०८२ को जेनजी आन्दोलनपछि अधिकारीसँग पुरानो सुरक्षा कवच बाँकी रहेन । राजनीतिक उथलपुथलले अधिकारी वरिपरिका संरक्षण र पहुँचका सञ्जालहरू कमजोर बनायो । यसपछि उत्साहित बनेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अख्तियार) ले पोखरा अन्तर्राष्ट्रिय विमानस्थललगायत विभिन्न आयोजनासँग सम्बन्धित फाइल पुनः खोल्न थाल्यो । खरिद प्रक्रिया, अस्वाभाविक रूपमा बढाइएका ठेक्का रकम, विदेशस्थित वित्तीय कारोबार तथा अर्बौं रुपैयाँका सब–कन्ट्र्याक्टसम्बन्धी कागजातहरूको पुनः जाँच सुरु भयो ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतहरुले भक्तपुरको नालिनचोकमा हेलिपोर्ट निर्माणमा भएको अनियमिततामा संलग्न रहेको आरोपमा २७ मंसिर २०८२ मा अधिकारीलाई पक्राउ गरे । त्यसको केही दिनपछि अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भएको भ्रष्टाचारमा मुद्दा दायर गर्दै ५६ प्रतिवादीबाट साढे ३ अर्ब रुपैयाँ असुल गर्न माग गर्यो, जसमा अधिकारी पनि प्रतिवादी थिए। त्यसपछि थप मुद्दाहरू दर्ता हुँदै गए ।
पूर्वपर्यटनमन्त्री सुदन किरातीले कान्तिपुरसँग कुरा गर्दै अधिकारीले एक समय आफूलाई मन्त्रालयबाट हटाउने प्रयाससमेत गरेको दाबी गरे । ‘मलाई अधिकारीसँग मिलेर काम गर्न भनिएको थियो,’ उनले भने ।
पूर्वपर्यटनमन्त्री सुदन किरातीले कान्तिपुरसँग कुरा गर्दै अधिकारीले एक समय आफूलाई मन्त्रालयबाट हटाउने प्रयाससमेत गरेको दाबी गरेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईलाई पनि त्यसै गरी अधिकारी ‘राम्रो मान्छे भएको’ भन्दै उनको उच्च पदस्थहरुले फोन गर्थे । ‘राजनीतिज्ञ र अन्य प्रभावशाली व्यक्तिहरूबाट अधिकारी राम्रो मान्छे हुन् भनेर मलाई दबाब आइरहन्थ्यो,’ राईले कान्तिपुरसँग भने, ‘जब हाम्रो अनुसन्धान टोलीले उनका एक सहयोगीको बयान लिए, त्यसपछि ज्यान मार्ने धम्कीहरू प्राप्त गर्न थाल्यौँ ।’ त्यतिबेला अख्तियारले नलिञ्चोकमा हेलिपोर्ट निर्माणमा भइरहेको अनियमितताबारे अनुसन्धान गरिरहेको थियो ।
यही मोडमा राईलाई धम्कीपूर्ण इमेल पठाउने प्रकाश पाठकसमेत जोडिन थालेका हुन् । पाठकले दन्त चिकित्साशास्त्र अध्ययन गरेका थिए, तर कहिल्यै दन्त चिकित्सक बनेनन् । बरु विद्यार्थी राजनीति, वैदेशिक रोजगारीमा पठाउने कन्सल्ट्यान्सीका सञ्चालक, चलचित्र निर्माणसहितका असफल व्यावसायिक योजनाहरू हुँदै विभिन्न क्षेत्रमा भौतारिँदै हिँडे । कुनै समयमा उनी ‘भिजिट भिसा’ सम्बन्धी कारोबारमा समेत संलग्न थिए र भारत तथा दक्षिणपूर्वी एसियाका देशहरूमा बारम्बार यात्रा गर्थे ।
प्रहरीका अनुसार विदेशमा रहँदा उनले भारतीय आधार कार्ड र प्यान कार्ड प्राप्त गरे, भारतीय बैंक खाताहरू खोले र अनौपचारिक वित्तीय सञ्जालमार्फत कारोबार सञ्चालन गरे । अभियोगपत्रअनुसार पाठकले सुरुमा अधिकारीलाई सहयोगीका रूपमा होइन, भ्रष्टाचारजन्य काम गरेको भन्दै कारबाही गर्ने चेतावनीसहित सम्पर्क गरेका थिए। धेरै भ्रष्टाचार अनुसन्धानले घेरिएका अधिकारीले उनीहरुले भनेअनुसार फिरौती दिनसक्छन् भन्ने ईजीएनको प्रारम्भिक बुझाइ थियो ।
तर अधिकारीले उनीहरुलाई पैसा त दिएनन् नै बरु उल्टै आफ्नो स्वार्थमा प्रयाग गर्न थाले । प्रकाश पाठकलाई प्रलोभन दिएपछि अधिकारी होइन, निसाना अख्तियार प्रमुख आयुक्त राईसहितका उच्च पदस्थ बन्न थाले ।
अभियोग पत्रमा उल्लेख भएअनुसार, अधिकारीले अख्तियारका प्रमुख आयुक्त राईलाई राजीनामा दिन बाध्य पारे ८ देखि १० करोड रुपैयाँसम्म दिने प्रलोभन देखाएका थिए । त्यसपछि पाठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा धम्कीपूर्ण इमेल पठाए । उनले धम्कीपूर्ण भिडियोहरू समेत अनलाइनमार्फत फैलाए ।
कान्तिपुरले प्रमाणका रूपमा समावेश गरिएको भिडियो सामग्री अवलोकन गरेको छ। एउटा भिडियोमा रातो र कालो वस्त्र लगाएका केही व्यक्ति तेलका बत्तीले उज्यालो बनाइएको अँध्यारो कोठामा राईजस्तै देखिने एउटा पुत्लालाई घेरेर बसेका छन् ।पाठकले सरकारी वकिलको उपस्थितिमा प्रहरीलाई दिएको बयानमा अधिकारीले केही व्यक्तिहरूमार्फत तत्काल २ करोड रुपैयाँको दिएको भनेका छन् । ‘अधिकारीको प्रस्तावमा विश्वास जनाएर मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा दुईवटा इमेल पठाएँ,’ पाठकले प्रहरीसँग भनेका छन् ।
काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले पनि अनुसन्धानका क्रममा अधिकारीले पाठकसहितको समूहलाई अख्तियारका अनुसन्धान अधिकृतहरुलाई धम्क्याउन प्रयोग गरेको पुष्टि भएको बताए । ‘हाम्रो अनुसन्धानले देखाउँछ कि अधिकारीले उक्त उद्देश्यका लागि १० करोड रुपैयाँ खर्च गर्ने प्रतिबद्धता जनाएका थिए,’ उनले भने, ‘यो पुष्टि हुने आधार, प्रमाणहरुसहित सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएका थियौं । त्यही आधारमा अदालतमा मुद्दा दर्ता पनि भएको छ ।’
अनुसन्धान बढ्दै जाँदा अख्तियारका अधिकारीहरुलाई धम्की दिन धार्मिक र तान्त्रिक सञ्जालसँग समेत सम्पर्क गरिएको पाइएको उनको भनाइ छ । आरोपपत्रअनुसार अधिकारीका निकटस्थहरूले भारतस्थित धार्मिक–तान्त्रिक सञ्जालसँग सम्पर्क गरेका थिए ।
कान्तिपुरले प्रमाणका रूपमा समावेश गरिएको भिडियो सामग्री अवलोकन गरेको छ। एउटा भिडियोमा रातो र कालो वस्त्र लगाएका केही व्यक्ति तेलका बत्तीले उज्यालो बनाइएको अँध्यारो कोठामा राईजस्तै देखिने एउटा पुत्लालाई घेरेर बसेका छन् । त्यस पुतलालाई खुकुरीजस्तो धारिलो हतियारले पटक–पटक घोचिन्छ । पृष्ठभूमिमा आवाज सुनिन्छ, ‘भस्म... भस्म.... भस्म... ।’
त्यसपछि पठाइएको एउटा भ्वाइस मेसेजमा भनिएको छ, ‘काम सकियो । अब ऊ मर्छ ।’
प्रहरीले उक्त सन्देश पठाउने व्यक्तिको पहिचान भारतको गुवाहाटीस्थित कामाख्या क्षेत्रका सराया किन्नेरा नामक तान्त्रिक साधकका रूपमा गरेको छ । यो सम्बन्धको केन्द्रमा भक्तपुरका निर्माण व्यवसायी नवीनराज बस्नेत रहेको अनुसन्धानकर्ताहरूको भनाइ छ । बस्नेतले यसअघि अधिकारीको निगरानीमा निर्माण भएको राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवाको ट्याक्सीवे र एप्रोन निर्माण ठेक्कामा काम गरेका थिए ।
कान्तिपुरले प्राप्त गरेको एउटा तस्बिरमा ‘जय जगदम्बे’ नामका तान्त्रिक व्यक्तिलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अधिकारी र बस्नेतले संयुक्त रूपमा स्वागत गरिरहेको देखिन्छ ।
अनुसन्धानकर्ताहरूका अनुसार बस्नेतले राईको तस्बिर उक्त तान्त्रिकलाई पठाउँदै राईले अधिकारीलाई 'दुःख दिइरहेको' बताएका थिए । अर्का व्यक्तिले ‘छामटा’ भनिने एउटा विशेष अनुष्ठान गर्न अनुरोध गरेका थिए । अभियोगपत्रमा यो अनुष्ठानलाई लक्षित व्यक्तिलाई हानि पुर्याउने उद्देश्यको रूपमा वर्णन गरिएको छ ।
बस्नेतले तान्त्रिकलाई पठाएको एउटा ह्वाट्सएप सन्देशमा भनिएको थियो, ‘चस्मा लगाएको यो मान्छे अर्को हप्ता प्रदीपमाथि आक्रमण गर्ने तयारीमा छ । गुरुजी, प्रदीपको सुरक्षाका लागि विशेष पूजा गरिदिनुपर्यो ।’
किन्नेरा नामक तान्त्रिकले अनुसन्धानकर्ताहरूलाई दिएको बयानमा आफूले अधिकारीलाई उनका वरिपरि धेरै शत्रुहरू रहेको चेतावनी दिएको भनेका छन् ।नवीनले कान्तिपुरसँग कुरा गर्दै आफूलाई अनावश्यक रुपमा विवादमा मुछ्न खोजिएको दाबी गरे । उनले भने, 'मैले निर्माण व्यवसायीको काम गर्ने भएकाले उहाँसँग चिनजान थियो, तर अरु कुनै किसिमको षडयन्त्रमा म संलग्न छैन ।'
आफ्नो बयानमा अधिकारीले यी अनुष्ठानहरू राईलाई हानि पुर्याउने उद्देश्यका लागि नभएको दाबी गरेका छन् । उनले दुई जना अख्तियार आयुक्त, एक सञ्चार उद्यमी र एक पूर्वपर्यटनमन्त्री सहितका व्यक्तिहरूका तस्बिरहरू तान्त्रिकलाई ‘सुरक्षा’ र ‘सकारात्मक ऊर्जा’ का लागि पठाएको बताएका छन् । तर अनुसन्धानकर्ताहरूको व्याख्या फरक छ ।
‘अधिकारी कुनै व्यक्तिसँग असहज महसुस गर्न थालेपछि उनी त्यस व्यक्तिको तस्बिर तान्त्रिकलाई पठाउँथे, ताकि उसलाई हानि पुर्याउन सकियोस्,’ एक अनुसन्धानकर्ताले भने ।
किन्नेरा नामक तान्त्रिकले अनुसन्धानकर्ताहरूलाई दिएको बयानमा आफूले अधिकारीलाई उनका वरिपरि धेरै शत्रुहरू रहेको चेतावनी दिएको भनेका छन् । ‘म उहाँ चाँडै पक्राउ पर्ने भविष्यवाणी गरेको थिएँ,’ उनले भनेका छन् । उनका अनुसार अधिकारीले उनलाई आफ्नो सुरक्षाका लागि सुन दिएका थिए ।
किन्नेराले आफ्नो कामबारे बोल्न कुनै संकोच व्यक्त गरेनन् । ‘म तन्त्र–मन्त्र गरेर पैसा कमाउँछु,’ उनले भने, ‘त्यही मेरो पेसा हो ।’
अनुसन्धानकर्तामा संलग्नहरुका अनुसार, पाठकलाई दिइएको रकम तीन देश हुँदै उनीसम्म पुर्याइएको थियो । पाठकले दिएको बयानमा पनि अधिकारीले पठाएको रकम नेपाल, दुबई र फिलिपिन्ससम्म फैलिएको अनौपचारिक हुन्डी सञ्जालमार्फत आफूले पाएको स्वीकारेका छन् । २७ नोभेम्बर २०२५ मा पाठक हुन्डी कारोबार मिलान गर्न प्रयोग हुने कोड बोकेर फिलिपिन्सको बुलाकानस्थित एउटा स्टारबक्स आउटलेट पुगेका थिए ।
दिउँसो करिब १२ः१५ बजे उनले पाँच जना चिनियाँ नागरिक बसेको टेबलमा पुगेर *१२३# लेखिएको कागज हस्तान्तरण गरे । त्यसको बदलामा आफूले ८० लाख फिलिपिनो पेसो अर्थात् करिब २ करोड नेपाली रुपैयाँ नगद प्राप्त गरेको उनको दाबी छ ।
पाठकका अनुसार उक्त टेबलमा रहेका व्यक्तिहरू पोखरा अन्तर्राष्ट्रिय विमानस्थलसँग सम्बन्धित ठेकेदार समूहसँग आबद्ध थिए, जसमा चीन सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडसँग सम्बन्धित व्यक्तिहरू पनि थिए । उनले आफ्नो बयानमा कम्पनीका निर्देशक लिउ सेङचेङ र वाङ बोको नामसमेत उल्लेख गरेका छन् ।
यही कम्पनी, साथै वाङ बो र परियोजना व्यवस्थापक याङ झिगाङलाई अख्तियारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भ्रष्टाचार मुद्दामा प्रतिवादी बनाएको थियो । उक्त मुद्दामा अख्तियारले ५६ जना प्रतिवादीमध्ये प्रत्येकबाट ८ अर्ब ३६ करोड रुपैयाँ असुलउपर गर्नुपर्ने निष्कर्ष निकालेको थियो, जुन नेपालको इतिहासकै सबैभन्दा ठूलो विगोदाबी भएको भ्रष्टाचार मुद्दा मध्ये एक मानिन्छ। यस विषयमा प्रतिक्रिया माग्दा कम्पनीले कान्तिपुरलाई कुनै जवाफ दिएन ।
‘मलाई हुन्डीमार्फत पैसा पठाउने काममा अधिकारी र चीन सीएएमसी इन्जिनियरिङ कम्पनी लिमिटेडका निर्देशकहरू संयुक्त रूपमा संलग्न थिए,’ पाठकको आरोप छ । पाठकलाई फिलिपिन्समा पक्राउ गरी २८ माघ २०८२ मा नेपाल फर्काइएको थियो ।
अनुसन्धानका क्रममा पछि बैंकर जेनु थापा पनि चर्चामा आइन् । प्रहरीले उनलाई शंकास्पद वित्तीय सम्पत्ति व्यवस्थापन गर्न वा लुकाउन सहयोग गरेको हुनसक्ने व्यक्तिका रूपमा हेरिरहेको छ । त्यस्तै, २६ वर्षीय अर्जुन शाही पनि अनुसन्धानको घेरामा परेका छन् । जेनजी आन्दोलनपछि अधिकारीको सार्वजनिक आलोचना गरेका शाहीलाई आन्दोलनका अगुवासँगै शीतल निवास परिसरमा समेत देखिएको थियो ।
तर अनुसन्धान अधिकृतहरुले शाही र अधिकारीबीच भएको ह्वाट्सएप संवाद फेला पारेपछि उनीमाथि पनि शंका केन्द्रित भएको थियो । अनुसन्धानकर्ताहरूले अधिकारीप्रतिको उनको सार्वजनिक विरोध नै कुनै आवरण त थिएन भन्ने कोणबाट समेत अनुसन्धान गरेका थिए । तर, तत्काल प्राप्त प्रमाणबाट त्यसलाई पुष्टि गर्न नसकिएको भन्दै पछि खुलेको अवस्था पुरक अभियोग लैजाने अभियोग पत्रमा उल्लेख गरिएको छ ।
अधिकारी २१ मंसिर २०८२ देखि हालसम्म पुर्पक्षका लागि डिल्लीबजार कारागारको थुनामा छन् । उनका वकिलका अनुसार बयान लिने प्रक्रिया जारी रहेकाले अहिलेसम्म सुनुवाइको मिति तय गरिएको छैन ।
‘अधिकारी आफूलाई फसाइएको ठान्छन्,’ उनका वकिल भन्छन्, ‘उहाँका दृष्टिमा आफूविरुद्धका यी मुद्दाहरू राज्यद्वारा सञ्चालित प्रतिशोधको हिस्सा हुन् ।’
