उच्च पदस्थ अधिकारीलाई धम्क्याउन नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीले फिलिपिन्समा रहेका प्रकाश पाठकलाई दुई करोड रुपैयाँ दिएका थिए ।
What you should know
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ अधिकारीलाई धम्क्याएको प्रकरणमा नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारीलाई समेत प्रतिवादी बनाएर मुद्दा दर्ता भएको छ । अधिकारीसँगै काभ्रेका प्रकाश पाठक र झापाका ताराप्रसाद खरेलविरुद्ध आपराधिक षड्यन्त्र, संगठित अपराधसहितको कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंले दुई महिना लामो अनुसन्धान गरेर तयार पारेको प्रतिवेदनका आधारमा सरकारी वकिलको कार्यालयले मंगलबार मुद्दा चलाएको हो । ‘अख्तियारले दिएको जाहेरीका आधारमा सुरु भएको अनुसन्धानलाई हामीले टुंग्याएका थियौं,’ काठमाडौं प्रहरी प्रमुख एसएसपी रमेश थापाले भने, ‘प्रहरी प्रतिवेदनमा भ्रष्टाचार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अधिकारीलाई समेत प्रतिवादी बनाउन सुझाव दिइएको थियो ।’
अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोगमा नेपाल प्रहरीले पाठकलाई २८ माघ २०८२ मा फिलिपिन्सबाट काठमाडौं ल्याएको थियो । त्यसअघि २२ अक्टोबर २०२५ (५ कात्तिक २०८२) मा अख्तियारको इमेलमा प्रकाश पाठक अध्यक्ष रहेको भनिएको ‘एक्सट्रिमिस्ट ग्रुप अफ नेपाल’ बाट ‘अख्तियारका प्रमुख आयुक्त राईसहित १० जनाको हत्या गर्ने निर्णय भएको’ सन्देश पठाइएको थियो ।
‘हामीलाई यो भन्न निकै दुःख लागेको छ कि हाम्रो केन्द्रीय समितिले तपाईंसहित १० जनालाई हत्या गर्ने निर्णय गरेको छ, जो सबैभन्दा भ्रष्ट ब्युरोक्र्याट हुनुहुन्छ, अस्थिर र भ्रष्ट सरकारका कारण सत्तामा आउनुभएको हो,’ इमेलमा भनिएको थियो, ‘तपाईंले राजीनामा दिनैपर्छ, नभए तपाईंलाई मारिनेछ । तपाईंले १० दिनभित्र राजीनामा दिनुभयो भने हामी तपाईंमाथि आक्रमण गर्ने छैनौं ।’
१० दिन समय ‘अन्तिम इच्छाका लागि’ दिने भनिएको थियो । यो सन्देश आएपछि अनुसन्धान थालेको प्रहरीले पाठकका सहयोगीलाई पक्राउ गरेर अनुसन्धान थालेको थियो । फिलिपिन्सबाट फर्काएपछि उनको मोबाइल डिजिटल फरेन्सिक ल्याबमा जाँच गर्दा अधिकारीको संलग्नता खुलेको थियो ।
अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार त्यो विवरण देखाएर सोधपुछ गर्दा पाठकले प्रदीप अधिकारीको भनाइअनुसार आफूले राईसहितलाई धम्की दिएको बताएका थिए । ‘पाठकले हुन्डीमार्फत फिलिपिन्सको मनिलामा २ करोड नेपाली रुपैयाँ बराबरको पैसा लिएको पाइएको छ,’ ती अधिकृतले भने, ‘त्योमध्ये ६० लाख ६४ हजार रुपैयाँको अपार्टमेन्ट खरिद गरेको बयान दिएका छन् ।’
काठमाडौं रहेका महानिर्देशक अधिकारीले उच्च पदस्थलाई धम्क्याएबापत १० करोड रुपैयाँ दिने प्रस्ताव गरेको पाठकको दाबी छ । ‘मलाई बस्न, खानलाई पैसा चाहियो, त्यसैले सुरुमा माग्दा दुई करोड रुपैयाँ चिनियाँ नागरिकमार्फत दिएका थिए,’ पाठकको बयान उद्धृत गर्दै प्रहरीका एक अधिकारीले भने, ‘स्थानीय प्रहरीको सहयोगमा त्यसको लोकेसन प्रमाणीकरणसमेत गरिएको छ ।’
प्रहरीका अनुसार, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले हेलिपोर्ट निर्माणमा भएको अनियमिततासहितको प्रकरणमा अनुसन्धान अघि बढाइरहेका बेला धम्कीको घटना भएको थियो ।
डिजिटल फरेन्सिक ल्याबमा अधिकारीको मोबाइलबाट रिकभर गरिएको विवरणमा भारतीय तान्त्रिकलाई समेत प्रयोग गरेर मुद्दाबाट बच्ने प्रयास गरिएको खुलेको अनुसन्धान अधिकृतको भनाइ छ । जगदम्बे गुरु भन्ने सरया किन्नेराले पठाएको पूजाको भिडियोसमेत प्रहरीले फेला पारेको छ । ‘उनलाई ‘ये दुष्ट आदमी हे, नष्ट करने के लिए कुछ करने की जरुरत है गुरु’ भन्दै सन्देश पठाएको फेला पारेका छौं,’ अनुसन्धानमा संलग्न अधिकृतले भने, ‘त्यसपछि अख्तियार प्रमुख आयुक्त राईको तस्बिरसमेत पठाएको खुलेको छ ।’
प्रहरीले ती गुरुको समेत बयान लिएको छ । ‘उनलाई बोलाएर सोधपुछ गर्दा आफूले सेवाग्राहीको इच्छाअनुसार काम गरिदिने गरेको बताए,’ ती अधिकृतले भने, ‘अरूतिरबाट केही सीप नलागेपछि तान्त्रिकले बचाउँछन् कि भन्ने उनलाई लागेको रहेछ ।’
प्रहरीका अनुसार, दरबारमार्गस्थित एक सञ्चारमाध्यमको कार्यालयमा गएका बेला ती भारतीय तान्त्रिकसँग उनको भेट भएको थियो । ‘त्यस विषयमा प्रमोद सेढाईं नामक व्यक्तिको बयान कागजसमेत गराएका छौं,’ ती अधिकृतले भने, ‘उनीविरुद्ध तत्काललाई मुद्दा चलाउने कुनै आधार देखिएको छैन ।’
अधिकृतहरूको दाबीमा अधिकारीले मुद्दा रोक्न राजनीतिक वृत्तमा आफ्ना लागि माहोल बनाउने कोसिस पनि गरेका थिए । तर, सफल भएनन् ।
आफूलाई जेन–जी अगुवा बताउने अर्जुनबहादुर शाहीसँग समेत अधिकारीको ‘शंकास्पद’ सम्बन्ध देखिएको प्रहरीको दाबी छ । जेन–जी आन्दोलनपछि एकातिर उनले अधिकारीको कार्यकक्षमा चर्को आवाजमा गालीगलौज गरेका थिए भने अर्कातिर अधिकारीसँग ह्वाट्सएपमा नियमित कुराकानी गर्ने गरेको फेला परेको छ । अभियोगपत्रमा शाहीको बयान कागजसमेत समावेश छ ।
१७ मंसिर २०८२ मा पक्राउ परेका प्राधिकरणका तत्कालीन महानिर्देशक अधिकारीविरुद्ध अख्तियारले भक्तपुरको नलिन्चोकमा हेलिपोर्ट र पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार गरेको अभियोगमा मुद्दा चलाइसकेको छ ।
प्रतिवादी बनाइएका खरेलले भने पाठकलाई आर्थिक व्यवस्थापन गरिदिने गरेको खुलेको प्रहरीको भनाइ छ । बनेपा घर भएका पाठक कक्षा १२ पूरा गरेपछि काठमाडौं मेडिकल कलेजमा डेन्टल साइन्स पढ्नलाई भर्ना भएका थिए । छोटो समयमै ट्रान्सफर लिएर उनी बसुन्धारास्थित कान्तिपुर डेन्टल कलेजमा पढ्न थाले ।
बसुन्धारामा रहेको हेराल्ड कलेजबाट बीएसडब्लू र एक्टिभ कलेजबाट राजनीतिशास्त्रमा स्नातकोत्तर अध्ययन गर्दा पाठकले विद्यार्थी राजनीति गरेका थिए । अनुसन्धान अधिकृतहरूका अनुसार, पछि उनले एमालेनिकट युवा संघमा रहेरसमेत राजनीति गरेका थिए । त्यही बेला उनले रुस जाने अवसर पनि पाएका थिए । पछि कन्सल्टेन्सी खोलेर युवालाई विदेश पठाउने काम गरे ।
कन्सल्टेन्सीसमेत चलाइरहेका बेला उनले ड्रिम ल्यान्ड नेपाल नामक फिल्म बनाउने भन्दै ह्याप्पी पाठक इन्टरटेनमेन्ट प्रालि नामक कम्पनी स्थापना गरेका थिए । ‘पछि कोभिडका कारण फिल्म बनाउन नसकेको भनेका रहेछन्,’ काठमाडौंका एसएसपी थापा भन्छन्, ‘प्रहरीमा उनीविरुद्ध मुद्दा दर्ता हुन थालेपछि चाहिँ व्यक्तिगत सुरक्षाका लागि भन्दै फरकफरक व्यक्तिलाई बडिगार्डका रूपमा राख्न थालेका थिए ।’ आफूले बनाउन खोजेको फिल्ममा खेलाउने कलाकारलाई नै उनले त्यसरी सुरक्षार्थ राख्ने गरेका थिए ।
पाठकविरुद्ध पहिले ठगी मुद्दासमेत चलेको थियो । धेरै पीडितले उजुरी दिन थालेपछि उनी भैरहवा नाका हुँदै भारतसम्म पुगेका थिए । त्यहींबाट भियतनाम हुँदै फिलिपिन्ससम्म पुगेको प्रहरीको भनाइ छ ।
