अंग्रेजी शब्दकोशमा हालै एउटा नयाँ शब्द थपिएको छ– ‘फबिङ’ । ‘फोन’ र ‘स्नबिङ’ शब्द मिलाएर बनाइएको यो शब्दको अर्थ हो– आफू छेउका मानिसको वास्तै नगरेर सम्पूर्ण ध्यान स्मार्टफोनमा केन्द्रित गर्नु ।
What you should know
काठमाडौं — हालैको एक दिन, रवि भवनबाट हरहर महादेवतर्फ जाँदै गरेको सार्वजनिक बसमा सदाझैँ यात्रु खचाखच थिए, बाहिर सामान्य सवारी चाप देखिन्थ्यो । बसभित्र सबै मौन थिए । त्यो मौनताबीच पनि वातावरण शान्त वा ध्वनीरहित भने थिएन ।
सिट पाएका एक यात्रु मोबाइलमा 'टिकटक' स्क्रोल गरिरहेका थिए । पूरै एक घण्टाको यात्राभर उनले धकै नमानि ठूल्ठूलो ‘भोल्युम’मा अनेक भिडियो हेरे । कुनै भिडियो मन परे, दोहोर्याइ–तेहर्याइ पनि हेर्थे, मन नपरे स्वाट्टै अर्को स्क्रोल गर्थे ।
कसैले उनलाई आवाज घटाउन भनेनन्, कुनै प्रतिक्रिया जनाएनन्, सायद कसैलाई हेक्का नै भएन ! सबै आफ्नै मोबाइलमा उसैगरी अल्झिरहेका थिए । बस आफ्नै रफ्तारमा गुडिरह्यो, यात्रुहरू स्क्रिनमा अडिरहे ।
यस्ता दृश्य अहिले सार्वजनिक स्थलहरूमा असाध्यै सामान्य लाग्न थालेका छन् । छेउको गतिविधि पत्तै नहुने गरी जो पनि मोबाइलमा एकोहोरिएको देखिन्छ ।
यस्तो प्रवृत्ती बुझाउन अंग्रेजी शब्दकोशमा हालै एउटा नयाँ शब्द थपिएको छ– ‘फबिङ’ । ‘फोन’ र ‘स्नबिङ’ शब्द मिलाएर बनाइएको यो शब्दको अर्थ हो– आफू छेउका मानिसको वास्तै नगरेर सम्पूर्ण ध्यान स्मार्टफोनमा केन्द्रित गर्नु ।
झट्ट हेर्दा, फबिङ सामान्य डिर्स्ट्याक्सन वा मानिस फोनमा अलमलिएजस्तो वा त्यति ठूलो समस्या होइन भन्ने लाग्न सक्छ । तर, जब हामी यस्ता साना–साना घटनालाई समग्रमा जोडेर हेर्छौँ, यसले समाजको बृहत् र मिहिन परिवर्तनलाई प्रतिविम्बित गरिरहेको पाइन्छ । यो परिवर्तन हो– मानिसहरूले सार्वजनिक स्थलमा एकले अर्कालाई दिने ध्यान (अटेन्सन) अब स्वतः स्फूर्त वा सामान्य कुरा रहेन । मानिसहरूको ध्यान मोबाइल स्क्रिन र अर्को मानिसमा आधा–आधा रूपमा बाँडिएर प्रकट हुन्छ । धेरैजसो अवस्थामा त्यो ध्यान पूर्ण रूपमा मोबाइलको स्क्रिनभित्रै हराइसकेको हुन्छ ।
तिनकुनेमा ‘आर्या खाजा घर’ सञ्चालन गर्ने अर्जुन कँडेलले विगत पाँच वर्षमा ग्राहकको व्यवहारमा ठूलो परिवर्तन देखेका छन् । ‘पहिले मानिसहरू यहाँ खाजा खान मात्र होइन, गफगाफ गर्न र नयाँ सम्बन्ध बनाउन आउँथे,’ उनी भन्छन्, ‘तर अहिले त्यस्तो कमै हुन्छ । मानिसहरू सँगै बसे पनि एकअर्कासँग हुँदैनन् । पहिले–पहिले मानिसहरूको गुनगुन, हाँसो र ठट्टा सुनिन्थ्यो भने अहिले रिल्स र टिकटकको आवाज सुनिन्छ ।’ उनका अनुसार सामाजिक सञ्जालले सञ्चार सजिलो बनाए पनि मानवीय सम्बन्धलाई असर पुर्याएको छ ।’
यो परिवर्तन शिष्टाचार वा अलमलको विषय मात्र होइन । यसले मानिसहरू कसरी सँगै बस्छन्, कति गहिरोसँग एक–अर्कालाई सुन्छन् र कति सजिलै टाढिन्छन् भन्ने दैनिक अन्तरक्रियाको स्वरूपलाई नै फेरिरहेको छ । यसले मानवीय सम्बन्धमा मात्र असर गरेको छैन, कतिपय अवस्थामा असुरक्षासमेत निम्याइरहेको छ ।
‘हामीले धेरै फिल्टर थपिरहेका छौँ, असली र इमानदार सम्बन्ध हराउँदै गएको छ - मीरा तामाङइन्स्टाग्राममा ‘लाइफ एज क्रि’ नामक प्रयोगकर्ताले जेठ १० मा एउटा भिडियो सार्वजनिक गरेकी थिइन् । त्यसमा उनले आफू सवार याङ्गो चालकले मोबाइलमा एकपछि अर्को रिल्स स्क्रोल गर्दै मोटरसाइकल गुडाइरहेको देख्छन् । ती चालकको ध्यान सडक र स्क्रिनबीच बाँडिएको थियो । ‘लगभग २५ मिनेटसम्म रिल्स, टिकटक र युट्युब सर्ट्स हेर्दै सवारी चलाए । कयौँपटक झण्डै दुर्घटनामा परियो । पटक–पटक चेतावनी दिँदा पनि बेवास्ता गरे । यात्राको अन्त्यतिर त लापरबाही झनै बढ्यो,’ उनले क्याप्सनमा लेखेकी छन् ।
दोलखाकी २४ वर्षीया विद्यार्थी मीरा तामाङलाई अनलाइनमा हुने कुराकानी भावरहित र बनावटी लाग्छ । दोलखामा छँदा साथीहरूसँग साँझमा गाउँ डुल्दै भविष्य र सपनाका कुरा गरेको क्षण उनलाई प्यारा लाग्छन् । अहिले भने साथीहरूसँगको भेटसमेत औपचारिक र योजनाबद्ध लाग्ने उनको अनुभव छ । ‘हामीले धेरै फिल्टर थपिरहेका छौँ, असली र इमानदार सम्बन्ध हराउँदै गएको छ,’ तामाङ भन्छिन् ।
एक दशकअघि नेपालमा लोडसेडिङ उत्कर्षमा छँदा सामाजिक जीवन फरक ढंगले चल्थ्यो । मानिसहरू छतमा बसेर छिमेकीसँग कुरा गर्थे, नजिकैको चोकमा राजनीति छलफल हुन्थ्यो अनि परिवारका सदस्यहरू मैनबत्ती वा बत्तीको वरिपरि बसेर गफ गर्थे । ‘त्यतिबेला बत्ती हुँदा बुबा समाचार सुनिरहनुहुन्थ्यो,’ तामाङ भन्छिन्, ‘बत्ती गएपछि मलाई मेरो दिन कस्तो भयो वा गृहकार्य के छ भनेर सोध्नुहुन्थ्यो । अहिलेजस्तो मोबाइल स्क्रिन नहुँदा, गफहरू स्वाभाविक र स्वस्फूर्त रूपमा पैदा हुन्थे ।’
स्मार्टफोनले मानिसलाई आफैँ मात्र केन्द्रित गराएको छ: रामेश्वरी पन्त
लेखक तथा समाजशास्त्री रामेश्वरी पन्तका अनुसार यस्तो परिवर्तन अहिले घरभित्र गहिरोसँग देखिन थालेको छ । स्मार्टफोनले मानिसलाई आफैँ मात्र केन्द्रित गराएको छ । ‘परिवारका सदस्य एउटै कोठामा बसे पनि एकअर्कासँग कुरा गर्ने समय हुँदैन,’ उनी भन्छिन्, ‘पहिला–पहिला बेलुका काम सकेपछि कथा र अनुभव साटासाट हुन्थ्यो । गाउँका चौतारी र चोकमा समाचार, विचार र दैनिक जीवनबारे कुरा हुन्थ्यो । अहिले धेरै कुरा स्क्रिनभित्र सरेका छन् ।’
विशेषगरी साना बालबालिकालाई फकाउन वा शान्त राख्न अभिभावकले नै मोबाइल दिने बानीले उनीहरूमा संवाद गर्ने उत्साह हराउँदै गएको पन्तको बुझाइ छ । बालबालिकामा अभिभावकसाग कुरा गर्ने उत्साह घट्दै गएको र अभिभावकसाग पनि कथा, लोककथा वा रमाइला अनुभव सुनाउने समय नभएको उनी बताउाछिन् । यसले बालबालिकालाई अग्रजको ज्ञान र जीवन अनुभवबाट टाढा पारिरहेको छ ।
यी धेरै कारणले मानिसहरू अहिलेको ‘अन्तरआबद्ध विश्व’मा एक्लिँदै गएका छन् । भीडभित्र रहेर पनि मानिसले आफूलाई एक्लो महसुस गर्न थालेको छ । यसको मानसिक असर गम्भीर हुनसक्ने मनोसामाजिक परामर्शदाता दृष्टि मोक्तान औँल्याउँछिन् । उनका अनुसार घुमफिर, सामान्य गफगाफ र योजनाविहीन भेटघाट मानिसको भावनात्मक स्वास्थका लागि महत्वपूर्ण हुन्छन् । ‘आफ्ना मान्छेहरूसँग हामी खुलेर बोल्न, व्यवहार गर्न र आफूलाई अभिव्यक्त गर्न पाउाछौँ,’ उनी भन्छिन्, ‘यसले मन हल्का बनाउन मद्दत गर्छ ।’ सार्वजनिक स्थलमा हुने हाँसो, अन्य मानिसमाझ बिताएको समयले मानिसको भावनालाई सन्तुलित गर्ने उनी बताउँछिन् ।
तर, यस्ता अन्तरक्रियाहरू स्मार्टफोनले विस्थापित गर्दै जाँदा दैनिक भावनात्मक आधार कमजोर हुन थाल्ने र समयसँगै साना असहमति वा भावनात्मक संवादसमेत कठिन लाग्न सक्ने मोक्तानको भनाइ छ । ‘समयसँगै मोबाइल डिभाइसहरू मनोरञ्जन मात्र होइन, भावना पोख्ने माध्यम बन्दै जानेछ,’ उनी भन्छिन्, ‘निरन्तर डिजिटल पहुँचले समाजलाई अत्यधिक उत्तेजनायुक्त युगतर्फ धकेलिरहेको छ ।’
मूल रूपमा भन्दा, ‘फबिङ’ले हामीलाई अल्मल्याउने मात्र नभइ, यसले हामी सँगै हुँदा महसुस हुने सामीप्यता, आत्मीयता र शान्त पलहरूलाई भित्रभित्रै परिवर्तन गरिरहेको छ ।
सम्बन्धित समाचार
