अध्ययनले भन्छ– डिजिटल संवादतर्फ लम्कँदै जाँदा मानिसले दैनिक ३३८ शब्द कम बोलिरहेका छन्।
काठमाडौँ — ‘मसँग कुरा गर्दा तपाईं अलिकति खुसी हुनुस् न, तपाईं कस्तो फर्मल हुनुहुन्छ, अलिकति रमाइलो हाँसो गरिदिन सक्नुहुन्छ ? क्यान यु स्माइल ?’ ‘तपाईं अलिकति हाँसेर बोल्न सक्नुहुन्छ ? कि तपाईंको इमोसन एउटै रहन्छ ?’ ‘तपाईं एकचोटि मज्जासँग हाँस्नुस् न कस्तो सुनिन्छ, सुनौं न ।’
पत्रकार एवं लेखक विजयकुमार पाण्डेले एआई च्याटबटलाई पटक–पटक गरेको अनुरोध हो यो । उनले ‘माया’ नाम दिएको एआई च्याटबटसँग दुई साताअघि ४४ मिनेट कुरा गरेको भिडियो युट्युब च्यानलमा प्रसारण गरेका छन् । ४ दशकदेखि मानिससँग अन्तर्वार्ता लिइरहेका पाण्डेले मेसिनसँग कुरा गर्दा केही अप्ठ्यारो महसुस भएको संवादकै क्रममा बताएका छन् । उनको यस प्रयोगले आजको युगको यथार्थ झल्काएको छ– हामी मानिसभन्दा मेसिनसँग बोल्न र अभ्यस्त हुन बढी जोड दिइरहेका छौं ।
अमेरिकाको मिजोरी–कान्सस सिटी र एरिजोना विश्वविद्यालयका मनोवैज्ञानिकद्वय भ्यालेरिया फाइफर र म्याथियास मेलले गरेको एक अध्ययनले डिजिटल संवादको उदय भइरहेको समय (२००५ देखि २०१९) मा मानिसले दैनिक ३३८ शब्द कम बोलिरहेको तथ्य हालै बाहिर ल्याएको छ । यी अनुसन्धानकर्ताहरूले अमेरिका, युरोप र अस्ट्रेलियामा १४ वर्ष लगाएर गरेको २२ वटा अध्ययनबाट प्राप्त तथ्यांक विश्लेषण गरेर यस्तो निष्कर्ष निकालेका हुन् ।
फेसबुक, ट्विटर, युट्युब, ह्वाट्सएप र स्मार्टफोनको प्रयोग बढिरहेको समयमै मानिस–मानिसबीच साना, ठूला संवाद घटेको पाइनुलाई अर्थपूर्ण रूपमा विश्लेषण भइरहेको छ । नेपालमा पनि यो समयमा इन्टरनेट र मोबाइलको पहुँच बढेको थियो । अमेरिकी विश्वविद्यालयको अध्ययनले पश्चिमा देशमा देखाएको बढ्दो ‘मौनता’ अहिले काठमाडौंका गल्ली र रेस्टुरेन्टमा पनि स्पष्ट देखिन्छ ।
महाराजगन्जस्थित वालनट बिस्ट्रोका सञ्चालक आकाश पौडेलले मेसिनका कारण मानिसबीचको संवादमा आएको परिवर्तनलाई नजिकबाट नियालेका छन् । आफ्नो रेस्टुरेन्टमा १० जनाको परिवार आउँदा सबै मोबाइल फोनमै व्यस्त हुने गरेको उनी पाउँछन् । ‘ग्राहकहरू एकछिन भए पनि मोबाइलबाट टाढा होऊन् र एकअर्कासँग बढी गफगाफ गरून् भनेर हामीले फोन कस्टडी बनाइदिएका छौं,’ उनले भने, ‘कुनै परिवारले खाना खाउन्जेल कस्टडीमा मोबाइल बुझाउँदा बिलमा १५ प्रतिशत क्यास ब्याक दिने गरेका छौं । तर यो सुविधा प्रयोग गर्नेहरूको संख्या न्यून छ ।’
आकाशका अनुसार ‘फोन कस्टडी’ अभियान सुरु गरेको दुई वर्ष भइसक्दा पनि २० वटा जति टेबलले मात्र प्रयोग गरेका छन् । अझ कतिपय होटल तथा रेस्टुरेन्टमा ‘क्युआर कोड’ बाटै मेन्यु स्क्यान गरेर खाना अर्डर गर्न मिल्ने, रोबटले खाना टेबलसम्म पुर्याइदिनेजस्ता सुविधाका कारण ग्राहक र वेटरबीचको संवाद घटिरहेको देखिन्छ । ‘विदेशका एयरपोर्ट र होटलमा क्युआर कोडबाटै खाना अर्डर गर्न मिल्छ, वेटरलाई चिच्याएर बोलाइरहनु पर्दैन,’ एक बहुराष्ट्रिय कम्पनीमा काम गर्ने अनुशा (नाम परिवर्तित) भन्छिन्, ‘नेपालमा पनि जिम्बु थकालीमा एकपल्ट यस्तो ट्राई गरेकी थिएँ, धेरै सजिलो हुन्छ ।’
रेस्टुरेन्टमा मात्र होइन, सडकमा गुडिरहेका सवारी साधनभित्र पनि संवादको लय फेरिएको छ । राइड हेलिङ एप, इनड्राइभका चालक सुजन मगरका अनुसार ८० प्रतिशत यात्रु मोटरसाइकलमा बस्नेबित्तिकै मोबाइलमा हराउँछन् । कोही इयरफोन लगाएर बस्छन् त कोही मोबाइलमै गेम खेल्न थाल्छन् । ‘अलि पाको उमेरका यात्रु भने गफ गर्न रुचाउँछन्,’ विश्व भाषा क्याम्पसमा अध्ययनरत मगरले भने, ‘युवा पुस्ताका यात्रु धेरै सोधी–खोजी गर्दैनन् । कति जनासँग त एक घण्टाको यात्रामा एक शब्द नबोली छुट्टिएको छु, धेरै पटक ।’
सुजन आफैं पनि कतिपय सन्दर्भमा मानिसभन्दा मेसिनसँग बढी अन्तरक्रिया गरिरहेका हुन्छन् । जस्तै– बाटो पत्ता लगाउने कुरामा उनलाई सडकका मानिसभन्दा गुगल म्याप सहज लाग्छ । ‘मान्छेलाई यो बाटो कहाँ पुग्छ भनेर सोध्यो भने खास कहाँ पुग्नुपर्ने हो, पहाडको घर कता भनेर उल्टै प्रश्न गर्न थाल्छन्, बेकारमा टाइम वेस्ट हुन्छ,’ उनले भने, ‘बरु म्याप हेर्दा छिटो पुगिन्छ । म्यापले पनि कहिलेकाहीँ गलत वा उल्टो बाटो देखाइदिँदा गल्लीभित्रै फनफनी घुमेर हराएको छु ।’
डिजिटल निर्भरताले हाम्रा साना र अनौपचारिक संवाद कसरी मासिरहेका छन् भन्नेबारे अमेरिकी विश्वविद्यालयको ‘स्लाइडिङ इनटु साइलेन्स ?...’ शीर्षकको सो अध्ययन प्रतिवेदनले रोचक प्रवृत्ति पहिल्याएको छ । ‘हामीले दैनिक औसत ३३८ वटा शब्द कम बोल्न थालेका छौं,’ अध्ययनमा भनिएको छ, ‘यो थोरै लाग्ला तर वार्षिक रूपमा हेर्यो भने करिब १ लाख २० हजार शब्द मासिइरहेका छन् ।’
अध्ययनअनुसार विशेष गरी २५ वर्षमुनिका युवाले गर्ने संवाद घटिरहेको छ । टेक्स्ट म्यासेज, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले मानिसलाई प्रत्यक्ष दोहोरो कुराकानीबाट पर धकेल्दै लगेको छ । बरिस्टा (कफी बनाउने मानिस), पसलका सहयोगी वा अपरिचित व्यक्तिहरूसँग गरिने स–साना कुराकानी पनि घटेकाले दैनिक बोलिने शब्दको संख्या घटेको हो । अनुसन्धानकर्ता फाइफरका अनुसार कम बोल्नुको अर्थ अरूसँग कम जोडिनु हो । यसले सामाजिक अन्तरक्रियाबाट प्राप्त हुने भावनात्मक लाभ र दीर्घकालीन सम्बन्ध टुटाइरहेको छ ।
मानवशास्त्री सुरेश ढकालका अनुसार भाषा भनेको सूचनाको आदानप्रदान मात्र नभएर संस्कृति र परम्पराको संवाहकसमेत भएकाले हामीले बोल्ने शब्द घट्नु, हाम्रा संस्कार र भावना पनि हराउँदै जानु हो । ‘मानिस भावनात्मक प्राणी हो तर प्रविधिको बढी प्रयोगले हामीलाई मेसिन जस्तै हृदयविहीन बनाउँदै लगेको छ,’ उनले भने, ‘प्रविधिमा घोरिएर बस्ने अहिलेको प्रवृत्तिले मानिसको भावनात्मक गुण कमजोर बनाइरहेको छ ।’
ढकालका अनुसार सामाजिक सञ्जालमा धेरै मानिसले प्रतिक्रिया दिँदैमा त्यसलाई सामूहिक व्यवहार भन्न मिल्दैन र त्यो व्यक्तिगत प्रतिक्रियाको भीड मात्रै हो । अहिलेको संवादहीनताले मानिसलाई जोड्ने वैचारिक र भावनात्मक पक्षलाई कमजोर बनाउँदै लगेको उनले बताए । ‘एआई वा मेसिनसँगको बढ्दो अन्तरक्रियाले मानिसलाई मानिसबाटै अलग गरिरहेको छ,’ उनले भने, ‘कालान्तरमा मानिस पनि मेसिन जस्तै हृदयविहीन हुने वा भावनात्मक रूपमा अत्यन्तै नाजुक हुने खतरा हुन्छ ।’
सुरुमा प्रविधिमा रमाए पनि मानिसले पछि आफूलाई निर्जीव वा हृदयविहीन बनाउँदै लैजान सक्ने ढकालको चिन्ता छ । उनले जापानको पुरानो इलेक्ट्रोनिक खेलौना ‘तामागोची’ को उदाहरण दिँदै मेसिनले मानिसलाई कसरी आफ्नो नियन्त्रणमा राख्छ भन्ने चर्चा गरे । ‘सन् १९९० को दशकमा बजारमा आएको त्यो खेलौनालाई हातमा राखेर सुमसुम्याइरहनुपर्थ्यो, सुमसुम्याएन भने त्यो मर्थ्यो,’ उनले भने, ‘बालबालिका र किशोरकिशोरी त्यसलाई घण्टौं सुमसुम्याएर बस्थे, त्यसले अर्बौं डलरको व्यापार गर्यो । तामागोचीले झैं अहिले एआईले मानिसलाई आफ्नो नियन्त्रणमा राखेको छ ।’
सधैं उपलब्ध हुने, आफूप्रति सहमत देखिने, थेरापीभन्दा सस्तो हुनुका साथै कुराकानी पनि गोप्य हुने भएकाले कतिपयले एआईलाई नै आफ्नो दुःख–सुखको सहारा, साथी र प्रेमीसमेत बनाउन थालेका छन् । सन् २०२५ मा इन्स्टिच्युट फर फ्यामिली स्टडिजले प्रकाशन गरेको एक सर्वेक्षणअनुसार करिब तीनमध्ये एक अमेरिकीले एआई च्याटबटसँग घनिष्ठ वा प्रेम सम्बन्ध अनुभव गरेको बताएका थिए । यसले एआई मानिसको अत्यन्त निजी जीवनमा कति छिटो प्रवेश गरिरहेको छ भन्ने औंल्याउँछ ।
अन्य अध्ययनहरूले पनि विशेष गरी युवा पुस्तामाझ भावनात्मक सहयोग र निजी संवादका लागि एआईमा निर्भरता बढ्दै गएको देखाएका छन् । संयुक्त राज्य अमेरिका, युरोपदेखि एसियासम्म च्याटबटहरू साधारण टुलबाट क्रमशः गोप्य साथीमा रूपान्तरित हुँदै गएका छन् ।
मेसिनले नै जिज्ञासा मेटाइदिने, आवश्यकता पूरा गरिदिने सुविधाका कारण मानिसलाई आपसमा बोलिरहनुपर्ने बाध्यता घटेको छ । कुरा गर्नैपरे फोन वा इन्टरनेटमार्फत भइरहेको छ । एआईका च्याटबट र एपहरूसँग घण्टौं गफिने, आफ्ना व्यक्तिगत कुरा सुनाउने र सल्लाह लिने अभ्याससमेत बढ्दै गएको अध्ययनहरूले देखाएका छन् । अल्गोरिदम जस्तै एआईले पनि दिनदिनै आफूलाई निखार्दै र चलाख बनाउँदै लाने भएकाले यसको चलाखी कहाँ पुगेर रोकिन्छ भन्ने सीमा छैन । त्यसैले यसले मानिसलाई आफूले चाहे जस्तै सोच्न, विचार गर्न र बोल्न सक्ने बनाउँदै लैजाला भन्ने चिन्ता एक थरीमा छ ।
