घर भत्काउँदा दुई जिउकी थिइन्, अहिले चिसो कोठामा हुर्काइरहेकी छन् नवजात शिशु

थापाथलीको सुकुमवासी बस्तीमा डोजर चल्दा अञ्जलीको सुत्केरी हुन समय नजिकिँदै थियो, अहिले उनी होटलमा ९ जनासँग एउटै कोठामा बस्न बाध्य छिन् ।

वैशाख २१, २०८३

आरती पौडेल

What you should know

काठमाडौँ — गत वैशाख १२ गते बिहानै काठमाडौंको थापाथली सुकुमवासी बस्तीमा एकाएक डोजर पसे । केही घण्टामै टहरा भत्किन थाले । बस्ती उजाडियो । त्यहाँ बस्दै आएका परिवार एकैछिनमा विस्थापित भए । तत्कालीन व्यवस्थापनका नाममा केहीलाई होल्डिङ सेन्टर त केहीलाई होटलहरूमा सारियो ।

२० वर्षीया अञ्जली महतो पनि यस्तै विस्थापितमध्येकी एक हुन् । तर उनको पीडा अरूभन्दा भिन्न छ ।

काठमाडौंको बसपार्कस्थित एक होटलको सानो कोठामा उनी नवजात शिशुलाई काखमा राखेर ‘बेबी बोतल’ बाट दूध खुवाइरहेकी भेटिइन् । 

०००

थापाथलीमा एउटा टहरोमा बस्थ्यो उनको परिवार । श्रीमान्‌को सानो कमाइले जसोतसो छाक टरिरहेका थियो । बस्तीमा डोजर चल्न थालेपछि दुई जिउकी अञ्जलीलाई डर लाग्यो ।

त्यसपछि सबै सामान लिएर परिवारसँग रंगशालामा नाम टिपाउन पुगिन् । बसपार्कको एक होटलमा उनीहरुको बस्ने व्यवस्था मिलाइयो ।

एकातिर आश्रय गुमेको पीडा, अर्कातिर नजिकिँदै गरेको प्रसूति गराउने समय । अञ्जलीको मनमा धेरै कुरा खेलिरहेका थिए । 

भोलिपल्ट शरीरमा फरकखाले अप्ठ्यारो अनुभूत भएको सुनाइन् । ‘बच्चा कसरी जन्मने हो’ भन्ने डर उनको मनमा छाइरहेको थियो । बेलुकाबाट त गाह्रो हुन थाल्यो । १४ गते बिहानै श्रीमान्‌लगायत आफन्तले प्रसूतिगृह पुर्‍याए । सोही दिन दिउँसो उनले छोरीलाई जन्म दिइन् ।

‘अप्रेसन गरेर बच्चा निकालियो । घरीघरी अझै घाउ दुखिरहेको छ,' उनले सुनाइन् ।

शल्यक्रियाको शुल्क नलागे पनि औषधि किन्दा भने निकै खर्च भएको उनका श्रीमान् अजयकुमार महतोले बताए । ‘३३ हजार हाराहारी खर्च भएको छ,’ उनले भने, 'मसँग त्यतिका पैसा कहाँ हुनु, सापटी लिएको छु । काममा नगएको कति दिन भइसक्यो । त्यो ऋण कसरी तिर्ने भन्ने चिन्ता भइरहेको छ ।'

सुत्केरीका लागि व्यवस्था हुने भनेर समाचारमा पढे पनि सहयोग गर्न सरकारका तर्फबाट कोही नआएको उनले गुनासो गरे । 'फर्कने दिन हस्पिटलले २ हजार दिएको थियो,’ उनले भने, 'सरकारबाट सहयोग नहुँदा भने दु:ख लागेको छ ।'

अञ्जलीलाई चार दिन अस्पताल राखेर बिहीबार पुन: सोही होटल लगिएको छ । तर, यहाँ उनको बसाइ सहज छैन । ९ जनासँग एउटै कोठा बाँडेर बस्न बाध्य छिन् । न पर्याप्त आराम मिल्छ न त उनको आवश्यक हेरचाह ।

अस्थायी बसोबासको असुविधाबीच उनलाई चिन्ता छ- नवजात शिशुको हेरचाह कसरी गर्ने ? अबको भविष्य के हुने ?

होटलमा उनलाई बिहान, दिउँसो र बेलुका जाउलो दिने गरिएको छ । ‘दूध आएको छैन । अलिअलि मात्र आएको भएर डब्बाको दूध खुवाइरहेको छु,’ उनले भनिन्, ‘भिडभाडमा बस्नुपर्दा अप्ठ्यारो र निकै सकस लागिरहेको छ । बच्चा रोएकै रोयै गर्दा गाह्रो हुन्छ ।’

होटलभित्र घाम नपर्ने भएकाले बच्चालाई पर्याप्त न्यानो नपाएको उनले सुनाइन् । 'उठेर निस्कन पनि सक्दिनँ । ढोका छेउमै गएर बस्छु,' उनले भनिन्, 'घाममा अहिलेसम्म निस्किन पाएको छैन । यहीँ खाने, बस्ने, बच्चालाई खुवाउने र सुताउने गरेको छु ।’ होटलमा तातोपानी मागेर दूध घोलेर खुवाउने गरेको उनले सुनाइन् । 

उनी बसेको कोठा अस्तव्यस्त छ । बालबच्चा, वृद्धा र महिलाहरु खाटमा बसिरहेका देखिन्थे । केही मोबाइलमा ठूलो आवाजमा भिडियो हेरिरहेका त कोही भलाकुसारी गरिरहेका । छरपस्ट कपडा र सामानले भरिभराउ कोठामा एक पुरुष त चुरोटसमेत तानिरहेका थिए, जसको धुवाँ कोठाभरि रुमल्लिएर अञ्जली र उनको बच्चासम्म आइपुग्थ्यो । होटलका साहुले भित्र चुरोट नखान भनेपछि मात्रै उनी बाहिर निस्किए ।

धेरै जना एउटै कोठामा भएकाले होहल्लाले बच्चाको निद्रा नपुग्ने समस्या भएको उनको भनाइ छ । ‘भोक लागेपछि अनि अरु कराएपछि रोइहाल्छ । के गर्नु, सबैलाई एकै ठाउँमा राखेको छ, कसलाई के भन्नु ?’

यस्तो बेला उनलाई बेलाबेला आफ्नो घरको याद आउँछ । त्यहाँ भएको भए कम्तीमा शान्तसँग बस्न पाउने उनी बताउँछिन् । उनको माग छ- सरकारले आफूजस्ता सुत्केरीलाई राम्रो व्यवस्थापन गरोस् । उनले आफू र बच्चाका लागि अलग कोठामा राख्न अनुरोध पनि गरेकी थिइन् तर कोठा नभएको भन्दै यहीँ व्यवस्थापन गरियो ।

थापाथली आउनुअघि उनको परिवार सर्लाहीको सुकुमवासी बस्तीमै बस्थ्यो । चार वर्षयता भने उनीहरु थापाथली आइपुगेका हुन् ।

उनको डेढ वर्ष अगाडि विवाह भएको हो । श्रीमान् अजय ज्यामी काम गरेर घरखर्च जुटाउँथे । अहिले त कामको पनि टुंगो नभएको उनी बताउँछन् ।

सरकारले व्यवस्थापन गरेको अस्थायी बसोबास उनीहरुका लागि राहतभन्दा बढी बाध्यताजस्तो बनेको छ । आफ्नो ओत भत्किएपछि उनका लागि घरको परिभाषा नै बदलिएको छ । उनी यही साँघुरो र कोलाहलपूर्ण कोठाभित्र नवजात छोरीलाई हुर्काउने कोसिस गरिरहेकी छन् । भन्छिन्, 'मेरो एउटै मात्रै चिन्ता छ- बच्चालाई राम्रोसँग हुर्काउन पाए हुन्थ्यो ।'

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully