स्वस्फुर्त रुपमा आफ्नै तरिकाले सडकमा अलपत्र परेका कुकुरको ‘सेवा’ गर्दै आएका महिलाहरुले सामाजिक सञ्जालमा जोडिएर समूह बनाएका छन् । भोक तथा घाउ, चोट र रोगले छटपटिएका र सडकमा अलपत्र परेका कुकुरको स्यहार्ने उनीहरु उद्धार र उपचारमा खर्च गर्नु परे मिलेर रकम उठाउँछन् ।
What you should know
चितवन — सडकमा भौतारिँदै हिँड्ने कुकुरलाई प्राय:ले राम्रो शब्दले सम्बोधन गर्न पनि गाह्रो मान्छन् । तर त्यस्ता कुकुरकै स्याहारमा तल्लिन हुनेहरु पनि छन् समाजमा । भरतपुर र नरायणगढ आसपासमा यस्ता कुकुरलाई परिवारको सदस्य सरह ख्याल राख्ने महिलाको समूह नै छ । कुकुरलाई भोकाउँदा खाना दिने, बिरामी भए औषधि गर्ने, घाइते भए उद्धार र उपचार गर्न हरदम तयार रहन्छन् उनीहरु ।
लुतो आएर गन्हाउने कुकुर पनि उनीहरुको स्यार र उपचारले ठिक भएका छन् । स्वस्फुर्त रुपमा आफ्नै तरिकाले कुकुरको ‘सेवा’ गर्दै आएका महिलाहरुले सामाजिक सञ्जालमा जोडिएर समूह बनाएका हुन् । उद्धार र उपचारमा खर्च गर्नु परे मिलेर रकम उठाउँछन् । भोक तथा घाउ, चोट र रोगले छटपटिएका र सडकमा अलपत्र परेका कुकुरको स्यहार्ने उनीहरुको मुख्य काम हो ।
नवलपरासीबाट १४ वर्षअघि नारायणगढ आएकी ५३ वर्षीया सीता बस्नेत अहिले भरतपुर महानगरपालिका–२ क्षेत्रपुरमा डेरामा बस्छिन् । छोराछोरी हुर्काउन उनले चोकमा स–सानो पसल राखेकी छन् । बच्चाहरुको खानेकुरा ढुङ्ग्रो, बिस्कुट बेचेर हुने कमाइ उनले आफ्नो परिवारका लागि मात्रै खर्च गर्दिनन् । दिनहुँ पाँच/सात वटा कुकुरको पनि भोक टार्छिन् । ‘हामी परिवारका तीन जना छौं । घरमा हाम्रा लागि मात्रै हैन कुकुरका लागि पनि खाना पाक्छ । भात र कुखुराको खुट्टा/टाउको कुकुरलाई खान दिन्छौं,’ सीताले भनिन् । आफै डेरामा बस्ने सीताले आपत् परेका कुकुरहरुलाई पनि आश्रय दिएकी छन् । खाने बेलामा थाल बज्यो कि कुकुरको झुण्ड उनको आँगनमा जम्मा भइसक्छ । अरु फर्के पनि पहिल्यैदेखि पाल्दै आएका दुई/तीन कुकुर भान्सा वरपर नै बस्छन् ।
१२ वर्षअघि रगत चुहाउँदै घाउ बोकेर सडकमा हिँडेको घाइते कुकुर अझ पनि उनको साथमै छ । घाइते र बिरामी तथा भोका कुकुरहरु उनको भोजन र स्याहारले तन्दुरुस्त हुन्छन् । ‘छोराछोरीले पनि कुकुर देखेर झिझो मान्दैनन् । यस्ता कुकुर किन ल्याएको भनेर घरबेटीले पनि कहिल्यै भन्नु हुँदैन । मलाई सानैदेखि कुकुर–बिराला मन पर्दथ्यो । त्यसैले अहिलेसम्म सके जति पाल्दै आएकी छु,’ सीताले भनिन् ।
सीताका बुबा रेशम बरालले पनि कुकुर मन पराउँथे । डेढ वर्षको हुँदा आमाले छाडेपछि सीतालाई बुबाले नै हुर्काए । त्यसैले बुबाको गुण आफुमा सर्यो भन्छिन् उनी । गर्भवती भएका बेला भरतपुर–५ की पूजा खरेल तामाङलाई कुकुरहरु प्रति माया बढ्यो । खाना नपाएका, रोगी, घाउ आएका कुकुर देख्दा स्याहार गर्न मन लाग्न थाल्यो । जन्मेको पाँच महिनामा उनले छोरी गुमाउनु पर्यो ।
‘त्यसपछि म यस्तै जीवको सेवामा लिन हुन थाले,’ पूजाले भनिन् । पूजाको घरमा एउटा भोटे जातको कुकुर छ । यसलाई अहिले पनि गर्मी बढेसँगै लुतोको समस्या सुरु हुन्छ । ‘यसलाई हामी काली भन्छौं । कालीको कथा दर्दनाक छ । डेढ वर्षअघि भेटाउँदा कान पाकेको, लुतोले ग्रसित भएको, स्तनका मुन्टा सुन्निएका थिए,’ पूजाले सुनाइन् ।
घरनजिकको चोकमा ओहरदोहर गर्दा यस्तो अवस्थामा देखेपछि उनले उपचार सुरु गरिन् । अचेत जस्तो अवस्थामा भेटेको कुकुर दुई महिनाको उपचारपछि निको भयो । काली अहिले पूजाको घर छाडेर पर जाँदैन । त्यस्तै कथा छ अर्को कुकुर ‘पुन्टी’को । दुई वर्षअघि सानो बच्चा हुँदा पूजाले यसलाई भेटेकी थिइन् । घाँटी आडमा गहिरो घाउ भएको थियो । निको हुन डेढ महिना लाग्यो ।
पूजाले २०७२ सालदेखि कुकुर स्याहारमा सक्रियता बढाएकी हुन् । ‘गाडीले ठक्कर दिएर भाग्ने, अनेक रोगले गर्दा शरीरका अंग कुहिने समस्याले कुकुरहरु निकै सताएको देखेपछि मन थाम्न सकिन । बरु एक छाक कम खाउँला यी बेजुवानलाई तड्पिन दिन्न भनेर यसमा लागेकी हुँ,’ पूजाले भनिन् ।
पूजाले सामाजिक सञ्जाल टिकटक र फेसबुकमा यस्तो काममा लाग्ने व्यक्तिहरु खोज्न सुरु गरिन् । भरतपुर नारायणगढ आसपासमा यस्तो काममा लाग्दै आएका महिलाहरु उनको सम्पर्कमा आए । अहिले सामाजिक सञ्जालको समूहमा २३ जना महिला जोडिएको पूजा बताउउँछिन् ।
भरतपुर–३ नारायणगढकी ईशा खनाल पनि समूहमा छिन् । दिउँसो ४ बज्यो कि उनी अरु काम छाडेर स्कुटरमा निस्किन्छिन् । कुखुराको खुट्टा, टाउको, कलेजो र भात कुकुरहरुका अगाडि राख्न सुरु गर्दछिन् । १० वर्षदेखि उनी निरन्तर यही काममा छिन् । ३०/४० वटा कुकुर उनको पर्खाइमा रहन्छन् । उनको घरको गेटमै चार/पाँच वटा कुकुर खाना खान पुग्छन् । अरु विभिन्न चोकमा भेला हुन्छन् । दिनमा पाँच/सात सय रुपैयाँ यसमा खर्च हुन्छ ।
भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा छ, सुनिता श्रेष्ठ पुडासैनीको घर । बाटोमा भेटिने बिरामी कुकुरलाई उपचारका लागि लैजाने काम गरेको उनलाई पनि १०/१२ वर्ष बित्यो । उपचारपछि तङ्ग्रिएका कुकुर पनि उनको घर छाडेर जान मान्दैनन् । उनको साथमा अहिले एउटा सानो कुकुर छ जसका चार खुट्टा नै चल्दैनन् । रौ झरेर बिरुप भएको थियो, अहिले पलाउँदै आएको छ ।
डेढ महिनाअघि गैंडाकोट जयश्रीखोला पुल तल फालेको अवस्थामा भेटिएको यो कुकुर उपचारको सिलसिलामा उनको घरसम्म आइपुगेको हो । उपचार गरेर खुट्टा निको हुन्छ कि भनेर उनीहरुले दिनको ३२ सय रुपैयाँ पर्ने औषधि पनि खुवाए । तर केही प्रगति भएन ।
महिलाहरु कुकुरको अवस्था देखेर घिन मान्दैनन् । कसैले केही भन्ला कि भन्ने डर शंकोच मनमा राख्दैनन् । भरतपुर–२ क्षेत्रपुरकी बृन्दा लम्सालको बुबा बितेको एक महिना जति भएको थियो । एक दिन घरमा नराम्रो गन्ध आयो । ‘घरको गेट बन्द गर्न बिर्सेको बेलामा घाउचोटले ग्रस्त एउटा कुकुर छिरेर बुबाको कोठामा गएर बसेको रहेछ,’ बृन्दा भन्छिन्, ‘कुकुरको टाउकोदेखि खुट्टासम्म घाउ नै घाउ थियो । राखौं गन्हाएर बस्न गाह्रो हुन थाल्यो, लखेटौं दया लागेर आयो ।’ दिनमा तीन पटक घाउ र शरीर सफा गरिदिएर कुकुरको उपचार गरेपछि निको भएको बृन्दाले सुनाइन् । बृन्दाको परिवारले उक्त कुकुरको ‘गोरे दाइ’ नाम दिएको छ ।
बृन्दा स्कुटरमा कुकुरले खाने बिस्कुटलगायत मात्रै बोक्दिनन् औषधिहरु पनि राख्छिन् । ‘हामी दिदीबहिनीहरु मिलेर कुकुर उद्धार गर्न नवलपरासीको ढोडेनी, दलदलेबाट भित्रसम्म गएका छौं । शरीर गलेको, कतै रौं नभएको कुकुरलाई पनि स्थानीयले न एक मुठी भात राख्दिएको हुन्छ, न पानी खान दिन्छ । यस्तो देख्दा मानवता कता हरायो झैं लाग्छ । हामी पनि पुगी सरी भएर हिँडेको हैन नि,’ बृन्दाले भनिन् ।
सडकका कुकुरहरुको उपचार गर्ने हिमालयन एनिमल रेस्क्यु ट्रष्ट (हार्ट)को क्लिनिक पनि छ । रत्ननगरमा भएको हार्टको क्लिनिकले उपचारमा निकै राहत भएको पूजा बताउँछिन् । ‘तर मलाई पहिला यसको बारेमा थाहा थिएन । मैले व्यक्तिगत पैसा खर्च गरेर उपचार पनि गरेको छु । हार्टमा फेरि सबै उपचार र परीक्षण हुँदैन पनि । गम्भीर समस्या भएकालाई निजी भेटेरेनरीमा लैजानु पर्दछ,’ पूजाले भनिन् ।
समूहका महिलाहरु कुनै न कुनै पेशा/व्यवसायमा जोडिएका छन् । भरतपुर–११ बसेनी घरभएकी शिक्षक अञ्जना कँडेल क्षेत्री बुबाआमाले धेरै माया गरेर कुकुर– बिरालो पालेको देख्दा त्यसको प्रभाव आफुमा पनि परेको बताउँछिन् । उनले किनेर घरमा कुकुर पालेकी छैनन् । बाहिरका कुकुरलाई खुवाउने, उपचार गर्ने गर्छिन् । स्कुटरमा सधैं कुकुरका लागि खानेकुरा राख्छिन् ।
भरतपुर–११ मुक्तिनगर बस्ने शिला गुरुङले धनी र हुने खानेले भन्दा स–सानो पेशा व्यवसाय गरेकाहरुले यस्ता कुकुरको ख्याल राखेको बताउँछिन् । ‘मलाई पनि कुकुर प्यारो लाग्छ । मैले उनीहरुको हितका लागि खै के कति गरेकी छु तर सानो चिया पसल राखेकी आमाले पनि पाँच/सात वटा कुकुरलाई पर्याप्त खाना खुवाइरहेको देखेकी छु,’ शिलाले भनिन् ।
कुकुरहरुलाई सडकमा पिट्ने र गाडीले ठक्कर दिएर त्यसै भाग्ने गर्छन् । ‘हामीले यस्तो देखे सम्बन्धित पक्षलाई उपचार गराउन बाध्य पार्न थालेका छौं । चितवनमा प्रहरीले पनि सहयोग गरेको छ,’ सुनिता श्रेष्ठ पुडासैनीले भनिन् । उपचारमा भने सरकारी निकायले पर्याप्त चासो नदिने गरेको उनी बताउँछिन् । ‘पशु उपचार गर्ने सरकारी निकायहरु छन् । त्यहाँ कुकुरको पनि के उपचार गर्नु ? गाई, भैंसी, बाख्रा भए ल्याउनुुस् भन्छन् । कसैले त राम्रै सहयोग पनि गर्छन्,’ सुनिताले सुनाइन् ।
सहरमा कुकुर पाल्ने चलन बढेको छ । तर घाइते भए, रोगी भए, बुढो भए घरबाट निकाल्ने प्रवृत्ति पनि बढेको पूजाको अनुभव छ । कुकुरको बच्चा घरमै राख्ने आमालाई फाल्ने प्रवृतिले पनि सडकमा कुकुर भौतारिन थालेको उनले बताइन् । यस्तो प्रवृत्ति अन्त्य गर्न स्थानीय निकायले कुकुर पाल्ने व्यक्ति र कुकुरको विवरण राम्रोसँग राखेर निगरानी बढाउनु पर्ने उनको आग्रह छ । ‘पाल्नेले सानो र सद्धे हुँदासम्म घरमा राख्ने, बुढो र बिरामी भए सडकमा छाड्न भएन,’ इशा खनालले भनिन् ।
कुकुर स्याहार गरेका महिलाहरुसँग कुकुरले पनि आफन्तले झै व्यवहार गरेको अनुभव छ । ‘हामी घरबाट बाहिर निस्कदा होस् या घर पुग्दा कुकुर ढोकासम्म छोड्न–लिन आउँछ । परिवारका सदस्य छोराछोरीहरु बरु अचेल मोबाइलमै हराउँछन्,’ उनीहरुले भने ।
स्वयमसेवी भावले स्वतस्फूर्त रुपमा कुकुरको स्याहार र उद्धारमा खटेका महिलाहरु सडकमा कुकुर नै नआउने अवस्था ल्याउन सरकार र समुदाय सबैले सोच्नु पर्ने बताउँछन् । सडकमा आएका कुकुरप्रति राम्रो व्यवहार गर्न उनीहरुले अपिल गरे । ‘कुकुरलाई बाटोमा कसैले नफालुन् । बाटोका कुकुरलाई कसैले नराम्रो नगरुन् । बाटोमा आएको कुकुरलाई सरकारले स्याहार गरोस् । नभए ठाउँ दिए हामी नै स्याहार गरेर बसौंला,’ सीता बस्नेतले भनिन् ।
