७ वर्षयताका ६ तस्बिर, जसले देखाउँछ देवीतालको संकट

मिचाहा प्रजातिका झार, चुरे र खोलाबाट आउने गेग्रान र बालुवाका कारण झण्डै ४२ हेक्टर क्षेत्रफल भएको चितवन राष्ट्रिय निकुञ्जको दोस्रो ठूलो देवीतालमा अहिले पानी देखिने क्षेत्र पाँच हेक्टर मात्रै छ ।

वैशाख २१, २०८३

रमेशकुमार पौडेल

What you should know

चितवन — चुरे पहाडको छेउमै छ, चितवन राष्ट्रिय निकुञ्जको देवीताल । यो निकुञ्जको सबैभन्दा ठूलो तालमध्ये पर्छ । तर यो ताल जोगाउन चुनौतिपूर्ण हुँदै गएको छ । चुरेको गेग्रान यही तालमा आएर थुप्रिने गरेको छ । मिचाहा प्रजातिका झारले ताल डम्म ढाकिएका कारण तालमा पानी कम छ । ताल हो या चौर चिन्न गाह्रो हुने अवस्था आउने गरेको छ । 

चितवन निकुञ्जको योजना शाखामा कार्यरत संरक्षण अधिकृत हेमराज आचार्य चुरेकै फेदमा रहेको यो तालमा त्यहाँको गेग्रानसँगै यसको पूर्व र पश्चिम सीमानामा रहेका दुईवटा खोल्साले पनि यसमा लगातार बालुवा भर्ने गरेको बताउँछन् । तालको क्षेत्रफल झण्डै ४२ हेक्टर भए पनि अहिले पानी देखिने क्षेत्र पाँच हेक्टर मात्रै भएको बताए । 


गत चैत २२ देखि २८ सम्म ताल सफा गरेका कारणले यत्तिको पानी देख्न पाइएको उनले बताए । ‘तालको १७ हेक्टर जति क्षेत्रमा पानी छ तर पानीमाथि डम्म परेर मिचाहा प्रजातिका विभिन्न खाले झारले ढाकेको छ । सतहमा पानी हैन झारको पत्र मात्र देखिन्छ,’ संरक्षण अधिकृत आचार्यले भने । 

२०७७ जेठ १० अर्थात सन् २०२० को मे २३ मा ताल सफा गरेका कारण केही धेरै पानी भएको देखिन्छ । २०७८ को जेठ ३ अर्थात सन् २०२१ को मे १७ मा ताल मेसिनले सफा गरिरहेको देखिन्छ । त्यो बेलामा पनि पानीको मात्रा पनि केही बढी नै छ । एक वर्षअघि गत वर्ष जेठ २७ मा ताल हरियो झारले भरिएको देखिन्छ ।


गत पुस २४ मा तालमा घाँस भरिएको थियो । ‘गैंडा आहाल खेल्ने, अन्य जनावरले पानी खाने निकुञ्जको पश्चिम क्षेत्रको एउटा निकै महत्वपूर्ण ताल हो यो । २०/२२ वर्षदेखि बेलाबेला सफा गरे पनि पुरिँदै आएको छ,’ चितवन राष्ट्रिय निकुञ्जका पूर्व प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले भने । ताल सफा गर्न बजेटको अभाव रहँदै आएको निकुञ्जका अधिकारीहरु बताउँछन् । 


चितवन निकुञ्जका प्रमुख रहेका वरिष्ठ संरक्षण अधिकृत गणेश पन्तले यो पटक ९ लाख ९८ हजार रुपैयाँ खर्च गरेर ताल सफा गरेको बताए । गत वर्ष ताल सफा गर्न बजेट नै आएको थिएन । ‘तालको पूर्व र पश्चिम सीमानामा रहेका खोल्साले समस्या ल्याएको छ । ती खोल्सामा अलि राम्रो बाँध बनाउन पाए यो ताल जोगिन्थ्यो कि ?’ पन्तले भने ।


खोल्साको डिलमा बाँस रोप्ने र अन्य जैविक विधि अपनाएर चेक ड्याम राख्न खोजेको उनले बताए । यसका लागि आउँदो वर्ष करिब २ करोड रुपैयाँ उपलब्ध भए राम्रोसँग काम गर्न सकिने उनी बताउँछन् । तर निकुञ्जका लागि एउटै ताल मर्मतसुधारमा यति धेरै बजेट अहिलेसम्म आएको छैन । चुरेको आडमै रहेको यस्तो महत्वपूर्ण ताल जोगाउन आवश्यक रहेको पन्तले बताए ।

ताल वरपर र ताल आडको चुरे पहाड क्षेत्रमा मानवीय गतिविधि छैन । तर पनि तालले संकट बेहोर्नु परेको छ । निकुञ्जका अधिकारीहरुले तमोर तालपछि देवीताल चितवन निकुञ्जभित्र रहेको दोस्रो ठूलो ताल भएको बताए् । यस्ता तालको नियमित सफाइ गरेर जोगाउन नसके निकुञ्जको पर्यावरणमा दिर्घकालीन असर पर्ने पूर्व संरक्षण अधिकृत कुँवर बताउँछन् ।  

सबै तस्बिर: रमेशकुमार पौडेल/कान्तिपुर 

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully