सुकुमवासी बस्तीका बालबालिका : साथी छुटे, किताब पुरिए, पढ्ने स्कुल थाहा छैन

अचानक बस्तीमा माइकिङ भएपछि सौरभ र साथीहरू एक ठाउँ भेला भए । ४ कक्षामा सँगै पढेका साथी सिजनले हातको घडी फुकालेर उनलाई लगाइदिए र भने, ‘अब हामी सँगै हुँदैनौं, याद आयो भने यही चिनो हेर् है ।’ सौरभले पनि टोपी निकालेर सिजनलाई लगाइदिँदै भने, ‘तँ पनि यो राख् है ।’

वैशाख १८, २०८३

समर्पण श्री, आरती पौडेल

Children from slums: Friends gone, books full, no school to attend

What you should know

काठमाडौँ — गत शनिबार दिउँसोतिर डोजर पसेर गैरीगाउँस्थित सुकुमवासी बस्ती भत्काइदियो । त्यही बस्तीमा यताउति गरिरहेका थिए, १२ वर्षीय सौरभ परियार । सिमसिम पानी परिरहेको थियो र बागमतीबाट चिसो सिरेटो आइरहेको थियो । उनी थिए, पातलो गन्जीमा । सौरभको देब्रे हातमा पहेंलो घडी टल्किरहेको थियो । सौरभले घडीको कथा सुनाए ।

शनिबार उनीहरू खेलिरहेका बेला अचानक बस्तीमा माइकिङ भएको रहेछ । पूरै बस्ती भत्काइने भएपछि सौरभसहितका साथीहरू एक ठाउँ भेला भए । घर भत्किएपछि छुट्टिनुपर्छ भनेर उनीहरूले चिन्ता साटे । अनि त्यही बेला ४ कक्षामा सँगै पढेका साथी सिजनले हातको घडी फुकालेर सौरभलाई लगाइदिए र भने, ‘अब हामी सँगै हुँदैनौं । याद आयो भने यही चिनो हेर् है ।’

सिजनको चिनोले सौरभको मन भारी भयो । आँखा रसाउन थाले । उनले पनि टोपी निकालेर सिजनलाई लगाइदिँदै भने, ‘तँ पनि यो राख् है ।’

अनुपले भने सौरभलाई पोकेमन कार्ड दिए । सौरभले अनुपलाई आफ्नो पुरानो घडी दिए । हस्तिपले अनुपलाई गुच्चा र भलिबल दिए । भलिबलचाहिँ उनले भान्जालाई छाडिदिए । सौरभसँगै उभिएका प्रतीकले कान्तिपुरलाई सुनाए, ‘मलाई पनि एउटा साथीले गोल्ड मेडल दिएको छ ।’

‘यसरी दिनुपर्छ भन्ने कुरा कहाँबाट सिकेको ?’ भन्ने कान्तिपुरको प्रश्नमा सौरभ मुसुक्क हाँसे । अनि लजाउँदै भने, ‘आफैं–आफैंले सिकेको ।’

ती साथीहरू कहाँ छन्, सौरभलाई थाहा छैन । सँगै हुर्किएर सँगै स्कुल जाने साथीहरूको यादले ननिको लाग्छ सौरभलाई । ‘यो घडी हेर्दा म सिजनलाई सम्झिन्छु । आउँछ कि भनेर हेरिरहन्छु पनि,’ टोलाउँदै उनले भने ।

सौरभसँग साथीहरू छुटेको चिन्ता मात्रै छैन, स्कुल कहिलेबाट जाने, कहाँ जाने भन्नेजस्ता अनुत्तरित प्रश्नले पनि सताएको छ ।

भत्किएका घरका टुक्राहरूमाथि हिँड्दा सौरभलाई गत शनिबारको सम्झना आउँछ । घर भत्किएको कुराले भन्दा पनि भत्केको हेरिरहेका आमा र दिदीहरू रोएको देख्दा उनलाई नरमाइलो लाग्यो ।

आफू जन्मे–हुर्केको घर भत्किएको दुई दिनपछि बाआमाले नजिकै एउटा कोठा भेट्टाए । भएका सबै सामान एउटा कोठामा कहाँ अट्थे र ? नअटेका सामान बाआमाले बेचिदिए । अरूभन्दा पनि आफ्नो प्यारो साइकल बेचिँदाचाहिँ उनी झन्डै रोए । तर आफूलाई सम्हाले । ‘म पास भएपछि बाले साइकल किनिदिन्छु भन्नुभएको थियो,’ सौरभले सुनाए, ‘एक वर्षअघि म पास भएँ । अनि बाले किनिदिनुभयो ।’

Children from slums: Friends gone, books full, no school to attend

सौरभको परिवारमा दुई दिदी, बाआमा र उनी छन् । उनका बा बौद्धमा थांका सिलाउँछन् । सौरभले पनि बालेजस्तै थांका सिलाउन सिकेका छन् । ‘मलाई पनि थांका सिलाउने मेसिन चलाउन मन पर्छ,’ उनले भने ।

गैरीगाउँस्थित विस्थापित बस्तीमा भएका सौरभजस्ता धेरै बालकसँग नमीठो अनुभव त छ नै । उनीहरूले गर्ने कुराकानीको विषय पनि बदलिएको छ । उनीहरू बस्ती भत्किएपछिको अनिश्चितताको कुरा गर्छन् अनि बेलाबखत प्रधानमन्त्री वालेन्द्र शाहको नाम लिइराख्छन् ।

विस्थापित बस्तीका केही बालक बुधबार सिमसिम पानीमा रुझ्दै गीत गाइरहेका थिए । गीतको मुखडा यस्तो थियो, ‘झ्याप्पै आए बालेन दाइ डोजर लिएर... ।’

यसरी गीत गाउने देव गुरुङ बिहीबार पनि विस्थापित बस्तीमा भेटिए । उनी साथी विशाल दर्नालसँग भग्नावशेष घरको फलाम काटिरहेका थिए ।

‘यो फलाम किन काटेको ?’ हामीले सोध्यौं ।

‘बेच्यो भने पैसा आउँछ,’ उनीहरूले जवाफ दिए ।

विशाल र देवका बाआमा खण्डहर जमिनबाट फलाम र सामान निकालिरहेका थिए । बुधबारझैं सिमसिम पानीको परवाह नगरी देव र विशाल आफ्नै धुनमा थिए । हामीले अघिल्लो दिन सुनेको गीतबारे देवलाई कोट्यायौं । ‘हामीलाई त यो ऋतेशले सिकाएको । तर ऊ अहिले यहाँ छैन । कहाँ गयो, थाहै छैन,’ देवले भने ।

अचानक शनिबार बर्दीधारी प्रहरीका साथमा डोजर बस्तीभित्र पस्यो । डोजरले उनीहरूको घर खोस्यो । कापी, किताब पुरियो । उनीहरूले बाआमा र ठूलाहरूले कुरा गरेको सुने, ‘यो सब्बै बालेनले गरेको ।’

चुनावका बेला बाआमाले गरेको कुराकानी विशाल र देवले सुनेका थिए, ‘बालेनले देश बनाउँछन् ।’ केही दिनअघि मात्र उनीहरूले बाआमालाई नै प्रश्न गरे, ‘देश बनाउने बालेनले हाम्रो घरचाहिँ किन भत्काएका ?’

कक्षा २ पास गरेर ३ मा पुगेका छन् देव । तर स्कुलको आँगन यो वर्ष टेक्न पाएका छैनन् । बस्तीमा सँगै हुर्के–बढेका साथीहरू पनि छुटेका छन् । ‘उनीहरूलाई भेट्न मन लाग्छ । तर कहाँ गए–गए,’ देव बालसुलभ आवाजमा भन्छन् ।

बस्तीबाट धेरै आफन्त हेर्दाहेर्दै टाढा–टाढा भए । ‘हामी त ऊ त्यहाँ बसेका छौं,’ जस्ता र त्रिपाल टाँगेको साँघुरो ठाउँतर्फ देखाउँदै देवले भने, ‘यहाँ त सुत्न पनि पाइँदैन । राम्रोसँग खान पनि पाइँदैन ।’

१२ वर्षका विशाल कक्षा ५ पुगे । अबको स्कुल कता हुन्छ ? बाआमाले अहिलेसम्म भनेका छैनन् । ‘पहिला त नवदुर्गा सेकेन्डरी बोर्डिङ स्कुल पढ्थें । अब त कहाँ पढ्ने नै थाहा छैन,’ फलाम काट्दाकाट्दै विशालले भने । उनले घर भत्किएपछि कापीकिताब खोजेका थिए तर भेटेनन् ।

९ वर्षका विश्वनाथ पारि गुह्येश्वरी स्कुलमा साथीहरू खेलिरहेको वारिबाट हेरिरहेका थिए । उनी त्यही स्कुलमा पढ्थे । ‘बल्लबल्ल ५ मा पुग्या । कोठा नपाएर टेन्सन भएर स्कुलै हाल्या छैन,’ तल इँटा निकालिरहेका बातर्फ हेर्दै विश्वनाथले भने, ‘बाबासँग पैसा छैन, काम पनि छैन ।’

विश्वनाथको घर भत्किँदा हजुरआमाले किनिदिएका खेलौना रिमोट कन्ट्रोल कार र घोडा छुट्यो । विश्वसँग उनका साथीहरू पनि छुटे । ‘यही एउटा मात्र छ । पछि त कोही पनि हुँदैन होला,’ सँगै बसिरहेका प्रतीकलाई हेर्दै उनले भने ।

‘अहिले कहाँ बसेका छौ’ भनी कान्तिपुरले सोध्दा विश्वले भित्तातर्फ टाँगिएको त्रिपालतर्फ हातले इसारा गर्दै भने, ‘ऊ त्यहाँ ।’ त्रिपालभित्र विश्वका सानीआमा, दिदी र दुई बहिनी सुतिरहेका थिए । ‘यहाँ त पानी आउँछ । हामी भिज्छौं । हिजो त हावा आएर कुर्सी नै उडाएर लग्यो,’ विश्वले सुनाए ।

कान्तिपुरसँग पछि उनकी हजुरआमाले पीडा सुनाइन्, ‘हाम्रो न बासको ठेगान छ, न गाँसको । नाति–नातिना भोकै भइसके ।’

बिहीबार दिउँसो विश्वले अचारसँग मुछेर बासी खाना खाए । ‘अब एकछिनमा बाबाले इँटा बेचेर ५० रुपे जति दिनुहुन्छ होला । त्यही पैसाले किनेर खान्छु,’ उनले इँटाको चाङतिर हेर्दै भने ।

विश्वको परिवार दशरथ रंगशालामा नाम टिपाउन पनि गएको रहेछ । त्यो दिन गेस्ट हाउसमा सुते पनि सामान हराउँछ भनेर फेरि यतै फर्केको रहेछ । ‘अब यहाँबाट कहाँ जाने, थाहा नै छैन,’ विश्वले निन्याउरो मुद्रामा भने ।

Children from slums: Friends gone, books full, no school to attend

उनलाई जतिसक्दो छिटो स्कुल जान मन छ । साथीहरूसँग खेल्न मन छ । तर त्यो रहरमै सीमित भएको छ । विश्वसँग लुगा पनि प्रशस्त छैन । जति थिए, घरको भग्नावशेषमै पुरिए । ‘फेरि डोजर आउँछ जस्तो लाग्छ । सपनामा पनि डोजर आएर ठूलो–ठूलो घर भत्काएको देखें । अब त नआए पनि हुन्थ्यो,’ आँखामा पोखिइरहेको डरसहित विश्वले भने ।

शनिबार बस्तीमा डोजर पसेपछि हतास देखिएकी १२ वर्षीया दिपिशा बुधबार र बिहीबार लगातार भग्नावशेष घरमा केही टिपिरहेकी थिइन् । उनी कहिले बालाई सामान सार्न सघाउँथिन् त कहिले सामान राख्ने उपाय खोज्नतर्फ लाग्थिन् । उनका बा शंकर वरिपरि हेर्थे । गाडी र मान्छेको भीडले जाम भएको बस्तीको बाटोमा उनले सामानको निकास पाएका थिएनन् ।

उनीहरू दुवाकोटमा आफन्तको कोठामा बसिरहेका रहेछन् । ‘भीमसेनगोलामा पढ्थें । अब कहाँ पढ्ने, थाहा छैन,’ दिपिशाले भनिन् । दिपिशाकी आमा एक वर्षअघि क्यान्सरले बितिन् । सामान्य रुघाखोकी लाग्यो भने पनि उनलाई आमालाई जस्तै रोग लाग्यो कि भनेर डर लाग्दो रहेछ ।

Children from slums: Friends gone, books full, no school to attend

दिपिशालाई बा फलामको काम गर्छन् भन्ने थाहा छ । उनलाई बाको काममा सघाउन मन पर्छ ।

दिपिशाका साथीहरू स्कुलमा छन् । बस्तीमा पनि थिए । तर उनीहरू कहाँ गए, थाहा छैन । ‘एक जना साथी मायालु भेट्न हिजो आकी थिई । अब भोलि कि पर्सि आउँछे रे,’ उनले सुनाइन् ।

घर भत्किएको दिन उनी आफन्तकहाँ गएर सुतिन् । भोलिपल्ट यहीँ आएर छिमेकी काकीहरूसँगै बसिन् । ‘अब त भोलिदेखि यहाँ हुँदिन । तर यहाँको यादचाहिँ आउँछ होला,’ उनले हातमा बोकेको इँटाको टुक्रा खेलाउँदै भनिन् ।

९ वर्षीय प्रतीक तामाङकी आमालाई छोराको स्वभावमा आएको परिवर्तन देखेर चिन्ता लागेको छ । ‘बच्चाको दिमाग कस्तो–कस्तो भइसक्यो ! बालेनले यस्तो गर्‍यो, त्यस्तो गर्‍यो भन्छ । हामीले कसरी सम्झाउने ?’ उनले भनिन् ।

प्रतीक अब कक्षा ४ मा पढ्नुपर्ने हो । उनी पहिला लोइला सेकेन्डरी स्कुलमा पढ्थे । ‘पैसा नभएर रिजल्ट पनि ल्याउन सकेको छैन,’ उनकी आमाले सुनाइन्, ‘स्कुलका सरले फोन गरेका थिए । तर घरकै ठेगान नभएका बेला अरू त सोच्नै सकिएन ।’ नयाँ कक्षाका लागि चाहिने पुस्तक पहिल्यै ल्याएका थिए बाले । प्रतीकलाई स्कुल गएर त्यो नयाँ पुस्तक पल्टाउन मन छ ।

प्रतीक बेलाबेला वरिपरि डुल्दै आफ्नो साथी खोज्छन् । ‘यसको मिल्ने साथी थियो रोयल । फर्केर आउँछ कि भनेर बेलाबेला खोजिरहन्छ,’ उनकी आमाले सुनाइन् ।

Children from slums: Friends gone, books full, no school to attend

प्रतीक अब कक्षा ४ मा पढ्नुपर्ने हो । पहिला लोइला सेकेन्डरी स्कुलमा पढ्थे । अब न स्कुल छ, न घर । ‘रिजल्ट पनि पैसा नभएर ल्याउन सकेको छैन,’ उनकी आमाले सुनाइन् । 

विद्यालयबाट शिक्षकले फोन गरेका थिए । तर घरकै ठेगान नभएका बेला अरू त सोच्नै नसकिएको उनको दुखेसो छ । नयाँ कक्षाका लागि चाहिने पुस्तक पहिल्यै ल्याएका थिए बाले । प्रतीकलाई स्कुल गएर त्यो नयाँ पाठ्यक्रम पल्टाउन मन छ । 

प्रतीक बेलाबेला वरिपरि डुल्दा आफ्नो साथी खोजिरहेका छन् । ‘यसको मिल्ने साथी थियो रोयल । फर्केर आउँछ कि भनेर बेलाबेलामा खोजिरहन्छ,’ उनकी आमाले सुनाइन् ।

होल्डिङ सेन्टरको उकुसमुकुस

सरकारले थापाथली, सिनामंगल र मनोहरालगायत क्षेत्रका विस्थापितमध्ये धेरैलाई कीर्तिपुरको राधास्वामी सत्संग केन्द्रस्थित ‘होल्डिङ सेन्टर’ मा राखेको छ । सेल्टरमा न अभिभावकले चैनका श्वास फेरेका छन्, न बालबालिकाले बालसुलभ वातावरण पाएका छन् ।

बुधबार कान्तिपुर पुग्दा टेन्टको छेउमा एक्लै बसिरहेका १२ वर्षीय मेसक लिम्बूले हतारहतार आमासँग कानेखुसी गरे । अनि लजाउँदै भागे ।

‘बाबुको जन्मदिन आज । त्यही भएर ‘उहाँलाई पनि मेरो बर्थ डे हो भन्नु न भनेको छोराले,’ मेसककी आमाले सुनाइन् ।

हरेक वर्ष छोराको जन्मदिन मनाइदिएकी आमाले यो वर्षचाहिँ सकिनन् । ‘केक काट्न पाइनँ भनेर मन दुखाइरहेको छ । बच्चाहरूलाई के थाहा, हामीसँग केही छैन भन्ने,’ मेसककी आमाले विवशता सुनाइन् ।

मेसक फेरि टेन्टतर्फ फर्किए । आमा भएतिर क्रिकेट ब्याट लिएर आए । जन्मदिनमा पनि यहाँ बस्नुपर्दाको पीडा उनले सुनाए, ‘घरमा कति रमाइलो हुन्थ्यो ! सबै साथीसँग केक काटेर रमाइलो गर्थ्यौं । अहिले त नरमाइलो भयो ।’

Children from slums: Friends gone, books full, no school to attend

मेसकले स्कुल जान पाएका छैनन् । उनको सपना भने हातले समातिरहेको ब्याटले बताइरहेको थियो । ‘क्रिकेटर बन्ने सपना छ । यो ब्याट म आफैंले बनाएको,’ त्यसपछि उनले आफ्नो घर सम्झिए । घरसँगै साथीहरू सम्झिए । ‘घरमा हुँदा साथीसँग मिलेर खेल्थ्यौं । अहिले त यहींको साथीसँग खेल्छु,’ उनले सुनाए ।

१४ वर्षीया अनिता लामा नयाँ बसपार्कको एउटा होटलमा परिवारसँग बसिरहेकी छन् । थापाथलीको सुकुमवासी बस्तीमा उनको घर थियो । त्यो घर डोजरले भत्काइदियो । ‘जतासुकै मान्छे कराइरहेका थिए । हेर्दाहेर्दै घर भत्कियो,’ उनले आफ्नै आँखाले देखेको त्यो कहालीलाग्दो दृश्य सुनाइन् ।

होटलमा बसिरहँदा पनि उनलाई एउटै चिन्ता छ, ‘अब स्कुल कसरी जाने होला ?’ उनी भर्खर कक्षा ८ मा पुगेकी छन् ।

१३ वर्षीय सूर्य महतो ‘सेल्टर हाउस’ मा भेटिएका साथीसँग खेलिरहेका थिए । ६ कक्षामा पुगेका उनी पनि थापाथलीकै विस्थापित परिवारबाट आएका हुन् । उनलाई भत्केको घर कस्तो भयो होला, हेर्न मन छ ।

कक्षा ५ मा पढ्ने एक बालक माछापोखरीस्थित गेस्ट हाउसमा परिवारसँग छन् । उनी फुपू दिदीलाई सोध्छन्, ‘हाम्रो घर किन भत्काएको दिदी ?’ फुपूसँग यसको जवाफ छैन । ‘सरकारले भत्काएको बाबु भन्छु । अब हाम्रो घर कहिले बन्छ भन्दै सोध्छ । त्यसको जवाफ पनि मसँग छैन,’ उनले हामीलाई सुनाइन् ।

आइतबार रिपोर्टिङका क्रममा कान्तिपुर त्यहाँ पुग्दा बालककी हजुरआमाको ठूलो चिन्ता थियो, ‘राम्रो पढिरहेको थियो । अब त पढाइकै टुंगो भएन ।’

कीर्तिपुर होल्डिङ सेन्टर, विभिन्न गेस्ट हाउस र डेरामा पुगेका बालबालिकाले विस्थापित भएपछिको पीडासँगै बाल्यकालीन साथीहरूको अभाव महसुस गरिरहेका छन् ।

गैरीगाउँमै डेरामा बसिरहेकी सीमा मगरले घर भत्किएपछि नयाँ डेरा नै पाउन सकेकी छैनन् । यो घटनाले १४ वर्षीया छोरी र १२ वर्षीय छोरालाई असर परिरहेको उनले सुनाइन् । ‘कोठा खोज्दा–खोज्दा हैरान भएँ । बाबु–नानीलाई सँगै लिएर हिँडेकी छु । ग्यारेजमा अलिकति ठाउँ बनाएर सुत्ने गरेका छौं । उनीहरू पढाइ र कोठाबारे मलाई सोधिरहन्छन् । मसँग जवाफ छैन,’ उनले सुनाइन् ।

बालबालिकाले अभाव र मनोवैज्ञानिक रूपमा असर खेपिरहँदा पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भने गम्भीर छैन । बालबालिकाको पढाइ छुटेको विषयमा सरकार बेखबरझैं छ । यस्तो अवस्थामा विस्थापित बालबालिकाका लागि मन्त्रालयसँग योजना पनि छैन ।

बालबालिकाको शिक्षा र विद्यालय व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहको भए पनि विशेष परिस्थितिमा रहेका वा अनाथ बालबालिकाको उद्धार र संरक्षणका लागि मन्त्रालयले आर्थिक व्यवस्थापन गर्ने मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा बताउँछन् । ‘मन्त्रालयअन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्मार्फत हामीले बालबालिकालाई मनोसामाजिक परामर्श र अन्य आवश्यक सेवा नियमित रूपमा उपलब्ध गराउँदै आएका छौं । संस्थागत केयरमा रहेकाहरूको आवश्यकता पहिचान गरेर सेवा दिइरहेका छौं,’ उनले भने, ‘अहिलेको यो संकटपूर्ण अवस्थामा संघीय र स्थानीय सरकारका विभिन्न निकायले आआफ्नोतर्फबाट काम गरिरहेका छन् र हामीले पनि सरकारी संयन्त्र र मिडिया रिपोर्टिङका आधारमा कहाँ के समस्या छ भन्ने जानकारी लिइरहेका छौं ।’

उनले भनेजस्तो कुनै कार्यक्रम वा योजना लक्षित बालबालिकासम्म पुगेको छैन । कान्तिपुरले रिपोर्टिङको अनुभवका आधारमा बालबालिकाको अवस्था र सरकारको अनुपस्थितिबारे सुनाउँदा प्रवक्ता बुढाले भने, ‘हामीले राहत र सहयोगका कार्य सुरु गरिसकेका छौं र बालबालिकाका लागि मन्त्रालयका तर्फबाट के–कस्ता थप कदम चाल्नुपर्ने हो, त्यसको अध्ययन गरेर हामी सम्बोधन गर्नेछौं ।’

Children from slums: Friends gone, books full, no school to attend

मनोपरामर्शदाता राम पुकारका अनुसार यस्तो अवस्थामा बालबालिकाको उमेरअनुसार मानसिक समस्याका लक्षण फरक–फरक हुन्छन् । साना शिशुहरूमा रुने, अत्तालिने र खान मन नगर्ने जस्ता समस्या देखिन्छन् । १० वर्षभन्दा माथिकाले कुरा बुझ्न सके पनि उनीहरूको बौद्धिक र शारीरिक विकासमा गरिबी, कुपोषण र प्रदूषित वातावरणले नकारात्मक असर पारेको हुन्छ । ‘यस्तो बेला अभिभावक आफैं आघातमा हुने भएकाले बालबालिकाले उचित सहारा पाउँदैनन् । जसले गर्दा किशोरकिशोरी कुलतमा फस्ने, आफूलाई हानि पुर्‍याउने वा आत्महत्याको जोखिमसमेत बढ्न सक्छ,’ उनी भन्छन् ।

यसको समाधानका लागि पहिले गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको पूर्ति हुनुपर्ने पुकार बताउँछन् । ‘बालबालिकालाई पुरानै दिनचर्यामा फर्काउन विद्यालय पठाउने वातावरण मिलाउनुपर्छ र विद्यालय जान नसक्ने अवस्थामा उनीहरूलाई घरभित्रै खेलिने खेलमा व्यस्त राख्नुपर्छ ताकि उनीहरूले एक्लो महसुस नगरून्,’ उनी थप्छन्, ‘दीर्घकालीन रूपमा अभिभावकको रोजगारी सुनिश्चित गर्दै बालबालिकाको मानसिक स्वास्थ्यको नियमित जाँच र स्क्रिनिङ गरेर मात्र उनीहरूलाई सक्षम नागरिक बनाउन सकिन्छ ।’

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

आरती पौडेल कान्तिपुरमा कार्यरत पत्रकार हुन् । उनी सामाजिक तथा समसामयिक विषयमा कलम चलाउँछिन् ।

Link copied successfully