अचानक बस्तीमा माइकिङ भएपछि सौरभ र साथीहरू एक ठाउँ भेला भए । ४ कक्षामा सँगै पढेका साथी सिजनले हातको घडी फुकालेर उनलाई लगाइदिए र भने, ‘अब हामी सँगै हुँदैनौं, याद आयो भने यही चिनो हेर् है ।’ सौरभले पनि टोपी निकालेर सिजनलाई लगाइदिँदै भने, ‘तँ पनि यो राख् है ।’
What you should know
काठमाडौँ — गत शनिबार दिउँसोतिर डोजर पसेर गैरीगाउँस्थित सुकुमवासी बस्ती भत्काइदियो । त्यही बस्तीमा यताउति गरिरहेका थिए, १२ वर्षीय सौरभ परियार । सिमसिम पानी परिरहेको थियो र बागमतीबाट चिसो सिरेटो आइरहेको थियो । उनी थिए, पातलो गन्जीमा । सौरभको देब्रे हातमा पहेंलो घडी टल्किरहेको थियो । सौरभले घडीको कथा सुनाए ।
शनिबार उनीहरू खेलिरहेका बेला अचानक बस्तीमा माइकिङ भएको रहेछ । पूरै बस्ती भत्काइने भएपछि सौरभसहितका साथीहरू एक ठाउँ भेला भए । घर भत्किएपछि छुट्टिनुपर्छ भनेर उनीहरूले चिन्ता साटे । अनि त्यही बेला ४ कक्षामा सँगै पढेका साथी सिजनले हातको घडी फुकालेर सौरभलाई लगाइदिए र भने, ‘अब हामी सँगै हुँदैनौं । याद आयो भने यही चिनो हेर् है ।’
सिजनको चिनोले सौरभको मन भारी भयो । आँखा रसाउन थाले । उनले पनि टोपी निकालेर सिजनलाई लगाइदिँदै भने, ‘तँ पनि यो राख् है ।’
अनुपले भने सौरभलाई पोकेमन कार्ड दिए । सौरभले अनुपलाई आफ्नो पुरानो घडी दिए । हस्तिपले अनुपलाई गुच्चा र भलिबल दिए । भलिबलचाहिँ उनले भान्जालाई छाडिदिए । सौरभसँगै उभिएका प्रतीकले कान्तिपुरलाई सुनाए, ‘मलाई पनि एउटा साथीले गोल्ड मेडल दिएको छ ।’
‘यसरी दिनुपर्छ भन्ने कुरा कहाँबाट सिकेको ?’ भन्ने कान्तिपुरको प्रश्नमा सौरभ मुसुक्क हाँसे । अनि लजाउँदै भने, ‘आफैं–आफैंले सिकेको ।’
ती साथीहरू कहाँ छन्, सौरभलाई थाहा छैन । सँगै हुर्किएर सँगै स्कुल जाने साथीहरूको यादले ननिको लाग्छ सौरभलाई । ‘यो घडी हेर्दा म सिजनलाई सम्झिन्छु । आउँछ कि भनेर हेरिरहन्छु पनि,’ टोलाउँदै उनले भने ।
सौरभसँग साथीहरू छुटेको चिन्ता मात्रै छैन, स्कुल कहिलेबाट जाने, कहाँ जाने भन्नेजस्ता अनुत्तरित प्रश्नले पनि सताएको छ ।
भत्किएका घरका टुक्राहरूमाथि हिँड्दा सौरभलाई गत शनिबारको सम्झना आउँछ । घर भत्किएको कुराले भन्दा पनि भत्केको हेरिरहेका आमा र दिदीहरू रोएको देख्दा उनलाई नरमाइलो लाग्यो ।
आफू जन्मे–हुर्केको घर भत्किएको दुई दिनपछि बाआमाले नजिकै एउटा कोठा भेट्टाए । भएका सबै सामान एउटा कोठामा कहाँ अट्थे र ? नअटेका सामान बाआमाले बेचिदिए । अरूभन्दा पनि आफ्नो प्यारो साइकल बेचिँदाचाहिँ उनी झन्डै रोए । तर आफूलाई सम्हाले । ‘म पास भएपछि बाले साइकल किनिदिन्छु भन्नुभएको थियो,’ सौरभले सुनाए, ‘एक वर्षअघि म पास भएँ । अनि बाले किनिदिनुभयो ।’
सौरभको परिवारमा दुई दिदी, बाआमा र उनी छन् । उनका बा बौद्धमा थांका सिलाउँछन् । सौरभले पनि बालेजस्तै थांका सिलाउन सिकेका छन् । ‘मलाई पनि थांका सिलाउने मेसिन चलाउन मन पर्छ,’ उनले भने ।
गैरीगाउँस्थित विस्थापित बस्तीमा भएका सौरभजस्ता धेरै बालकसँग नमीठो अनुभव त छ नै । उनीहरूले गर्ने कुराकानीको विषय पनि बदलिएको छ । उनीहरू बस्ती भत्किएपछिको अनिश्चितताको कुरा गर्छन् अनि बेलाबखत प्रधानमन्त्री वालेन्द्र शाहको नाम लिइराख्छन् ।
विस्थापित बस्तीका केही बालक बुधबार सिमसिम पानीमा रुझ्दै गीत गाइरहेका थिए । गीतको मुखडा यस्तो थियो, ‘झ्याप्पै आए बालेन दाइ डोजर लिएर... ।’
यसरी गीत गाउने देव गुरुङ बिहीबार पनि विस्थापित बस्तीमा भेटिए । उनी साथी विशाल दर्नालसँग भग्नावशेष घरको फलाम काटिरहेका थिए ।
‘यो फलाम किन काटेको ?’ हामीले सोध्यौं ।
‘बेच्यो भने पैसा आउँछ,’ उनीहरूले जवाफ दिए ।
विशाल र देवका बाआमा खण्डहर जमिनबाट फलाम र सामान निकालिरहेका थिए । बुधबारझैं सिमसिम पानीको परवाह नगरी देव र विशाल आफ्नै धुनमा थिए । हामीले अघिल्लो दिन सुनेको गीतबारे देवलाई कोट्यायौं । ‘हामीलाई त यो ऋतेशले सिकाएको । तर ऊ अहिले यहाँ छैन । कहाँ गयो, थाहै छैन,’ देवले भने ।
अचानक शनिबार बर्दीधारी प्रहरीका साथमा डोजर बस्तीभित्र पस्यो । डोजरले उनीहरूको घर खोस्यो । कापी, किताब पुरियो । उनीहरूले बाआमा र ठूलाहरूले कुरा गरेको सुने, ‘यो सब्बै बालेनले गरेको ।’
चुनावका बेला बाआमाले गरेको कुराकानी विशाल र देवले सुनेका थिए, ‘बालेनले देश बनाउँछन् ।’ केही दिनअघि मात्र उनीहरूले बाआमालाई नै प्रश्न गरे, ‘देश बनाउने बालेनले हाम्रो घरचाहिँ किन भत्काएका ?’
कक्षा २ पास गरेर ३ मा पुगेका छन् देव । तर स्कुलको आँगन यो वर्ष टेक्न पाएका छैनन् । बस्तीमा सँगै हुर्के–बढेका साथीहरू पनि छुटेका छन् । ‘उनीहरूलाई भेट्न मन लाग्छ । तर कहाँ गए–गए,’ देव बालसुलभ आवाजमा भन्छन् ।
बस्तीबाट धेरै आफन्त हेर्दाहेर्दै टाढा–टाढा भए । ‘हामी त ऊ त्यहाँ बसेका छौं,’ जस्ता र त्रिपाल टाँगेको साँघुरो ठाउँतर्फ देखाउँदै देवले भने, ‘यहाँ त सुत्न पनि पाइँदैन । राम्रोसँग खान पनि पाइँदैन ।’
१२ वर्षका विशाल कक्षा ५ पुगे । अबको स्कुल कता हुन्छ ? बाआमाले अहिलेसम्म भनेका छैनन् । ‘पहिला त नवदुर्गा सेकेन्डरी बोर्डिङ स्कुल पढ्थें । अब त कहाँ पढ्ने नै थाहा छैन,’ फलाम काट्दाकाट्दै विशालले भने । उनले घर भत्किएपछि कापीकिताब खोजेका थिए तर भेटेनन् ।
९ वर्षका विश्वनाथ पारि गुह्येश्वरी स्कुलमा साथीहरू खेलिरहेको वारिबाट हेरिरहेका थिए । उनी त्यही स्कुलमा पढ्थे । ‘बल्लबल्ल ५ मा पुग्या । कोठा नपाएर टेन्सन भएर स्कुलै हाल्या छैन,’ तल इँटा निकालिरहेका बातर्फ हेर्दै विश्वनाथले भने, ‘बाबासँग पैसा छैन, काम पनि छैन ।’
विश्वनाथको घर भत्किँदा हजुरआमाले किनिदिएका खेलौना रिमोट कन्ट्रोल कार र घोडा छुट्यो । विश्वसँग उनका साथीहरू पनि छुटे । ‘यही एउटा मात्र छ । पछि त कोही पनि हुँदैन होला,’ सँगै बसिरहेका प्रतीकलाई हेर्दै उनले भने ।
‘अहिले कहाँ बसेका छौ’ भनी कान्तिपुरले सोध्दा विश्वले भित्तातर्फ टाँगिएको त्रिपालतर्फ हातले इसारा गर्दै भने, ‘ऊ त्यहाँ ।’ त्रिपालभित्र विश्वका सानीआमा, दिदी र दुई बहिनी सुतिरहेका थिए । ‘यहाँ त पानी आउँछ । हामी भिज्छौं । हिजो त हावा आएर कुर्सी नै उडाएर लग्यो,’ विश्वले सुनाए ।
कान्तिपुरसँग पछि उनकी हजुरआमाले पीडा सुनाइन्, ‘हाम्रो न बासको ठेगान छ, न गाँसको । नाति–नातिना भोकै भइसके ।’
बिहीबार दिउँसो विश्वले अचारसँग मुछेर बासी खाना खाए । ‘अब एकछिनमा बाबाले इँटा बेचेर ५० रुपे जति दिनुहुन्छ होला । त्यही पैसाले किनेर खान्छु,’ उनले इँटाको चाङतिर हेर्दै भने ।
विश्वको परिवार दशरथ रंगशालामा नाम टिपाउन पनि गएको रहेछ । त्यो दिन गेस्ट हाउसमा सुते पनि सामान हराउँछ भनेर फेरि यतै फर्केको रहेछ । ‘अब यहाँबाट कहाँ जाने, थाहा नै छैन,’ विश्वले निन्याउरो मुद्रामा भने ।
उनलाई जतिसक्दो छिटो स्कुल जान मन छ । साथीहरूसँग खेल्न मन छ । तर त्यो रहरमै सीमित भएको छ । विश्वसँग लुगा पनि प्रशस्त छैन । जति थिए, घरको भग्नावशेषमै पुरिए । ‘फेरि डोजर आउँछ जस्तो लाग्छ । सपनामा पनि डोजर आएर ठूलो–ठूलो घर भत्काएको देखें । अब त नआए पनि हुन्थ्यो,’ आँखामा पोखिइरहेको डरसहित विश्वले भने ।
शनिबार बस्तीमा डोजर पसेपछि हतास देखिएकी १२ वर्षीया दिपिशा बुधबार र बिहीबार लगातार भग्नावशेष घरमा केही टिपिरहेकी थिइन् । उनी कहिले बालाई सामान सार्न सघाउँथिन् त कहिले सामान राख्ने उपाय खोज्नतर्फ लाग्थिन् । उनका बा शंकर वरिपरि हेर्थे । गाडी र मान्छेको भीडले जाम भएको बस्तीको बाटोमा उनले सामानको निकास पाएका थिएनन् ।
उनीहरू दुवाकोटमा आफन्तको कोठामा बसिरहेका रहेछन् । ‘भीमसेनगोलामा पढ्थें । अब कहाँ पढ्ने, थाहा छैन,’ दिपिशाले भनिन् । दिपिशाकी आमा एक वर्षअघि क्यान्सरले बितिन् । सामान्य रुघाखोकी लाग्यो भने पनि उनलाई आमालाई जस्तै रोग लाग्यो कि भनेर डर लाग्दो रहेछ ।
दिपिशालाई बा फलामको काम गर्छन् भन्ने थाहा छ । उनलाई बाको काममा सघाउन मन पर्छ ।
दिपिशाका साथीहरू स्कुलमा छन् । बस्तीमा पनि थिए । तर उनीहरू कहाँ गए, थाहा छैन । ‘एक जना साथी मायालु भेट्न हिजो आकी थिई । अब भोलि कि पर्सि आउँछे रे,’ उनले सुनाइन् ।
घर भत्किएको दिन उनी आफन्तकहाँ गएर सुतिन् । भोलिपल्ट यहीँ आएर छिमेकी काकीहरूसँगै बसिन् । ‘अब त भोलिदेखि यहाँ हुँदिन । तर यहाँको यादचाहिँ आउँछ होला,’ उनले हातमा बोकेको इँटाको टुक्रा खेलाउँदै भनिन् ।
९ वर्षीय प्रतीक तामाङकी आमालाई छोराको स्वभावमा आएको परिवर्तन देखेर चिन्ता लागेको छ । ‘बच्चाको दिमाग कस्तो–कस्तो भइसक्यो ! बालेनले यस्तो गर्यो, त्यस्तो गर्यो भन्छ । हामीले कसरी सम्झाउने ?’ उनले भनिन् ।
प्रतीक अब कक्षा ४ मा पढ्नुपर्ने हो । उनी पहिला लोइला सेकेन्डरी स्कुलमा पढ्थे । ‘पैसा नभएर रिजल्ट पनि ल्याउन सकेको छैन,’ उनकी आमाले सुनाइन्, ‘स्कुलका सरले फोन गरेका थिए । तर घरकै ठेगान नभएका बेला अरू त सोच्नै सकिएन ।’ नयाँ कक्षाका लागि चाहिने पुस्तक पहिल्यै ल्याएका थिए बाले । प्रतीकलाई स्कुल गएर त्यो नयाँ पुस्तक पल्टाउन मन छ ।
प्रतीक बेलाबेला वरिपरि डुल्दै आफ्नो साथी खोज्छन् । ‘यसको मिल्ने साथी थियो रोयल । फर्केर आउँछ कि भनेर बेलाबेला खोजिरहन्छ,’ उनकी आमाले सुनाइन् ।
प्रतीक अब कक्षा ४ मा पढ्नुपर्ने हो । पहिला लोइला सेकेन्डरी स्कुलमा पढ्थे । अब न स्कुल छ, न घर । ‘रिजल्ट पनि पैसा नभएर ल्याउन सकेको छैन,’ उनकी आमाले सुनाइन् ।
विद्यालयबाट शिक्षकले फोन गरेका थिए । तर घरकै ठेगान नभएका बेला अरू त सोच्नै नसकिएको उनको दुखेसो छ । नयाँ कक्षाका लागि चाहिने पुस्तक पहिल्यै ल्याएका थिए बाले । प्रतीकलाई स्कुल गएर त्यो नयाँ पाठ्यक्रम पल्टाउन मन छ ।
प्रतीक बेलाबेला वरिपरि डुल्दा आफ्नो साथी खोजिरहेका छन् । ‘यसको मिल्ने साथी थियो रोयल । फर्केर आउँछ कि भनेर बेलाबेलामा खोजिरहन्छ,’ उनकी आमाले सुनाइन् ।
होल्डिङ सेन्टरको उकुसमुकुस
सरकारले थापाथली, सिनामंगल र मनोहरालगायत क्षेत्रका विस्थापितमध्ये धेरैलाई कीर्तिपुरको राधास्वामी सत्संग केन्द्रस्थित ‘होल्डिङ सेन्टर’ मा राखेको छ । सेल्टरमा न अभिभावकले चैनका श्वास फेरेका छन्, न बालबालिकाले बालसुलभ वातावरण पाएका छन् ।
बुधबार कान्तिपुर पुग्दा टेन्टको छेउमा एक्लै बसिरहेका १२ वर्षीय मेसक लिम्बूले हतारहतार आमासँग कानेखुसी गरे । अनि लजाउँदै भागे ।
‘बाबुको जन्मदिन आज । त्यही भएर ‘उहाँलाई पनि मेरो बर्थ डे हो भन्नु न भनेको छोराले,’ मेसककी आमाले सुनाइन् ।
हरेक वर्ष छोराको जन्मदिन मनाइदिएकी आमाले यो वर्षचाहिँ सकिनन् । ‘केक काट्न पाइनँ भनेर मन दुखाइरहेको छ । बच्चाहरूलाई के थाहा, हामीसँग केही छैन भन्ने,’ मेसककी आमाले विवशता सुनाइन् ।
मेसक फेरि टेन्टतर्फ फर्किए । आमा भएतिर क्रिकेट ब्याट लिएर आए । जन्मदिनमा पनि यहाँ बस्नुपर्दाको पीडा उनले सुनाए, ‘घरमा कति रमाइलो हुन्थ्यो ! सबै साथीसँग केक काटेर रमाइलो गर्थ्यौं । अहिले त नरमाइलो भयो ।’
मेसकले स्कुल जान पाएका छैनन् । उनको सपना भने हातले समातिरहेको ब्याटले बताइरहेको थियो । ‘क्रिकेटर बन्ने सपना छ । यो ब्याट म आफैंले बनाएको,’ त्यसपछि उनले आफ्नो घर सम्झिए । घरसँगै साथीहरू सम्झिए । ‘घरमा हुँदा साथीसँग मिलेर खेल्थ्यौं । अहिले त यहींको साथीसँग खेल्छु,’ उनले सुनाए ।
१४ वर्षीया अनिता लामा नयाँ बसपार्कको एउटा होटलमा परिवारसँग बसिरहेकी छन् । थापाथलीको सुकुमवासी बस्तीमा उनको घर थियो । त्यो घर डोजरले भत्काइदियो । ‘जतासुकै मान्छे कराइरहेका थिए । हेर्दाहेर्दै घर भत्कियो,’ उनले आफ्नै आँखाले देखेको त्यो कहालीलाग्दो दृश्य सुनाइन् ।
होटलमा बसिरहँदा पनि उनलाई एउटै चिन्ता छ, ‘अब स्कुल कसरी जाने होला ?’ उनी भर्खर कक्षा ८ मा पुगेकी छन् ।
१३ वर्षीय सूर्य महतो ‘सेल्टर हाउस’ मा भेटिएका साथीसँग खेलिरहेका थिए । ६ कक्षामा पुगेका उनी पनि थापाथलीकै विस्थापित परिवारबाट आएका हुन् । उनलाई भत्केको घर कस्तो भयो होला, हेर्न मन छ ।
कक्षा ५ मा पढ्ने एक बालक माछापोखरीस्थित गेस्ट हाउसमा परिवारसँग छन् । उनी फुपू दिदीलाई सोध्छन्, ‘हाम्रो घर किन भत्काएको दिदी ?’ फुपूसँग यसको जवाफ छैन । ‘सरकारले भत्काएको बाबु भन्छु । अब हाम्रो घर कहिले बन्छ भन्दै सोध्छ । त्यसको जवाफ पनि मसँग छैन,’ उनले हामीलाई सुनाइन् ।
आइतबार रिपोर्टिङका क्रममा कान्तिपुर त्यहाँ पुग्दा बालककी हजुरआमाको ठूलो चिन्ता थियो, ‘राम्रो पढिरहेको थियो । अब त पढाइकै टुंगो भएन ।’
कीर्तिपुर होल्डिङ सेन्टर, विभिन्न गेस्ट हाउस र डेरामा पुगेका बालबालिकाले विस्थापित भएपछिको पीडासँगै बाल्यकालीन साथीहरूको अभाव महसुस गरिरहेका छन् ।
गैरीगाउँमै डेरामा बसिरहेकी सीमा मगरले घर भत्किएपछि नयाँ डेरा नै पाउन सकेकी छैनन् । यो घटनाले १४ वर्षीया छोरी र १२ वर्षीय छोरालाई असर परिरहेको उनले सुनाइन् । ‘कोठा खोज्दा–खोज्दा हैरान भएँ । बाबु–नानीलाई सँगै लिएर हिँडेकी छु । ग्यारेजमा अलिकति ठाउँ बनाएर सुत्ने गरेका छौं । उनीहरू पढाइ र कोठाबारे मलाई सोधिरहन्छन् । मसँग जवाफ छैन,’ उनले सुनाइन् ।
बालबालिकाले अभाव र मनोवैज्ञानिक रूपमा असर खेपिरहँदा पनि महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय भने गम्भीर छैन । बालबालिकाको पढाइ छुटेको विषयमा सरकार बेखबरझैं छ । यस्तो अवस्थामा विस्थापित बालबालिकाका लागि मन्त्रालयसँग योजना पनि छैन ।
बालबालिकाको शिक्षा र विद्यालय व्यवस्थापनको मुख्य जिम्मेवारी स्थानीय तहको भए पनि विशेष परिस्थितिमा रहेका वा अनाथ बालबालिकाको उद्धार र संरक्षणका लागि मन्त्रालयले आर्थिक व्यवस्थापन गर्ने मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढा बताउँछन् । ‘मन्त्रालयअन्तर्गतको राष्ट्रिय बाल अधिकार परिषद्मार्फत हामीले बालबालिकालाई मनोसामाजिक परामर्श र अन्य आवश्यक सेवा नियमित रूपमा उपलब्ध गराउँदै आएका छौं । संस्थागत केयरमा रहेकाहरूको आवश्यकता पहिचान गरेर सेवा दिइरहेका छौं,’ उनले भने, ‘अहिलेको यो संकटपूर्ण अवस्थामा संघीय र स्थानीय सरकारका विभिन्न निकायले आआफ्नोतर्फबाट काम गरिरहेका छन् र हामीले पनि सरकारी संयन्त्र र मिडिया रिपोर्टिङका आधारमा कहाँ के समस्या छ भन्ने जानकारी लिइरहेका छौं ।’
उनले भनेजस्तो कुनै कार्यक्रम वा योजना लक्षित बालबालिकासम्म पुगेको छैन । कान्तिपुरले रिपोर्टिङको अनुभवका आधारमा बालबालिकाको अवस्था र सरकारको अनुपस्थितिबारे सुनाउँदा प्रवक्ता बुढाले भने, ‘हामीले राहत र सहयोगका कार्य सुरु गरिसकेका छौं र बालबालिकाका लागि मन्त्रालयका तर्फबाट के–कस्ता थप कदम चाल्नुपर्ने हो, त्यसको अध्ययन गरेर हामी सम्बोधन गर्नेछौं ।’
मनोपरामर्शदाता राम पुकारका अनुसार यस्तो अवस्थामा बालबालिकाको उमेरअनुसार मानसिक समस्याका लक्षण फरक–फरक हुन्छन् । साना शिशुहरूमा रुने, अत्तालिने र खान मन नगर्ने जस्ता समस्या देखिन्छन् । १० वर्षभन्दा माथिकाले कुरा बुझ्न सके पनि उनीहरूको बौद्धिक र शारीरिक विकासमा गरिबी, कुपोषण र प्रदूषित वातावरणले नकारात्मक असर पारेको हुन्छ । ‘यस्तो बेला अभिभावक आफैं आघातमा हुने भएकाले बालबालिकाले उचित सहारा पाउँदैनन् । जसले गर्दा किशोरकिशोरी कुलतमा फस्ने, आफूलाई हानि पुर्याउने वा आत्महत्याको जोखिमसमेत बढ्न सक्छ,’ उनी भन्छन् ।
यसको समाधानका लागि पहिले गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको पूर्ति हुनुपर्ने पुकार बताउँछन् । ‘बालबालिकालाई पुरानै दिनचर्यामा फर्काउन विद्यालय पठाउने वातावरण मिलाउनुपर्छ र विद्यालय जान नसक्ने अवस्थामा उनीहरूलाई घरभित्रै खेलिने खेलमा व्यस्त राख्नुपर्छ ताकि उनीहरूले एक्लो महसुस नगरून्,’ उनी थप्छन्, ‘दीर्घकालीन रूपमा अभिभावकको रोजगारी सुनिश्चित गर्दै बालबालिकाको मानसिक स्वास्थ्यको नियमित जाँच र स्क्रिनिङ गरेर मात्र उनीहरूलाई सक्षम नागरिक बनाउन सकिन्छ ।’
