विदेश पुग्छन् यामकुमारीले बुनेका साडी

केही वर्ष अघिसम्म स्थानीय बजारकालागि मात्र ढाकाको सामान बनाउने गरेकी यामकुमारी थापाले अचेल हातैले बुनेका सारी विदेशमा पनि बिक्री गरिरहेकी छिन् ।

वैशाख २०, २०८३

प्रकाश बराल

Sarees woven by Yamkumari reach abroad

What you should know

बागलुङ — बेलायतमा काम गर्दै आएकी अनिता पुनले ताराखोलाकी यामकुमारी थापालाई फोन गरेर तीन वटा ढाकाको साडी तयार गरिदिन अर्डर गरेकी छिन् । मनपर्ने रंग र बुट्टा रोजेर उनले साडी बनाउन लगाएकी हुन् ।

ढाकाका कपडा बुन्ने यामकुमारीसँग तयारी साडी समेत थिए । तर अनिताले अर्डर अनुसारकै बुन्न भनेपछि यामकुमारी धमाधम काममा व्यस्त छिन् । दुई साताभित्र तीन वटा साडी तयार गरेर दिने लक्ष्यले उनी दिनभर तानमा बसेर काम गरिरहेकी भेटिइन् । रातको समय पनि उनका हात ढाकामा बुट्टा भरिरहेका भेटिन्छन् ।
थापासँगै म्याग्दीको बरम्जाकी रुद्रकली छन्त्याल पनि काम गर्छिन् । उनले दिउँसोमा मात्रै आएर सघाउँछिन् । अष्ट्रेलिया पढ्न गएकी दिलमाया थापाको अर्डर अनुसारको अर्को साडी छन्त्यालले बुनेकी छिन् । 

छन्त्याललाई यामकुमारीले नै सीप सिकाएर काममा लगाएकी हुन् । घरमा आएका पाहुनासँग कुरा गर्दा पनि उनीहरुका हात भने तान बुन्न व्यस्त छन् । ‘अर्डरको सामान समयमा दिन सकिएन भने ग्राहकले पत्याउन छाड्छन्,’ यामकुमारीले भनिन्, ‘अर्डर नभएको बेला फुर्सदले काम गर्छु ।’ केही वर्ष अघिसम्म उनले स्थानीय बजारकालागि मात्र ढाकाको सामान बनाउने गर्थिन् । अहिले उनको उत्पादनलाई विदेशमा बस्नेले मन पराउन थालेका छन् । थापाका अनुसार स्थानीय बजारमा भन्दा हातैले बुनेका ढाकाका कपडा विदेशमा बढी बिक्री भैरहेका छन् ।

केही सामान उनले कुरियर गरेर पठाएको बताइन् । कतिपयले भने आफन्त नेपाल आएको बेला मगाउने गरेका छन् । कुरियर गर्दा एउटा साडी पठाएको ७ सयदेखि १ हजार खर्च लाग्ने गरेको छ । कुरियर सेवा प्रदायकले तौल अनुसार सामान ढुवानी गराउने गरेका छन् । बागलुङ नगरपालिका वडा १० भकुण्डेकी यामकुमारी थापाले बुनेको ढाकको साडी अहिले अमेरिका, बेलायत, जापान र अष्ट्रेलियामा धेरै बिक्री भैरहेको छ । 

ढाकाको साडीहरु यामकुमारीले १५ हजारदेखि २० हजार सम्ममा बेच्छिन् । त्यसकालागि उनले ३ हजार ५ सयको त धागो मात्रै किन्नुपर्ने बताइन् । ‘साधारण ढाकाको साडी तयार गर्न ५ दिन लाग्छ, आर्कषक बुट्टासहितको बनाउन परे १० दिन लाग्छ,’ उनले भनिन्, ‘दिनभर र रातमा पनि काम गरियो भने मात्र साता दिनमा राम्रो साडी तयार हुन्छ ।’ काठको मेसिनमा दिनभर बसेर काम गर्दा एउटा साडी बेचेर बढीमा ३ हजारसम्म नाफा लिन सक्ने उनले बताइन् । बजारका सामानको तुलनामा महंगो पर्ने भएपछि कतिपयले ढाकाको सामान किन्न खोज्दैनन् । मौलिक पहिरन लगाउने, सार्वजनिक समारोहमा स्थानीय उत्पादनलाई ख्याल गर्नेहरुले भने महंगो भए पनि ढाकाको कपडा खोज्ने गरेको थापाको अनुभव छ ।

पहिला त उनी स्थानीय बजारमा ढाकाको टोपी, झोला र पच्छ्यौरा बनाएर बेच्थिन् । छिटो तयार हुने ती सामानको मूल्य पनि कम छ । साडी बुन्ने काम भने धेरै समय लाग्ने, झन्झट, पट्यार लाग्दो भएको उनले सुनाइन् । 

उनले पसल समेत राखेकी छिन् । मासिक २० हजार भन्दा धेरै भाडा तिर्ने थापाको व्यवसायमा कोरोनाले झण्डै बिट मारेको थियो । कोरोना संक्रमणका कारण पसल बन्द भएपछि भने उनी अन्योलमा परेकी थिइन् । सोही समयमा उनलाई अमेरिकामा बस्नेहरुले फोन गरेर ५ वटा साडी, ४ वटा कोट र केही रुमाल लगायतका सामान अर्डर गरे । यो अर्डरले उनको आशा पलायो । घरभित्रै बसेर पनि नियमित काम गर्दै तीन महिनामा ती सबै सामान तयार पारेर कुरियरमार्फत बिदेश पठाउन सकेपछि मात्र उनले आफ्ना उत्पादन अब बिदेश पठाउन सकिन्छ भन्ने थाहा पाइन् ।

सदरमुकाममा डेरा लिएर बसेकी थापाले २०६७ देखि ढाका बुनेर बेच्न थालेकी थिइन् । सादा साडी भए ५ हजार देखि ७ हजारमा बेचेकी थापाले बुट्टे साडी २० हजारसम्म र कोट १० देखि १५ हजारसम्ममा तयार गरेको बताइन् । साडी र सलबाहेकका सामग्री छिटफुट मात्रै अर्डर आउने गर्छन् । पुरुषका सामान भन्दा महिलाको सामान धेरै अर्डर आउने, मूल्य पनि पाइने गरेको छ । यसरी दैनिक १२ देखि १४ घण्टासम्म काम गर्दा लगानी र खर्च कटाएर मासिक ४० हजारसम्म कमाइ गर्न सकेको उनको अनुभव छ ।

पछिल्लो समय बिदेश जानेहरुले विवाह भोज, जमघट, चाडपर्वलगायतमा नेपाली मौलिक पोशाक लगाउन थालेका छन् । उनीहरुले बजारमा पाइने भन्दा तानमा बुनेकै सामान किन्न थालेको थापाको अनुभव छ । ‘बुनेरै राखेको देखाउँदा पनि धेरैले आफ्नो रोजाइको रंगको धागो प्रयोग गरेर बुनिदिन भन्नुहुन्छ,’ थापाले भनिन् । उनले काठमाडौंबाट फाइन र सुती धागो किनेर ल्याउने गरेको बताइन् । त्यसमा गोली धागोले रंग अनुसारको बुट्टा भर्ने गरेकी छिन् ।

ताराखोलाकी गौमाया रोकाले पनि आजकल ढाकाका सामान बिदेश पठाउने गरेको बताइन् । थापाले १५ वर्षदेखि अर्डर अनुसारको काम गरिरहेकी छिन् । ‘बिदेशबाट माग्नेलाई चिटिक्क र फिनिसिङ राम्रो हुनुपर्छ,’ थापाले भनिन्, ‘मिहनेत गरेमा सामान जति पनि बिक्ने रहेछन् ।’ हातैले बुन्ने भएकोले धेरै अर्डर गरेर पनि काम पुरा गर्न नसकिने उनले बताइन् । यामकुमारीसँग कतिपयले भाँग्रो पनि अर्डर गर्छन्, तर उनले त्यसकालागि ताराखोलाका महिला उद्यमीलाई जोडिदिने गरेकी छिन् । अल्लोका सामान पनि खोज्नेहरुको बेलाबेला फोन आउने गर्छ । त्यतिबेला उनले ताराखोला र जैमिनीका उद्यमी भेटाइदिएको बताइन् ।

दुई/तीन वर्ष अघिसम्म त यामकुमारी सँग ६ जना साथी थिए । विवाह गरेपछि छाड्ने, बालबालिका जन्मेपछि काम गर्न नसक्ने समस्याले धेरैले छाड्ने गरेको उनले बताइन् । कतिपयले पति विदेश गएर पैसा पठाउन थालेपछि भएको सीप पनि छाडेको उनले बताइन् । ‘दिनभर बसेर बुन्दा ढाड दुख्ने र आँखाको समस्या हुन्छ,’ उनले भनिन्, ‘मेसिन राख्नकालागि कोठा धेरैवटा चाहिन्छ, त्यसमा पनि खर्च बढी छ ।’ यामकुमारीसँग रहेका ७ वटा मेसिनमध्ये अहिले चारवटा मात्रै संचालनमा छन् । तीनवटा मेसिन खोलेर राखेको उनले बताइन् । मेसिनले कोठा ओगट्ने, काम गर्ने नभएपछि भाडा मात्रै तिरेर नोक्सानी व्यहोरेको उनको अनुभव छ ।

काठको हाते मेसिनलाई ५० देखि ६० हजार रुपैयाँ पर्छ । २०६६ सालमा लघु उद्यम विकास कार्यक्रममार्फत ४५ दिनको तालिम लिँदा उनले एउटा मेसिन अनुदानमा पाएकी थिइन् । त्यसबाट थालेको कामले अहिले उनलाई सबैको रोजाइको उद्यमी बनाएको छ । तर अहिलेसम्म उनको सीप, काम र मिहनेतलाई कसैले सम्मान गरेको छैन । आफ्नो कामको प्रचार गर्न पनि उनी कतै निस्केकी छैनन् । 

२०५९ मा उनका पतिको सवारी दुर्घटनामा निधन भएपछि परिवार धान्ने जिम्मा यामकुमारीको काँधमा आएको थियो । ‍घरको जिम्मेवारीले उनी सीप सिकेर काम गर्ने लक्ष्यले तीन वर्षको छोरा काखमा लिएर सदरमुकाम झरेकी थिइन् । ढाका बुनेकै कमाइले छोरा सन्दीपलाई सफ्टवेयर ईन्जिनियर पढाएकी छिन् । ‘भर्खर छोराले पढेर सकेको छ, कमाइ गर्न थाल्यो भने केही सजिलो होला,’ थापाले भनिन्, ‘लाखौं खर्चेर पढाउने अवस्था मलाई ढाका बुन्ने सीपले दिएको हो ।’ अहिले गाउँमा बस्ने परिवारका सदस्यलाई पनि उनले सहयोग गर्दै आएको बताइन् । अहिले उनले मासिक ४० हजार रुपैयाँसम्म कमाइ गरिरहेको बताइन् ।

यामकुमारीको प्रेरणाले भकुण्डेमामात्रै २५ जना महिलाले ढाका बुन्ने सीप सिकेका छन् । ताराखोला गाउँपालिकाले यामकुमारीलाई तीन महिनासम्म प्रशिक्षक बनाएर ४० जना बढीलाई तालिम दिएको थियो । उद्यमीको रुपमा धेरै जना उत्पादन भए पनि बजारको समस्या र अन्य बाध्यताले कतिपयले ‍बीचैमा काम छाड्ने गरेको ताराखोला गाउँपालिका–२ का अध्यक्ष भद्रबहादुर घर्तीले बताए । यामकुमारीकै पनि धेरै उद्यमी जोडिने र छुटिने गरेको अनुभव छ । बजारीकरणकालागि स्थानीय तहले साथ दिएमा युवा उद्यमीको संख्या बढाउन सकिने थापा बताउँछिन् ।

प्रकाश बराल कान्तिपुरका बागलुङ संवाददाता हुन् ।

Link copied successfully