कुकुरको मायाले भत्किएको बस्तीमै ओछ्यान लगाएर सुत्छन् भीमबहादुर

खण्डहर बनेको थापाथलीस्थित सुकुमवासी बस्तीको किनारमा भीमबहादुर चेपाङ दुई कुकुर- पुन्टे र लुतीसँगै रात काटिरहेका छन् ।

वैशाख १६, २०८३

समर्पण श्री

Bhim Bahadur sleeps in a bed in a slum destroyed by the love of a dog

What you should know

काठमाडौँ — ‘हिजोको पानीले भिजेको डस्ना हो यो, अहिलेसम्म सुकेको छैन,’ थापाथलीस्थित खण्डहर सुकुमवासी बस्तीको किनारमा ओछ्यान लगाएर बसेका भीमबहादुर चेपाङले औंलाले इसारा गर्दै भने । शनिबार सरकारले उक्त बस्तीमा डोजर चलाएको थियो । वर्षौंदेखि त्यहाँ घर/टहरा बनाएर बसेका भूमिहीनहरू अचानक बेघर हुन पुगेका थिए । 

विस्थापित हुनुको पीडा बोकेर कोही आफन्तका डेरातर्फ लागे । कोही सरकारले अस्थायी आवासका लागि तोकेको होल्डिङ सेन्टरमा । तर, ४८ वर्षीय भीमबहादुर कतै हलचल भएनन् । उनी आफ्नै भत्केको घर सामुन्ने ओछ्यान लगाएर बसे । ‘पानी पर्दा पनि कतै गइनँ, ऊ त्यो म्याटले मुख छोपेर बसेँ,’ भीमबहादुरले भने ।

उनका वरिपरि घरका सामान असरल्ल छन् । खाटहरू भाँचिएका छन् । ‘मैले पैसा कमाएर महँगोमा किनेको खाट अहिले सुत्नलाई कामै लागेन,’ भीमबहादुरले भने । 

‘अरू कोही डेरा खोजेर बसे, कोही होल्डिङ सेन्टर । तपाईँ चाहिन किन यहीँ बस्नुभयो त ?’ हाम्रो प्रश्न भुइँमा झर्न नपाउँदै उनले ठूलो स्वरमा बोलाए, ‘पुन्टे, ए पुन्टे…।’ परबाट खैरो रङका दुई वटा कुकुर दगुर्दै आए । अनि भीमबहादुरलाई कोट्याउन थाले । ‘यसको नाम पुन्टे, अर्कोको नाम लुती । यिनीहरूलाई लगूँ कहाँ लगूँ, छाडेर कहीँ जान सकिनँ,’ भीमबहादुरले उनीहरूप्रतिको प्रेम व्यक्त गर्दै भने ।

Bhim Bahadur sleeps in a bed in a slum destroyed by the love of a dog

भग्नावशेष घर सामु भीमबहादुर पुन्टे र लुतीसँगै रात काट्दा रहेछन् । पुन्टेलाई पाँच वर्षअघि पाँच सयमा किनेर ल्याएका रहेछन् भीमबहादुरले, ‘लुती भने एकदिन पुन्टेको पछि लागेर आई, अनि हामी सँगै बस्न थाली ।’ पुन्टेलाई ल्याएदेखि पटक पटक बिरामी भयो । भीमबहादुरले उसको उपचारमा खर्च पनि गरे । ‘घरमै हुँदा पनि यो मैसँग सुत्थ्यो, अनि अहिले कहाँ छाड्न सक्नु,’ उनले भावुक हुँदै भने, ‘यो त मान्छे भन्दा पनि प्यारो छ ।’

भीमबहादुरसँग पुन्टी नामकी बिरालो पनि थिई । कुकुर र बिरालो मिल्दैन भन्छन्, तर उनीहरू मिलेको देख्दा अरू पनि दंग पर्थे । तर शनिबार भित्र डोजर पसेर बस्ती विनाश हुँदै गयो, पुन्टी अतालिएर भागी । ‘साँझ वरपर खोजेँ, तर भेटिनँ,’ भीमबहादुरले दुःखका साथ भने ।

Bhim Bahadur sleeps in a bed in a slum destroyed by the love of a dog

भीमबहादुरले दशरथ रंगशालामा गएर नाम पनि टिपाएका थिए । सरकारले अस्थायी आवास व्यवस्था गरे पनि उनले कुकुरहरू लाई छाड्न सकेनन् । ‘प्रहरी साँझ आएर जा भने, गइनँ । त्यसो भए हल्ला नगरी बस् भने । एक्लो मान्छेले कसरी हल्ला गर्छ,’ उनले हाँस्दै भने । अब बिहीबारबाट त त्यहाँबाट जसैगरी पनि हटाउने बताउँछन् उनी । ‘यिनीहरूको बिचल्ली हुने भो । मैले त नगरपालिकालाई पनि भनेको हुँ, तर वास्तै गरेनन्,’ उनले आग्रह गर्दै भने, यिनीहरूको व्यवस्था गर्न पाए नि हुन्थ्यो ।’

भीमबहादुर यो‌ बस्तीमा दुई दशकअघि आएका थिए । झन्डै ४ लाख लगानी उनले घर बनाउनमै लगाए । आफ्नो घर भत्किने दिन उनी पहिलो पटक रोए । ‘अरूले किन रोएको भन्दै सम्झाए । मैले आफूलाई सम्हाल्नै सकिनँ,’ उनले भावुक हुँदै भने ।

उनी घर रंग्याउने काम गर्छन् । दुर्भाग्यवश यस पटक आफ्नै घर उजाड भएकाले भीमबहादुर बेचैन छन् ।  

Bhim Bahadur sleeps in a bed in a slum destroyed by the love of a dog

चितवनमा २०३७ सालमा जन्मिएका भीमबहादुरको बाल्यकाल सजिलो थिएन। ८ वर्षको उमेरमा आमाले ‘बाख्रा चराउन नगई किन स्कुल पढ्न जान्छस्’ भनेर  पिटेपछि उनी घरबाट भागेर काठमाडौँ छिरेका थिए। सहरमा कहिले भाँडा माझेर त कहिले गलैँचा कारखानामा काम गरेर गुजारा गरिरहे । भीमबहादुर पछिल्लो समय दुई छोराहरूसँग बस्थे । श्रीमती र उनी छुटेर बसेका थिए । ‘घर भत्किएपछि बाबुहरू भने आमासँग बस्छन्,’ भीम भन्छन् । 

सरकारले आफूहरूलाई विस्थापित गरिदिएको पीडा त छँदै छ उनीसँग। सुनेका छन्, ‘सरकारले अपार्टमेन्टमा बसाउँछ रे ।’ 

‘‘तर मलाई अपार्टमेन्ट चाहिएको छैन । बरु ओत लाग्ने ठाउँ बनाउँछु। एक टुक्रा भए पनि जमिनै देओस्,’ भीमबहादुर आशावादी सुनिन्छन् ।

फिचर

समर्पण उनी कान्तिपुरका संवाददाता हुन्। उनी कला, शैली र फिचर रिर्पोटिङ गर्छन्।

Link copied successfully