देशभर अहिले झन्डै २५ हजार विद्यार्थी संस्कृत पढिरहेका छन् । झन्डै ५ सय गुरुकुलमा १५ देखि २० हजार विधार्थी छन् भने नेपाल संस्कृत विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजमा थप ४ हजार विद्यार्थीले शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) तह पढिरहेका छन्।
What you should know
काठमाडौँ — नेपालका गुरुकुलहरूमा अध्ययन गर्ने विद्यार्थीको संख्या बिस्तारै बढ्न थालेको छ । विद्यार्थी भर्ना बढेसँगै महत्त्वपूर्ण जिज्ञासा उब्जिएको छ, के साँच्चै संस्कृत भाषाको सशक्त पुनरागमन हुँदै छ ?
दाङस्थित नेपाल संस्कृत विश्वविद्यालयका प्राध्यापक गुरुप्रसाद सुवेदीका अनुसार देशभर अहिले झन्डै २५ हजार विद्यार्थीले संस्कृत पढिरहेका छन् । देशभर झन्डै ५ सय गुरुकुल सञ्चालनमा छन् । तीमध्ये ३ सय दर्ता भएका र २ सय दर्ताविहीन छन् । प्राध्यापक सुवेदीका अनुसार यी गुरुकुलमा १५ देखि २० हजार विद्यार्थी अध्ययनरत छन् । यस्तै, नेपाल संस्कृत विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त कलेजमा थप ४ हजार ९ सय ४३ विद्यार्थीले शास्त्री (स्नातक) र आचार्य (स्नातकोत्तर) तह पढिरहेका संस्कृत विश्वविद्यालयका प्रशासन प्रमुख गिरिराज शर्माले जानकारी दिए ।
तनहुँ र चितवनमा फैलिएको देवघाट क्षेत्रका महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल र गार्गी कन्या गुरुकुलमा मात्र अहिले करिब १ हजार विद्यार्थी संस्कृत पढिरहेका छन् । प्राध्यापक सुवेदीले आफ्नो विद्यार्थी जीवनको अनुभव फरक रहेको बताए ।
‘२०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएपछि एक समय संस्कृत पढ्ने विद्यार्थी खोज्नै गाह्रो थियो,’ उनले भने, ‘तर अहिले अवस्था फेरिएको छ । संस्कृत पढ्ने विद्यार्थी बढ्दै छन् ।’ यस वर्ष देवघाटको हरिहर संन्यास आश्रममा कक्षा ६ देखि १२ सम्म केवल २५ सिटका लागि खोलिएको प्रवेश परीक्षामा ३ सय विद्यार्थी सहभागी भए । देवघाटकै महेश संस्कृत गुरुकुलको प्रवेश परीक्षामा २ सय जना सहभागी भएका थिए, तीमध्ये नयाँ शैक्षिक सत्रका लागि ३३ विद्यार्थी भर्ना भएका छन् । यसले विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणको संकेत गरेको सुवेदीले बताए ।
तनहुँ र चितवनमा फैलिएको देवघाट क्षेत्रका महेश संस्कृत गुरुकुल, परमानन्द संस्कृत गुरुकुल र गार्गी कन्या गुरुकुलमा मात्र अहिले करिब १ हजार विद्यार्थी संस्कृत पढिरहेका छन् ।यस्तै, चितवन भरतपुर–१ स्थित गार्गी कन्या गुरुकुलको ७ वैशाखमा सम्पन्न प्रवेश परीक्षामा ४३ जना सहभागी भएकामा २१ जनालाई भर्ना गरिएको छ । यो गुरुकुलकी प्रधानाध्यापक गोदा सुवेदीले केही वर्षयता छात्राको संख्या लगातार बढिरहेको बताइन् । ब्राह्मण, दलित र जनजाति समुदायका बालिकाहरू पढ्ने यस गुरुकुलमा विगतमा ७०–७५ छात्रा थिए । यस वर्ष कुल विद्यार्थी १ सय जना हुने उनले बताइन् ।
नेपाल संस्कृत विश्वविद्यालयको आंगिक क्याम्पस काठमाडौंको प्रदर्शनीमार्गस्थित वाल्मीकि विद्यापीठ (क्याम्पस) का प्राचार्य अच्युतप्रसाद लामिछानेको अनुभव पनि उस्तै छ । ‘दुई दशकअघि क्याम्पसमा मुस्किलले ३–४ सय विद्यार्थी हुन्थे,’ उनले भने, ‘अहिले संख्या उल्लेख्य बढ्दा कोटा नपुगेर धेरै विद्यार्थीलाई फर्काउनुपर्ने अवस्था छ ।’
वाल्मीकि क्याम्पसमा अहिले विभिन्न संकायमा गरी १ हजार ८८ विद्यार्थी भर्ना भएका छन् । यो संख्या क्याम्पसको बजेट र क्षमताभन्दा धेरै हो । आर्थिक वर्ष २०८२/८३ मा शिक्षा मन्त्रालयलाई कुल २ खर्ब ११ अर्ब १७ करोडको प्राप्त भएको थियो । त्यसमध्ये नेपाल संस्कृत विश्वविद्यालयअन्तर्गतका १२ आंगिक र १९ सम्बन्धन प्राप्त क्याम्पसका लागि १ अर्ब ४० करोड रुपैयाँ छुट्याइएको मन्त्रालयले जनाएको छ । नेपाल संस्कृत विश्वविद्यालयकी लेखा अधिकृत अम्बिका अधिकारीले पूर्वकर्मचारीलाई पेन्सन खुवाउनुपर्ने भएकाले विश्वविद्यालयमा बजेट अभाव हुने गरेको बताइन् । उनी भन्छिन्, ‘विश्वविद्यालयले वार्षिक झन्डै १ करोड ८० लाख रुपैयाँ पेन्सनमा खर्च गर्नुपर्छ ।’
वाल्मीकि विद्यापीठका उपप्रशासक घनश्याम सिग्देलले जीविकोपार्जनसँग जोडिएकाले संस्कृत शिक्षामा आकर्षण बढेको बताए । ‘योगमा दक्ष व्यक्तिले गाउँठाउँमै काम पाउँछन् भने विशेषगरी कर्मकाण्ड (धार्मिक विधि–विधान) जानेका व्यक्तिको विदेशमा समेत माग बढेको छ,’ उनले भने । अहिले संस्कृत सिक्नेहरूको दायरा पनि फराकिलो भएको छ । युवासँगै सरकारी र निजी सेवाबाट अवकाश पाएकाहरू पनि संस्कृततर्फ आकर्षित छन् । ‘धेरैका छोराछोरी विदेशमा छन्, उनीहरू भेट्न विदेश गइरहन्छन्,’ सिग्देल भन्छन्, ‘कर्मकाण्ड जानेपछि विदेशमा पनि उनीहरू खाली बस्नु पर्दैन ।’ क्याम्पसको तथ्यांकअनुसार यो वर्ष मात्रै कर्मकाण्डको प्रारम्भिक कक्षामा १४२ जना भर्ना भएका छन् ।
जयतु संस्कृतम् आन्दोलन संस्कृतको विरोधमा थिएन, तर पनि यसले बिस्तारै शैक्षिक प्राथमिकता बदल्यो । आधुनिक शिक्षा प्रवर्द्धन हुँदै जाँदा संस्कृतको प्रभाव बिस्तारै घट्न थाल्यो ।तर सबैको बुझाइ एउटै छैन । आचार्य तहका विद्यार्थी २३ वर्षीय नवीन पोखरेलले संस्कृति र अनुशासन सिक्न संस्कृत पढेको बताए । ‘म पुजारी परिवारबाट आएकाले यो विषय रोजें र यसैलाई निरन्तरता दिइरहेको छु,’ उनले भने । हरिहर संन्यास आश्रममा पढिरहेका रुस्बिन अधिकारीले पारिवारिक आर्थिक अवस्था कमजोर भएकाले संस्कृत रोजेको बताए । वाल्मीकि दर्शनशास्त्रमा शास्त्री पढिरहेका सोमत चालिसेले पूर्वीय दर्शन र करियरको सम्भावना देखेर यो विषय रोजेको बताए ।
संस्कृत व्याकरणमा आचार्य सकेर अहिले प्राध्यापन गरिरहेका बुद्धि कुमाल संस्कृतसँगै अन्य आधुनिक विषय पनि पढ्न पाइने भएकाले आदिवासी–जनजाति समुदाय पनि संस्कृत शिक्षामा आकर्षित भएको बताउँछन् । संस्कृतप्रतिको आकर्षण बढ्नुमा निःशुल्क शिक्षा र आवासले पनि काम गरेको उनको भनाइ छ । योगी दयानाथ मगरले रोजगारीका लागि संस्कृत विषय रोजेको बताए । काठमाडौंको पशुपति क्षेत्रस्थित योगी नरहरिनाथ पुस्तकालयमा काम गर्दा उनलाई संस्कृत ग्रन्थहरूको व्यवस्थापन र सूचीकरण गर्न गाह्रो भयो । यस कामका लागि संस्कृत अनिवार्य भएपछि उनले औपचारिक अध्ययन सुरु गरे । उनी अहिले त्रिभुवन विश्वविद्यालयमा संस्कृत साहित्यमा आचार्य गर्दै छन् ।
संस्कृतमा लामो समयपछि आकर्षण देखिएको हो । काठमाडौंको तीनधारा संस्कृत छात्रावासका विद्यार्थीले राणा शासनविरुद्ध १ असार २००४ मा ‘जयतु संस्कृतम्’ आन्दोलन सुरु गरेका थिए । यो नेपालको पहिलो संगठित विद्यार्थी आन्दोलन थियो । विद्यार्थीहरूले संस्कृतसँगै अंग्रेजी, विज्ञान, गणित र भूगोलजस्ता आधुनिक विषय पनि पढ्न पाउनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए । जबकि राणा शासनताका सर्वसाधारणका छोराछोरीले आधुनिक शिक्षा लिन पाउने अवस्था थिएन । जयतु संस्कृतम् आन्दोलन संस्कृतको विरोधमा थिएन, तर पनि यसले बिस्तारै शैक्षिक प्राथमिकता बदल्यो । आधुनिक शिक्षा प्रवर्द्धन हुँदै जाँदा संस्कृतको प्रभाव बिस्तारै घट्न थाल्यो ।
काठमाडौं विश्वविद्यालयको भाषा तथा आमसञ्चार विभागका प्रमुख एवं संस्कृतविद् निर्मलमणि अधिकारीका अनुसार २०२८ सालमा राष्ट्रिय शिक्षा पद्धति योजना लागू भएपछि संस्कृतको ओरालो यात्रा अझै तीव्र बन्यो । ‘त्यो योजनाले संस्कृतलाई हटाएको थिएन, तर शिक्षाको उद्देश्य आधुनिक आवश्यकताअनुरूप हुनुपर्ने भनेर परिभाषित गरियो । यसले संस्कृत शिक्षा बिस्तारै ओझेलमा पर्दै गयो,’ उनले भने । यस योजनाले विज्ञान, प्रविधि र प्राविधिक प्रशिक्षणलाई प्राथमिकतामा राखेको थियो ।
संस्कृतप्रतिको आकर्षणमा व्यावहारिक पक्षले केही काम गरेको देखिए पनि ठूलो निर्णायक भूमिका छिमेकी भारतको राजनीतिक परिवर्तनले खेलेको वाल्मीकि विद्यापीठका प्राचार्य लामिछानेको बुझाइ छ ।त्यसपछि सरकारी सुविधा (निःशुल्क खाना र आवास) पाएर संस्कृत शिक्षा लिइरहेकाहरू पनि आधुनिक शिक्षातिर लागे । २०४६ सालमा जनआन्दोलन भएर पञ्चायती व्यवस्था समाप्त भए पनि संस्कृत शिक्षाको अवस्था सुध्रिएन । पहिचानको राजनीति र २०५२ सालमा सुरु भएको माओवादी सशस्त्र द्वन्द्वले संस्कृतलाई झन् पछाडि धकेल्यो । पहिचानको राजनीति गर्नेहरूले यस विषयलाई ब्राह्मणवादसँग जोडेर निसानामा राखे । द्वन्द्वकालमा कतिपय ठाउँमा संस्कृत शिक्षकमाथि आक्रमण हुने र परीक्षा बिथोलिने घटनासमेत भएको अधिकारी सम्झन्छन् ।
तर, २०७७ सालमा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलले कक्षा १ देखि नै संस्कृत अध्ययन गराउने निर्णय गरेपछि यसले फेरि चर्चा पायो । केही शिक्षाविद्ले तत्कालीन माओवादी केन्द्रका नेता पोखरेलको निर्णयको विरोध गरे । साना बालबालिकालाई यो विषय बोझ हुने शैक्षिक अभियन्ताहरूको तर्क थियो । शिक्षा मन्त्रालयको विद्यालय शिक्षा महाशाखाका अधिकृत कृष्ण पोखरेलले २०७७ पछि विद्यालय तहको पाठ्यक्रममा ऐच्छिक विषयका रूपमा संस्कृत समावेश गरिएको बताए । २०५७ अघिसम्म भने ६ देखि ८ कक्षासम्म संस्कृत अनिवार्य विषय थियो ।
संशोधन मण्डलका इतिहासविद् महेशराज पन्तले संस्कृतको ओरालो यात्रामा ‘आर्थिक पक्ष’ मुख्य रहेको बताए । उनका अनुसार संस्कृत पढेर दिगो आय–आर्जनको अवसर देखिएन, जसकारण विद्यार्थीहरू यस विषयमा आकर्षित भएनन् । ‘संस्कृत पढेकाहरू बेरोजगार त भएनन् होला, तर धेरैले जीविकोपार्जनमै ठूलो संघर्ष गर्नुपर्ने अवस्था रह्यो । जसले नयाँ विद्यार्थीलाई यस क्षेत्रमा प्रवेश गर्न निरुत्साहित गर्यो,’ उनले भने । सत्तामा रहनेले प्रयोग र प्रवर्द्धन नगरेसम्म कुनै पनि भाषाले बृहत्तर मान्यता नपाउने उनले बताए ।
ऐतिहासिक रूपमा ११ औं र १२ औं शताब्दीसम्म भारतीय उपमहाद्वीपमा संस्कृतकै वर्चस्व थियो । त्यसपछि मुगल शासनमा फारसी र १८ औं शताब्दीदेखि अंग्रेजीले प्राथमिकता पायो । यो सबै सत्ता रूपान्तरणको प्रभाव थियो । संस्कृतप्रतिको आकर्षणमा व्यावहारिक पक्षले केही काम गरेको देखिए पनि ठूलो निर्णायक भूमिका छिमेकी भारतको राजनीतिक परिवर्तनले खेलेको वाल्मीकि विद्यापीठका प्राचार्य लामिछानेको बुझाइ छ । सन् २०१४ मा नरेन्द्र मोदी र भाजपा सत्तामा आएपछि हिन्दु पहिचान र संस्कृतको पुनरुत्थानमा जोड दिँदै आएका छन् । यसको प्रभाव नेपालमा पनि परेको उनले बताए ।
‘मोदीसँगै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले पनि हिन्दु परम्परा र संस्कृत शिक्षाको प्रवर्द्धनमा विशेष चासो दिएका छन्,’ उनले भने । नेपालमा संस्कृतको पुनर्उत्थानमा सक्रिय संस्था जयतु संस्कृतम्का सदस्य–सचिव नवराज कट्टेल पनि यसमा सहमत छन् । ‘भारतमा भाजपाको उदयले नेपालमा पनि संस्कृतप्रतिको रुचि बढाएको कुरा साँचो हो,’ उनले भने ।
नेपालमा पनि यसको प्रभाव देखिन थालेको छ । गत १३ चैतमा प्रधानमन्त्री वालेन्द्र शाहको शपथ ग्रहणमा वैदिक परम्पराको झल्को दिने गरी १०८ बटुक र बौद्ध भिक्षुहरूले संस्कृतका मन्त्र उच्चारण गरेका थिए । नयाँ वर्षका अवसरमा शुभकामना दिँदा पनि प्रधानमन्त्री शाहले संस्कृत श्लोक प्रयोग गरेका थिए ।
कतिपय राजनीतिक विश्लेषकले शपथ समारोहलाई भाजपाको परम्परासँग जोडेर हेरेका छन् । तर, प्रधानमन्त्रीको सचिवालयका सन्तोष गिरीले त्यसलाई अस्वीकार गर्दै भने, ‘प्रधानमन्त्रीले केवल आफूले विश्वास गर्ने सांस्कृतिक अभ्यासलाई पछ्याउनुभएको हो ।’
सांसदहरूको शपथ ग्रहणका क्रममा राप्रपाकी खुश्बु ओलीले पनि संस्कृतमै शपथ लिइन् । विद्यालयमा छँदा संस्कृत पढेकी खुश्बुले यस भाषाको संरक्षण र प्रवर्द्धन गर्ने आफ्नो लक्ष्य रहेको बताइन् । ‘यसलाई राजनीतिक रूपमा लिनु आवश्यक छैन,’ उनले भनिन् । कतिपयले वैदिक विधिबाट लिइएको प्रधानमन्त्रीको शपथ धर्मनिरपेक्ष संविधानको मर्मविपरीत रहेको टिप्पणी गरेका छन् ।
राजनीतिक विश्लेषक गेजा शर्मा वाग्ले भने यसमा सहमत छैनन् । धर्म व्यक्तिगत विषय भएकाले यसमा राज्यले हस्तक्षेप गर्न नहुने वाग्लेको तर्क छ । ‘राज्यको आफ्नो कुनै धर्म हुँदैन, तर आफ्नो धर्म र संस्कृतिको अभ्यास गर्ने पूर्ण स्वतन्त्रता नागरिकलाई हुन्छ,’ उनले भने, ‘व्यक्तिगत विश्वासको सम्मान र संरक्षण गर्नु राज्यको दायित्व हो ।’ धर्म, संस्कृत भाषा र संस्कृति फरक कुरा भएकाले सबैलाई एउटै डालोमा राखेर हेर्न नहुने वाग्लेले बताए ।
संस्कृतमा अहिले विदेशीको पनि आकर्षण बढ्दो छ । वाल्मीकि क्याम्पसका अध्यापक प्रकाश सापकोटाले चीन, अमेरिका, रुस, थाइल्यान्डलगायत देशका २३ विद्यार्थी भर्ना भएको बताए ।संस्कृतमा अहिले विदेशीको पनि आकर्षण बढ्दो छ । वाल्मीकि क्याम्पसका अध्यापक प्रकाश सापकोटाले चीन, अमेरिका, रुस, थाइल्यान्डलगायत देशका २३ विद्यार्थी भर्ना भएको बताए । क्याम्पसले हरेक वर्ष मार्च र सेप्टेम्बरमा विदेशी विद्यार्थीको भर्ना लिने गरेको छ । विश्वभर योगको चर्चा र आध्यात्मिक शान्तिको खोजीले विदेशीलाई संस्कृत शिक्षामा आकर्षित गरेको सापकोटाले बताए । ‘भौतिक सुख–सुविधा पाइसकेपछि पश्चिमाहरू आन्तरिक शान्तिको खोजीमा संस्कृत पढ्न आउने गरेका छन्,’ उनले भने । पछिल्लो समय पश्चिमा देशमा योग र प्राकृतिक चिकित्साले चिकित्सा पद्धतिको मान्यता पाउन थालेपछि ती क्षेत्रमा संलग्नहरू समेत संस्कृत सिक्न उत्सुक देखिएको उनले बताए ।
भारतको अशोका विश्वविद्यालयका सहप्राध्यापक नीराजन काफ्लेले संस्कृतप्रतिको चासोलाई यथार्थपरक ढंगले बुझ्नुपर्ने बताए । ‘संस्कृत पढ्न चाहनेको संख्या पक्कै छ । तर यसलाई यथार्थपरक रूपमा बुझ्नुपर्छ । ठूलो जनसंख्यामध्ये सीमित व्यक्तिले मात्रै सक्रिय रूपमा संस्कृत पढ्छन् । यो अन्य आधुनिक भाषाजस्तो आममानिसको चासोको विषय बनिसकेको छैन,’ उनले भने । दक्षिण एसियाको इतिहास, दर्शन, साहित्य र धर्ममा रुचि राख्नेहरूलाई पनि संस्कृत भाषाले आकर्षित गरेको उनले बताए ।
संस्कृत शिक्षा पढ्ने धेरैजसो दुर्गम र आर्थिक रूपमा विपन्न परिवारका बालबालिका नै धेरै छन् । निःशुल्क शिक्षा र आवासको सुविधाले उनीहरूलाई आकर्षित गरेको हो । गार्गी कन्या गुरुकुलकी प्रधानाध्यापक सुवेदी भन्छिन्, ‘कतिपय अवस्थामा संस्कृतको महत्त्व नै नबुझी विद्यार्थी भर्ना भइरहेका छन् । धेरैजसो विद्यार्थी खर्च नलाग्ने भएकाले भर्ना हुन आउँछन् । सहरमा छोराछोरी पढाउने धोको भए पनि खर्च धान्न नसक्ने अभिभावकका लागि गाँस र बासको सुविधा भएका गुरुकुलहरू उत्तम विकल्प बनेका छन् ।’
देवघाटका अधिकांश संस्कृत विद्यालयहरूले आफूहरू दाताको चन्दाबाट चलेको र सरकारी सहयोग नलिएको दाबी गर्ने गरेका छन् । तर, शिक्षा मन्त्रालयका अधिकृत कृष्ण पोखरेलले यो दाबी सही नरहेको बताए । उनका अनुसार सुरुमा आफ्नै स्रोतमा खुले पनि कतिपय गुरुकुलहरूले त्यसपछि सरकारलाई बजेट विनियोजनका लागि दबाब दिने गरेका छन् । पोखरेल भन्छन्, ‘शिक्षा मन्त्रालय मातहत सञ्चालित गुरुकुलहरूलाई विद्यार्थी संख्याका आधारमा वार्षिक ५ लाख रुपैयाँसम्म सरकारी अनुदान दिने गरिएको छ ।’
संस्कृतमा पहुँच बढे पनि समाजमा जातीय विभेद र बहिष्करणको समस्या अझै हटेको छैन । भागवत् कथावाचन गर्ने आचार्य कृष्ण दमाई गुरुकुलहरूमा अझै पनि विभेद कायम रहेको बताउँछन् । ‘आजको समयमा पनि गुरुकुलमा बसेर आफ्नो जात खुलाउँदै कर्मकाण्ड पढ्न दलित समुदायलाई सजिलो छैन,’ उनले भने । विभिन्न व्यक्तिको सहयोगमा दाङबाट आचार्यसम्मको पढाइ पूरा गरेका दमाई अहिले व्यावसायिक रूपमा कथावाचन गर्छन् ।
संस्कृतमा पहुँच बढे पनि समाजमा जातीय विभेद र बहिष्करणको समस्या अझै हटेको छैन । भागवत् कथावाचन गर्ने आचार्य कृष्ण दमाई गुरुकुलहरूमा अझै पनि विभेद कायम रहेको बताउँछन् ।कथावाचकका रूपमा काम गरे पनि विभेदले आफूलाई अझै नछाडेको उनको अनुभव छ । ‘संस्कृतका अन्य विधामा विशेषज्ञता हासिल गर्ने अवसर पाएको भए शिक्षण वा प्राज्ञिक क्षेत्रमा लाग्थें होला । अन्य अवसर नहुँदा मेरा लागि कथावाचक बन्नु नै सबैभन्दा ठूलो सफलता भयो,’ उनले भने । चितवनको बागेश्वरीस्थित योगी नरहरिनाथ संस्कृत गुरुकुलका प्रधानाध्यापक इमानाथ चालिसेले आफ्नो गुरुकुलमा अहिले दलित र जनजातिसहित ३५ विद्यार्थीले संस्कृत पढिरहेको बताए । दलित विद्यार्थीहरूलाई विगतमा कर्मकाण्ड सिकाइए पनि व्यावहारिक उपयोग कम भएकाले अहिले गुरुकुलले नैतिकशास्त्र र ज्योतिषशास्त्रलाई प्राथमिकता दिएको छ ।
‘हामीले पढाएर मात्र हुँदैन, दलित समुदायले गराएको पूजापाठ र कर्मकाण्डलाई समाजले पनि स्वीकार गर्नुपर्छ,’ चालिसेले भने, ‘हामीले दिने शिक्षा विद्यार्थीको भविष्य र जीविकोपार्जनको बाटो बन्नुपर्छ । त्यसैले पछिल्लो केही वर्षदेखि हामीले गैरब्राह्मण विद्यार्थीलाई कर्मकाण्ड सिकाउन छाडेका छौं ।’ योगी दयानाथ मगरका अनुसार ब्राह्मणबाहेकका समुदायलाई संस्कृतमा कर्मकाण्ड पढ्न अझै गाह्रो छ । केही समयअघिसम्म त क्षेत्री समुदायले समेत कर्मकाण्ड पढ्न संघर्ष गर्नुपरेको उनी बताउँछन् ।
लामो समयदेखि संस्कृतलाई नेपालमा कर्मकाण्डमै सीमित गरियो, जसले यसको बौद्धिक दायरा खुम्च्याइदियो । संस्कृतलाई कर्मकाण्डमा मात्रै सीमित राख्न नहुने र यसको इतिहासलाई मध्यनजर गरेर अर्थपूर्ण पुनर्उत्थान गर्नुपर्ने इतिहासकार पन्तले बताए । यसका लागि संस्कृतलाई आधुनिक शिक्षासँग जोडेर होइन, मौलिक पाठ्यक्रम र बौद्धिक परम्पराअनुसार पृथक् ढंगले अध्ययन गराउनुपर्ने उनको तर्क छ । जयतु संस्कृतम्का सदस्य–सचिव नवराज कट्टेलले
अप्ठ्यारो समयमा संस्कृतलाई कर्मकाण्डले जोगाएको बताए । पूजापाठबाट जीविकोपार्जन हुने सम्भावनाले नै यसमा मानिसको रुचि टिकेको उनको विश्लेषण छ । तर, संस्कृत दर्शन, गणित, ज्योतिष, भाषा, चिकित्सा र राजनीतिजस्ता ज्ञानको भण्डार भएको कुरामा उनी जोड दिन्छन् ।
कट्टेलले संस्कृत शिक्षाको गुणस्तरमा पनि चिन्ता जनाएका छन् । अहिले संस्कृत पढेकाहरूका लागि ‘कथावाचन’ एउटा आकर्षक पेसा बनेको छ, तर उनीहरूले गर्ने व्याख्यामा गहिराइ छ कि छैन भन्ने प्रश्न उत्तिकै महत्त्वपूर्ण रहेको उनले बताए । उनी भन्छन्, ‘वेदान्त दर्शनको विस्तृत व्याख्या अचेल बिरलै सुन्न पाइन्छ, कहिलेकाहीं व्याख्या सतही मात्र हुने गरेका छन् ।’ वाल्मीकि क्याम्पसका धर्मशास्त्र विभाग प्रमुख देवमणि भट्टराई पनि कट्टेलको तर्कमा सहमत छन् । कथावाचकहरूलाई तीन श्रेणीमा बाँड्दै भट्टराई भन्छन्, ‘माथिल्लो श्रेणीका कथावाचक निकै कम छन् । दोस्रो र तेस्रो श्रेणीका वाचकहरूले कथा सुनाउने क्रममा प्रायः धर्मको मूल मर्मलाई नै गलत ढंगले व्याख्या गरिरहेका हुन्छन् ।’ धार्मिक दर्शनको सतही बुझाइका कारण यस्तो समस्या देखिएको भट्टराईको ठम्याइ छ ।
