यसपटक नेपालतर्फबाट एकैदिन २ सय ७० भन्दा बढी आरोहीले शिखर चढेपछि काठमाडौंमा खुसीयाली मनाइयो । तर, हिमालबाट आएका तस्बिरहरूले एकै दिन सयौं आरोहीलाई शिखरमा जान दिने नेपालको निर्णयमाथि पुनः प्रश्न उठाएका छन् ।
What you should know
काठमाडौँ — सगरमाथाले कति मानिसको भार थेग्न सक्छ? विश्वको सर्वोच्च शिखरमा यसवर्षको वसन्त ऋतुको आरोहणको क्रममा पुनः देखिएको अत्यधिक भीडले यो प्रश्न सोधिरहेको छ ।
सञ्चारमाध्यममा यसैसाता भाइरल भएको एउटा ड्रोन भिडियो र तस्बिरहरूले क्याम्प–३ बाट क्याम्प–४ जाने साँघुरो बाटोमा लागेको आरोहीहरुको भीडलाई देखाउँछ । आरोहण कम्पनीहरुको अनुमान अनुसार, एकै समयमा सो रुटमा ३०० भन्दा धेरै मानिसहरू थिए ।
आरोहण कम्पनीहरुका अनुसार २० मे का दिनमात्रै नेपालतर्फबाट २७० जना बढी आरोहीले शिखर चुमेका छन्, जसले ८,८४८.८६ मिटर अग्लो हिमालको सुरक्षा र नियमनमाथि पुनः चिन्ता जगाएको छ।
‘हामी संख्याको पुष्टि गर्ने प्रक्रियामै छौं, तर यो संख्या अघिल्ला वर्षहरू जस्तै रहेको देखिन्छ,’ पर्वतारोहण गतिविधिलाई अनुगमन गर्ने सरकारी निकाय, पर्यटन विभागकी निर्देशक निशा थापा राउतले बताइन् ।
यी दृश्यहरूले सन् २०१९ को ‘सगरमाथा ट्राफिक जाम’को सम्झना गराएका छन् । त्यसबेला पर्वतारोही निर्मल पुर्जाले मे २२–२३ मा हिलारी स्टेप नजिक आरोहीहरूको लामो लामको तस्बिर खिचेका थिए । त्यो भीडका कारण कम्तीमा तीन जनाको ज्यान गएको थियो । उक्त वर्ष २३ मे मा कीर्तिमानी रुपमा नेपाल र तिब्बत दुवैतर्फबाट गरेर कुल ३५४ जनाले सगरमाथा आरोहण गरे । मौसम थोरै समयमात्रै खुलेकाले त्यसवर्ष एकैपटक ठूलो संख्यामा पर्यटक शिखरमा पुग्न हानथाप गरिरहेका थिए ।
यसपटक नेपालतर्फबाट एकैदिन २ सय ७० भन्दा बढी आरोहीले शिखर चढेपछि काठमाडौंमा खुसीयाली मनाइयो । तर, हिमालबाट आएका तस्बिरहरूले एकै दिन सयौं आरोहीलाई शिखरमा जान दिने नेपालको निर्णयमाथि पुनः प्रश्न उठाएका छन् ।
कीर्तिमानी रुपमा ३२औं पटक सगरमाथा आरोहण गरेर गत शुक्रबार काठमाडौं आइपुगेका अनुभवी आरोही कामीरिता शेर्पाले हिमालमा यसपाली भीड बढेको बताए । ‘यसपटक निकै भीड थियो । गएको वर्षभन्दा धेरै मानिसहरू थिए,’ विमानस्थलमा अवतरण गरेलगत्तै उनले भने, ‘यसलाई अलिकति नियन्त्रण गर्नुपर्ने देखिन्छ ।’
बढ्दो भीड, प्रदूषण र सुरक्षा जोखिमलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले सन् २०२४ को अप्रिलमै सरकारलाई सगरमाथा र अन्य हिमालहरूमा आरोहीको संख्या नियमन गर्न आदेश दिइसकेको छ ।
पछिल्ला वर्षहरूमा सगरमाथामा देखिने ‘ट्राफिक जाम’, बढ्दो फोहोर र छोटो समय मौसम खुल्दा एकैपटक शिखरमा पुग्ने होडबाजीका कारण हुने मानवीय क्षतिलाई लिएर चर्को आलोचना हुने गरेको छ ।
पर्यटन विभागकी निर्देशक राउतका अनुसार, यसैसाता सगरमाथाको सफल आरोहण गरी फर्कने क्रममा दुई भारतीय आरोहीको मृत्यु भएको छ । एकजनाको क्याम्प–२ मा र अर्काको हिलारी स्टेप नजिक ज्यान गएको हो ।
दुवै आरोहीले गत बिहीबार शिखर चुमेका थिए र ओर्लने क्रममा उनीहरूको मृत्यु भएको थियो । अधिकारीहरूका अनुसार मृत्युको यकिन कारण खुलेको छैन, यद्यपि पर्वतारोहण क्षेत्रका विज्ञहरूले अत्यधिक थकान र कमजोरीले ज्यान गएको हुनसक्ने अनुमान गरेका छन् ।
यी घटनाहरूसँगै, अप्रिलमा सुरु भएको यसवर्षको आरोहण सिजनमा सगरमाथामा ज्यान गुमाउनेको संख्या पाँच पुगेको छ ।
गिनिज वर्ल्ड रेकर्ड्समा सन् २०१९ को मे २३ लाई एकै दिन सबैभन्दा धेरै आरोहीले सगरमाथा आरोहण गर्ने दिनका रुपमा दर्ज गरिएको छ । उक्त दिन नेपाल र तिब्बत दुवैतर्फबाट गरेर ३५४ जनाले सगरमाथाको आरोहण गरेका थिए । पर्यटन विभागका अनुसार नेपालतर्फबाट मे २२ मा २ सय २३ र मे २३ मा २ सय १२ जनाले सगरमाथा चढेका थिए ।
सर्वोच्च अदालतका न्यायाधीशहरू सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले सगरमाथाको वहन क्षमता र सुरक्षा अवस्थालाई आधार मानेर आरोहीको संख्या निर्धारण गर्न सम्बन्धित निकायलाई आदेश दिएको थियो ।
सगरमाथा ‘विश्वको सबैभन्दा अग्लो फोहोरको थुप्रो’ बन्दै गएको भन्दै सरोकारवालाहरुले चिन्ता प्रकट गरिरहेको अवस्थामा यो निर्णय आएको थियो । पर्यटन विभागकी निर्देशक राउतले भनिन्, ‘हामी सर्वोच्च अदालतको आदेशबारे पूर्ण रूपमा सचेत छौं । तर, अहिले हामीसँग आरोहण अनुमतिपत्र नियन्त्रण गर्ने कुनै कानुन छैन । यसमा कुनै सीमा तोकिएको छैन ।’
अधिकारीहरूका अनुसार सगरमाथाको आरोहण वसन्त ऋतुको छोटो समयमा हुने मौसमको अनुकूलतामा निकै निर्भर रहन्छ ।
‘३६५ दिनमा, सगरमाथामा मौसमको अवस्था हेरेर करिब १५ दिन वा सोभन्दा कम समय मात्र आरोहण गर्न सकिन्छ,’ राउतले बताइन्, ‘यो सबै कुरा मौसममा भर पर्छ ।’
राष्ट्रिय सभाले गत फेब्रुअरी ९ मा ‘एकीकृत पर्यटन विधेयक’ पारित गरेको छ, जसमा पर्वतारोहणका कडा नियमहरू, सुरक्षा र बीमा प्रावधानहरू र सगरमाथाजस्ता अग्ला हिमालहरू सफा राख्ने उद्देश्यले स्थायी वातावरणीय कोषको व्यवस्था गरिएको छ । यो विधेयक अब प्रतिनिधिसभामा अघि बढ्ने अपेक्षा गरिएको छ ।
पर्यटन मन्त्रालयका अधिकारीहरूका अनुसार, यसअघिका नियमहरू अस्थायी र फितलो रूपमा कार्यान्वयन हुने गरेकाले अनुगमनलाई बलियो बनाउन पहिलोपटक पर्यटन कानुनमै पर्वतारोहणका प्रावधानहरू समावेश गरिएको हो ।
‘आरोहणलाई व्यवस्थित गर्न र वातावरण नियन्त्रण गर्न यो कानुन लागू हुनेमा हामी आशावादी छौं,’ राउतले भनिन्, ‘आखिर, सुरक्षा नै सबैभन्दा महत्त्वपूर्ण कुरा हो ।’
प्रस्तावित कानुनको एक प्रमुख प्रावधान अनुसार, सगरमाथा आरोहणको अनुमति पाउनुअघि आरोहीले नेपालमा कम्तीमा ७,००० मिटरभन्दा अग्लो एक हिमालको सफल आरोहण गरेको हुनुपर्नेछ । अधिकारीहरू भन्छन्, ‘यो मापदण्डको उद्देश्य अनुभवहीन आरोहीहरूलाई सगरमाथातर्फ लाग्न निरुत्साहित गर्नु हो । किनकि, भीडभाड, दुर्घटना र उद्धार कार्यमा दबाब बढ्नुको मुख्य कारण नै अनुभवको कमी मानिन्छ ।’
प्रस्तावित विधेयकमा आरोहण सिजन, अनुमतिपत्रका सर्तहरू, आरोहण मापदण्ड, आवेदन शुल्क र सबै आरोहीहरूका लागि अनिवार्य स्वास्थ्य प्रमाणपत्रजस्ता प्रावधानहरू समावेश गरिएका छन् ।
यस वर्षको सगरमाथा आरोहण सिजन निकै कठिन परिस्थितिमा सुरु भएको थियो । खुम्बु आइसफलमा रहेको ठूलो र अस्थिर ‘सेराक’ (बरफको ढिक्का) ले क्याम्प–१ मुनीको आरोहण रुट अवरुद्ध भयो । बाटो खुलाउँदासम्म झण्डै तीन साता आरोहण ढिलो भएको थियो । सगरमाथा प्रदूषण नियन्त्रण समितिका अनुसार, उक्त सेराक करिब ५५ मिटर लामो, ३७ मिटर चौडा र २८ मिटर अग्लो थियो र त्यसमा रहेका कैयौं चिराहरूले यसलाई अत्यन्त जोखिमपूर्ण र अस्थिर बनाएका थिए ।
१९ दिनको ढिलाइपछि, अप्रिल २८ मा आइसफल हुँदै जाने बाटो खुल्यो । त्यसपछि बेस क्याम्पमा रोकिएर बसेका आरोही र गाइडहरू उकालो लाग्न थाले ।
सगरमाथा बेस क्याम्पमा खटिएका सरकारी प्रतिनिधि ज्ञानेन्द्र श्रेष्ठका अनुसार, अधिकारीहरूले तत्कालै अनुमतिपत्र सीमित गर्न नसके पनि आरोहणको मौसमको समयतालिकालाई पुनर्विचार गर्न सकिने बताए । ‘जलवायु परिवर्तनका कारण सगरमाथाको अवस्था पहिले जस्तो छैन,’ श्रेष्ठले भने,‘मे महिनाको तेस्रो सातासम्म त क्याम्प–२ मा खोला बग्न थाल्छ । कहिलेकााहिँ त बेस क्याम्पमै बग्न थाल्छ । जो विगतमा असामान्य थियो,’ उनले भने ।
डोरी टााग्ने र भर्याङ राख्ने काम अप्रिलको मध्यभित्रै सकिने भएकाले आरोहण गतिविधिहरूलाई अप्रिलको अन्त्यतिर सार्न सकिने सम्भावना रहेको उनले बताए । ‘मे महिनाको मध्यसम्म किन पर्खने ?’ उनले प्रश्न गरे, ‘यो काम अप्रिलमै गर्न सकिन्छ ।’
