जापानको रैथाने प्रजातिको अन्तिम बाँकी रहेको आईबिसिज चराको सन् २००३ मा साडो टापुमा मृत्यु भएको थियो । तर चीनले प्रजनन कार्यक्रममा सहयोग गरेपछि यो प्रजाति फेरि ब्युँतियो ।
टोकियो — जापानको नोटो क्षेत्रको हाकुई सहरमा आठ वटा रंगीन ‘आईबिसिज’ चरालाई प्राकृतिक बासस्थानमा छाडिएको छ । आइतबार आयोजित एक विशेष समारोहमा यी संकटापन्न चराहरूलाई आ–आफ्नो काठका पिँजडाहरूबाट खुला आकाशमा छोडिएको थियो ।
नोटो क्षेत्रमा दशकौंअघि लोप भइसकेका चराहरु फेरि फर्किएका हुन् । आइतबार यी चराहरूलाई खुला आकाशमा छाडिनुलाई नोटो क्षेत्रका लागि एउटा शुभ संकेतका रूपमा पनि हेरिएको छ । यस क्षेत्रमा सन् २०२४ मा गएको विनाशकारी भूकम्पले निम्त्याएको क्षतिे पुनर्निर्माण चलिरहेको छ ।
जापानका युवराज अकिशिनो, युवराज्ञी किको र अन्य अधिकारीहरूले पिँजडा वरपर बाँधिएको रिबन काट्नासाथ चराहरू आकाशमा उडेका थिए, जसलाई हेरेर त्यहाँ उपस्थित स्थानीय बासिन्दाहरूले खुसीयाली मनाए ।
अत्यधिक शिकार र वातावरणीय विनाशका कारण सन् १९७० को दशकमा जापानका टापुहरुबाट चराहरू लोप हुन थालेका थिए । जापानको रैथाने प्रजातिको अन्तिम बाँकी रहेको आईबिसिज चराको सन् २००३ मा साडो टापुमा मृत्यु भएको थियो ।
तर, चीनले प्रजनन कार्यक्रममा सहयोग गरेपछि यो प्रजाति फेरि ब्युँतियो । जापानको वातावरण मन्त्रालयका अनुसार, सन् १९९९ मा चीनद्वारा उपहारस्वरूप दिइएको एक जोडी चराबाट कृत्रिम प्रजनन गराई नियन्त्रित वातावरणमा पहिलो पटक 'जापानी क्रेस्टेड आईबिसिज’ को बच्चा जन्माउन सफलता मिलेको थियो ।
त्यसयता गरिएका प्रजनन र संरक्षणका प्रयासहरूले यी चराहरूको संख्या बढाउन ठूलो मद्दत पुर्याएका छन् । मन्त्रालयका अनुसार, सन् २००८ मा साडो संरक्षण केन्द्रमा हुर्काइएका १० वटा चराहरूलाई सोही टापुको प्राकृतिक बासस्थानमा छाडिएको थियो, जहाँ अहिले तिनीहरूको संख्या बढेर करिब ५०० पुगेको छ ।
जापानमा ‘तोकी’ नामले चिनिने यी सेता चराहरू पूर्वी एसियाका रैथाने प्रजाति हुन् । पखेटा मुनिको सुन्तला–गुलाबी रङ र आँखा वरिपरिको चम्किलो रातो दागका कारण यी चराहरू निकै आकर्षक देखिन्छन् । यिनीहरु सिउर भएका सारस प्रजातिका चरा हुन् ।
