कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कतार सरकारद्वारा ५० हजार आप्रवासी कामदारलाई खाद्यान्‍न वितरण

काठमाडौँ — कतार सरकारले खाद्य संकटको जोखिममा परेका नेपालीसहित आप्रवासी कामदारका लागि खाद्यान्न सहयोग गरेको छ । उसले तत्कालका लागि ५० हजार कामदारलाई पुग्ने खाद्यान्न वितरण गर्न सम्बन्धित समुदायका प्रतिनिधिलाई उपलब्ध गराएको हो ।

कतार सरकारद्वारा ५० हजार आप्रवासी कामदारलाई खाद्यान्‍न वितरण

कतारको परराष्ट्र मन्त्रालय, प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालय, आन्तरिक मन्त्रालय, कतार च्यारिटी र ओरिडोले दूतावासको समन्वयमा खाद्य संकटमा परेका कामदारलाई वितरण गर्ने गरी आप्रवासी समुदायको प्रतिनिधिलाई खाद्यान्न उपलब्ध गराएको हो ।

नेपाली कामदारलाई खाद्यान्न वितरण गर्ने जिम्मेवारी गैरआवासीय नेपाली संघ, कतारलाई दिइएको छ । कतार सरकारले ५ हजार नेपाली कामदार, ७ हजार ५० बंगलादेशी, १३ हजार भारतीय, ९ हजार फिलिपिनो, ४ हजार ५ सय पाकिस्तानी र बाँकी अन्य समुदायलाई दिइएको कतार च्यारिटीले जनाएको छ ।

नेपाली समुदायका लागि पाएको खाद्यान्न नेपाली दूतावासमा भण्डार गरिएको छ । नेपाली दूतावास, एनआरएन र विभिन्न संघसंस्थाको सम्पर्कमा आएका पीडितलाई खाद्यान्न वितरण गर्न सुरु गरिएको छ । एनआरएनका उपाध्यक्ष उत्तम गुरुङ कतारी निकायबाट पाएको राहतमा थपेर खाद्यान्न उपलब्ध गराइने बताए । कतारी निकायबाट पाएको राहत १५ दिनलाई पुग्ने जनाएको छ । एनआरएनले कतार च्यारिटी र कतार रेड्क्रसियन्टमार्फत प्राप्त खाद्यान्नको राहत प्याकेज तथा एनसीसी श्रमिक कोषबाट १२ सय नेपालीलाई राहत वितरण गरिएको छ ।

कतार रेड क्रसियन्टको समन्वयमा एनआरएनले कतारको विभिन्न स्थानमा रहेका ७ हजार नेपाली कामदाराई स्वास्थ्य सामग्री (मेडिकल किट) उपलब्ध गराइएको आईसीसी सदस्य रमेश भट्टले वताए ।

सरकारले स्थापना गरेको आपत्कालीन कोषमा जम्मा गर्नको लागि नेपाली ९ लाख रुपैयाँ संकलन भइसकेको छ ।

प्रकाशित : जेष्ठ १५, २०७७ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?