१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

आधा मूल्यमा मकै बिक्री गर्दै झापाका किसान

अर्जुन राजवंशी

बिर्तामोड — झापाका किसानले आधा मूल्यमा मकै बिक्री गरिरहेका छन् । लकडाउनका कारण व्यापारी नआएकाले किसान आधा मूल्यमै मकै बिक्री गर्न बाध्य भएका हुन् । जिल्लाका किसानले यो अवधिमा गत वर्ष प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले मकै बिक्री गरेका थिए ।

आधा मूल्यमा मकै बिक्री गर्दै झापाका किसान

लकडाउनका कारण यस वर्ष प्रतिक्विन्टल एक हजार ५ सय रुपैयाँमा बिक्री गरिरहेको बाह्रदशी गाउँपालिका–१ खयरबारीका किसान सविन राजवंशीले बताए । ‘यो वर्ष मकैको भाउ छैन । १५ सय रुपैयाँ प्रतिक्विन्टलका भाउले बिक्री गर्न बाध्य छौं,’ उनले भने, ‘पोहोर यो बेला ३ हजार प्रतिक्विन्टलका दरले घरबाटै मकै उठाएका थिए ।’

राजवंशीले गत वर्ष ४ बिघामा मकै फलाएका थिए । राम्रो मूल्यमा बिक्री भएकाले यो वर्ष बढाएर ८ बिघामा मकै फलाएको उनले बताए । हाइब्रिड जातको मकै भएकाले प्रतिबिघा ६० क्विन्टलसम्म फलेको उनको भनाइ छ । ८ बिघा मकै खेतीमा करिब ५ लाख रुपैयाँ लगानी गर्नुपरेको उनको दाबी छ । ‘भाउ बढेन र सबै मकै बिक्री भएन भने यो वर्ष लगानी उठाउन पनि गाह्रो छ,’ उनले भने । भाउ नपाएकाले मकै सुकाउँदै बोरामा हालेर राख्नु परेको कचनकवल गाउँपालिका–१, घेराबारीका किसान नारायणसिंह राजवंशीले बताए ।

उनले पनि ८ बिघा जमिनमा मकै खेती गरेका छन् । ‘पोहोरको मूल्यले लोभ्यायो,’ उनले भने, ‘३ हजारभन्दा मूल्य घटेन । क्षेत्रफल बढाएर मेहनतसाथ खेती सपारियो । अहिले बिक्री गर्ने सयमा मूल्य नै छैन ।’ मूल्य नपाउँदा र मकै बिक्री नहुँदा निराश बनाएको किसान आचालु यादवले बताए । लिजमा लिएको २ बिघासमेत गरी उनले ४ बिघामा हाइब्रिड जातको मकै फलाएका छन् । ‘लगानी र मेहेनतअनुसार मकै राम्रो फलेको छ,’ उनले भने ।

जिल्लामा हिउँद, बर्खा र वसन्त गरी तीन सिजनमा मकै खेती हुने गरेको कृषि ज्ञान केन्द्रका प्रमुख निलकमल सिंहले जानकारी दिए । यो सिजन वसन्ते मकैको भएको उनले बताए । यस वर्ष बसन्ते मकै जिल्लामा ३६ हजार ५ सय हेक्टरमा खेती गरिएको सिंहले बताए । ‘मकैको माग दाना उद्योगमा बढी हुने हो । लकडाउनले सबै क्षेत्र ठप्प जस्तै रहेकाले त्यसको प्रभाव मूल्यमा पारेको देखिन्छ,’ उनले भने । लकडाउनले दुई महिनादेखि बजार बन्द रहेकाले किसानले यस वर्ष हरियो मकै पनि बिक्री गर्न नपाएको उनको भनाइ छ ।

जिल्लामा यस वर्षदेखि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकै जोन कार्यक्रम पनि लागू भएको छ । कनकाई नगरपालिका ५ र झापा गाउँपालिका ६ नम्बर वडामा गरी ५ सय हेक्टरमा मकै जोन सञ्चालित छ ।

परियोजनाअन्तर्गत विभिन्न शीर्षकमा अनुदान तथा प्राविधिक सहयोग पाएका किसानले उक्त क्षेत्रमा लक्षित जमिनभन्दा बढी क्षेत्रफलमा मकै फलाएका छन् । किसानले मूल्य नपाए पनि नेपालमा मकैको माग उच्च रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाईका वरिष्ठ कृषि अधिकृत रवीन्द्र सुवेदीले बताए । मार्केटिङ च्यानल र नीतिको अभावमा किसान सस्तो मूल्यमा मकै बिक्री गर्न बाध्य रहेको उनले बताए ।

प्रकाशित : जेष्ठ १५, २०७७ ११:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?