नेपालको पर्यटन क्षेत्रमा ‘अफ सिजन’मै पनि भारतीयका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायी उत्साही
What you should know
कञ्चनपुर, नेपालगन्ज, कपिलवस्तु, भैरहवा, चितवन, पोखरा, बागलुङ, वीरगन्ज र पाल्पा — मुलुकमा रहेका प्राकृतिक, सांस्कृतिक, धार्मिक र साहसिक पर्यटकीय गन्तव्यमा स्वदेशीसँगै विदेशी पर्यटक आउने क्रम ह्वात्तै बढेको छ । केही महिनायता छिमेकी मुलुक भारतबाट आउने पाहुनाका कारण पूर्वदेखि पश्चिमसम्मका प्रमुख गन्तव्यमा चहलपहल भइरहेको छ ।
नेपालको पर्यटन क्षेत्रमा ‘अफ सिजन’ मानिने महिनामै पनि भारतीयका कारण गन्तव्य गुलजार बनेपछि व्यवसायी मक्ख छन् । पर्यटन पूर्वाधारमा लगानी गरेर प्रतिफल प्राप्त नगरेका व्यवसायीसमेत उत्साही देखिन थालेका छन् । मुलुकका प्रमुख नाकाबाट दैनिक २ हजारभन्दा बढी भारतीय गाडी पर्यटक र तीर्थयात्री बोकेर भित्रिने गरेको पाइएको छ ।
यस्ता सवारीका साधनमा चारपांग्रे धेरै हुन्छन् । मोटरसाइकल र बस पनि छन् । प्रायः मोटरसाइकलमा दुई जना सवार हुन्छन् । एउटा गाडीमा कम्तीमा ४ जना यात्रा गर्छन् । धेरैजसो तीर्थयात्री बसमा आउँछन् । सीमा नाकादेखि मुलुकमा प्रमुख गन्तव्य पुग्ने राजमार्गमा यतिबेला भारतीय नम्बर प्लेटका गाडी धेरै भेटिन्छन् ।
पूर्वदेखि पश्चिमसम्म रहेका प्रमुख स्थलनाका भएर दिनहुँ भारतीय तीर्थयात्री र पर्यटक ओइरिइरहेका छन् । अहिले तीर्थयात्रीसँगै आफ्ना निजी र भाडाका गाडीमा सपरिवार नेपाल घुम्न आउने पनि धेरै छन् । दक्षिणका सीमावर्ती प्रमुख नाकाबाट भित्रिने भारतीय पाहुना मुस्ताङमा रहेको मुक्तिनाथसँगै पोखरा, काठमाडौं, चितवन, लुम्बिनी, बर्दियालगायत धार्मिक तथा पर्यटकीय गन्तव्य पुगिरहेका छन् ।
केही वर्षअघिसम्म पशुपतिनाथ, मुक्तिनाथलगायत धार्मिकस्थल भ्रमणको प्रयोजनका लागि आउने संख्या बढी हुने गरेको थियो । पछिल्लो समय परिवार र साथीसँगै घुमफिर र मनोरन्जनका लागि आउने पनि धेरै छन् । गर्मी छल्न पहाड र हिमाली क्षेत्रमा पुग्ने मात्र छैनन् । सीमावर्ती सहरमा रहेका क्यासिनो र स्पामा रमाउन आउने धेरै छन् ।
लुम्बिनी, बर्दिया, चितवनमा पनि भारतीय पर्यटक उल्लेखनीय छन् । धेरैजसो पहाडी दृश्यावलोकन र चिसो मौसमको आनन्द लिन पाल्पा, बागलुङ, मुस्ताङ, मनाङ र पोखरासम्म पुग्ने गरेका छन् ।
पर्यटक बोकेर बेलहिया नाकाबाट दैनिक सरदर ६ सय भारतीय गाडी भित्रिरहेको रूपन्देहीको भैरहवास्थित भन्सार कार्यालयका प्रमुख हरिहर पौडेलले जनाए । भारतमा विद्यालय बिदा भएका बेला दिनमै १ हजार २ सयसम्म पर्यटक बोकेका बाहन भित्रिने गरेको उनले बताए । यसरी भित्रिने सवारीका साधनमा मोटरसाइकल, कार र बस छन् ।
भैरहवा नाकाबाट गाडीसहित नेपाल घुम्न आउने भारतीय पर्यटकको संख्या बढ्न थालेपछि उनीहरूको सहजीकरणका लागि भन्सारमा अनलाइन सिस्टम लागू गरिएको भन्सार प्रमुख पौडेलको भनाइ छ । ‘विशेषगरी छुट्टी मनाउन धेरै भारतीय नेपालमा आउने गरेका छन्,’ पौडेलले भने, ‘भैरहवा नाका भएर आउने प्रायः भारतीयको गन्तव्य मुस्ताङको मुक्तिनाथ, कोरला, पोखरा तथा चितवन हो ।’
भैरहवा नाकाबाट भारतको केरला, मध्यप्रदेश, दिल्ली, उत्तरप्रदेश, पन्जाबलगायत ठाउँबाट आउँछन् । कतिपय भारतीय भारतको गोरखपुरसम्म रेलमा यात्रा गरेर आउँछन् । त्यहाँबाट भैरहवा नाका हुँदै नेपाल आउने गरेका छन् । भारतीयले नेपालमा सरदर तीन दिनसम्म बिताउने गरेको भन्सार कार्यालयको तथ्यांकले देखाउने गरेको पौडेलले जनाए ।
भारतीय साना गाडी नेपाल ल्याउँदा दैनिक प्रतिगाडी ६ सय रुपैयाँ र मोटरसाइकलको २ सय रुपैयाँ महसुल लाग्ने गर्छ । जरिवाना तिर्नुपरे गाडीको प्रतिदिन २ हजार ५ सय र मोटरसाइकलको १ हजार २ रुपैयाँ पर्छ । पहिला भारतीय सवारीसाधनसहित फर्किंदा भन्सारमा सामान्य जाँच गरे हुनेमा अहिले सबै कागजातसहित अनलाइनमा दर्ता हुनुपर्ने प्रावधान छ ।
भैरहवा नाकाबाट भारतीय पर्यटक बढी भित्रिनुमा पोखरालगायत नेपाली पर्यटन व्यवसायीले भारतका विभिन्न सहरमा गर्ने गरेको प्रवर्द्धनात्मक प्रचारप्रसारका कार्यक्रम रहेको भैरहवाका पर्यटन व्यवसायी तथा नेपाल होटल एसोसिएसनका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् । भारतीय पर्यटकले नेपालको नियम जानकारी नभएर बढी नगद पैसा ल्याएमा सुरक्षा निकायबाट जफतसहित कारबाही हुने नियमले उनीहरू समस्यामा पर्ने गरेको श्रेष्ठको भनाइ छ ।
‘नगद पैसा र सवारीसाधन ल्याउँदा नेपालमा धेरै दुःख पाइयो भन्ने भारतीय पर्यटक धेरै छन्,’ श्रेष्ठले भने, ‘पर्यटकको सहजीकरणका लागि हरेक भन्सार नाकामा एउटा सुनुवाइ डेस्क बनाउन जरुरी छ ।’
रूपन्देहीको छिमेकी कपिलवस्तुका मुख्य दुई नाका मर्यादपुर र कृष्णनगर नाकाबाट दिनको ५ सय भारतीय गाडी भित्रिने गरेका छन् । मोटरसाइकल र चारपांग्रे जिप, कार र भ्यान तीर्थयात्री र पर्यटक बोकेर भित्रिने गरेका हुन् । मर्यादपुरबाट दैनिक २ सय ५० भन्दा बढी भारतीय नम्बर प्लेटका सवारीसाधनले भन्सार चुक्ता गरेर भित्रिरहेका छन् । त्यसमध्ये ६० प्रतिशत चारपांग्रे र ४० प्रतिशत मोटरसाइकल हुने गरेको सुठौली भन्सार कार्यालयका प्रमुख किरण बिष्टको भनाइ छ ।
जिल्लाको मुख्य कृष्णनगर नाकाबाट दैनिक २ सय ८० भन्दा बढी गाडी भित्रिने गरेका छन् । यिनमा आधा मोटरसाइकल र आधा कार/भ्यान हुने गरेका छन् । जिल्लाका नाका हुँदै भित्रिने ६० प्रतिशत भारतीय अर्घाखाँचीको सुपादेउराली र प्यूठानको स्वर्गद्वारी पुग्ने गरेको कृष्णनगर भन्सार कार्यालयका सूचना अधिकारी मयंक कर्णले बताए ।
‘यसरी भित्रिनेमध्ये ४० प्रतिशत भने पोखरा घुम्न जाने गरेका छन्,’ उनले भने, ‘सुपादेउराली र स्वर्गद्वारी जाने धार्मिक तीर्थयात्रीका रूपमा आउँछन् । पोखरा जानेहरू भने घुम्न आउने गरेका छन् । एक महिनादेखि दुवै नाका हुँदै आउने पर्यटक र तीर्थयात्री बढेका छन् ।’
मुलुकको मध्यक्षेत्रबाट मात्र होइन, पश्चिमी नाकाबाट भित्रिने भारतीय पर्यटक र तीर्थयात्रीको संख्या पनि बढ्दो छ । सुदूरपश्चिमको कञ्चनपुरस्थित गड्डाचौकी नाकाबाट भित्रिने पर्यटकमा प्रायः भारतीय छन् । त्यहाँबाट भारतको उत्तराखण्डका पर्यटकीय क्षेत्रनजिक भएकाले तेस्रो मुलुकबाट पनि फाट्टफुट्ट यहाँको नाकाबाट भित्रिने गरेका छन् ।
अहिले स्थानीय बजारमा क्यासिनो खेल्नेदेखि घुमफिर गर्नेमा प्रायः भारतीय रहेको पर्यटन व्यवसायी बताउँछन् । विगतको तुलनामा अहिले भारतीय पर्यटक भित्रिने क्रम पनि बढेको उनीहरूको भनाइ छ । ‘क्यासिनो खेल्न आउनेहरू कहिलेकाहीं शुक्लाफाँटामा जंगल सफारीका लागि पनि आउने गरेका छन्,’ पर्यटन व्यवसायी परमानन्द भण्डारीले भने, ‘विगतको तुलनामा पर्यटक आउने क्रम बढेको छ ।’
भण्डारीले एक दशकदेखि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा जंगल सफारी गराउँदै आएका छन् । यहाँ आउने प्रायः पर्यटक भारतको उत्तराखण्डकै छन् । यसबाहेक दिल्ली र बरेलीलगायत क्षेत्रबाट पनि आउने गरेका छन् । कैलाश मानसरोवर यात्राका लागि आउने कतिपय पनि यही नाकाबाट भित्रिने गरेका छन् ।
यहाँको नाकाबाट भित्रिने पर्यटक काठमाडौं, पोखरा, लुम्बिनीसम्म पुग्ने गरेका छन् । सीमावर्ती बजार ब्रह्मदेवमा पूर्णागिरी मेलाका कारण भारतीय दर्शनार्थीको भीड लाग्ने गरेको छ । फागुपूर्णिमादेखि सुरु हुने उक्त मेलामा भारतको उत्तराखण्ड, उत्तरप्रदेश र दिल्लीलगायत राज्यबाट दर्शनार्थी आउने गरेका छन् ।
महेन्द्रनगरमा सञ्चालित तीनवटा क्यासिनोमा आउनेहरूका कारण पनि कञ्चनपुरमा भारतीयको चहलपहल बढेको हुन्छ । यहाँ क्यासिनो खेल्न उत्तराखण्डदेखि दिल्लीसम्मका भारतीय आउँछन् । भन्सार तथा सुविधा लिएर आउने सवारीको संख्या पनि धेरै रहेको गड्डाचौकीस्थित भन्सार कार्यालयले जनाएको छ ।
भन्सार तिरेर दिनको ७० देखि ७५ वटा भारतीय सवारी नेपाल भित्रिने गरेको भन्सार अधिकृत चक्रदेव भट्टले बताए । सुविधा बनाएर मात्रै ३ सय हाराहारी सवारी भित्रिने गरेका छन् ।
भैरहवामा गत शुक्रबार साँझ आयोजित आरोग्य पर्यटन प्रवर्द्धन कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले आध्यात्म भुलेर नेपालको पर्यटन अगाडि बढ्न नसक्ने बताए ।
‘मानिस खुसी हुन यात्रा गर्छन्,’ उनले भने, ‘त्यसैले सरकारले तीर्थाटन विभाग बनाउन लागेको छ ।’ उनको भनाइ अहिले बढिरहेका भारतीय तीर्थयात्री र पर्यटकप्रति लक्षित थियो । अहिले नेपालका प्रमुख गन्तव्यमा भारतीय पर्यटकको ओइरो लागेको छ । यसरी मुलुक भित्रिने भारतीय पर्यटकको पहिलो गन्तव्य मुक्तिनाथ र पोखरा हुन् ।
नाकाबाटै काठमाडौं र मुक्तिनाथ
मुलुकको प्रमुख स्थलनाका वीरगन्जबाट दिनहुँ धेरैको संख्यामा भारतीय पर्यटक नेपाल भित्रिने गरेका छन् । तर ती पर्यटकमध्ये प्रायः पर्सा–बारा क्षेत्रमा नरोकी सोझै काठमाडौं, पोखरा, मुक्तिनाथ तथा अन्य पहाडी गन्तव्यतर्फ लाग्ने गरेका छन् । यसले वीरगन्ज नाका हुँदै पर्यटक भित्रिए पनि मधेशको पर्यटन तथा होटल व्यवसायले अपेक्षित लाभ लिन सकेको छैन ।
असार लागेयता दिनको सरदर ६ सयदेखि ७ सय भारतीय दुईपांग्रे तथा चारपांग्रे सवारीसाधन नेपाल प्रवेश गरिरहेको वीरगन्ज भन्सार कार्यालयको भनाइ छ । जेठमा यो संख्या दैनिक ८ सयदेखि ९ सयसम्म पुगेको थियो । भारतीय मोटरसाइकलले सामान्यतया छोटो अवधिको अनुमति लिने गरे पनि कार, जिप र भ्यानमार्फत आउने पर्यटकमध्ये धेरैले ४ देखि १० दिनसम्मको नेपाल भ्रमण अनुमति लिने गरेका छन् । बाँकी पृष्ठ ८
भारतका विभिन्न राज्यमा अत्यधिक गर्मी तथा विद्यालयमा गर्मी बिदा सुरु भएकाले सपरिवार नेपाल घुम्न आउने भारतीयको संख्या उल्लेख्य रूपमा बढेको छ । वीरगन्ज नाकाबाट प्रवेश गर्ने पर्यटकमध्ये प्रायः पोखरा, घान्द्रुक, पुनहिल र मुक्तिनाथतर्फ जाने गरेका छन् ।
काठमाडौं पुगेर पशुपतिनाथ दर्शन गर्ने धार्मिक पर्यटकको संख्या पनि उल्लेख्य रहेको व्यवसायी बताउँछन् । नाकाबाट प्रवेश गर्ने भारतीयमा बिहार, उत्तर प्रदेश, पश्चिम बंगाल, राजस्थान, दिल्ली, ओडिसा, महाराष्ट्रलगायत दक्षिण भारतीय राज्यका धार्मिक तथा पारिवारिक पर्यटकसमेत छन् ।
तर ती पर्यटक वीरगन्ज, पर्सा वा छिमेकी बारा जिल्लामा एक रात पनि नबसी गन्तव्यतर्फ लाग्ने प्रवृत्ति देखिएको छ । यस वर्ष पोखरा र सौराहाका पर्यटन व्यवसायीले भारतका विभिन्न सहरमा गएर नेपाल पर्यटनको प्रवर्द्धन गरेकाले त्यसको सकारात्मक प्रभाव देखिएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्सिज (नाट्टा) मधेश प्रदेशका अध्यक्ष मोहन शर्मा लामिछानेको भनाइ छ ।
‘अहिले भारतबाट आउने पर्यटक गर्मी छल्न नेपालका चिसा गन्तव्य खोज्दै आएका छन्,’ लामिछानेले भने, ‘चित्लाङदेखि पोखरा, घान्द्रुक, पुनहिल र मुक्तिनाथसम्म होटल भरिभराउ छन् । तर त्यसको लाभ मधेशले लिन सकेको छैन ।’ भारतीय पर्यटकलाई पर्सा–बाराका धार्मिक, ऐतिहासिक तथा प्राकृतिक गन्तव्यमा कम्तीमा एक दिन रोक्न सके स्थानीय होटल, रेस्टुरेन्ट, यातायात तथा व्यापार क्षेत्रले प्रत्यक्ष लाभ लिन सक्थ्यो । तर त्यसका लागि आवश्यक प्रचारप्रसार, प्याकेज निर्माण र पूर्वाधार विकासमा पर्याप्त पहल हुन नसकेको उनले जनाए ।
अकुपेन्सीमा नयाँ रेकर्ड
पोखरा आउने भारतीयकै कारण गन्तव्यको पनि प्रचार भइरहेको छ । त्यसको उदाहरण भारतको उत्तर प्रदेशका साइद साह हुन् । फेसबुक र इन्स्टाग्राममा ‘भ्लगर भैया’ नामले परिचित उनले पोखराबारे मात्रै २० भन्दा बढी ‘रिल्स’ बनाएका छन् । ती रिल्स लाखौंपल्ट हेरिएका छन् ।
आराध्या सिंह, मोहद उमर, रोनक राइडर जीलगायत भारतीय ‘भ्लगर’ ले उसैगरी पोखरा, मुक्तिनाथ, घान्द्रुकलगायत स्थानका थुप्रै रिल्स बनाएका छन् । रोनक राइडर पनि भारतको वाराणसीबाट मोटरसाइकलमै आफ्ना साथीहरूसँग पोखरा हुँदै मुस्ताङ घुमेर फर्किए । दुई वर्षअघि भारतका चर्चित कलाकार आशिष विद्यार्थीले पोखराबारे युट्युबमा पोस्ट गरेको भ्लगले उत्तिकै चर्चा पायो ।
सामाजिक सञ्जालबाट भएको प्रचार, भारतमा बढ्दो गर्मी, सरकारको डलर–बचत नीति र बिहारको मदिरा प्रतिबन्धले यसपालि हजारौं भारतीय परिवार पोखरालगायत नेपाली गन्तव्यतर्फ तानिएका छन् ।
उत्तरप्रदेशको गोरखपुरका व्यवसायी प्रमोद अग्रहरी परिवार र आफन्तसहित ९ जनाको टोली लिएर पोखरा आएका छन् । बुटवल, पाल्पाको तानसेन र रानी महल घुमेर पोखरा आइपुगेका उनीहरू अब काठमाडौं जाने योजनामा छन् । ‘फेवाताल, सराङकोट, पुम्दीकोट घुम्यौं, सबैजना रमाइलो गरिरहेका छौं,’ उनले भने ।
सामाजिक सञ्जालमा पोखराको सुन्दरता देखेरै यात्रा योजना बनाएको अग्रहरीले सुनाए । फेसबुक रिल्सबाट पोखरा, मुस्ताङ, घान्द्रुकबारे धेरै कुरा थाहा पाएको उनको अनुभव छ । ‘भारतका सबैलाई भन्न चाहन्छु, एकपल्ट पोखरा आउनुहोस्,’ छोराछोरीको विद्यालय बिदाको सदुपयोग गर्न पोखरा आएका उनले भने ।
पञ्जावबाट कपडा व्यवसाय गर्ने खुराना परिवारका लागि भने पोखरा भनेकै ‘एड्भेन्चर’ हो । ‘इन्टरनेटमा खोज्दा पोखरा सबैभन्दा राम्रो सहर भनेर फेला पारेका थियौं । प्याराग्लाइडिङ, बञ्जी जम्प, गुप्तेश्वर गुफा र फेवाताल, यिनैका लागि पोखरा रोजेका हौं,’ ट्राभल एजेन्सीमार्फत सडक मार्गबाट आएका कृष्ण खुराना भन्छन् ।
उनका बुबा गौरव खुरानाका अनुसार आफ्ना आफन्त यसअघि पोखरा घुमेर फर्किएका थिए । यसपालि पोखराका होटल अक्युपेन्सीले रेकर्ड तोडेको छ । सामान्यतया गर्मीको समयमा पाँचतारे होटलको अक्युपेन्सी ४० देखि ४५ प्रतिशत मात्र हुन्थ्यो । यसपालि अरू २० देखि २५ प्रतिशतले बढेको पोखरा ग्रान्ड होटलका महाप्रबन्धक पञ्चम लामाले बताए ।
भारतमा बढेको अत्यधिक गर्मी र सामाजिक सञ्जालमा भइरहेको प्रचारप्रसारले पोखराको समग्र होटल अकुपेन्सी नै सोचेभन्दा बढी बढाएको लामाको अनुभव छ । भारतीय यात्रुको आनीबानी पनि उनले चियाएका छन् । ‘उनीहरू ‘लास्ट मिनेट ट्राभलर्स’ हुन् । बुकिङ विन्डो १५ दिन वा एक महिना अगाडिको हुँदैन,’ उनले भने, ‘दुई दिन बिदा मिल्यो वा गर्मी बढ्यो भने ४८ देखि ७२ घण्टाभित्रै योजना बनाएर आइपुग्छन् ।’
तर अहिले फुर्सद मिलाएर घुम्ने उच्च वर्गका पर्यटक पनि बढ्दै गएका छन्, जो मेक माई ट्रिप, एक्सपेडिया, अगोडा, बुकिङ डटकम जस्ता अनलाइन एजेन्सीमार्फत तीन तारे, चार तारे, पाँच तारे होटलमा बुकिङ गरेर आउँछन् । खर्च गर्ने क्षमता पनि राम्रो हुन्छ । ‘प्रायः यात्रु नेपालसँग सिमाना जोडिएका उत्तरप्रदेश, बिहार र पश्चिम बंगालबाट सडक मार्गबाटै आउँछन्,’ उनले भने, ‘र, दिनको कम्तीमा एक छाक होटलमै खाने पनि भारतीय पर्यटकको साझा बानी छ ।’
होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीका लागि पनि यो वर्ष असाधारण छ । ‘मेरो विचारमा अहिलेको जस्तो यति धेरै संख्यामा भारतीय पर्यटक आएको सायद यो पहिलोपल्ट हो,’ उनी भन्छन् । केही दिनअघिसम्म होटलहरूको अकुपेन्सी ९० प्रतिशतको हाराहारीमा थियो । नयाँ वर्षको सुरुआतदेखि नै पोखरामात्र नभई गण्डकी प्रदेशका अन्य गन्तव्य, मुक्तिनाथलगायत धार्मिक स्थल र पदयात्रा मार्गमा समेत भारतीय यात्रुको चाप उल्लेखनीय रह्यो ।
यो उछाल एउटा मात्रै कारणले आएको होइन । गत वर्ष मुक्तिनाथलगायतका ठाउँको फेसबुक र इन्स्टाग्राममार्फत भएको ठूलो प्रवर्द्धन, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले डलर सञ्चितिका लागि नागरिकलाई भारु चल्ने देशको भ्रमण गर्न गरेको प्रोत्साहन र भौगोलिक निकटता ः यी सबैले पोखरालाई भारतीय यात्रुको रोजाइमा ल्याएका छन् ।
भारतीय ज्येष्ठ नागरिकलाई धार्मिक भ्रमणका लागि सरकारले दिने आर्थिक सहुलियतले पनि पशुपतिनाथ र मुक्तिनाथलाई पहिलो रोजाइमा राखिरहेको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीका अध्यक्ष किशोर दाहाल बताउँछन् । बढ्दो चापलाई संस्थागत रूप दिने प्रयास पनि सँगसँगै चलेको छ । गत २९ जेठमा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) गण्डकीले भारतको कोलकातामा ‘पोखरा–नेपाल प्रवर्द्धन अभियान २०२६’ अन्तर्गत बी–टु–बी नेटवर्किङ कार्यक्रम आयोजना गर्यो ।
कार्यक्रममा भाग लिएका भारतीय पर्यटन व्यवसायीले पोखरालाई दक्षिण एसियाकै उत्कृष्ट गन्तव्यमध्ये एक भएको बताउँदै थप यात्रु पठाउने प्रतिबद्धता जनाए । यो उछालको जग भारतका विद्यालय–कलेजको मे–जुनको गर्मी बिदा रहेको नेपाल पर्यटन बोर्डका गण्डकी प्रदेश प्रमुख मणिराज लामिछानेको भनाइ छ ।
चितवन निकुञ्ज घुम्न आउने भारतीयको संख्या वृद्धि भएपछि स्थानीय पर्यटन व्यवसायीले राहत महसुस गरेका छन् । यस पटक वैशाखको तुलनामा जेठमा स्वदेशी र विदेशी पर्यटक घटेका छन् । तर, सार्क मुलुकका पर्यटकको संख्या ह्वात्तै बढेको चितवन निकुञ्जले जनाएको छ ।
सार्क मुलुकमध्ये भारतबाट आउने पर्यटक धेरै छन् । चालु आर्थिक वर्षका ११ महिना साउनदेखि जेठसम्म स्वदेशी, विदेशी र सार्क क्षेत्रका गरी कुल २ लाख ५६ हजार आठ सय पर्यटकले निकुञ्ज घुमेको चितवन निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरको भनाइ छ । यसमध्ये स्वदेशी सर्वाधिक एक लाख ५३ हजार ८७४ छन् । विदेशी ८३ हजार ७१ र सार्क क्षेत्रका १९ हजार ८ सय ५५ छन् ।
सबैभन्दा धेरै कात्तिकमा १९ हजार १ सय ९ नेपालीले निकुञ्ज घुमेका थिए । त्यसपछि वैशाखमा १८ हजार ४६ जनाले घुमे । जेठमा स्वदेशी पर्यटक १६ हजार ६ सय २८ आए । वैशाखमा ९ हजार ८ सय ८१ विदेशी पर्यटक आएका थिए । जेठमा ७ हजार ४ सय ३३ मात्रै भए । जेठमा निकुञ्ज घुम्ने भारतीय अन्य महिनाको तुलनामा उल्लेख्य रहेको थापा मगरले बताए ।
जेठमा भारतीयको संख्या ह्वात्तै बढेकाले निकुञ्ज घुम्ने कुल पर्यटकको संख्या धेरै देखिएको हो । भारतको उत्तर प्रदेश र बिहारका बासिन्दा नेपाल आइरहेको सौराहाका होटल व्यवसायी तथा जिप सफारी सञ्चालक ऋषि तिवारीले जनाए । ‘त्यहाँ पनि अचाक्ली गर्मी छ,’ उनले भने, ‘नेपालमा मुक्तिनाथ, पोखरा र मनकामना घुम्ने लक्ष्य राखेर आएका भारतीय चितवन बस्ने गरेका हुन् ।’ हावापानी चिसो र बसाइँ सस्तो भएकाले भारतीय आउने गरेको उनले बताए ।
बाँकेको जमुनाहा नाकाबाट दिनको १६ हजार हाराहारी यात्रु भित्रिने तथा बाहिरिने गरेका छन् । तर कति भारतीय नागरिक दैनिक नेपाल भित्रिन्छन् भन्ने यकिन तथ्यांक छैन । उनीहरू कुन
प्रयोजनका लागि नेपाल आउँछन् भन्ने खुल्न नसकेको नेपालगन्ज भन्सार कार्यालयको भनाइ छ ।
दिनको १६ हजार यात्रु नाका वारपार गरेर गर्ने गरेको भन्सार प्रमुख जनार्दन पौडेलले जनाए । गत बुधबार र बिहीबार मात्रै भारतबाट २ सय ७५ भारतीय सवारीले रुट इजाजत पत्र लिएको नाकास्थित यातायात व्यवस्था कार्यालयका कम्प्युटर अपरेटर रामबहादुर खत्रीले जनाए । तीमध्ये ५० वटा मोटरसाइकल छन् । भारतबाट घुमफिर तथा व्यापारिक प्रयोजनका लागि नेपाल आउने सवारीसाधनले रुट इजाजत पत्र लिने गरेका छन् ।
रोजाइमा फार्म र 'होमस्टे’
पाल्पामा होटल तथा रेन्टुरेन्ट सय बढी छन् । पाल्पा होटल एसोसिएसन आफ नेपालमा आबद्ध भने १५ मात्र छन् । तर प्रायः सबै होटलमा आन्तरिक तथा भारतीय पर्यटकको भीडभाड नभएको होइन । तैपनि गाउँका रिसोर्ट र ‘होमस्टे’ मा नअटेका पाहुना मात्र होटलले पाउने गरेका छन् ।
‘घुम्न हिँड्नेहरू पनि फरकफरक रोजाइका हुन्छन्,’ होटल तथा रेस्टुरेन्ट व्यवसायी संघ पाल्पाका अध्यक्ष लक्ष्मण बस्यालले भने, ‘कोही गाउँका रिसोर्ट र कतिपय होमस्टे भन्ने गर्छन् । तर टाढा जान नसक्नेहरूका लागि ‘हिलस्टेसन’ तानसेन पनि निकै रमाइलो मान्ने गर्छन् ।’
डाँडामा बसेको सहर भएर पनि तानसेनलाई ग्रामीण भेगजस्तै मान्ने गरेको उनको अनुभव छ । घुम्नलायक पर्यटकीय स्थलमध्ये पाल्पाको तानसेन र नजिकका गाउँबस्ती पुग्ने गर्छन् । घुम्न निस्केकाहरूले पहिले होमस्टे र पछि मात्र होटल खोज्ने गरेको पाइएको छ ।
पछिल्लो समयमा तानसेन बजारका होटलका साथै नजिकमा सञ्चालित रिसोर्ट भरिभराउ छन् । बस्यालको रिसोर्ट तानसेन बजारदेखि ४ किलोमिटर टाढा ग्रामीण बस्तीमा छ । गर्मी सिजन सुरु भएपछि अन्य दिनमा भन्दा बिदाका दिन ५० बढीलाई राख्न नसकेको अनुभव उनले सुनाए । ‘तराईबाट नजिकै भएर पनि होला निकै मन पराउनुभएको छ,’ उनले भने, ‘शान्त वातावरण अनि खुल्ला स्थान देखेपछि एकले अर्कोलाई भन्नुहुन्छ अनि आउनेको संख्या पनि बढेको छ ।’
रिब्दीकोट गाउँपालिका–३ खस्यौलीस्थित सिर्जना फार्म रिसोर्टमा पनि गर्मी सुरु भएपछि अत्यधिक भीड बढ्छ । १४ वटा कटेजसहितको कोठा भए पनि सातामा दुई/तीन दिनलाई बुक हुने फार्म रिसोर्टका प्रबन्धक विष्णु अधिकारीले जनाए । कम्तीमा ४० जना राख्न सक्ने क्षमतामा ५० प्रतिशत भारतीयले बुक गरिरहेको उनको भनाइ छ ।
