डेडिकेटेड र ट्रंकलाइनको ५ अर्ब ४८ करोड बक्यौता नतिरेसम्म विद्युत् जडान नगर्ने अडानमा प्राधिकरण, विद्युत् उपयोग गरेको प्रमाण नदिएसम्म बक्यौता नतिर्ने उद्योगीको भनाइ, अदालत गएको रिलायन्स स्पिनिङ मिल्सले पाएन अन्तरिम आदेश
What you should know
विराटनगर, लुम्बिनी, बुटवल,दाङ, धनकुटा, हेटौंडा र पर्सा — डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली उपभोग गरेपछि थप प्रिमियम शुल्क भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले देशभरका २५ उद्योगको विद्युत् लाइन काट्दा २० उद्योग पूर्ण रूपमा बन्द भएका छन् । बाँकी ५ उद्योगमध्ये २ वटा पहिले नै बन्द थिए भने २ वटाले किस्ता तिर्न थालेपछि विद्युत् जडान भएको छ । शिवम् सिमेन्टले जेनेरेटर चलाएर उत्पादनलाई निरन्तरता दिएको छ ।
विद्युत् लाइन काटिएपछि बन्द भएका २० उद्योगका साढे १६ हजार श्रमिक कामविहीन भएका छन् । उनीहरूको तलबभत्तासमेत अनिश्चित बनेको छ । प्राधिकरणले ४ कात्तिकमा ६ र ७ कात्तिकमा १९ उद्योगको बिजुली काटेको थियो । ती उद्योगले डेडिकेटेड फिडर र ट्रंकलाइनको ५ अर्ब ४८ करोड ४८ लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै प्राधिकरणले बिजुली काटेको हो ।
बक्यौता नतिरेसम्म लाइन जडान नगर्ने अडानमा प्राधिकरण छ भने विद्युत् उपयोग गरेको प्रमाण प्राधिकरणले नदिएसम्म बक्यौता नतिर्ने उद्योगीहरूको भनाइ छ । दुई पक्षको अडानको मारमा श्रमिक परेका हुन् ।
बिजुली काटिएकामध्ये घराना फुड्स र गोयन्का फुड्सले किस्ता सुविधा लिएसँगै ती उद्योगमा विद्युत् जडान गरिसकिएको प्राधिकरणका प्रवक्ता राजन ढकालले बताए । ‘बाँकी उद्योगमा बिजुली काटिएकै छ,’ उनले भने । बिजुली काटिएकामध्ये बुटवल सिमेन्ट र एभरेस्ट पेपर मिल पहिले नै बन्द थिए ।
प्राधिकरणका अनुसार सबैभन्दा धेरै बक्यौता रकम जगदम्बा स्टिलको १ अर्ब ६० करोड १८ लाख रुपैयाँ छ । विद्युत् कटौती हुँदा वीरगन्जस्थित जगदम्बा स्टिल र भैरहवास्थित जगदम्बा सिन्थेटिक बन्द भएको शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवालले बताए । जगदम्बा स्टिलमा २ हजार २ सय कर्मचारी कार्यरत छन् भने जगदम्बा सिन्थेटिकमा ६ सय कर्मचारी छन् । जगदम्बा सिन्थेटिकको बक्यौता २० करोड ५० लाख रुपैयाँ छ ।
‘अहिले सबै कर्मचारीलाई बिदामा राखेका छौं । तलबभत्ताको विषयमा केही भनेका छैनौं,’ अग्रवालले भने । उनका अनुसार जगदम्बा स्टिलले मासिक ८० हजार टन स्टिल र सिन्थेटिकले मासिक २ सय टन धागोलगायत उत्पादन गर्दै आएको छ । ‘विद्युत् अतिरिक्त उपभोग गरेको प्रमाण प्राधिकरणले दियो भने बक्यौता तिर्छौं,’ अग्रवालले भने, ‘उपयोग नै नगरेको विद्युत्को महसुल कसरी तिर्नु ?’
रिलायन्स स्पिनिङ मिल्सको बक्यौता ७५ करोड ३६ लाख रुपैयाँ छ । सुनसरीस्थित खनारमा रहेको उक्त उद्योगको उत्पादन एक सातायता ठप्प छ । ३ हजार ५ सयभन्दा बढी कामदारलाई रोजगारी दिएको उक्त उद्योगले दिनको एक सय टनभन्दा बढी धागो उत्पादन गर्दै आएको थियो ।
उद्योगले टर्कीदेखि जापानसम्म धागो निर्यात गर्दै आएको जनाएको छ । ‘बिजुली काटिएपछि उद्योग चलाउन सक्ने अवस्था छैन,’ उद्योगका प्रबन्धक महेश पोखरेलले भने, ‘सबै कामदार बिदामा छन् ।’ उत्पादन नहुँदा निर्यात पनि रोकिएको छ ।
प्राधिकरणका अनुसार शिवम् सिमेन्टको बक्यौता ६६ करोड ८८ लाख रुपैयाँ छ । बिजुली काटिएपछि जेनेरेटर चलाएरै उत्पादनलाई निरन्तरता दिइरहेको उद्योगकी अधिकृत सुशीला घिमिरेले बताइन् । यद्यपि, क्लिंकर र सिमेन्टको दैनिक उत्पादनमा गिरावट आएको छ । जसले उत्पादनको लागत पनि बढ्ने उद्योगका सञ्चालन निर्देशक रघुनन्दन मारुले बताए ।
लाइन काटे पनि उद्योगका कर्मचारी र मजदुर नियमित उपस्थित भएर काम गर्दै आएका छन् । उद्योगमा चार सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । अप्रत्यक्ष रूपमा भने दुई हजारभन्दा बढीले रोजगारी पाएको मारुको दाबी छ । विद्युत् काटिएपछि बन्द भएको घोराही सिमेन्टको ५० करोड ८५ लाख रुपैयाँ बक्यौता छ । उद्योग बन्द भएपछि ६ सय कामदार र कर्मचारी कामविहीन भएका छन् ।
विद्युत् काटिएपछि अर्घाखाँची सिमेन्टका मजदुरलाई अनिश्चितकालका लागि बिदा दिइएको छ । प्राधिकरणले ४४ करोड ८४ लाख बक्यौता नतिरेको भन्दै बिजुली काटेको हो । अर्घाखाँचीले दिनहुँ ६० हजारभन्दा बढी बोरा सिमेन्ट उत्पादन गर्दै आएको छ । दिनको ३ हजार ५ सय टन सिमेन्ट उत्पादन गर्ने क्षमता भए पनि उद्योग पछिल्लो समय ६५ प्रतिशत क्षमतामा सञ्चालनमा थियो ।प्राधिकरणले बिजुली काटेपछि उद्योग बन्द रहेको कम्पनीका प्रशासन प्रमुख अजय भट्टराईले बताए ।
सोनापुर मिनरल्स एन्ड आयलको बक्यौता २४ करोड ३० लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ । सोनापुरले दिनको ३५ हजार बोरा सिमेन्ट उत्पादन गर्दै आएको थियो । उद्योग बन्द हुँदा दिनकै ५० लाखभन्दा बढी घाटा भइरहेको उद्योगका कार्यकारी प्रमुख हरि पाठकले जनाए । उद्योग बन्द भएपछि ३ सय ५० जना कर्मचारीलाई अर्को सूचना नभएसम्म काममा नआउनू भनिएको उनले बताए ।
पञ्चकन्या समूहअन्तर्गत पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिक उद्योग पनि बन्द छ । उद्योगभित्रै क्वार्टरमा बस्ने कर्मचारीलाई भने जेनेरेटर चलाएर बिजुली दिइरहेको पञ्चकन्या समूहका महाप्रबन्धक देवेन्द्र साहुले बताए । दुई सय कर्मचारीलाई उद्योगले हालसम्म तलब, उनीहरूका लागि आवश्यक सामग्री दिइरहेको साहुको भनाइ छ । प्राधिकरणले ट्रंकलाइन प्रयोग भएको भनेको समयमा नै उद्योगले लोडसेडिङको समस्या भोगेको प्राधिकरणकै बुटवल कार्यालयको ‘लग सिट’ ले नै प्रस्ट पार्ने साहुको दाबी छ । कानुनी लडाइँ लड्नेबाहेक आफूहरूको विकल्प नरहेको उनले बताए ।
रूपन्देहीकै एसआर स्टिल र एसआर फुड्समा दुई सयभन्दा बढी कामदार कार्यरत छन् । उद्योगले कन्ट्र्याक्ट बेसिसमा कामदार लगाएको सञ्चालक सुरज उप्रेतीले जनाए । ‘हामीले पैसा तिरेर, छुट पाएर, लोडसेडिङ खेपेर, प्राधिकरणले भनेसरह गरेर उद्योग चलायौं, हामीलाई अहिले ट्रंकलाइनको माध्यम देखाएर असुल्न खोज्नु अपराध हो,’ उनले भने ।
दिनको ६ हजार बोरा सिमेन्ट उत्पादन क्षमता रहेको धनकुटाको निगाले सिमेन्ट उद्योगमा १ सय ५० कर्मचारी थिए । दिनको तीन सय टन उत्पादन क्षमता रहेको उद्योगमा पछिल्लो समय एक सय ५० टन मात्र उत्पादन हुने गरेको उद्योगका कर्मचारी सरोज सेढाईंले जानकारी दिए । यो उद्योग पनि बन्द छ ।
उद्योग बन्द हुँदा २ सय ५० कामदार बिचल्लीमा परेको धनुषाको कसमस सिमेन्टका अपरेसन प्रमुख प्रसन्नमान श्रेष्ठले बताए । कसमस सिमेन्टले तेज ब्रान्डको सिमेन्ट उत्पादन गर्छ । प्राधिकरणका अनुसार कसमसको बक्यौता ४० करोड रुपैयाँ छ । एभरेस्ट रोलिङ मिल्स पनि बन्द छ । यो उद्योगमा चार सय कामदार छन् । हिमाल आइरनको विद्युत् लाइन काटिएपछि उद्योग मात्र नभई कर्मचारीको क्वार्टर पनि अन्धकार भएको छ ।
श्याम प्लास्टिकका सञ्चालक विवेक कसौधनले उद्योग सञ्चालन गर्न नसके १ सय ३० श्रमिकलाई एक महिनाको मात्रै तलब दिन सकिने बताए । कर्मचारीलाई नआउनु भन्दै दुवै उद्योग बन्द गरेको त्रिवेणी स्पिनिङ मिल्सका अध्यक्ष रामचन्द्र सांघाईले बताए । त्रिवेणी स्पिनिङ मिल्समा १७ सय ५० जना र त्रिवेणी सिन्थेटिकमा ३ सय जना कर्मचारी छन् ।
तत्कालीन ऊर्जामन्त्री दीपक खड्काको अध्यक्षतामा २१ वैशाख २०८२ मा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले ५ प्रतिशत धरौटी राखेर एक महिनाभित्र पुनरावेदनमा आउन उद्योगीलाई सूचना जारी गर्ने निर्णय गरेको थियो । थप एक महिना समय थपिएको थियो । प्राधिकरणले गत १२ असोजमा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरेको सूचना सार्वजनिक गर्यो ।
सरकारलाई ५ प्रतिशत धरौटी राखेर बक्यौता रकम बिस्तारै तिर्ने सहमति भए पनि एकाएक ऊर्जामन्त्री कुलमान घिसिङले सरकारको निर्णय उल्टाएको उद्योगीको गुनासो छ । तर डेडिकेटेड तथा ट्रंकलाइनसम्बन्धी प्रशासकीय पुनरावलोकन समितिका संयोजक श्यामकिशोर यादवले भने स्वार्थको द्वन्द्व हुने भन्दै सदस्यहरूले असमर्थता जनाएकाले सोहीअनुसार प्रतिवेदन बुझाइएको बताए ।
पूर्वन्यायाधीश गिरीशचन्द्र लालको नेतृत्वमा बनेको आयोगले त्यतिबेलाको मापदण्डअनुसार ग्राहकलाई विद्युत् आपूर्ति गरिएको दिन तथा अवधि यकिन गरी पुनः हिसाब गरेर महसुल उठाउनुपर्ने सुझाएको थियो । कुल बक्यौता महसुल ६ अर्ब ६० करोड रुपैयाँ रहेको प्राधिकरणको दाबी छ । नियमअनुसार ६० दिन कटिसकेकाले २५ प्रतिशत थप दस्तुर पनि तिर्नुपर्ने प्राधिकरणको भनाइ छ । यस हिसाबले बक्यौता ८ अर्ब २५ करोड रुपैयाँ पुग्छ । यो बक्यौता रकम २०७२ माघदेखि २०७५ वैशाखसम्मको हो ।
यसैबीच प्राधिकरणले गत १२ र १३ असोजमा बक्यौता तिर्न जारी गरेको सूचना कार्यान्वयन नगर्न नगराउन माग गर्दै रिलायन्स स्पिनिङ मिल्सले दिएको रिटमा अन्तरिम आदेश दिन अदालतले अस्वीकार गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । रिटको आगामी पेसी १९ कात्तिकलाई तोकिएको छ ।
प्राधिकरणले १२ असोजमा प्रशासकीय पुनरावलोकनसँग सम्बन्धित सम्पूर्ण कामकारबाही बदर गरिएको भन्दै १७ कात्तिकभित्र बक्यौता भुक्तान गर्न सूचना जारी गरेको थियो । बक्यौता तिर्न चाहने उद्योगीका लागि २८ महिनाको किस्ताबन्दी सुविधा दिइने उक्त सूचनामा उल्लेख छ । १३ असोजमा प्राधिकरणले अघिल्लो सूचना सच्याउँदै २ कात्तिकभित्र बक्यौता बुझाउन सूचना जारी गरेको थियो ।
