अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै आगामी कात्तिक १९ गतेलाई पेशी तोकेको छ ।
What you should know
काठमाडौँ — उच्च अदालत पाटनले रिलायन्स स्पिनिङ मिल्सलाई अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । उच्च अदालत पाटनका न्यायाधीश सूर्यप्रसाद पराजुलीको एकल इजलासले मंगलबार अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै आगामी कात्तिक १९ गतेलाई पेशी तोकेको छ ।
'यसमा के कसो भएको हो ? रिट निवेदकको निवेदन मागबमोजिमको आदेश किन जारी हुनु नपर्ने हो ? आदेश जारी हुनु नपर्ने कुनै आधार, कारण र प्रमाण भए, सोसमेत साथै राखी सूचना म्याद पाएको मितिले बाटाका म्याद बाहेक १५ (पन्ध्र) दिनभित्र विपक्षी नं. १ र २ को हकमा उच्च सरकारी वकिल कार्यालय, पाटनमार्फत तथा बाँकी विपक्षीहरूको हकमा आफैं वा आफ्नो कानुनबमोजिमको प्रतिनिधिमार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र निवेदनको प्रतिलिपिसहित विपक्षीका नाममा म्याद सूचना जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार पेस गर्नु,' आदेशमा उल्लेख छ ।
रिलायन्स स्पिनिङ मिल्सलले प्राधिकरणद्वारा जारी गत असोज १२ र १३ मा बक्यौता तिर्न जारी गरेको सूचना कार्यान्वयन नगर्न नगराउन भन्दै माग गरेको थियो । यस्तै प्राधिकरणका सञ्चालक समिति सदस्य श्यामकिशोर यादव संयोजकत्वको प्रशासकीय पुनरावलोकनसम्बन्धी कार्य अगाडि बढाउनु भन्ने सम्बन्धमा अन्तरिम आदेश माग गरेको थियो । यद्यपि यादव संयोजकत्वको प्रशासकीय पुनरावलोकन समितिले काम गर्न नसक्ने भन्दै असमर्थता जनाइसकेका छन् ।
'निवेदकले विपक्षी नेपाल विद्युत् प्राधिकरणको मिति २०८२/०६/१० को निर्णय, मिति २०८२|०६|१२ र २०६२/०६/१३ का सूचना तथा निवेदक कम्पनीलाई रकम बुझाउन माग गर्दै जारी गरिएको पत्र समेत कार्यान्वयन नगर्नु नगराउनु, यथास्थितिमा राख्नु तथा प्रशासकीय पुनरावलोकन सम्बन्धी कार्य अगाडि बढाउनु भन्ने समेतका विभिन्न विषयमा अन्तरिम आदेश माग गरेको देखिएको सन्दर्भमा अन्य विपक्षीहरुसमेतसँग छलफल गरी अन्तरिम आदेशको विषयमा निर्णय गर्नु उपयुक्त हुने देखिएको हुँदा सो प्रयोजनका लागि मिति २०८२|०७|१९ (बुधबार) को पेसी तोकी नियमानुसार पेस गर्नु,' आदेशमा भनिएको छ ।
