जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख रुपैयाँ र जगदम्बा सिन्थेटिकले २० करोड ५० लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको छ ।
What you should know
पर्सा — डेडिकेटेड फिडर र ट्रंकलाइनमार्फत विद्युत् उपभोग गरी प्रिमियम शुल्क भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेपछि शंकर समूहको जगदम्बाको दुई उद्योग बन्द भएको छ । जगदम्बा स्टिलले १ अर्ब ६० करोड १८ लाख रुपैयाँ र जगदम्बा सिन्थेटिकले २० करोड ५० लाख रुपैयाँ बक्यौता नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले बिजुली काटेको छ ।
विद्युत् कटौतीपछि कर्मचारीलाई बिदामा राखेर दुवै उद्योग बन्द गरेको शंकर समूहका उपाध्यक्ष सुलभ अग्रवालले बताए । जगदम्बा स्टिलमा २२ सय कर्मचारी कार्यरत छन् भने जगदम्बा सिन्थेटिकमा ६ सय कर्मचारी छन् ।
'अहिले सबै कर्मचारीहरूलाई बिदामा राखेका छौँ । तलब भत्ताको विषयमा केही भनेका छैनौँ,' उनले भने, 'छोटो समयका लागि मात्र बन्द भयो भने तलब भत्ता दिन सकिन्छ । धेरै लामो समयसम्म उद्योग बन्द रह्यो भने । त्यति बेला नै निर्णय गरिन्छ ।’
अग्रवालका अनुसार जगदम्बा स्टिलले मासिक ८० हजार टन स्टिल र सिन्थेटिकले मासिक २ सय टन धागोलगायत उत्पादन गर्दै आएको छ ।
‘प्राधिकरणले हामीले विद्युत् अतिरिक्त उपभोग गरेको प्रमाण दिन सकेको छैन, दियो भने बक्यौता तिर्छौ,’ अग्रवालले भने, ‘उपयोग नै नगरेको विद्युत्को महसुल कसरी तिर्नु ? ’
डेडिकेटेड फिडर र ट्रंकलाइनबाट बिजुली उपभोग गरेपछि थप प्रिमियम शुल्क भुक्तान नगरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले देशभरका २५ उद्योगको विद्युत् लाइन काटेको छ । प्राधिकरणले कात्तिक ४ मा ६ उद्योग र कात्तिक ७ मा थप १८ उद्योगको बिजुली काटेपछि यस्तो अवस्था सिर्जना भएको हो ।
यसबाहेक एभरेस्ट पेपर मिलले मासिक बिजुलीको महसुलसमेत नतिरेको र उद्योग नै बन्द रहेकाले यसअघि नै बिजुली कटौती गरिसकेको प्राधिकरणले जनाएको छ ।
