‘बुबाको प्रेरणाले राजनीतिमा आएको छु’– डा. रजिक आलम [भिडियो]
रौतहट — चिकित्सा शिक्षामा स्नातक (एमबीबीएस) सकेर भारतको नयाँदिल्लीमा काम गरिरहेका २७ वर्षीय मो. राजिक आलम रौतहटको राजपुर नगरपालिका प्रमुखमा उम्मेदवार बनेका छन् । कांग्रेसले बहालवाला मेयरलाई पन्छाएर राजिकलाई टिकट दिएको छ तर उनको परिचय यतिमा सीमित छैन । उनी २०६४ को संविधानसभा निर्वाचनको पूर्वसन्ध्यामा बम बनाइरहेका बेला विस्फोट हुँदा घाइते भएकालाई इँटाभट्टामा हालेर ज्यान लिएको अभियोगमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका सांसद मो. अफताब आलमका कान्छा छोरा हुन् ।
रजिक भन्छन्, ‘मेरो परिचयमा बुबालाई छुटाउन मिल्दैन । हजुरबुबादेखिको पारिवारिक विरासत थाम्न बुबाको पदचाप पछ्याउँदै राजनीतिमा आएको छु ।’ उनीसँगको कुराकानीको सम्पादित अंश :
राजनीतिमा किन आउनुभयो ?
मेरो परिचयमा बुबालाई छुटाउन मिल्दैन । हाम्रो परिवारविरुद्ध षड्यन्त्र गरेर बुबा र काकालाई जेलमा हालिएको छ । हजुरबुबादेखिको पारिवारिक विरासत थाम्न बुबाको पदचाप पछ्याउँदै राजनीतिमा आएको छु । जनताको विश्वास पनि छ ।
तर तपाईंका बुबा अफताब र काका महताब आलममाथि संगीन आरोप लागेका छन्, तपाईंले बुबाकै पदचाप पछ्याउने भन्दै हुनुहुन्छ, त्यो के भनेको हो ?
उहाँमाथि ठूलो अन्याय भएको छ । १४ वर्ष पहिलेको घटनामा बुबालाई पक्राउ गरेर जेलमा राखिएको छ । पहिले तीनै तहका सरकारी वकिलले प्रमाण नपुगेको भन्दै मुद्दा नचलाउने निर्णय गरेका थिए । त्यति बेला प्रमाण संकलनमा गलत गरिएको थियो भन्ने हो भने त्यसमा संलग्नलाई किन मुद्दा चलाइएन ? अहिले आएर के नयाँ प्रमाण पाइयो ? बुबाको पक्राउविरुद्ध आन्दोलनमा जान खोजेका गाउँका मानिसलाई तिमीहरूलाई पनि मुद्दा लगाउँछु भनेर धम्क्याइयो । विपक्षी दलका नेताहरू एसपीको कार्यालयमा बसेर षड्यन्त्र गरे । त्यसविरुद्ध बोल्छु भनेको छु ।
यहाँ त स्वतन्त्रपूर्वक निर्वाचन हुँदैन, बुथ कब्जा हुन्छ, जनतालाई भोट हाल्न दिइन्न, केही अगुवालाई पैसा दिएर किनिन्छ भनेर सर्वसाधारणले हामीसँगै भनेका छन् नि ।
यस्ता कुरा तर्कसंगत देख्दिनँ । मेरो हजुरबुबा शेख इद्रिस २०४८ सालमा एमालेका विष्णु मानन्धरसँग लड्दा मानन्धरको १४ हजार मत थियो । २०५१ मा हजुरबुबाविरुद्ध लडेका अर्का उम्मेदवारले ८ हजार मत ल्याएका थिए । २०५३ मा मेरो बुबाका निकटतम प्रतिद्वन्द्वीको मत १७ हजार थियो । हामीले कब्जा गरेको भए उनीहरूलाई त्यस्तो हजारौं मत कहाँबाट पर्थ्यो ? कहीँकतै बुथ क्याप्चर हुँदैन । मतदान भनेको मन दान हो । कसैले धम्क्याएर, लोभ्याएर मत आउँदैन ।
कांग्रेस सभापति शेरबहादुर देउवाले आलमलाई फसाइएको छ, मुद्दा फिर्ता गर्नुपर्छ भन्नुभएको थियो । अहिले उहाँ नै प्रधानमन्त्री हुनुभएको छ नि ?
उहाँहरूले पहल गर्ने सम्भावना छ । सम्मानित अदालतले निष्पक्ष निर्णय लिन्छ र हामीलाई न्याय दिन्छ भन्ने पूर्ण विश्वास पनि छ । विगतको सरकारले फसाएको हो भनेर अहिलेको सरकारले गम्भीर रूपले लिएको देख्छु । प्रधानमन्त्री, गृहमन्त्रीले पनि आश्वस्त पार्नुभएको छ । सरकारले निकास दिन्छ भन्ने विश्वास छ ।
नगरका लागि तपाईंका योजना के छन् ?
म आफैं चिकित्सक हुँ, समाजका विकृति–विसंगतिको उपचार गर्न चाहन्छु । कांग्रेसको नेतृत्वमा बनेको संविधानले स्थानीय तहलाई शक्तिशाली बनाएको छ । अहिले संघको अनुदानमा चलेको भए पनि साधन स्रोतको प्रयोगमार्फत स्थानीय तहको सर्वाङ्गीण विकास गर्न सकिन्छ । मैले स्वास्थ्य क्षेत्रका अतिरिक्त यहाँको शिक्षा, कृषि, खेलकुद क्षेत्र सुधारमा काम गर्नेछु । भ्रष्टाचार हटाउन र पारदर्शिता कायम राख्न काम गर्नेछु । आम आदमी पार्टीले दिल्लीमा स्कुल चलाएको देखेको छु । त्यहाँ अभिभावकलाई सामुदायिक विद्यालयमा पनि राम्रो शिक्षा पाइन्छ भन्ने विश्वास दिलाइएको छ । यहाँ पनि त्यसै गर्न सकिन्छ । युद्धकालमा हाम्रो घरमा पेट्रोल छर्केर आगो लगाइयो, बम पनि हानियो । हाम्रो परिवारविरुद्धको षड्यन्त्र त्यति बेलादेखिकै हो । त्यस्तो अवस्थामा पनि बुबाले समाज र राजनीतिलाई नेतृत्व दिएको देखेर म उहाँकै प्रेरणाले राजनीतिमा आएको छु ।
प्रकाशित : वैशाख २०, २०७९ ०७:२२