सोनम वाङ्चुकको अनशनले तरंगित दिल्ली

शैक्षिक सुधारको माग राखेर २१ दिनदेखि आमरण अनशन बसेका शिक्षाविद् तथा वातावरण अभियन्ता वाङ्चुकलाई प्रहरीले शनिबार अस्पताल लैजाने क्रममा अमानवीय व्यवहार गरेको भन्दै मोदी सरकारको चौतर्फी आलोचना भइरहेको छ ।

श्रावण ३, २०८३

उपेन्द्रराज पाण्डेय

Sonam Wangchuk's hunger strike rocks Delhi

What you should know

काठमाडौँ — शिक्षाविद्, वातावरण अभियन्ता तथा नवप्रवर्तक सोनम वाङ्चुक अनिश्चितकालीन भोक हडतालमा बसेको २१ औं दिन शनिबार दिल्ली प्रहरीले वाङ्चुकलाई जबर्जस्ती उठाएर सफदरजंग अस्पताल पुर्‍याएको छ । यहाँसम्म कि उनलाई अनशनस्थलबाट उठाउँदाको दृश्य मिडियामा देखिन्छ भनेर प्रहरीले तन्नाले चारैतर्फ ढाक्ने प्रयास गरेको थियो । उनलाई जर्बजस्ती अनशनस्थलबाट उठाउने बेलाको दृश्यको सबैले आलोचना गरेका छन् ।

वाङ्चुकलाई अस्पताल लगिएपछि कक्रोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजित दिपके आफैं अनिश्चितकालीन भोक हडतालमा बसेका छन् ।

पछिल्लो समय वाङ्चुक भारतको शैक्षिक व्यवस्था सुधार एवं केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको मागसहित अनशनमा बसेका हुन् । एमबीबीएस, बीडीएस तथा अन्य स्नातक तहका चिकित्सा तथा स्वास्थ्यसम्बन्धी पाठ्यक्रममा भर्नाका लागि लिइने राष्ट्रिय प्रवेश परीक्षा (नीट) को प्रश्नपत्र लिकसमेत परीक्षामा भइरहेका गडबडीमा शिक्षामन्त्री प्रधानले राजीनामा दिनुपर्ने उनको प्रमुख माग छ । वाङ्चुकको अनशनलाई युवाकेन्द्रित राजनीतिक आन्दोलन नाम दिइएको सीजेपीको पनि समर्थन छ ।

Sonam Wangchuk's hunger strike rocks Delhi

वाङ्चुकले जुन २८ देखि अनशन सुरु गरेका हुन् । रिपोर्टहरूका अनुसार उनको तौल ८ किलोभन्दा बढी घटेको छ भने ब्लड सुगरको लेभल पनि घटेको छ ।

दिल्ली उच्च अदालतले यही हप्ता सरकारलाई जन्तरमन्तरमा भोक हडतालमा रहेका वाङ्चुकको दैनिक क्लिनिकल मोनिटरिङ सुनिश्चित गर्न निर्देशन दिएको थियो । दिल्ली प्रहरीले भने बिग्रँदो स्वास्थ्य अवस्था, चिकित्सकको सल्लाह र दिल्ली उच्च अदालतको आदेशको पालना गरेको भन्दै वाङ्चुकलाई अस्पताल लगिएको दाबी गरेको छ । वाङ्चुकसँगै अखिल भारतीय छात्र संघ (आइसा) का तीन विद्यार्थी– नेहा, आमीन र मनीष पनि केन्द्रीय शिक्षामन्त्री प्रधानको राजीनामा तथा परीक्षा र शिक्षा प्रणालीमा सुधारको माग गर्दै अनिश्चितकालीन भोक हडतालमा छन् ।

वाङ्चुकका समर्थकले गैरकानुनी तवरबाट धरपकड गरी जबर्जस्ती उठाइएको बताएका छन् । धरपकडसहित वाङ्चुकलाई अनशनस्थलबाट उठाएपछि दिपकेले प्रधानमन्त्री नरेन्द्र मोदीलाई तानाशाहीको संज्ञा दिँदै पत्रकारहरूसँग भने, ‘यिनीहरू प्रहरी होइनन्, आरएसएसका गुन्डा हुन् । म विदेशबाट आफ्नै देश फर्किएको हुँ । के म कुनै अपराधी हो र ?’

Sonam Wangchuk's hunger strike rocks Delhi

अस्पताल लगिए पनि सोनमले अनशन जारी राखेका छन् । उनले तरल पदार्थहरू लिन अस्वीकार गरेका छन् । सोनमकी पत्नी डा. गीताञ्जलि आंग्मोले दिल्ली उच्च अदालतमा आइतबार रिट दायर गर्दै सफदरजंग सरकारी अस्पालतबाट कुनै निजी अस्पताल सार्नका लागि अनुमति मागेकी छन् । उनले उपचारका नाममा वाङ्चुकलाई गैरकानुनी रूपमा हिरासतमा राखिएको बताएकी छन् । तर अदालतले वाङ्चुकलाई सरकारी अस्पतालबाट अन्यत्र सार्न आवश्यक नरहेको ठहर गरेको छ ।  मुद्दाको सुनुवाइका क्रममा सफदरजंग अस्पतालका चिकित्सकले वाङ्चुकले ‘आईभी फ्लुइड’ लिन नमानेको बताएका हुन् । साथै सरकारी पक्षले भने वाङ्चुकले डाक्टरमा विश्वास गर्नुपर्ने बताएको थियो ।

वाङ्चुकका तर्फबाट बहस गरेका वरिष्ठ अधिवक्ता कपिल सिब्बलले भने आफूहरूले मेदान्त अस्पतालमा सार्न चाहेको बताएका थिए । 

न्यायाधीश मिनी पुष्करणाको इजलासले तत्काल अन्तरिम आदेश आवश्यक नरहेको बताउँदै चिकित्सकहरू र केन्द्र सरकारलाई आगामी तीन दिनभित्र सोनम वाङ्चुकको स्वास्थ्य अवस्थाबारे प्रतिवेदन (स्टाटस रिपोर्ट) पेस गर्न आदेश दिएको छ । ‘वाङ्चुक हिरासतमा छैनन् । उनकी पत्नी, भाइ र भिनाजुलाई उनीसँग भेटघाटको अनुमति दिइएको छ,’ अदालतको आदेशमा भनिएको छ । 

रिट निवेदनमाथिको अर्को सुनुवाइ २४ जुलाईमा तोकिएको छ ।

चलो संसद् मार्च आह्वान

वाङ्चुकले अस्पतालबाटै पत्नीमार्फत आफ्ना समर्थक र शुभचिन्तकहरूलाई सन्देश पठाएका छन् । उनको सन्देशमा भनिएको छ, ‘स्वतन्त्रताको दोस्रो आन्दोलन । भयमुक्त भारत, अन्यायमुक्त भारत ।’ सोनमको सन्देशपछि सीजेपीले सोमबार जन्तरमन्तरदेखि संसद् भवनसम्म मार्च आह्वान गरेको छ । सीजेपीले उक्त मार्चका लागि आइतबार नै जन्तरमन्तर आउन आह्वान गरेको छ । मार्चमा केवल भारतको झन्डा, संविधान, महात्मा गान्धी, बीआर अम्बेडकर वा भगत सिंहका तस्बिर बोकेर सकारात्मक नारा मात्र लगाइने सीजेपीको दाबी छ । दिल्ली प्रहरीले भने जन्तरमन्तरकै प्रदर्शनलाई अवैधानिक भन्दै आएको छ । एक दिनका लागि मात्र प्रदर्शनको अनुमति दिएको दिल्ली प्रहरीको भनाइ छ । दिल्ली प्रहरीले मार्चका लागि सीजेपीले अनुमति नलिएको बताएको छ ।

भोक हडताल र विद्यार्थी आन्दोलनबारे अहिलेसम्म सरकारका तर्फबाट कुनै पनि आधिकारिक प्रतिक्रिया आएको छैन । प्रदर्शनकारीले भने विद्यार्थीको मागलाई गम्भीरताका सम्बोधन गर्न सरकारसँग माग गरिरहेका छन् । वाङ्चुक र सीजेपीको प्रदर्शनमा समर्थन गर्दै मुम्बई, कोलकातालगायतका सहरमा समेत विरोध प्रदर्शन भइरहेका छन् ।

मोदी सरकारको सर्वत्र विरोध

प्रमुख प्रतिपक्षी दल भारतीय कांग्रेसका नेता राहुल गान्धीदेखि कलाकार र सामाजिक अभियन्तासम्मले वाङ्चुकमाथि गरिएको व्यवहारको भर्त्सना गरेका छन् । ‘मोदी सरकारका मूल सिद्धान्त नै असत्य र हिंसा बनेको छ । जन्तरमन्तरमा अहिंसात्मक अनशनमा बसेका सोनम वाङ्चुकजीलाई त्यहाँबाट हटाउनु गलत हो । प्रश्नपत्र चुहावट, शिक्षाको बढ्दो लागत र विद्यार्थी आत्महत्याजस्ता विषयहरू भारतको भविष्यसँग गाँसिएका अत्यन्त गम्भीर मुद्दा हुन् । कुनै पनि प्रकारको बल प्रयोगले भारतका विद्यार्थीहरूलाई र उनीहरूलाई माया गर्ने तथा उनीहरूमाथि विश्वास गर्ने हामीलाई यी मुद्दाहरू उठाउनबाट रोक्न सक्दैन,’ राहुलले सामाजिक सञ्जालमा लेखेका छन् ।

राजनीतिक विश्लेषक एवं स्वराज इन्डियाका संस्थापक योगेन्द्र यादवले भनेका छन्, ‘यो देशमा कुनै पनि जिउँदो व्यक्तिलाई सेतो कपडा (च्यादर) ले बेरिँदैन । तर यो सरकारले शर्मनाक हर्कत देखाएको छ ।’

Sonam Wangchuk's hunger strike rocks Delhi

भारतीय लेखक तथा बुद्धिजीवी प्रतापभानु मेहताले द इन्डियन एक्सप्रेसमा लेखेका छन्, ‘सोनम वाङ्चुकको राजीनामाको माग कुनै एक मन्त्री वा एउटा परीक्षाको विषय मात्र होइन । यो लोकतान्त्रिक राजनीतिमा जवाफदेहिता अनिवार्य हुनुपर्छ भन्ने सिद्धान्तको पक्षमा उभिएको आग्रह हो । संस्थाहरूलाई सुधार्नुअघि तिनलाई कसले बिगारेको हो भन्ने स्पष्ट रूपमा स्वीकार गर्नुपर्छ । जसरी युद्ध रोक्न चाहन्छौं भने युद्ध सुरु गर्नेहरूलाई पहिचान गरी सार्वजनिक रूपमा जवाफदेही बनाउनुपर्छ, त्यसैगरी लोकतन्त्रमा पनि जिम्मेवार व्यक्तिलाई जिम्मेवार ठहर गर्नैपर्छ ।’

त्यस्तै प्राध्यापक अपूर्वानन्द द वायर हिन्दीमा लेख्छन्, ‘जो अझै केही समय सरकारलाई समय दिन चाहन्थे, यो कदमले तिनीहरूको नजरमा पनि सरकारको साख गुमेको छ । आखिर सोनम वाङ्चुकले सरकारको राजीनामा त मागेका थिएनन् । उनी केवल एक निकम्मा शिक्षामन्त्रीको जवाफदेहिता सुनिश्चित गर्नुपर्ने माग गरिरहेका थिए । तर त्यसबारे विचार गर्नु त परै जाओस्, सरकारले माग उठाउने वाङ्चुकमाथि नै दमन गरेको छ ।’

सोनम वाङ्चुकमाथि गरिएको व्यवहारको प्रकाश राज, विशाल ददलानीलगायतका कलाकारले पनि आलोचना गरेका छन् । विशालले इन्स्टाग्राममार्फत भनेका छन्, ‘के तपाईंले कहिल्यै यस्तो घटना देख्नुभएको छ ? सोनमजीलाई जबर्जस्ती उठाएर लगियो । यी मानिसहरूले देशलाई बर्बादीतर्फ धकेलिरहेका छन् । यो देखेर मेरो मन दुःखिरहेको छ । मेरो देशका जनताहरू, तपाईंहरू कहिले जाग्नुहुन्छ ? अहिले पनि नजाग्ने हो भने आखिर कहिले ?... रिसले मेरो दिमाग तातिरहेको छ ।’

कलाकार प्रकाश राजले एक्समा लेखेका छन्, ‘विश्वले यस्तो कायर सरकार देखिरहेको छ, जसले युवासँग संवाद गर्न चाहँदैन, बरु तानाशाहझैं व्यवहार गर्न खोजिरहेको छ । सोनम वाङ्चुकलाई जबर्जस्ती उठाएर लैजानु र विद्यार्थीहरूको शान्तिपूर्ण प्रदर्शन बिथोल्नु सरकारको डरको संकेत हो । यो अत्यन्त लज्जास्पद छ ।’

कंग्रेस प्रचार विभाग प्रमुख पवन खेडाले पनि सोनमलाई जबर्जस्ती अस्पताल लगिएकोमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘संविधानले हामीलाई असहमति जनाउने अधिकार दिएको छ । तर यस्तो लाग्छ कि गृह मन्त्रालय यही अधिकार दबाउन उद्यत छ ।’

त्यस्तै कलाकार सोनाक्षी सिन्हाले पनि सोनमलाई जबर्जस्ती अस्पताल लगिएको घटनाको विरोध गरेकी छन् । ‘सोनम वाङ्चुकसँग जे व्यवहार गरियो त्यो एकदमै गलत भयो । केही दिनयता उहाँ र उहाँसँगै उभिएका हजारौं मानिसहरूलाई हेरिरहेको छु । उहाँहरूसँग जस्तोसुकै व्यवहार गरिएको होस्, उहाँहरू एकदमै शान्तिपूर्ण र सम्मानजनक तरिकाले आफ्नो आवाज उठाइरहनुभएको छ । हामी सबैलाई थाहा छ, देशको भविष्य युवा शक्ति नै हो । तपाईंहरूलाई देखेर यो कुरा अझै सत्य लाग्दै छ । २० तारिखमा मार्चमा सहभागी हुन जानेलाई पनि मेरो सन्देश छ कि आफ्नो आवाज बुलन्द पार्नुहोस् तर तरिका त्यही अपनाउनुस् कि जुन अहिलेसम्म शान्तिपूर्ण र सम्मानजनक तवरले गर्दै आउनुभएको छ ।’

के भोक हडतालमा बसेका व्यक्तिलाई जबर्जस्ती उठाउन मिल्छ ?

भारतीय सर्वोच्च अदालतका केही फैसला र आदेशमा भोक हडतालमा बस्ने कुनै पनि व्यक्तिको जीवनरक्षाको जिम्मेवारी सरकारको हुने उल्लेख छ । तर ती फैसला र आदेशमा यो पनि भनिएको छ कि असहमति जनाउने ती व्यक्तिको अधिकारमा कुनै बाधा आउनु हुँदैन । सोनम वाङ्चुक मामिलामा पनि दिल्ली उच्च अदालतले हरेक नागरिकको जीवन मूल्यवान् भएको उल्लेख गरेको छ ।

सन् २०२४ मा सर्वोच्च अदालतले केन्द्र सरकार र पञ्जाब सरकारलाई भोक हडतालमा बसेका किसान नेता जगजीत सिंह डल्लेवाललाई पूर्ण रूपमा स्वास्थ्योपचारको व्यवस्था मिलाउन र आन्दोलन जारी राख्ने उनको निर्णयलाई सम्मान गर्न निर्देशन दिएको थियो । २०२४ नोभेम्बरमा ७० वर्षीय डल्लेवाल किसानहरूको मागलाई लिएर पञ्जाब र हरियाणाको सीमामा अनिश्चितकालीन भोक हडतालमा बसेका थिए । उनी अनशन बसेको २० दिनभन्दा बढी भएको थियो । २६ नोभेम्बरका दिन प्रहरीले डल्लेवाललाई अनशनस्थलबाट जबर्जस्ती उठाएर लुधियानाको अस्पतालमा भर्ना गरेको थियो । किसानहरूको दबाब झेल्न नसकेर प्रहरीले उनलाई छाडेको थियो । त्यतिबेलै अदालतले केन्द्र र राज्य सरकारलाई डल्लेवालको उमेर र स्वास्थ्य अवस्थालाई पनि ध्यानमा राख्न आदेश दिएको थियो ।

Sonam Wangchuk's hunger strike rocks Delhi

द हिन्दुको एक रिपोर्टका अनुसार सर्वोच्च अदालतका कैयौं फैसलामा आफ्नो आवाज राख्न अनशनको सहारा लिने व्यक्तिसँग टकरावको बाटो लिन नहुने उल्लेख छ । अदालतले भनेको छ, ‘अभिव्यक्ति स्वतन्त्रतामा तब मात्र दखल दिन सकिन्छ, जहाँ साम्प्रदायिक सौहार्दता, सामाजिक अव्यवस्था र सार्वजनिक शान्ति भंग हुने अवस्था हुन्छ । भोक हडताल न त असंवैधानिक हो, न कुनै कानुनले रोक नै लगाएको छ ।’ सरकारको कुनै निर्णयको विरोधमा कुनै व्यक्तिले अनिश्चितकालीन अनशन बस्छ भने त्यसलाई सार्वजनिक व्यवस्थाका लागि खतरा मान्न नसकिने पनि अदालतको भनाइ छ । ‘यो विरोध जनाउने एउटा शैली नै हो, जसलाई इतिहास तथा हाम्रो संवैधानिक न्यायशास्त्र दुवैले मान्यता दिन्छ । यसको प्रेरणा महात्मा गान्धीको सत्याग्रहबाटै प्राप्त हुन्छ ।’ यस पटक पनि दिल्ली उच्च अदालतले व्यक्तिको जीवनरक्षामा हरसम्भव प्रयास गर्नुपर्नेमा कुरामा जोड दिएको छ ।

कक्रोच जनता पार्टीका प्रवक्ता सौरव दासले सरकारले दिल्ली उच्च अदालतको आदेशलाई आफू अनुकूल व्याख्या गरेर अदालतको अपहेलना गरेको आरोप लगाएका छन् । ‘दिल्ली उच्च अदालतको आदेशमा भनिएको छ कि सोनम वाङ्चुकको स्वास्थ्य निगरानी हुनुपर्छ । यदि स्वास्थ्य अवस्था निकै खराब भएमा चिकित्सको सल्लाहबमोजिम नै अघि बढ्नुपर्छ । तर दिल्ली प्रहरीले हामीलाई भ्रममा राख्न खोजिरहेको छ कि अदालतकै आदेशले सोनम वाङ्चुकलाई लिन आएको हो । यो सरासर झूटो हो र अदालतको अवहेलना पनि हो,’ उनले भनेका छन् ।

को हुन् सोनम वाङ्चुक ?

५९ वर्षीय सोनम वाङ्चुक भारतका चर्चित शिक्षाविद् तथा वातावरण अभियन्ता एक हुन् । व्यावहारिक सिकाइमार्फत लद्दाखको शिक्षा प्रणालीमा रूपान्तरण ल्याउन उनले महत्त्वपूर्ण भूमिका खेलेका छन् । साथै लद्दाखका सुक्खा क्षेत्रमा बसोबास गर्ने समुदायका लागि पानी सञ्चय गर्न सहयोग गर्ने अन्तर्राष्ट्रिय रूपमा चर्चित ‘आइस स्तूप’ परियोजनाका कारण पनि उनी भारतमा मात्र होइन, अन्तर्राष्ट्रियस्तरमै परिचित छन् ।

Sonam Wangchuk's hunger strike rocks Delhi

सन् १९९८ मा सोनमले लद्दाखका विद्यार्थीको शैक्षिक एवं सास्कृतिक आन्दोलन (सेकमोल) नाम दिएर विद्यालय स्थापना गरे । यसको उद्देश्य लद्दाखका विद्यार्थीहरूको आत्मविश्वास बलियो बनाउनेदेखि जीवनोपयोगी सीप विकास गर्नु तथा नेतृत्व विकासदेखि सौर्य ऊर्जा जडानसम्मका व्यावहारिक तालिम प्रदान गर्नु थियो । वाङ्चुकको मार्गदर्शनमा सेकमोलका विद्यार्थीहरूले नवीकरणीय ऊर्जा उत्पादन गर्न र विद्यालय तथा लद्दाखका गाउँले भोगिरहेका समस्याको समाधानका लागि नवीन प्रविधिहरू विकास गर्न सफलसमेत भए ।

जलवायु परिवर्तनका कारण कृषि प्रयोजनका लागि आवश्यक पानीको प्राकृतिक स्रोत प्रभावित भएको देखेपछि वाङ्चुकले ‘आइस स्तूप’ (बरफका स्तूप) निर्माण गर्ने अवधारणा अघि सारे । यी कृत्रिम स्तूपले जाडोयाममा पानी सञ्चित गर्छन् र गर्मीयाममा बिस्तारै पग्लिएर खेतबारीका लागि आवश्यक पानी उपलब्ध गराउँछन् । यही योगदानको कदरमा उनलाई सन् २०१८ मा प्रतिष्ठित रमन म्यागासेसे पुरस्कारले समेत सम्मानित गरियो ।

अगस्ट २०१९ मा जम्मु–कश्मीरको पुनर्गठन गरी जम्मु–कश्मीर र लद्दाखलाई दुई केन्द्र शासित प्रदेश बनाइएपछि सोनम वाङ्चुकले सुरुमा त्यस निर्णयको स्वागत गरेका थिए । कश्मीरमा तत्काल विरोध सुरु हुँदा लेहले करिब एक वर्षपछि मात्र आन्दोलन थालेको थियो । त्यस आन्दोलनको मुख्य उद्देश्य लद्दाखका लागि बढी लोकतान्त्रिक प्रतिनिधित्व र संवैधानिक अधिकार सुनिश्चित गर्नु थियो । सन् २०२३ मा वाङ्चुकले विश्वकै अग्ला भन्ज्याङमध्ये एक खारदुङ–लामा जलवायु परिवर्तनको प्रभाव र लद्दाखलाई संविधानको छैटौं अनुसूचीअन्तर्गत संरक्षण दिनुपर्ने माग गर्दै अनशन घोषणा गरेका थिए । तर भारत सरकारले उक्त अनशनका लागि अनुमति दिएन, उनलाई घरमै नजरबन्द गरियो । त्यसपछि भने वाङ्चुकले लद्दाख केन्द्र शासित प्रदेशभन्दा जम्मु–कश्मीरसँगै रहँदा बढी राम्रो अवस्था थियो भन्ने राजनीतिक अभिव्यक्ति दिएका थिए ।

एक वर्षपछि उनले लद्दाखका लागि संवैधानिक सुरक्षाको माग गर्दै आमरण अनशन घोषणा गरे । सेप्टेम्बर २०२५ मा उनको २१ दिने अनशनका क्रममा आन्दोलन हिंसात्मक बनेको र लेहमा प्रहरीको गोली लागेर चार जनाको मृत्यु भएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ । त्यस घटनापछि राष्ट्रिय सुरक्षा ऐनअन्तर्गत वाङ्चुकलाई पक्राउ गरी जोधपुर जेलमा ६ महिनासम्म राखिएको थियो । उत्तेजक अभिव्यक्तिमार्फत युवालाई उक्साएको आरोप लगाउँदै उनको संस्थाको विदेशी सहयोग प्राप्त गर्ने अनुमति लाइसेन्स पनि केन्द्र सरकारले रद्द गरेको थियो । मार्च २०२६ मा ती आरोप पुष्टि नभएपछि उनी जेलबाट रिहा हुँदै लेह फर्किएका थिए ।

वाङ्चुक आफूलाई ‘गान्धीवादी’ बताउँछन् र अहिंसात्मक आन्दोलन तथा लामो अनशनलाई संघर्षको माध्यम बनाउँदै आएका छन् । सेप्टेम्बर २०२४ मा उनले लद्दाखलाई छैटौं अनुसूचीको संरक्षण दिनुपर्ने माग गर्दै लेहदेखि नयाँदिल्लीसम्म पदयात्रा गरेका थिए, तर राजधानीको बाहिरी क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको थियो । पछिल्लो समय भने उनी युवाहरूले सुरु गरेको राजनीतिक आन्दोलन कक्रोच जनता पार्टीलाई समर्थन गर्दै आएका छन् ।

इन्दिराले तोडाएकी थिइन् सोनमका बुवाको अनशन

सोनमका बुवा सोनम वाङ्ग्याल पनि लद्दाखका चर्चित राजनीतिज्ञ थिए । उनी केही समय तत्कालीन जम्मु–कश्मीर राज्यमा मन्त्रीसमेत बनेका थिए । सन् १९६५ मा उनले २३ वर्षको उमेरमै सगरमाथा आरोहणसमेत गरेका थिए । उनी त्यतिबेलासम्मका सबैभन्दा कान्छा आरोहीसमेत थिए । वाङ्ग्याल लद्दाखलाई अनुसूचित जनजातिको दर्जा दिलाउन सन् १९८० को दशकमा सक्रिय रूपमा लडेका थिए । लद्दाखका स्थानीय बासिन्दा आर्थिक र शैक्षिक रूपमा मात्र पछि थिएनन्, राजनीतिक प्रतिनिधित्वका हिसाबले पनि पछि थिए । अनुसूचित जनजातिको पहिचानका लागि वाङ्ग्याल सन् १९८२ मा १६ र १९८४ मा ५ दिन भोक हडतालमा बसे । १९८४ मा लेहको भ्रमणमा थिइन् तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धी । इन्डियन एक्सप्रेसका अनुसार गान्धीले वाङ्ग्याललाई भेटिन्, अनुसूचित जनजातिको दर्जा दिलाउने आश्वासन दिइन् र जुस पिलाएर अनशनसमेत तोडाइन् । वाङ्ग्यालले आफ्नो संस्मरण ‘पोलिटिकल इभोलुसन् इन पोस्ट इन्डिपेन्डेन्स लद्दाख’ मा इन्दिरा गान्धी सरकारले आफूहरूको माग स्वीकार गर्न सकारात्मक रहेको जनाएका छन् । तर, त्यहीबीचमा गान्धीको हत्या भयो । पछि सन् १९८९ मा राजीव गान्धी प्रधानमन्त्री हुँदा लद्दाखका कैयौं जातिलाई अनुसूचित जनजातिको दर्जा दिइएको इन्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।

फिचर

उपेन्द्रराज पाण्डेय १० वर्षदेखि पत्रकारिता गर्दै आएका छन् । उनी हाल इकान्तिपुरमा सहायक वरिष्ठ उप-सम्पादकका रूपमा कार्यरत छन् ।

Link copied successfully