नाटक ‘फर्स्ट ड्राफ्ट’ले हामीलाई कल्पनातीत लोकमा यसरी लैजान्छ, जहाँ हामी एउटा लेखकको सकसलाई उनकै पात्रमार्फत महसुस गर्न सक्छौं ।
What you should know
काठमाडौँ — ‘यो नाटक त विशेषगरी सर्जकहरूले हेर्नुपर्छ,’ नाटक ‘फर्स्ट ड्राफ्ट’को पहिलो शो हेरेर बाहिर निस्किनासाथ कलाकार आशान्त शर्मा बोले ।
आशान्तले झैं नाटक हेरिरहँदा मैले पनि तमाम लेखक सम्झिरहेको थिएँ । लेखकहरू कसरी लेख्छन्, कसरी सोच्छन् ? उनीहरूका मस्तिष्कमा हुने सिर्जनात्मक घर्षणबाट कस्ता कथा जन्मिन्छन् ?
ती कथाका जीवन बाँच्ने पात्रहरू कस्ता देखिन्छन् ? यदि उनीहरू आफूलाई बुनेका अक्षरहरूबाट बाहिर निस्किएर लेखकको आमनेसामने भए भने कस्ता संवाद गर्लान् ? आफ्नो चरित्रप्रति सन्तुष्ट होलान् वा आफ्ना अपूर्ण जीवनमाथि गुनासा गर्लान् ? नाटक ‘फर्स्ट ड्राफ्ट’ले हामीलाई कल्पनातीत लोकमा यसरी लैजान्छ, जहाँ हामी एउटा लेखकको सकसलाई उनकै पात्रमार्फत महसुस गर्न सक्छौँ ।
ओस्कार इन्टरनेसनल कलेजको थिएटरमा मञ्चन भइरहेको यो नाटकको लेखन र निर्देशन कञ्चन संग्रौलाले गरेकी छन् । मञ्चमा पनि १ घण्टा ४० मिनेटसम्म मीराको जीवन बाँचिरहेकी कञ्चन तीनवटै विधामा अब्बल देखिएकी छन् । कञ्चनले जे लेखिन्, जे परिकल्पना गरिन्, त्यो लोकभित्रको हिस्सा पनि आफैं बनिन् । फरक फरक चुनौतीपूर्ण कामलाई उनले स्वभाविक तवरले निर्वाह गरेकी छन् ।
लेखक र लेखकको पात्र बनेर मञ्चमा उभिएका कलाकार अभय बरालले आफूभित्रको चरित्रलाई निचोरेर प्रस्तुत गरेका छन् । उनको पात्र हिराले कथामा प्रदान गर्ने चमक असाध्यै रोचक छ ।
दुई कलाकारले हलभरि भएका दर्शकलाई धैर्यसाथ कसरी टिकाउँछन् त ? यसका लागि सबैभन्दा महत्वपूर्ण कुरा त कथा हो । कथा अतियथार्थवाद शैलीमा बुनिएको छ । मानिसभित्रको अवचेतन मन र उसको कल्पनाशीलताको गठजोडबाट जन्मिएका चरित्रले कथामा विशेष स्थान पाउँछन् ।
एउटा थिएटर कलाकार मिरा जो आफैंलाई प्रश्न गर्छिन्– म को हुँ ?
यसको जवाफ थिएटरमा सुरुवातमा नाटक सिक्न आएका साथीहरूले जसरी दिए, उनले त्यसरी दिइनन् । उनले आवरणभित्रको पहिचान खोजिन् । उनीसँग संवाद गरिरहेको कथाको पात्रले उनलाई पटक पटक यही प्रश्न सोध्छ– म को हुँ ?
उसलाई जान्नुछ कि, उसैलाई किन लेखकले जन्मायो ? ऊ आफ्नो बारेमा लेखिएको कुरा पढ्न चाहन्छ । तर मीराले उसलाई न पहिलो ड्राफ्ट दिन सक्छे, न उसलाई सिर्जना गर्नुको ध्यय नै भन्न सक्छे । यही द्वन्द्व र अन्तरद्वन्द्वबीच कथा अगाडि बढ्छ । कथामा आउने ‘ट्विस्ट’हरूले दर्शकहरू भ्रम र सत्यको बिलखबन्दमा पर्न सक्छन् ।
नाटकमा स्वादिला संवाद छन् । कुनै संवादहरू सुन्दा यस्तो लाग्छ, हामी आफैंभित्र गन्थन गरिरहेका छौँ । मीरासँग कतिको जवाफ नभएजस्तै आफैसँग हामीले गरेका कतिपय कामको जवाफ हुँदैन । कथामा नामको विषयमा भएको संवाद अर्थपूर्ण लाग्छ । ‘नाम त यत्तिकै कहाँ राखिन्छ र’ भन्ने संवाददेखि ‘नाममा के छ र’ भन्नेसम्मका कुराले हामीलाई अस्तित्व चिन्तनतर्फ डोहोर्याउँछन् । नाटकका संवादहरूले अस्तित्व र पहिचानको गहिरो खोजी गर्न सिकाउँछन् ।
नाटकमा प्रयुक्त सेट, लाइट र ध्वनिले कथालाई न्याय गरेका छन् । अमूर्त शैलीमा बुनिएको यो सेटले दुई सोच्न सिकायो । माथिल्लो तहले लेखकको मानसपटल रचनात्मक संसार जनाउँछ । तल्लो तहले भौतिक संसारको बोध गराउँछ ।
लेखक र पात्रबीचको सम्बन्ध र लेखकमा आउने वैचारिक उतारचढावलाई पनि सेटले संकेत गर्छ । लेखक कुन चरणमा छ, कुन मनोदशाबाट गुज्रिरहेको छ भन्ने कुरा पनि खण्डखण्ड ब्लकहरूले जनाउँछन् । सेटमा पात्रको ‘इन्ट्री’ र ‘एक्जिट’ निकै सुन्दर ढंगले तयार पारिएको छ ।
जब उनीहरूले रातो र निलो मसी पिउँछन्, त्यो कुनै कविले लेखेको बलशाली कविताको बिम्बजस्तो लाग्छ ।
मसी विचार र भावना व्यक्त गर्ने सबैभन्दा बलियो हतियार हो । सर्जकहरूले आफ्नो भोक कलमको निबबाट मेटाउँछन् । सायद लेखकले यिनै कुरा अभिव्यक्त गर्न खोजेकी हुन् कि ? मसी पिएसँगै आउने आवाजले उनीहरूभित्र थपिएका विचार र चेतनाको संकेत गर्छन् ।
नाटकमा प्रकाश र संगीतले लेखक र पात्रको लोक, उनीहरूको मनस्थिति र कथाको ग्राफलाई न्याय गरेका छन् । कुनैकुनै बेला कथा ‘होल्ड’ भएजस्तो हुन्छ । केही प्रसंगहरू दोहोरिएजस्ता हुन्छन् । यद्यपि, दर्शकहरू अस्थिर हुन नपाउँदै फेरि दृश्य र कथाले गति लिन्छन् ।
लेखक तथा निर्देशक कञ्चन र उनको टिमले ‘फर्स्ट ड्राफ्ट’बाट कथा, सेट र लाइटमा परम्परागत शैली भत्काउने प्रयत्न गरेका छन् । उनीहरूको माझिएको इमानदार प्रयत्नले दर्शकले लगानी गरेको समय लाभदायक हुन सक्छ ।
