यसअघि सामाजिक सञ्जालहरूमा म्याडोनाले ३० लाख डलर र बीटीएसले २८ लाख डलर पारिश्रमिक लिन लागेको हल्ला चलेको थियो ।
न्युयोर्क (अमेरिका) — फिफा विश्वकपको झन्डै एक शताब्दी लामो इतिहासमा पहिलो पटक सन् २०२६ को फाइनल खेलमा विशेष ‘हाफ टाइम शो’ आयोजना गरिँदैछ । न्युयोर्क/न्युजर्सीको मेटलाइफ स्टेडियममा हुने अर्जेन्टिना र स्पेनबीचको यो ऐतिहासिक फाइनलको हाफटाइममा विश्वका चर्चित सुपरस्टारहरूले स्टेज सेयर गर्दैछन् ।
उक्त ‘हाफ टाइम शो’ लाई ‘कोल्डप्ले’ ब्यान्डका क्रिस मार्टिनले क्युरेट गर्नेछन् भने ‘ग्लोबल सिटिजन’ नामक संस्थाले यसको निर्माण गरिरहेको छ । अमेरिकाको सुपर बल खेलको हाफटाइम शो कै जस्तो शैलीमा गर्न लागिएको हाफटाइम शोको मुख्य आकर्षणमा पप क्वीन म्याडोना, ल्याटिन पप स्टार शाकिरा, दक्षिण कोरियाली चर्चित ब्वाइब्यान्ड ‘बीटीएस’, ग्लोबल पप आइकन जस्टिन बिबर हुनेछन् ।
यसबाहेक शोमा बर्ना ब्वाय, गुस्ताभो दुडामेल र पीएस२२ कोरससँग कोल्डप्लेको पनि प्रस्तुति रहने फिफाले जनाएको छ । अमेरिकी राष्ट्रिय गान भने जेनिफर हड्सनले गाउने कार्यक्रम छ ।
यस प्रस्तुतीको लागि कुनै पनि कलाकारले पारिश्रमिक नलिएको फिफा र आयोजक स्रोतले बताएको छ । यसअघि सामाजिक सञ्जालहरूमा म्याडोनाले ३० लाख डलर र बीटीएसले २८ लाख डलर पारिश्रमिक लिन लागेको हल्ला चलेको थियो । महंगो पारिश्रमिकसहितको एउटा नक्कली विवरण (फेक सिट) भाइरल भएपछि आयोजक स्रोतले त्यसको खण्डन गर्दै सबै कलाकारले निःशुल्क प्रस्तुती दिन लागेको बताएको हो ।
हाफटाइम शो ‘फिफा ग्लोबल सिटिजन एजुकेसन फन्ड’ का लागि आयोजना गर्न लागिएको हो । यसको उद्देश्य विश्वभरका बालबालिकाको शिक्षा र फुटबलमा पहुँच बढाउन १० करोड डलर सहयोग जुटाउनु रहेको छ । यस कोषका लागि भनेर यो विश्वकपका प्रत्येक खेल र कार्यक्रमको टिकट बिक्रीबाट १ डलर छुट्याइएको छ ।
‘सुपर बोल’ को हाफ टाइम शोमा जस्तै विश्वकपको फाइनलमा पनि कलाकारहरूलाई सिधै पैसा तिरिँदैन ।
फिफाले यस शोको सम्पूर्ण व्यवस्थापन र उत्पादन खर्च बेहोर्ने छ । विश्वभरका अर्बौं दर्शकले विभिन्न माध्यमबाट एकैपटक प्रत्यक्ष हेर्ने भएकाले यो स्टेज सेयर गर्न पाउनु पनि कलाकारका लागि उपलब्धी हुने गर्छ । कलाकारहरूको गीत संगीतको चर्चासँगै ब्रान्ड भ्यालु पनि हृवात्तै बढ्ने भएकोले कलाकारका लागि पारिश्रमिक भन्दा पनि प्रस्तुती दिनु ठूलो कमाइ मानिएको छ ।
विश्वकपको समापन समारोहमा पनि हलिउडका प्रख्यात कलाकारले प्रस्तुति दिने भएका छन् । स्पेनविरुद्ध अर्जेन्टिनाको फाइनल खेल सुरु हुनुभन्दा करिब ९० मिनेट अगाडि नै सुरु हुने समापन समारोहमा अमेरिकी चर्चित गायक तथा र्यापर पोस्ट मलोन मुख्य आकर्षणका रूपमा रहेका छन् ।
त्यसैगरी, बेलायती पप आइकन रोबी विल्याम्स, लउरा पाउसिनी र निकोल शेर्जिंगरले फिफाको आधिकारिक गीतहरू मध्येको एक ‘डिजाएर’ मा विशेष प्रस्तुती दिनेछन् ।
साथै, हलिउडका प्रख्यात अभिनेता टम क्रुज पनि समापन समारोहमा एक विशेष प्रस्तुतीका साथ देखा पर्ने बताइएको छ । विश्वप्रसिद्ध युट्युब स्ट्रिमर तथा कन्टेन्ट क्रिएटर स्पीड उर्फ ड्यारेन ज्यासन वाट्किन्सले पनि प्रस्तुती राख्दैछन् ।
ओस्कार तथा ग्रामी अवार्ड विजेता गायिका जेनिफर हड्सनले पनि फाइनल खेलको ठीक अगाडि अमेरिकाको राष्ट्रिय गान गाउनेछिन् । हाफ टाइम शोमा जस्तै समापन समारोहमा पनि प्रस्तुती दिने कलाकार वा सेलेब्रिटीलाई फिफाले नगद पारिश्रमिक दिनेछैन । जून फिफा र अन्तर्राष्ट्रिय खेलकुद महासंघको लामो समयदेखिको नियम हो ।
