अमेरिकी चुनावका लागि ९ दिन मात्रै बाँकी रहँदा राष्ट्रपतिका दुई उम्मेदवारको पक्ष–विपक्षमा चर्चित व्यक्ति तथा धनाढ्यहरूको लबिङ रोचक बन्दै
काठमाडौँ — हालै मात्र अमेरिकी माथिल्लो सदन सिनेटका प्रभावशाली नेता बर्नी स्यान्डर्सले आसन्न राष्ट्रपतीय चुनावमा सघाउने नाममा भइरहेको तँछाडमछाडतर्फ संकेत गर्दै यसलाई कुलीनतन्त्रको संज्ञा दिए । ‘लोकतन्त्र भनेको अर्बपतिहरूले चुनाव खरिद गर्ने व्यवस्था होइन, यो कुलीनतन्त्र हो’ भन्दै उनले यसको सामाजिक सञ्जालमार्फत कडा आलोचना नै गरे ।
अबको ९ दिनपछि हुन लागिरहेको अमेरिकी चुनावमा यहाँका विभिन्न मिडिया, सामाजिक सञ्जाल इन्फ्लुएन्सर, सेलेब्रिटी र अर्बपतिहरूले डेमोक्य्राट उम्मेदवार कमला ह्यारिस र रिपब्लिकन दलका उम्मेदवार तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पक्ष/विपक्षमा खुलेर अभियान चलाइरहेका छन् ।
अमेरिकी चुनावमा सेलेब्रिटी तथा प्रभावशाली व्यक्तिका समर्थनले ठूलो महत्त्व राख्दै आएको छ । अमेरिकाका विभिन्न संघीय तथा राज्य तहका चुनावमा सार्वजनिक प्रभाव भएका व्यक्ति तथा संस्थाले खुलेर समर्थन गर्ने विषयलाई सहज रूपमा लिने पनि गरिन्छ । यस्तोखाले समर्थन र प्रचारले मत परिणामै प्रभाव पार्ने गरेको हार्भर्ड विश्वविद्यालयको एक अनुसन्धानले पुष्टिसमेत गरिसकेको छ ।
गायिका वियोन्से डेमेक्य्राट उम्मेदवार कमला ह्यारिसको समर्थनमा चुनावी सभामा । तस्बिर : एपी/रासस
यसको पछिल्लो उदाहरण सन् २०२० को चुनावमा गायिका टेलर स्विफ्टले डेमोक्य्राट उम्मेदवार जो बाइडेनलाई गरेको समर्थनलाई लिन सकिन्छ । उनले बाइडेनलाई मत खसाल्ने घोषणा गरेपछि ३५ हजार अमेरिकीले मतदाता नामावलीमा नाम दर्ता गराएको अध्ययनले प्रमाणित गरेको थियो । यसपालि पनि टेलरले डेमोक्य्राटिक पार्टीलाई नै समर्थन गर्ने गरी वर्तमान उपराष्ट्रपति ह्यारिसलाई भावी राष्ट्रपति चुन्न चाहेको स्पष्ट पारिसकेकी छन् । ह्यारिसलाई खुला रूपमा समर्थन गर्ने अघिल्लोमध्येका एक चर्चित सेलेब्रिटी रहेकी स्विफ्टले ट्रम्प र उनका समर्थकलाई कटाक्ष गर्दै एक इन्स्टाग्राम पोस्टमार्फत उक्त समर्थन जनाएकी थिइन् ।
गायिका स्विफ्टले ह्यारिसलाई समर्थन गर्ने बताएसँगै डेमोक्य्राटहरूको चुनावी अभियानमा चन्दा रकम बढेर गएको छ । यसले डेमोक्य्राटलाई तत्कालका लागि उत्साहित बनाए पनि अहिलेसम्मका विभिन्न मत सर्वेक्षणहरूले भने ट्रम्प र ह्यारिस दुवै अत्यन्तै कडा प्रतिस्पर्धामा रहेको र ‘स्विङ स्टेट’ भनिने अनिर्णीत राज्यहरूमा यो प्रतिस्पर्धा अझै बलियो रहेको देखाएको छ । यसैबीच यही चुनावदेखि ट्रम्पका उम्दा समर्थक बनेर छाइरहेका विश्वकै सबैभन्दा धनी व्यक्ति इलन मस्कले ट्रम्पका चुनावी र्यालीमा सम्बोधन गर्नेदेखि घरदैलो कार्यक्रम र ट्रम्पलाई भोट खसाल्ने प्रतिबद्धतासहित मतदाता नामावलीमा दर्ता हुनेमध्ये दिनको एक जनालाई १० लाख अमेरिकी डलर इनाम दिने घोषणासमेत गरेका छन् ।
यति मात्र होइन, ट्रम्पलाई जिताउन इलनले चन्दाको ओइरो नै लगाएका छन् । गएको तीन महिनामा मात्रै उनले ट्रम्प अभियानका लागि ७५ मिलियन डलर (करिब १० अर्ब रुपैयाँ) उपलब्ध गराइसकेको अमेरिकी निर्वाचन आयोगले जनाएको छ । विशेषतः मतपरिणाम जता पनि ढल्कन सक्ने ‘स्विङ स्टेट’ मा इलनले आफ्नो सुपर प्याकमार्फत ट्रम्पको प्रचारका लागि लाखौं डलर खर्च गरिरहेका छन् ।
राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पको चुनावी सभामा इलन मस्क । तस्बिर : एपी/रासस
त्यतिमात्र नभएर इलनले ट्रम्प र उनका उपराष्ट्रपति उम्मेदवार भान्सका लागि आफ्नो स्वामित्वको ‘एक्स’ मा कतिपय विवादास्पद पोस्टहरूसमेत गर्ने गरेका छन् । ट्रम्पको हत्या प्रयासपछि ‘कमलालाई कसैले मार्नसमेत नचाहेको’ भन्नेजस्ता अत्यन्तै आलोचित अभिव्यक्तिसमेत उनले दिएका थिए । इलनसँगै, गायक किड रक, आफैं राष्ट्रपति उठ्ने घोषणा गरेर फिर्ता भएका पूर्वराष्ट्रपति जोन एफ केनेडीका भतिजा रब केनेडी, पूर्वरेस्लिङ खेलाडी एवं रियालिटी सोका स्टार हल्क होगन, रेस्लर अन्डरटेकर, अभिनेता मेल गिब्सन, फुटबलर ब्रेट फ्राभ्रे, गायक कान्ये वेस्ट, र्यापर एवं मोडल एक्बर रोजलगायत सेलेब्रिटीले ट्रम्पलाई समर्थन जनाएका छन् भने तीमध्ये केही प्रचारको हिस्सासमेत बन्ने र उनका अभियानमा सहभागी बन्ने गरेका छन् ।
राष्ट्रपतिको चुनावी मैदानमा खडा भएकी वर्तमान उपराष्ट्रपति ह्यारिसको पक्षमा भने अमेरिका र विशेषगरी हलिउडका प्रमुखजसो नामी कलाकार उभिएका छन् । ट्रम्पका कटु आलोचक रहँदै आएका र्यापर एमिनेमदेखि गायिका बियोन्से, सञ्चारकर्मी ओप्रा विन्फ्री, अभिनेता लियोनार्दो डिक्याप्रियो, पपस्टार सेर, गायक जन लिजेन्ड, युसर, गायिका कार्डी बी, र्यापर लिज्जोदेखि अहिलेकी चर्चित गायिका बिल्ली एलिसदेखि हलिउड अभिनेता/अभिनेत्री जर्ज क्लुनी, जेनिफर एनिस्टन, जेनिफर लरेन्स, रोबर्ट डेनिरो, एन ह्याथवे, गायक/गायिका केटी पेरी, एरियाना ग्रान्डी, बनजोभी, चर्चित निर्देशक केन बर्नसलगायत छन् । यसै क्रममा गायिका वियोन्से ह्यारिसको समर्थनमा टेक्ससमा आयोजित चुनावी सभामा सहभागी भएकी थिइन् भने चर्चित सेलेब्रिटीहरू मेगन थ्री स्टालियन तथा जुलिया रोबर्ट्सलगायत दर्जनौं चर्चित व्यक्ति ह्यारिसका लागि मत माग्न चुनावी मञ्चमा उत्रिएका छन् । ‘यो प्रतिस्पर्धाका लागि ह्यारिस योग्य भइसकेकी छन् र उनलाई समर्थन गर्न म जसरी पनि तयार छु,’ ग्रामी अवार्ड विजेता गायक जन लेजेन्डले ‘एक्स’ मा लेखेका छन् ।
माइक्रोसफ्टका संस्थापक बिल गेट्सले पनि यो चुनाव अरूभन्दा फरक रहेको बताउँदै आफूले ह्यारिस समर्थक गैरनाफामूलक संस्थालाई निजी रूपमा ५ करोड डलर चन्दा दिएको न्युयोर्क टाइम्सले जनाएको छ । तर यसलाई उनले गोप्य राख्न चाहेको टाइम्सको समाचारमा उल्लेख छ । अर्का अर्बपति तथा अमेजनका संस्थापक जेफ बेजसले भने कमला ह्यारिसको समर्थनमा ‘द वासिङटन पोस्ट’ ले गर्न लागेको घोषणा अन्तिम समयमा रोक्न साहुजीका रूपमा भूमिका खेलेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूको दाबी छ । यस्तै अर्बपति मार्क क्युबनले खुला रूपमै डेमोक्य्राट उम्मेदवारका लागि मत माग्ने र प्रचार गर्ने गर्दै आएका छन् । डेमोक्य्राट समर्थक तथा न्युयोर्कका पूर्वमेयर माइकल ब्लुमबर्गले ह्यारिसको अभियानलाई अर्बौं डलर चल्दा उपलब्ध गराएका छन् ।
यस्तै फेसबुकका पूर्वप्रमुख सेरिल स्यान्डवर्ग, फिल्म निर्माता स्टिभन स्पिलवर्ग, लिंक्डइनका सहसंस्थापक रेड हफम्यानसमेतका ७९ जना अर्बपतिहरूले अहिलेसम्म डेमोक्य्राटिक पार्टीको अभियानलाई एक मिलियन डलरभन्दा बढीको चन्दा उपलब्ध गराइसकेका छन् । विश्लेषकहरूले प्रविधि र अन्य क्षेत्रका अर्बपतिहरूले ह्यारिसलाई बढी समर्थन गरेको देखिएको बताउँदै आएका छन् । मुख्यतया साना चन्दादाता र अनेकौं
धनाढ्यको सहयोग र साथ पाउने डेमोक्य्राट उम्मेदवारहरूको चलनको विपरीत रिपब्लिकन उम्मेदवारले भने ठूला धनाढ्यको उल्लेख्य साथ पाउने गरेका छन् । उदाहरणका लागि इलन मस्कसँगै यहुदी पृष्ठभूमिकी मिरियम एडल्सन र अर्का धनाढ्य डिक उइहेल्नले मात्रै २ सय २० मिलियन अमेरिकी डलर ट्रम्पलाई जिताउने प्रचारमा खन्याएका छन् । अमेरिकी चुनाव नजिकिँदै जाँदा दुई राष्ट्रपति उम्मेदवारको पक्षमा बनेको चर्चित व्यक्ति र धनाढ्यहरूको माहौल हेर्नलायक र रोचक बन्दै गएको छ ।
(एजेन्सीको सहयोगमा)
