अमेरिकी चुनाव र तेस्रो विश्वयुद्धको त्रास

तेस्रो विश्वयुद्धको सम्भावना पूर्णरूपमा टार्न सकिन्छ, तर यो अमेरिकी नेताहरूको विदेश नीति, शक्ति राष्ट्रहरूबीचको रणनीतिक सम्बन्ध र गठबन्धनको कूटनीतिक व्यवस्थापनमा निर्भर हुनेछ ।

कार्तिक ९, २०८१

शुभशंकर कँडेल

The American election and the horrors of World War III

१९४० अक्टोबरमा अमेरिका राष्ट्रपति निर्वाचनको चटारोमा थियो । अर्कोतिर, दोस्रो विश्वयुद्ध पनि चलिरहेको थियो । त्यतिबेला जर्मन सेनाले पेरिस कब्जा गरेको थियो । तर पनि अमेरिकी प्रशासन विश्वयुद्ध भन्न तयार थिएन । निर्वाचनबाट फ्रांकलिन डी रुजबेल्ट राष्ट्रपतिका लागि पुनः निर्वाचित भए ।

त्यस निर्वाचनमा अमेरिकी मतदाताहरूले तुलनात्मक रूपमा योग्य उम्मेदवार छनोट गरेको अमेरिकी इतिहासकारहरू दाबी गर्छन् । उनले विश्वयुद्धकै समय १९४४ मा पुनः निर्वाचन जितेर अमेरिकी इतिहासमा चार पटक राष्ट्रपति बन्ने पहिलो नेताको रेकर्ड पनि बनाएका छन् । सैन्य बलको सुदृढीकरणमार्फत विश्वयुद्धको तारतम्य मिलाउँदै एकल राष्ट्रवादी जस्तो अवस्थाको देशलाई उनले विश्वव्यापी संघर्षमा सहभागी गराउँदै थिए भन्ने धेरैले अनुमान गरेका थिएनन् । 

‘तिमीहरूका छोरा युद्धमा जाने छैनन्’ भन्दै रुजबेल्टले अमेरिकालाई युद्धबाट टाढै राख्ने प्रतिज्ञा गरेका थिए । तर ‘पर्ल हार्बर’ माथि जापानको आक्रमणको बहानामा अमेरिका युद्धमा प्रवेश गरेको थियो । उनले जनतालाई भ्रममा पारेको भन्दै चर्को आलोचना भएको थियो । उनी १९४४ मा राष्ट्रपतिका लागि पुनः निर्वाचित भए पनि कार्यकाल भने पूरा गर्न पाएनन् । १९४५ अप्रिल १२ मा उनको निधन भएपछि उपराष्ट्रपति ह्यारी ट्रुम्यान राष्ट्रपति बने । तर तीन महिना पुग्दानपुग्दै उनले हिरोसिमा र नागासाकीमा अणुबम प्रहार गर्ने निर्णय लिए । जबकि निधनको समयतिर आइपुग्दा रुजबेल्टले जर्मनीसँग युद्ध अन्त्य गर्ने विषयलाई निष्कर्षमा पुर्‍याउँदै गरेको इतिहासमा पढ्न पाइन्छ । ट्रुम्यानको त्यस निर्णयले युद्ध चाँडै अन्त्य भए पनि लाखौं निर्दोषहरूको पनि ज्यान गयो । त्यो ऐतिहासिक रूपले अमेरिकी बर्बरताको रेकर्ड हो । तर उनै ट्रुम्यान डेमोक्रेटिक पार्टीको चर्को विरोधका बीच पनि १९४८ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए । यसले अमेरिकी मतदाताको मनोविज्ञानलाई पनि संकेत गर्दछ । हमेशा युद्धको परिस्थितिले अमेरिकी इतिहासको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण योगदान गरेको छ ।

त्यसो त पहिलो विश्वयुद्ध चलिरहेको समय १९१६ मा राष्ट्रपति वुड्रो विल्सन पुनः विजयी भएका थिए । तर उनले चुनाव जित्न ‘हामीलाई युद्धबाट बाहिर राख्ने’ भन्ने नारा अघि सारेका थिए । विल्सनले त्यो युद्धलाई केवल युरोपको युद्ध ठान्थे । तर उनी पुनःनिर्वाचित भएलगत्तै, जर्मनीले अमेरिकाविरुद्ध सबमरिन युद्ध सुरु गरेको भन्दै १९१७ मा देशलाई विश्वयुद्धमा झोसे । युद्धका बारेमा जनतालाई ढाँट्ने शैलीको सुरुवात उनले नै गरेका हुन् । यथार्थमा, दोस्रो विश्वयुद्ध जापान, जर्मनी र इटालीको एकीकृत धुरीद्वारा सुरु गरिएको संकटहरूको शृंखला थियो । वास्तवमै दोस्रो विश्युद्धको बीजारोपण जापानले १९३१ मा मन्चुरिया कब्जा गरेकै बिन्दुबाट सुरु भएको हो । २०२२ फेब्रुअरीदेखि रुसले युक्रेनमाथिको आक्रमण गर्नुभन्दा पहिले नै २०१४ मा क्राइमिया कब्जा गरेबाटै तेस्रो विश्वयुद्ध सुरु भइसकेको भन्ने विद्वत्वर्गको चेतावनीलाई राष्ट्रपतिका दुवै उम्मेदवारले अहिले नजरअन्दाज गरेको भन्दै रणनीतिकारहरू आक्रोश पोख्छन् ।

२०२५ को जनवरी २० बाट अमेरिकाका नयाँ राष्ट्रपतिले विश्वभरका जारी युद्ध र द्वन्द्वहरू, विशेषगरी पहिलो र दोस्रो विश्वयुद्धभन्दा कैयौं गुना बढी अमेरिका संलग्न रहेका युद्ध र सैन्य द्वन्द्वका धुरीको सामना गर्नुपर्नेछ । तर सम्भावित तेस्रो विश्वयुद्ध भन्न थालिएको युद्धमा अमेरिकी सहभागिता प्रत्यक्ष रूपले केही पहिले नै पेन्टागनले इजरायललाई एक उन्नत मिसाइल रक्षा प्रणाली र त्यसको सञ्चालनका लागि भन्दै एक सय जना सैनिकहरू पठाएबाट भइसकेको छ । कमसेकम मध्यपूर्वको युद्धमा अमेरिका अब औपचारिक रूपमै इजरायली पक्ष भएको छ । यद्यपि यो त छँदै थियो । तर, छद्म रूपमा गरिरहेको ढोंगको नकाव हतारिएरै पेन्टागनले आफैं उतारेको छ । यतिबेला अमेरिकीहरूले १९४० मा जस्तो केही दिनमा नयाँ राष्ट्रपतिको चयन गर्दैगर्दा समान रूपले सम्भावित युद्धबाट देशलाई कसरी जोगाउने भन्ने बारेमा आश्वस्त पार्ने विकल्प नदिएको आमपश्चिमा धारणा देख्न सकिन्छ । कथित तेस्रो विश्वयुद्धको समयमा अमेरिकी धुरी र समुद्रपारको एउटा देशको आचरण कस्तो हुने भन्नेबारेमा ह्यारिस र ट्रम्पसँग कुनै स्पष्ट अवधारणा छैन ।

अमेरिकाले इजरायल पठाएको एन्टी–मिसाइल प्रणालीले इजरायललाई इरानको अपेक्षित आक्रमणबाट बचाउने पेन्टागनको दाबी छ । इजरायलले इरानमाथि अक्टोबर १ मा करिब दुई सय ब्यालिस्टिक मिसाइल प्रहारमार्फत इरानको शक्ति मात्र प्रदर्शन भएको छैन, तेलअभिवको सैन्य प्रतिरक्षा घमण्ड पनि धुलिसात भएको छ । यसबाट वासिङ्टन अत्तालिएको बुझ्न कठिन छैन । झनै हिजबुल्लाहले नेतान्याहुको निवासमा ड्रोन हमला गरेपछि वासिङ्टनको 

छटपटी बढ्नु स्वाभाविक हो । अमेरिकाले इजरायल र युक्रेनलाई जासुसी जानकारी र हतियार उपलब्ध गराउँदै आएको छ, जसरी दोस्रो विश्वयुद्धको प्रारम्भिक वर्षहरूमा अमेरिकाले ब्रिटेनलाई यस्तै गरेको थियो । फाइनान्सियल टाइम्स (१५ अक्टोबर २०२४) का अनुसार, जर्मनीको घरेलु जासुसी सेवाका प्रमुखले यस वर्ष एक पार्सल डीएचएलको फ्रेट केन्द्रमा एउटा विमान लोड हुनुअघि नै जल्न सुरु गरेको भन्दै झन्डै विमान ध्वस्त भएको भन्ने जानकारी साझा गरेका छन् । ती अधिकारीले यो सूचना चुहाउनुको कारण त्यस घटनामा ‘रुसी एजेन्टहरूको आक्रामक व्यवहार’ संलग्न रहेको तथा मस्कोको आक्रामकता नाटकीय रूपले वृद्धि भएको देखाउन हो । यस्तै घटनाको टिपनटापन गरेर पश्चिमा शक्तिहरूले यतिबेला रसिया, चीन, इरान र उत्तर कोरियालाई तेस्रो विश्वयुद्धको प्रतिद्वन्द्वी धुरी बन्ने भाष्य सिर्जना गर्न लागिपरेका छन् ।

बेलायतको घरेलु सुरक्षा एजेन्सी एम–१५ का प्रमुखले युरोपमा आक्रमणहरूको ‘अकल्पनीय वृद्धि’ भएको छ र ती क्रियाकलापलाई रुसको जीआरयू सैन्य गुप्तचर एजेन्सीले समन्वय गरेको छ (वालस्ट्रिट जर्नल १४ अक्टोबर) । डब्लूएसजेका अनुसार तिनीहरूले हतियार उत्पादनमा अवरोध सिर्जना गर्ने, पश्चिमी देशहरूका राजनीतिज्ञहरूलाई तर्साउने र सडकमा आतंक फैलाउने उद्देश्य राखेका छन् । यो गर्मीमा सात जना व्यक्तिलाई यूकेले लन्डनको एक गोदाममा आगो लगाएको आरोप लगाएको छ, जुन युक्रेनी व्यापारीको स्वामित्वमा थियो । ...रसियाली तोडफोडकर्ताहरू बर्लिनको एउटा हवाई–रक्षा प्रणाली निर्माण गर्ने कारखानामा भएको आगलागीमा संलग्न भएको आशंका छ । फ्रान्समा दुई जना व्यक्तिले दुई सयभन्दा बढी डेबिडका तारा प्रतीकहरू भएका भवनहरूमा स्प्रे–पेन्ट गरेको पाइएको घटनामा पनि रसियाली संलग्नताको सम्भावनाबारे अनुसन्धान भइरहेको छ । ...बाल्टिक र पूर्वी युरोपमा पनि आगलागीको शृंखला बढेको छ ।’

रुस र इरानले लक्षित राष्ट्रहरूमा आगजनी, तोडफोड र विदेशमा समेत आक्रमण गर्न अपराधीहरूको प्रयोग गरिरहेको पश्चिमा मिडियाले लगातार लेख्दै आएका छन् । इरानी विपक्षी समूहको समर्थन गर्ने स्पेनका राजनीतिज्ञलाई गत वर्ष दिनदहाडै गोली हानिएको घटनालाई अमेरिकी मिडियाले रसियन गुप्तचरको सक्रियता वृद्धिलाई दर्शाउन उल्लेख गर्दै आएको घटना स्मरणीय छ । उत्तर कोरियाली सैन्य इन्जिनियरहरूले युक्रेनी लक्ष्यमा रुसका ब्यालिस्टिक मिसाइल प्रक्षेपण गर्नमा सहयोग गरिरहेका छन् । यस महिनामा, युक्रेनी मिसाइल प्रहारबाट उत्तर कोरियालीहरूको रुसी भूभागमा मृत्यु भएको रिपोर्ट गरिएको थियो । रुसको शस्त्रागारमा उत्तर कोरियाली मिसाइल र ठूलो–क्यालिबर गोला–बारुद समावेश छ । (वासिङ्टन पोस्ट, अक्टोबर १७)

रुसको पश्चिमी सीमा क्षेत्रदेखि चीनले फिलिपिनी सम्प्रभुता अतिक्रमण गरिरहेको जलडमरु क्षेत्रसम्म, अहिलेको युद्ध र लगभग–युद्धका घटनाहरू पृथ्वीका २४ वटा ‘समय क्षेत्र’ मध्ये ६ वटा ‘समय क्षेत्र’ सम्म फैलिएको छ । यो नै विश्वयुद्धको प्रारम्भिक ‘जमघटको आँधी’ हो, जस्तो कि विन्स्टन चर्चिलको दोस्रो विश्वयुद्धका संस्मरणहरूको पहिलो खण्डको शीर्षकमा वर्णन गरिएको छ । (वापो, १७ अक्टोबर २०२४) चीन र अमेरिकाबीचको व्यापारिक प्रतिस्पर्धा ताइवानमाथिको सैन्य झडपमा बदलिएला कि भन्नेबारे वास्तवमै विश्वभर सन्त्रास त छँदै छ । ‘हार्ड पावर’ अमेरिका र पुरानो ‘सफ्ट पावर’ चीन यतिबेला समान रूपले ‘हार्ड–पावर’ प्रतिस्पर्धामा उत्रेको विभिन्न घटनाक्रमले देखाएको छ ।

त्यसमाथि पछिल्लो पटक ओटावा र दिल्लीबीचको कूटनीतिक झगडाले शत्रुतापूर्ण रूप लिने खतरा सामुन्नेमा आएको छ । यसले हिन्द प्रशान्त क्षेत्रलाई अस्थिर बनाउने भन्दै अमेरिकी रणनीतिकारहरूको टाउको दुखाउन थालेको छ । यस्तो विश्व अव्यवस्थाले रक्षा खर्चबाहेकका बेमौसमी खर्चहरूको भन्दा बढी, बाइडेन–ह्यारिस प्रशासनको प्रतिष्ठा निर्धारण गर्नेछ । र, यस वर्ष हंगेरीका प्रधानमन्त्री भिक्टर ओर्बानले एक सय २५ दिनमा दुई पटक मार–ए–लागोमा ट्रम्पसँग भेट गरे । विदेशमन्त्री ब्लिन्केन गत वर्षको अक्टोबर ७ यता ११ पटक मध्यपूर्वको विचरण गर्दै कथित युद्धविरामको ‘रेटोरिक’ दोहोर्‍याउँदै नेतान्याहुलाई नै धाप मारेबाट स्थिति अरू डरलाग्दो प्रतीत हुँदै छ । बाइडेनले केही दिनपहिले जर्मनीको सैन्य जम्बोरीमा उभिँदै व्यक्ति हत्याप्रति हर्ष प्रदर्शन गरेर अकल्पनीय रूपमा यहुदी विरोध र अरबी जातिलाई ‘रेडिकलाइज्ड’ गर्न पुगेका छन् । यस्ता उत्तेजक अभिव्यक्ति र जमघटका आँधीहरूले शक्ति संकलन हुने निश्चित छ । उनीहरूले आफ्नो भण्डारित हिंसा खर्च गर्न थप प्रज्वलित गर्ने ऐतिहासिक तथ्य स्वतः स्पष्ट छ ।

अमेरिकी राष्ट्रपतिहरूमध्ये सबैभन्दा बढी सुनिने नाम हो– अब्राहम लिंकन । तर स्वतन्त्रता र दास प्रथा अन्त्यका पिता मानिने लिंकनको समयमा नै अमेरिकाले गृहयुद्ध (१८६१–१८६५) झेलेको थियो । त्यस्तै उनले नै नागरिकलाई गिरफ्तारीबाट जोगाउने कानुन ‘हाबियस कोर्पस’ लाई निलम्बन गरेका थिए । दोस्रो विश्वयुद्ध समाप्त हुँदै गर्दा विश्वभर उपनिवेशविरोधी ज्वारभाटा उठेकाले देशहरू मुक्त हुने लहर चलेको थियो । त्यही क्रममा कोरियाली युद्ध (१९५०–५३) थोपर्न हेनरी ट्रुम्यान मैदानमा उत्रे । राष्ट्रपति लिंडन बी. जोनसनले अमेरिकी इतिहासमा सबैभन्दा ठूलो आत्मघाती कदम मानिएको भियतनाम युद्ध (१९५५–१९७३) थोपरे ।

अन्तरपार्टी सूचना चोरीका नामले चर्चित ‘वाटरगेट काण्ड’ का च्याम्पियन रिचार्ड निक्सनले त्यो युद्धलाई भियतनामका अलवा कम्बोडिया र लाओसमा समेत विस्तार गरेर क्रूरतापूर्वक बम वर्षा गर्दै लाखौंको ज्यान लिएपछि पेरिस शान्ति सम्झौता गरेर भाग्नुपरेको थियो । त्यसलगत्तै उनी विपक्षी पार्टीको सूचना चोरेको अभियोगमा पदबाटै हात धुन बाध्य हुने पहिलो राष्ट्रपति बन्नुपर्‍यो । जर्ज डब्लू बुस सिनियरले खाडी युद्ध (१९९०) सुरु गरेर सद्दाम हुसेनलाई सजाय दिने वाचा गरेका थिए ।

कुवेतबाट इराकी सेना फिर्ता भएपछि बुस पनि खाडी क्षेत्रबाट तेलमाथिको अमेरिकी वर्चस्वलाई कसेर फर्के । उनकै छोरा जुनियर बुसले अलकायदाले जुम्ल्याहा टावरमाथि आक्रमण गरेको जवाफमा काबुलमाथि सैन्य हमला गरिरहेका बेला आफ्ना बाबुको वाचा पूरा गर्न इराक युद्ध (२००३) थोपरेर सद्दाम हुसेनलाई सिध्याएका थिए । तर बुसले इराकमा जैविक हतियार राखेको भन्ने बहानामा हमला गरे पनि त्यो कारण कहिल्यै पुष्टि भएन । अहिले पनि इराक अशान्तिको ज्वालामा फसिरहेको छ । आतंकवादीहरूको नामोनिसाना मेट्ने भन्दै नेटोकै साथमा काबुलमा उत्रेको अमेरिका तिनै आतंकवादी भनिएका तालिवानलाई दुई दशकपछि सत्ता छाडेर भाग्यो ।

अफ्रिकी अशान्तिमा अमेरिकी प्रशासन 

अफ्रिकी महाद्वीपमा १९५० को दशकदेखि हालसम्मका हिंसा र युद्ध धेरै जटिल बन्न पुगेका छन् । १९९४ मा रुवान्डाको नरसंहारमा हुती र तुत्सी जातीय समूहबीचको द्वन्द्वले ८ लाखभन्दा बढीको मृत्यु भयो भने नाइजेरियामा बोकोहराम जस्ता आतंककारी समूहहरूले धार्मिक हिंसा र आतंक मच्चाइरहेका छन् । पहिले सोभियत संघलाई रोक्ने नाममा र पछिल्लो समय आफू एक्लिने त्रासमा अमेरिकाले अफ्रिकी महादेशभित्रका प्रायः सबै सैन्य तख्तापलटलाई प्रोत्साहित गर्दै आएको कोलाहलपूर्ण इतिहास छ । दक्षिण सुडानमा २०१३ देखि जारी गृहयुद्धले हजारौंको मृत्यु र लाखौंको विस्थापन गराइरहेको छ । लिबियामा मुअम्मर गद्दाफीलाई २०११ मा समाप्त गरे पनि सत्ता रिक्तताले विभिन्न गुटहरू बीचको सशस्त्र हिंसा जारी छ ।

१९६० मा कंगोका प्रधानमन्त्री पाट्रिस लुमुम्बाको सोभियत संघसँगको सम्बन्धलाई ध्वस्त पार्न सीआईएले उनलाई अपदस्थ मात्र गरेन, पक्राउपछि हत्या नै गर्‍यो । १९५७ मा घानालाई स्वतन्त्र बनाउने नेता क्वामे एनक्रुमाहलाई अफ्रिकी समाजवादको मुख्य नेता मानिन्थ्यो । उनले पश्चिमी शक्तिहरूबाट स्वतन्त्र अफ्रिकी विकासको अवधारणा अघि सारेका थिए । त्यहाँ १९६६ मा सैन्य कू गरेर अमेरिकाले आफू समर्थक सरकार थोपरेको थियो ।

उता १९७५ एंगोला स्वतन्त्र भएपछिको गृहयुद्धमा अमेरिकाले युनिटा नामक विद्रोही समूहलाई समर्थन गरेर नियममा आधारित शासनको खिल्ली उडाएको थियो । १९९० को दशकमा अमेरिकाले सोमालियामा शान्ति स्थापनार्थ सैन्य हस्तक्षेप गरे पनि उसको मिसन असफल भएपछि अझै अराजकता र गृहयुद्धको चपेटाबाट गुज्रिरहेको छ । त्यसयता अमेरिकाले अफ्रिकी महाद्वीपका विभिन्न देशमा आतंकवादविरोधी अभियानका नाममा सैन्य संलग्नता बढाउने प्रवृत्तिमा कमी गरेको छैन । सहारा–पार अफ्रिका, नाइजेरिया, माली र अन्य पश्चिमी अफ्रिकी देशहरू अशान्तिको भुमरीमा परेका छन् । अफ्रिकी महादेश पहिले अमेरिका र सोभियत संघ र पछिल्ला वर्षहरूमा अमेरिका र रुस तथा चीनसँगको प्रतिस्पर्धी खेल मैदान बन्न पुगेको छ ।

ल्याटिन अमेरिकादेखि मध्यपूर्वसम्मका कू

लोकतन्त्रको च्याम्पियन अमेरिकाले बीसौं शताब्दीमा ल्याटिन अमेरिकामा कम्युनिस्ट शासन नियन्त्रण गर्ने नाममा सीआईएमार्फत सैन्य कू गराएर तानाशाही लादेका घटनाले उसको अन्तर्राष्ट्रिय छविलाई धुमिल पारेको छ । ग्वाटेमालाको कू (१९५४) को अगुवाइ ड्वाइट डी. आइजनहावरले गरेका थिए । राष्ट्रपति ज्याकबो आर्बेन्सले भूमिसुधार लागू गर्न थालेपछि वामपन्थी सरकार हटाउन सीआईएले अपरेसन ‘पीबी सक्सेस’ चलाएको थियो । १९७३ मा रिचार्ड निक्सन र हेनरी किसिन्जरले चिलीका समाजवादी राष्ट्रपति सल्भाडोर ओलेन्देलाई अपदस्थ गरेर विश्व कुख्यात सैन्य तानाशाह अगस्टो पिनोचेटलाई सत्ता बुझाएका थिए । १९६४ मा लिंडन बी जोनसनले ब्राजिलका वामपन्थी राष्ट्रपति जोआओ गुलार्टलाई हटाएर उपहारमा थप २१ वर्षसम्म सैन्य तानाशाही थोपरेका थिए । 

१९७६ मा जेराल्ड फोर्ड र जिमी कार्टरले अर्जेन्टिनामा वामपन्थी राष्ट्रपति इसाबेल पेरोनलाई अपदस्थ गरे । रोनाल्ड रेगन प्रशासनले निकारागुआमा स्यान्डिनिस्टा समाजवादी सरकारलाई हटाउन १९८० को दशकमा कन्क्ट्रा विद्रोहीहरूलाई अघि सारेको थियो । प्रायः सबै सैन्य हस्तक्षेप र अर्को देशको सार्वभौमसत्तामाथिको धावा तत्कालीन समयका अमेरिकी चुनावी नारा थिए । यस्ता परिदृश्यले विश्वभरका प्रायः देशहरू अमेरिकी हैकमले निसासिँदो अवस्थामा रहेको प्रतीत हुँदा जस्तोसुकै विस्फोटको प्रदर्शन नहोला भन्न सकिन्न । 

रुस–युक्रेन युद्ध, चीन–ताइवान तनाव, उत्तर कोरियाली परमाणु परीक्षण, इरानको परमाणु कार्यक्रमको महत्त्वाकांक्षा र इजरायली उक्साहट तथा पश्चिम एसियाका द्वन्द्वहरू अहिलेका प्रमुख सैन्य झगडाका खेल मैदान भएको प्रस्टै छ । माथि उल्लेख गरिएका अफ्रिका, ल्याटिन अमेरिका र अरब विश्वले बदला लिने प्रवृत्तिको वृद्धिले क्षेत्रीय साझेदारी तथा गठबन्धन निर्माणको आगोमा तेल थप्ने निश्चित छ । सन्निकट अमेरिकी राष्ट्रपतीय चुनावले विश्वव्यापी सुरक्षा र स्थायित्वमा गहिरो प्रभाव पार्ने त छँदै छ । तेस्रो विश्वयुद्धको सम्भावना पूर्णरूपमा टार्न सकिन्छ, तर यो अमेरिकी नेताहरूको विदेश नीति, शक्ति राष्ट्रहरू बीचको रणनीतिक सम्बन्ध र गठबन्धनको कूटनीतिक व्यवस्थापनमा निर्भर हुनेछ ।

अमेरिकी राष्ट्रपति निर्वाचन

शुभशंकर नेपाल मिडिया सोसाइटीका अध्यक्ष समेत रहेका पत्रकार शुभशंकर कँडेल समसामयिक बिषयमा लेख्छन् ।

Link copied successfully