सारंगी उत्सवमा गन्धर्वका तीन पुस्ता

कार्तिक ११, २०८१

दीपक परियार

Three generations of Gandharvas at Sarangi festival

पोखरा — भर्खरै सारंगी सिक्दै गरेका बालबालिका, सारंगी सिकेर पारंगत भएका युवा र सारंगीमै आफ्नो जीवन बिताएको अघिल्लो पुस्ता शुक्रबार साँझ पोखरामा एकैठाउँ भेला भए । गन्धर्व समुदायका यी तीन पुस्तालाई राष्ट्रिय संगीतकर्मी संघ, कास्कीले ‘सारंगी उत्सव’ मा उभ्याएको हो । 

उत्सवमा पोखरा वरपर रहेका गन्धर्व समुदायले आफ्नो प्रस्तुति राखेका थिए । पोखराको बाटुलेचौरमा रहेको झलकमान सारंगी पाठशाला र हेमजामा रहेको गन्धर्व सारंगी पाठशालाका प्रशिक्षार्थीले सारंगी र मादल बजाएर गीत प्रस्तुत गरे । बाटुलेचौर, हेमजा, बडहरे र गगनगौंडाका गन्धर्व समाजले समेत आफ्नो प्रस्तुति राखे । हालै गठन भएको कर्खा ब्यान्डले सारंगी, मादल, गितार र ड्रम सेटको फ्युजन गरेर झलकमान गन्धर्व, पूर्ण नेपाली, धनबहादुर गायकलगायतले गीत प्रस्तुत गरे । 

घराना इभेन्ट्ससँगको सहकार्यमा भएको कार्यक्रममा संगीतकर्मी संघले २०१३ सालमा जनकवि केशरी धर्मराज थापासँग चीन पुगेर माओत्से तुङलाई सारंगीको धुन सुनाएका खिमबहादुर गन्धर्वलाई सम्मान गर्‍यो । उनीसहित लालबहादुर गायक, सम्मरबहादुर गायक, गोविन्द गायक, हरि गन्धर्व र कृष्णजी गायक पनि सम्मानित भए । 

उक्त अवसरमा कात्तिक १५ मा प्रदर्शन हुने फिल्म ‘पूर्णबहादुरको सारंगी’ को टोलीसमेत पुगेको थियो । फिल्मका मुख्य कलाकार प्रकाश ‘सपुत’ ले यसअघिका फिल्ममा गन्धर्वलाई गाडी वा बाटोमा सारंगी बजाइरहेको दृश्यमा मात्रै सीमित गरिने गरेकोमा ‘पूर्णबहादुरको सारंगी’ ले गन्धर्वकै कथा र चरित्रलाई मुख्य विषयवस्तु बनाएर देखाउन खोजेको बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरा र सारंगी पर्यायवाचीजस्तै भएको बताउँदै सारंगी संरक्षणमा पोखरा प्रज्ञा प्रतिष्ठानमार्फत काम भइरहेको उल्लेख गरे । 

कलाकार पूर्ण नेपालीले गन्धर्वको जन्मदेखि मृत्युसम्मको आफ्नै संस्कार भएकाले त्यसलाई संरक्षण गर्न पनि सरकारले ध्यान दिनुपर्नेमा जोड दिए । राष्ट्रिय संगीतकर्मी संघ, कास्कीका अध्यक्ष सुनील गायकले सारंगीमा आफ्नो जीवन व्यतित गरेका अग्रजको सम्मान गर्दै सारंगी संरक्षणमा नयाँ पुस्तालाई प्रोत्साहित गर्न सारंगी उत्सव आयोजना गरेको बताए । ‘नेपाललाई विश्वभर चिनाउने सारंगी संरक्षणको जिम्मा गन्धर्व समुदायको मात्र होइन, सबैको हो,’ उनले भने । 

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully