काठमाडौँ — नेपालले एकेडेमी अवार्ड्स (ओस्कार) मा प्रतिस्पर्धा गर्न थालेको झन्डै २५ वर्षमा अहिलेसम्म कुनै पनि अवार्ड जित्न सकेको छैन । पहिलो पटक नै सन् २००० मा एरिक भाली निर्देशित ‘हिमालय’ (क्याराभान) ले विदेशीभाषी फिल्मको विधामा उत्कृष्ट पाँचभित्र मनोनीत हुनुबाहेक अन्य उपलब्धि हात परेको छैन ।
डोल्पाका बासिन्दाले हिमालपारिबाट याकमा बोकाएर नुन ल्याउन गर्ने संघर्षलाई ‘हिमालय’ ले पस्केको छ । फ्रेन्च निर्देशक भालीले उक्त फिल्मलाई उपल्लो डोल्पाको ५ हजार मिटरभन्दा उचाइमा खिचेका थिए ।
७२ औं ओस्कारमा ‘हिमालय’ ले देखाएको सम्भावनाको ठीक २५ वर्षपछि यतिबेला ९७ औं ओस्कारका लागि नेपालबाट सम्भावना बोक्दै ‘शाम्बाला’ अमेरिका छिरेको छ । यस पटकको ओस्कार अवार्ड्स लस एन्जल्सको डल्बी थिएटरमा नेपाली समयअनुसार आगामी फागुन १९ गते बिहान पौने ६ बजेदेखि लगातार ३ घण्टा चल्नेछ ।
ओस्कारको ‘इन्टरनेसनल फिचर’ विधाका लागि मीनबहादुर भाम निर्देशित फिल्म ‘शाम्बाला’ ले विश्वका बाँकी फिल्मसँग प्रतिस्पर्धा गर्दै छ । यस विधाका लागि विश्वभरबाट ‘अफिसियल इन्ट्री’ पाएर आएका फिल्मबाट पुस २ (डिसेम्बर १७) मा १५ फिल्मको ‘सर्ट लिस्ट’ निकाल्दै त्यसको ठीक एक महिनापछि अवार्डको अन्तिम प्रतिस्पर्धाका लागि उत्कृष्ट पाँच विदेशी फिल्मको मनोनयन सूची निकालिनेछ ।
यतिबेला नेपालका लागि भाली निर्देशित ‘हिमालय’ ले तय गरेको अन्तिम सूचीसम्मको बाटोमा भामको ‘शाम्बाला’ पुग्ला वा नपुग्ला ? प्रतीक्षित बनेको छ । त्यसो त नेपाललाई दोस्रो पटक ओस्कारको आशा दिलाउने ‘शाम्बाला’ पनि भामले उपल्लो डोल्पाको ६ हजार मिटर उचाइ क्षेत्रमा खिचेका थिए । जसमा केन्द्रीय पात्र पेमा भोट पुगेर गाउँ नफर्की कतै हराएका आफ्ना पति खोज्न हिँड्दाको कष्टकर हिमाली यात्रालाई समेटिएको छ ।
‘इन्टरनेसनल फिचर फिल्म’ का लागि ७६ देशका फिल्म ओस्कार छनोटका लागि पुगेका छन् । जसमा भेनिस फिल्म फेस्टिभलमा प्रिमियर गरिएको ब्राजिलको फिल्म ‘आईएम स्टिल हेयर’ लाई मुख्य दाबेदारका रूपमा हेरिएको छ । त्यसैगरी, दक्षिण अफ्रिकाबाट यसपटक ‘वल्ड राइटिअस ब्लुज’, सिंगापुरको ‘ला लुना’, सनडान्स फिल्म फेस्टिभलमा प्रिमियर गरिएको हैटीको ‘ब्रुनो मौरल’, ताजिकिस्तानको ‘मेलोडी’ पनि प्रतिस्पर्धामा छन् । फिल्म ‘नो म्यान्स ल्यान्ड’ बाट सन् २००२ को ओस्कार तथा गोल्डेन ग्लोब अवार्ड जितेका बोस्निया एन्ड हर्जगोभिनाका लेखक तथा निर्देशक ड्यानिस टानोभिक पनि यसपटक फिल्म ‘माई लेट समर’ मार्फत यस वर्षको ओस्कारमा सहभागी छन् ।
गतवर्ष ‘द इटरनल मेमोरी’ बाट ओस्कारमा उत्कृष्ट डकुमेन्ट्रीको मनोनयनमा परेकी मैती अल्बर्दी सोटो ‘इन हर प्लेस’ मार्फत ओस्कारको इन्टरनेसनल फिचर फिल्ममा प्रतिस्पर्धा गरिरहेकी छन् । यसबाहेक विभिन्न फेस्टिभलमा पुगिसकेको कोलम्बियाको ‘ला सुप्रिम’, बुसान फिल्ममा प्रिमियर गरिएको बंगलादेशको ‘द रेस्लर’, कान्समा प्रिमियर गरिएको कम्बोडियाको ‘मिटिङ विथ पोलपोट’, चीनको ‘द सिंकिङ अफ द लिस्बन मरु’, हङकङको ‘ट्वाइलाइट अफ द वारिअर्स : वाल्ड इन’ र भारतको ‘लापत्ता लेडिज’ पनि यस विधामा नेपालको ‘शाम्बाला’ लाई टक्कर दिन सक्ने प्रमुख फिल्म हुन् ।
त्यस्तै कियोसी कुरुसोभा निर्देशित जापानी फिल्म ‘क्लाउड’, पाकिस्तानको ‘द ग्लासवर्कर’, दक्षिण कोरियाको ‘१२.१२: द डे’, ताइवानको ‘वल्ड फक्स’, आइसल्यान्डको ‘टच’, युक्रेनको ‘ला पालिसियाडा’, इजरायलको ‘कम क्लोजर’, मोरक्कोको ‘एभ्रीबडी लभ्स टाउडा’ पनि अवार्डको बलियो सम्भावना बोकेका फिल्म हुन् ।
